२०८३ मंसिर ७ गते सोमवार
काठमाडौं । मनकामना हिलक्रेस्ट रिसोर्टले सञ्चालनको पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ। चितवन को-इ समूहअन्तर्गत रिसोर्ट्स बाई मनकामना केबलकार प्रालिद्वारा सञ्चालित रिसोर्टले आज मंसिर ८ गते पहिलो वार्षिकोत्सव मनाएको हो।
मनकामनामा सुविधासम्पन्न तथा आरामदायी आतिथ्य सेवा प्रदान गर्दै धार्मिक पर्यटनसँगै यस क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याइएको हो।
रिसोर्ट समूहका स्वर्गीय संस्थापक लक्ष्मण बाबु श्रेष्ठको दीर्घकालीन परिकल्पना र योजनाअनुसार निर्माण गरिएको हो। निर्धारित समयभन्दा केही ढिलो सञ्चालनमा आए पनि मनकामना केबलकार सञ्चालनमा आएको दिनकै अवसर पारेर रिसोर्टको औपचारिक उद्घाटन गरिएको थियो।
पहिलो वर्षको सञ्चालन सन्तोषजनक र उत्साहजनक रहेको जनाउँदै रिसोर्टले आगामी दिनमा सेवा, गुणस्तर र पाहुनाको सन्तुष्टिलाई थप प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
रिसोर्टले आफ्नो पहिलो वर्षको यात्रामा सहयोग गर्ने पाहुना, कर्मचारी, स्थानीय बासिन्दा, सहिद लखन गाउँपालिका, गोरखा जिल्ला प्रशासन कार्यालय, साझेदार ट्राभल एजेन्सी तथा पर्यटन क्षेत्रका सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।
मनकामनालाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित आगामी दिनमा थप स्तरीय सेवा तथा पर्यटकीय गतिविधि विस्तार गर्दै लैजाने रिसोर्टले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij