२०८३ कार्तिक २२ गते आइतवार
१. हेलम्बुको उत्पादन काठमाडौं भित्रियोः पहिलो पटक ‘कृषि एम्बुलेन्स’ मार्फत ३०० किलो सयपत्री बजारमा
तिहार पर्वलाई लक्षित गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट करिव तीन सय किलोग्राम सयपत्री फूलसहित विभिन्न मौसमी कृषि उपजहरू संघीय राजधानी काठमाडौं भित्र्याइएको छ । गाउँपालिकाले स्थानीय उत्पादनको बजारीकरण गर्न सञ्चालनमा ल्याएको ‘कृषि एम्बुलेन्स’ सेवामार्फत किसानले उत्पादन गरेका फूल तथा फलफूल सहज रूपमा राजधानीको बजारसम्म पुगेका हुन् । काठमाडौं उपत्यकासँग भौगोलिक रूपमा नजिक रहे पनि उपयुक्त ढुवानी तथा बजारीकरणको अभावमा हेलम्बुका उत्पादनहरूले विगतमा सहज पहुँच पाउन सकेका थिएनन् ।
२. सयपत्री र मखमलीको सुवासः बजारमा फूलमाला किन्ने ग्राहकको भीड
काठमाडौँ उपत्यकामा तिहार (यमपञ्चक) को रौनकसँगै यतिबेला सडक, गल्ली र तोकिएका बजारहरू सयपत्री र मखमली फूलको सुवासले मगमगाएका छन् । घरआँगन सजाउन, लक्ष्मीपूजा गर्न र भाइटीकामा दाजुभाई–दिदीबहिनीबीच माया र सद्भावको प्रतीकका रूपमा लगाइदिने फूलमाला किन्न राजधानीका मुख्य बजारहरूमा सर्वसाधारणको भीड लागेको छ । सडक आवागमन व्यवस्थित बनाउन काठमाडौं महानगरपालिका तथा उपत्यकाका अन्य नगरपालिकाहरूले खुला चौर, फुटपाथ नजिकका खुला भाग तथा तोकिएका स्थलहरूमा मात्रै फूलमाला विक्रीको व्यवस्था मिलाएका छन् । मुख्य चोकहरूमा किसान तथा खुद्रा व्यापारीहरूले सयपत्री र मखमलीका लस्करै माला झुन्ड्याएर पसल थापेका छन् ।
३. शिकारी युगदेखि कृषि युगसम्मै कुकुर मानव सभ्यताको साथीः मन्त्री पौडेल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मानव सभ्यताको विकासक्रममा कुकुर शुरुदेखि नै मानिसको साथीका रूपमा रहेको बताउनुभएको छ । कुकुर तिहारको अवसरमा आईतवार आयोजित कार्यक्रममा उहाँले नेपालको विभिन्न जातजाति र आदिवासी समुदायका किंवदन्तीले कुकुर र मानवबीचको पुरानो सम्बन्ध उजागर गर्ने बताउनुभएको हो । उहाँले गुरुङ समुदायको कोला सोथारसँग जोडिएको किंवदन्ती सुनाउँदै सिकारी जीवनबाट कृषि युगमा प्रवेश गर्दासमेत कुकुर मानिससँगै रहेको उल्लेख गर्नुभयो ।
४. लक्ष्मीपूजामा झिलिमिली बत्तीले काठमाडौं उपत्यका जगमग
नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज लक्ष्मीपूजा हर्षोल्लासका साथ मनाइएको छ । लक्ष्मीपूजाको अवसरमा काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजिएको हो । घर, भवन तथा व्यापारिक प्रतिष्ठानहरूमा रंगीचंगी बत्ती बालिएपछि उपत्यका नै झिलिमिली बनेको छ । साँझ परेसँगै उपत्यकाका विभिन्न स्थानमा बत्तीको आकर्षक सजावटले चाडपर्वको रौनक थपिएको छ ।
५. फरक विचार भएपनि देशप्रेम र नेपालको पहिचान साझा उद्देश्यः सविना काफ्ले
प्रधानमन्त्री बालेन्द्र साहकी धर्मपत्नी सविना काफ्लेले राजनीतिक तथा वैचारिक सिद्धान्त फरक भएपनि सबै नेपालीको साझा उद्देश्य देशप्रेम र नेपालको विशिष्ट पहिचान विश्वसामु चिनाउनु रहेको बताउनुभएको छ । आईतवार कुकुर तिहारको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले फरक विचार र सिद्धान्तमा विश्वास गर्ने नेपालीलाई देशप्रतिको माया र साझा उद्देश्यले एकतावद्ध बनाउने बताउनु भयो । उहाँले नेपाल अद्वितीय र विशिष्ट देश भएको उल्लेख गर्दै यसको पहिचान विश्वभर फैलाउनु सबै नेपालीको साझा जिम्मेवारी भएको बताउनु भयो ।
६. पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित लीला आधारभूत विद्यालय नजिकै भएको मोटरसाइकल दुर्घटनामा स्थानीय सुरेश लामिछानेको मृत्यु भएको छ । पिच सडकबाट अनियन्त्रित भई करिव दुई मिटर तल खसेको अवस्थामा मोटरसाइकल र चालक लामिछाने मृत फेला परेपछि स्थानीय क्षेत्रमा त्रास बढेको हो । आईतवार बिहान लीला आधारभूत विद्यालय नजिकै क्षतविक्षत अवस्थामा पल्सर मोटरसाइकल फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले खोजी गर्ने क्रममा निर्माणाधीन पर्खालको नालीमा लामिछानेलाई अचेत अवस्थामा फेला पारेको थियो ।
७. पाँच मिनेटको दूरी पार गर्न ५५ किलोमिटर घुम्नुपर्ने बाध्यता,पुलको पर्खाइमा भरवालियाका स्थानीय
रूपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका–५ को भरवालिया गाउँका बासिन्दा वर्षौंदेखि आधारभुत पूर्वाधार र सेवाको अभावमा कष्टकर जीवन बिताउन बाध्य छन् । नदीमा पक्की पुल नहुँदा नजिकै रहेको बस्तीमा पुग्नसमेत घण्टौँ खर्चिनुपर्ने अवस्था छ । पाँच मिनेटमा पार गर्न सकिने नदी तर्न स्थानीयले ५० देखि ५५ किलोमिटर घुम्नुपर्ने र गाडिमा गएपनि डेढदेखि २ घण्टा टाढाबाट घुम्नुपर्ने वाध्यता रहेको छ । नदीको वारी र पारी रहेका बस्तीका बासिन्दालाई आवतजावत गर्न मात्रै होइन, खेतीपाती गर्न, कृषि उपज ओसारपसार गर्न तथा दैनिक जीवनयापन गर्नसमेत धेरै नै समस्या हुने गरेको छ ।
८. पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारीमा सरकार
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले पशु कल्याणसम्बन्धी कानूनी व्यवस्था थप बलियो बनाउन छुट्टै पशु कल्याण विधेयकको मस्यौदा तयार गरी सरोकारवालासँग सुझाव संकलन गरिरहेको बताउनुभएको छ । आईतवार कुकुर तिहारको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पशुपंक्षीको संरक्षण र उनीहरूमाथि हुने क्रूरता नियन्त्रणका लागि सरकारले नीतिगत तथा कानुनी व्यवस्था अघि बढाइरहेको जानकारी दिनुभएको हो ।
९.तिहारको दोस्रो दिन आज कुकुर पूजा गरिँदै
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजा गरेर मनाइँदैछ । तिहारको दोस्रो दिन कुकुरलाई यमराजको दूतका रूपमा पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ । घरमा पालिएका तथा सडकमा रहेका कुकुरलाई फूलमाला लगाइदिने, टीका लगाउने र मिठा परिकार खुवाएर सम्मान गर्ने गरिन्छ । हिन्दु धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको द्वारपाल तथा रक्षकका रूपमा लिइन्छ । कुकुरले घरको सुरक्षा गर्नुका साथै मानिसप्रति वफादारी देखाउने भएकाले पनि यस दिन विशेष सम्मान गर्ने चलन छ ।
१०. तिहार–‘शहरको उज्यालो र मनको दियो’
दिनभरिको घाम चन्द्रागिरीको डाँडापारि ओर्लिंदै गर्दा असनको एउटा साँघुरो पसलको काउन्टरमा सानो प्लास्टिकको चक्का झट्ट बल्छ । बेरिएका हजारौँ मसिना एलइडीहरूबाट पोखिएको न्यानो प्रकाशले साहुजीको आँखामा मात्र होइन, सिङ्गो गल्लीमा तिहार भित्रिएको सन्देश दिन्छ । यो केवल बिजुलीको तार थिएन, मानिसहरूले वर्षभरि सँगालेका स–साना रहरहरूलाई उज्यालो बनाउने पहिलो झिल्को थियो । केही कदम अगाडि बढ्दा सेतो नियोक्लासिकल भित्तामा सजिएका तामाका ताउला, गाग्री र थालहरू देखिन्छन् । धनतेरसको दिन नयाँ धातु भित्र्याउनु केवल परम्परा मात्र होइन, पूर्खाको सीप र आमाको भान्साको पवित्रतालाई नमन गर्नु पनि हो ।
११. आठ बर्षमा नेपालमा कति जलवायु वित्त भित्रियो ?
अनुदानको तुलनामा नेपालले प्राप्त गरेको जलवायु वित्तमा ऋणको हिस्सा दोब्बरभन्दा बढी रहेको एक अध्ययनले देखाएको छ । पेरिस सम्झौता पछिको आठ वर्षमा नेपालले करिव ३ दशमलब १९ अर्ब अमेरिकी डलर अन्तर्राष्ट्रिय जलवायु वित्त प्राप्त गरेकोमा ३० प्रतिशत अनुदान र ६३ प्रतिशत सहुलियतपूर्ण ऋण रहेको एक अध्ययनले देखाएको छ । यो तथ्यांकले जलवायुकार्यका लागि नेपालले लिएको अनुदान भन्दा ऋण दोब्बर बढी देखाउँछ । प्रकृति रिसोर्सेस सेन्टर (पीआरसी) ले सार्वजनिक गरेको ‘नेपालको जलवायु वित्त परिदृश्य ः पेरिस सम्झौतापछिको अन्तर्राष्ट्रिय जलवायु वित्त प्रवाहको नक्शाङ्कन (२०१६–२०२३)’ अध्ययनअनुसार कुल जलवायु वित्तमध्ये २ दशमलव ०२ अर्ब अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ९ सय ६९ दशमलव ०६ मिलियन अमेरिकी डलर अनुदान रहेको छ ।
१२. एआई युगमा जिम्मेवार पत्रकारिता र सहकार्य आवश्यक रहेको सञ्चार प्रतिनिधिहरूको जोड
कृत्रिम बुद्धिमत्ता (एआई) ले समाचार उत्पादन र वितरणको शैलीमा परिवर्तन ल्याइरहेका बेला जिम्मेवार पत्रकारिता र सञ्चारमाध्यमबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा विश्वका सञ्चार प्रतिनिधिहरूले जोड दिएका छन् । बेइजिङमा आयोजित सातौँ विश्व सञ्चारमाध्यम सम्मेलनको उद्घाटन समारोहमा सहभागी सञ्चार क्षेत्रका प्रतिनिधिहरूले एआईबाट सिर्जित अवसरको उपयोगसँगै यसले निम्त्याएका चुनौतीलाई सामूहिक रूपमा सम्बोधन गर्नुपर्ने बताएका हुन् । जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयकी महानिर्देशक तातियाना भालोभायाले एआईले पत्रकारिताको पहुँच विस्तार गर्न महत्वपूर्ण भुमिका खेल्न सक्ने बताइन् ।
१३. एआईले पत्रकारलाई विस्थापित गर्न नसक्ने सञ्चार क्षेत्रका नेताहरूको धारणा
कृत्रिम बुद्धिमत्ता (एआई) ले समाचार उद्योगमा व्यापक परिवर्तन ल्याइरहेका बेला पत्रकारको मानवीय भुमिका र व्यावसायिक जिम्मेवारीलाई प्रविधिले विस्थापित गर्न नसक्ने सञ्चार क्षेत्रका नेताहरूले बताएका छन् । चीनको बेइजिङमा शनिवार शुरु भएको सातौँ विश्व सञ्चारमाध्यम सम्मेलनको पूर्ण सत्रमा सहभागी प्रतिनिधिहरूले एआईले पत्रकारितामा सिर्जना गरेका अवसर र चुनौतीबारे छलफल गर्दै अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिएका हुन् । ‘बौद्धिकताको युगमा सञ्चारमाध्यमः सहमतिदेखि कार्यान्वयनसम्म’ भन्ने नारासहित शुरु भएको सम्मेलनमा समाचार उत्पादन, सम्पादन, अनुवाद तथा वितरणमा एआईको बढ्दो प्रयोगबारे चर्चा गरिएको थियो ।
१४. ट्रम्पद्वारा यूएफसी प्रमुख डाना ह्वाइटलाई ह्वाइट हाउसको प्रेस सचिव बन्न प्रश्ताव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी) का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डाना ह्वाइटलाई ह्वाइट हाउसको प्रेस सचिव बन्न प्रश्ताव गर्नुभएको छ । ट्रम्पले शनिवार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ह्वाइटलाई प्रेस सचिवको जिम्मेवारी सम्हाल्न प्रश्ताव गरेको जानकारी दिनुभएको हो । उहाँले ह्वाइटलाई आफ्ना सहयोगीहरूलाई समेत साथमा लिएर आउन आग्रह गर्नुभयो । साथै, केही सहयोगी अमेरिकी नागरिक नभए पनि उनीहरूलाई साथमा ल्याउन सकिने बताउनु भयो ।
१५. न्युजिल्याण्डमा आमनिर्वाचन, सत्तारुढ र विपक्षी गठबन्धनबीच कडा प्रतिष्पर्धा
न्युजिल्याण्डमा शनिवार सन् २०२६ को आमनिर्वाचनका लागि मतदान भएको छ । निर्वाचनमा सत्तारुढ नेसनल पार्टी नेतृत्वको गठबन्धन र विपक्षी लेबर पार्टी नेतृत्वको गठबन्धनबीच कडा प्रतिष्पर्धा देखिएको छ । प्रधानमन्त्री क्रिस्टोफर लक्सन नेतृत्वको मध्य–दक्षिणपन्थी नेशनल पार्टी लगातार दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छ । सन् २०२३ मा सत्तामा आएको नेसनल पार्टीलाई पूर्वप्रधानमन्त्री क्रिस हिपकिन्स नेतृत्वको लेबर पार्टीले चुनौती दिएको छ । यस निर्वाचनमा महँगी, आर्थिक वृद्धि, रोजगारी तथा सार्वजनिक सेवा प्रमुख चुनावी मुद्दा बनेका छन् । जनजीवनको बढ्दो लागत र आर्थिक अवस्थाप्रति मतदाताको चिन्ताका बीच दुवै प्रमुख राजनीतिक शक्तिले आफ्नो पक्षमा जनमत जुटाउने प्रयास गरेका छन् ।
१६. रोगको अवस्था पूर्वानुमान गर्न स्पेनमा ‘ह्युमन डिजिटल ट्विन’ प्रविधि विकास गरिँदै
स्पेनको बार्सिलोना सहरस्थित एक अस्पतालले रोगको अवस्था पूर्वानुमान गर्न र बिरामीअनुसार उपचार पद्धति छनोट गर्न सकिने ‘ह्युमन डिजिटल ट्विन’ प्रविधि विकास गर्ने भएको छ ।भल डी’हेब्रोन अस्पतालले प्रमुख प्रविधि कम्पनीहरूसँगको सहकार्यमा उक्त प्रविधि विकास गर्न लागेको हो । अस्पतालकाअनुसार यस प्रविधिमार्फत बिरामीको शरीरका अंग वा विशेष स्वास्थ्य अवस्थाको कम्प्युटरमा डिजिटल प्रतिरूप तयार गरी रोगको सम्भावित विकासक्रमको अध्ययन गर्न सकिनेछ । अस्पतालको डायग्नोस्टिक रेडियोलोजी विभागका निर्देशक डा. मानेल एस्कोबारकाअनुसार डिजिटल प्रतिरूपको प्रयोगबाट कुनै व्यक्तिमा रोग कसरी अघि बढ्न सक्छ भन्ने अनुमान गर्न सकिनेछ । साथै, कुन उपचार विधि उक्त बिरामीका लागि बढी प्रभावकारी हुन्छ र उपचारपछि स्वास्थ्य अवस्था कस्तो हुन सक्छ भन्ने पनि परीक्षण गर्न सकिने उनले बताए ।
१७. शून्य भन्सार नीतिपछि चिनियाँ बजारमा अफ्रिकी मुलुकको चासो बढ्दै
चीनले ५३ अफ्रिकी मुलुकका लागि लागू गरेको शुन्य भन्सार नीतिपछि चिनियाँ बजारमा आफ्नो उत्पादनको पहुँच विस्तार गर्न अफ्रिकी प्रतिनिधिहरूले चासो देखाएका छन् । मे १ देखि कार्यान्वयनमा आएको उक्त नीतिले चीनसँग कुटनीतिक सम्बन्ध कायम गरेका ५३ अफ्रिकी मुलुकका उत्पादनलाई भन्साररहित रूपमा चिनियाँ बजारमा प्रवेश गर्ने अवसर प्रदान गरेको छ । नीति कार्यान्वयनपछि पहिलोपटक आयोजना भएको चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो (सीआईआईई) मा सहभागी अफ्रिकी प्रतिनिधिहरूले नयाँ अवसरको सदुपयोग गर्दै आफ्ना उत्पादनको प्रवद्र्धनमा जोड दिएका छन् । चीनका लागि मौरिससका दूतावासका मन्त्री सल्लाहकार अश्विन कुमार रुहीले चिनियाँ बजारमा आफ्ना उत्पादन प्रवद्र्धन गर्न आफूहरू उपयुक्त समयमा आएको बताए ।
१८. ह्वाइट हाउसको चिफ अफ स्टाफमा स्टेफन मिलर नियुक्त हुँदै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको चिफ अफ स्टाफमा स्टेफन मिलरलाई नियुक्त गर्ने घोषणा गर्नुभएको छ । ट्रम्पले शुक्रवार सामाजिक सञ्जालमार्फत आगामी नोभेम्बर ९ देखि मिलरले सुसी वाइल्सको स्थान लिने जानकारी दिनुभयो । ट्रम्पकाअनुसार वाइल्सलाई ह्वाइट हाउसको राजनीतिक सञ्चालनसम्बन्धी जिम्मेवारीमा पठाइनेछ । मिलर शुरुदेखि नै आफ्नो राजनीतिक अभियान र प्रशासनसँग जोडिएको उल्लेख गर्दै ट्रम्पले उनी राजनीतिक रूपमा निकै दक्ष र सक्षम व्यक्ति भएको बताउनु भयो ।
१९. तिहारमा फूल तथा माला किन्नेको चहलपहल
तिहार नजिकिएसँगै राजधानी काठमाडौंका फूल तथा माला पसलहरूमा किनमेल गर्नेहरूको चहलपहल बढेको छ । तिहारमा विशेषगरी दिदीबहिनीले दाजुभाइलाई भाइटीकामा लगाइदिने माला तथा घर सजावटका लागि आवश्यक सयपत्री, गोदावरी मखमलीलगायतका फूल किन्ने उपभोक्ताहरूको बजारमा चहलपहल बढेको हो । तिहारलाई फूल तथा मालाको पर्वका रूपमा समेत लिईन्छ । तिहारमा फूलको माला लगाएर घरको झ्याल, ढोका, दियोघर, कलश लयायतको सजावट गर्ने भएकोले बजारमा फूलको माग समेत उच्च हुने गरेको छ ।
२०. विशेष ‘डग शो’ प्रदर्शन गर्दै नेपाली सेनाले मनायो कुकुर तिहार
नेपाली सेनाले कुकुर तिहारको अवसरमा विशेष ‘डग शो’ प्रदर्शनी आयोजना गरेको छ । मध्यपुर थिमिस्थित भैरव वाहन गुल्ममा आईतवार आयोजित कार्यक्रममा कुकुरको पूजा गरि उनीहरुको कला कौशल समेत प्रश्तुत गरिएको हो । प्रदर्शनीमा तालिमप्राप्त कुकुरहरूले खोज तथा पहिचान, ट्रयाकिङ, सुरक्षा र शंकास्पद वस्तु पहिचान लगायतका सीप प्रदर्शन गरेका थिए । सिमित स्रोत र साधनकाबीच कुकुरलाई विशेष तालिम दिएर जिम्मेवारी निर्वाह गराउनु चुनौतीपूर्ण भएको नेपाली सेनाको प्रवन्ध रथी विभागका विभागीय प्रमुख उपरथी हरेन्द्र पाठकले बताउनु भयो । उहाँले कुकुर सेनाको महत्वपूर्ण सहयोगी शक्ति रहेको उल्लेख गर्नभयो । बताउनु भयो ।
२१. लक्ष्मीपूजामा २ हजार मेगावाटसम्म विद्युत माग हुने अनुमान, आपूर्तिमा समस्या हुन नदिइने
नेपाल विद्युत प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन करिव १ हजार ९ सयदेखि २ हजार मेगावाटसम्म विद्युत माग हुने अनुमान गरेको छ ।
उक्त माग सहजै व्यवस्थापन गर्न सकिने प्राधिकरणको दाबी छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पछिल्लो समय भएको वर्षाका कारण नदीहरूमा पानीको बहाव राम्रो रहेको र विद्युत उत्पादन तथा आपूर्तिका लागि पर्याप्त क्षमता उपलब्ध रहेकाले लक्ष्मीपूजाका दिन विद्युत आपूर्तिमा समस्या नहुने बताउनु भयो । उहाँकाअनुसार अहिले प्राधिकरणसँग करिब २ हजार ७ सयदेखि २ हजार ८ सय मेगावाटभन्दा बढी विद्युत उपलब्ध गराउन सक्ने क्षमता छ ।
२२. सार्वजनिक खरिदका श्रमिकलाई दैनिक न्युनतम ज्याला १ हजार ७४० रुपैयाँ, सामाजिक सुरक्षा अनिवार्य
सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रममा काम गर्ने श्रमिकको पारिश्रमिक अब १ हजार ७४० तोकिएको छ भने त्यस्ता श्रमिकको सामाजिक सुरक्षालाई सरकारले अनिवार्य सर्त बनाएको छ । निर्माण आयोजना, परामर्श सेवा, उद्योग तथा मालसामान आपूर्तिसँग जोडिएर काम गर्ने श्रमिकलाई समेत समेट्दै सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक (पारिश्रमिक तथा सामाजिक सुरक्षा) कार्यविधि, २०८३’ जारी गरेको छ । पूर्वाधार विकास मन्त्रालयले जारी गरेको कार्यविधिले सार्वजनिक खरिदबाट सञ्चालन हुने आयोजनामा काम गर्ने श्रमिकको न्युनतम ज्याला, सामाजिक सुरक्षा, बीमा र कार्यस्थलको सुरक्षासम्बन्धी व्यवस्था गरेको हो ।
२३. लक्ष्मीपूजामा उपत्यका झिलिमिली, विद्युत व्यवस्थापनको अनुगमनमा ऊर्जामन्त्री श्रेष्ठ
नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज लक्ष्मीपूजा हर्षोल्लासका साथ मनाइँदैछ । लक्ष्मीपूजाको अवसरमा घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मी भित्र्याइएको हो । काठमाडौं उपत्यका पनि रंगीचंगी बत्तीले झिलिमिली बनेको छ ।लक्ष्मीपूजाका दिन विद्युत खपत बढ्ने भएकाले विद्युत आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ स्वयं नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित कार्यालय पुग्नुभएको छ । मन्त्री श्रेष्ठले प्राधिकरणबाट भइरहेको विद्युत आपूर्ति तथा व्यवस्थापनको अवस्थाबारे जानकारी लिनुका साथै अनुगमन गर्नुभएको हो । उहाँले लक्ष्मीपूजाका दिन विद्युत आपूर्ति निरन्तर राख्न र कुनैपनि कारणले विद्युत सेवा अवरुद्ध हुन नदिन सम्बन्धित अधिकारीलाई निर्देशनसमेत दिनुभएको छ । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij