२०८३ आश्विन २३ गते शुक्रवार
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति र केन्द्रीय सदस्यका उम्मेदवारले आफूअनुकूल सूची बाँड्न थालेपछि सभापतिका उम्मेदवार गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले त्यसको खण्डन गरेका छन् ।
पदाधिकारीमा उम्मेदवारी दिएका नेतासहित अन्य उम्मेदवारले पनि आफूअनुकूल सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यसहितको सूची बनाएर महाधिवेशन प्रतिनिधिलाई प्रभावित बनाउन खोजेका थिए । तर, यस्तो सूची सामाजिक सञ्जाल र प्रतिनिधिबीच पुगेपछि दुवैले खण्डन गरेका हुन् ।
थापाले सामाजिक सञ्जालमा लेख्दै यसपटक कुनै प्यानल र गुट नभएको स्पष्ट पारेका थिए । ‘यस महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासमा सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढंगले सहभागी हुन आग्रह गर्दछु । यसैबीच, विभिन्न उम्मेदवारहरूको सूचीलाई मेरो नामसँग जोडेर प्रचारप्रसार भइरहेको कुरा सुन्न र देख्न आएको छ,’ मतदान सुरु भएपछि थापाले लेखेका थिए, ‘यस सन्दर्भमा स्पष्ट हुन आग्रह गर्दछु । यो पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया हो । यसपटक कुनै पनि प्यानल वा गुट छैन । मेरो नाम जोडेर आएको लिस्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन होला । कुनै पनि अफवाहमा नलाग्नुहोला ।’
सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई कुनै पनि भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यान दिई आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न उनले आग्रह गरेका थिए । त्यस्तै, उपसभापति विश्वप्रकाश शर्माले पनि नेता तथा अरूले आफूअनुकूल र सहजताका लागि बनाएको सूचीमा विश्वास नगर्न आग्रह गरेका छन् । आफूहरूले कुनै सूची नै नबनाएको उनले बताएका छन् ।
‘हाम्रो नाम जोडेपछि भोट आउँछ भनेर हामी दुई भाइ (गगन थापा–विश्वप्रकाश शर्मा)ले सूची बनाएका छन् भनेर १० वटा सूची बाँडिएको छ,’ शर्मालेभने, ‘हामीले कुनै सूची बाँडेका छैनौँ ।’ विभिन्न पदका आकांक्षीले महाधिवेशन प्रतिनिधिको भोट तान्न यस्तो गरेको हुन सक्ने आशंका उनको थियो । यसपटक कुनै समूहका रूपमा प्रतिस्पर्धा भइरहेको छैन । कसैले पनि औपचारिक रूपमा प्यानलगत प्रतिस्पर्धा गरेका छैनन् । जसले गर्दा महाधिवेशन प्रतिनिधि एकातिर अलमलमा परेका छन् । अर्कोतिर उनीहरूले आफ्नो विवेकअनुसार मतदान गर्ने अवसर पनि पाएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij