२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । डलर साट्ने प्रलोभन देखाएर ठगी तथा लुटपाट गर्दै आएको आरोपमा प्रहरीले सुजन तामाङलाई पक्राउ गरेको छ। प्रहरीको गोली लागेर नियन्त्रणमा लिइएका २८ वर्षीय तामाङको नाममा यसअघि नै ८ वटा मुद्दा दर्ता भई अनुसन्धान भएको खुलेको छ।
प्रहरीले उनलाई बिहीबार साँझ काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्चाबाट पक्राउ गरेको हो। पक्राउ परेका तामाङले ठगी तथा लुटपाटका लागि छुट्टै समूह नै सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको काठमाडौंका एसएसपी दिलीप घिमिरेले जानकारी दिएका छन्।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का स्थायी बासिन्दा तामाङ काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ मा बस्दै आएका थिए। उनीविरुद्ध स्वयम्भू, महाराजगञ्ज, सातदोबाटो र जिल्ला प्रहरी परिसर भक्तपुरबाट समेत मुद्दा चलेको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गत असोज २३ गते गोकर्णेश्वर नगरपालिका–१२ स्थित लसुनटारमा दुई जनाको साथबाट तामाङको समूहले १६ लाख रुपैयाँ लुटेको थियो। घटनापछि अनुसन्धान गर्दै जाँदा उक्त समूहको संलग्नता खुलेको एसएसपी घिमिरेले बताए।
तामाङलाई पक्राउ गर्न खोज्दा उनले चक्कु प्रहार गरी एक प्रहरी जवानलाई घाइते बनाएका थिए। त्यसपछि प्रहरीले एक राउण्ड हवाई फायर र एक राउण्ड घुँडामुनि गोली प्रहार गरेर उनलाई नियन्त्रणमा लिएको एसएसपी घिमिरेले जानकारी दिए।
प्रहरीका अनुसार तामाङको समूहले विभिन्न व्यवसायीलाई फोन गरी आफूसँग अमेरिकी डलर रहेको र सस्तोमा साटिदिने भन्दै प्रलोभनमा पार्ने गरेको थियो। उनीहरूले गेस्ट हाउस, रेस्टुरेन्ट, सुन पसल तथा हार्डवेयर व्यवसायीलाई निशाना बनाउने गरेका थिए।
डलर साट्न इच्छुक व्यक्तिलाई एकान्त स्थानमा बोलाएर डलरको अगाडि र पछाडि नोट राखी बीचमा कागजका पाना वा नेपाली २० रुपैयाँका नोट राखिएको बिटो थमाउने र नेपाली रुपैयाँ लिएर फरार हुने गरेको प्रहरीको भनाइ छ।
तामाङको समूहले बुढानीलकण्ठ, साँखु र स्वयम्भू क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनीहरूको साथबाट केही अमेरिकी डलर तथा नोटको बन्डल बनाउन प्रयोग गरिने कागजसमेत बरामद गरेको छ।
डलर साट्ने नाममा हुने यस्ता ठगीबाट बच्न गैरकानुनी रूपमा विदेशी मुद्रा साट्ने प्रलोभनमा नपर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij