२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिकामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
शितगंगा नगरपालिका–२ भुवनपाटामा लु २ ख ३७२ नम्बरको बस दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार बसको ब्रेक फेल भएपछि दुर्घटना भएको हो।
प्रहरीका अनुसार सुपा देउराली मन्दिर दर्शनका लागि सुनवलबाट आएको उक्त बस दर्शन गरेर फर्किने क्रममा दुर्घटनामा परेको थियो। ब्रेक फेल भएपछि अनियन्त्रित भएको बसले विपरीत दिशाबाट आउँदै गरेको लु ९१ प २३५९ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो।
मोटरसाइकललाई ठक्कर दिएपछि बस सडक छेउको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका १६ जनामध्ये ६ जनाको अवस्था गम्भीर र अन्यको अवस्था मध्यम रहेको छ। सबै घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको प्रहरी निरीक्षक लामिछानेले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij