२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । कर्णाली याक्सलाई ३९ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ।
शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सक्यो।
कर्णालीका लागि डेविड मिलरले उत्कृष्ट ब्याटिङ गर्दै ९३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ५४ बलमा पाँच चौका र सात छक्का प्रहार गरे। त्यस्तै, दीपक डुम्रेले १८ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सुदूरपश्चिमका लागि स्कट कुग्लेजिनले दुई विकेट लिए। हेमन्त धामी, अनिल खरेल, दीपेन्द्रसिंह ऐरी, थारिन्दु रत्नायके र अविनास बोहोराले समान एक–एक विकेट लिए।
जितसँगै सुदूरपश्चिमले पाँच खेलबाट तीन जित र दुई हारसहित ६ अंक जोडेको छ। छैटौँ स्थानमा रहेको टोली जितपछि दोस्रो स्थानमा उक्लिएको हो।
यता, कर्णालीले पाँच खेलबाट दुई जित र तीन हार बेहोर्दै चार अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij