२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ। अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १६ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गरेको हो।
नेपालको जितमा सन्दीप जोराले ३४ र रोहित पौडेलले ३३ रन बनाए। जोराले ३५ बलमा ३४ रन जोडे भने रोहितले ३२ बलमा ३३ रनको योगदान गरे। दीपेन्द्रसिंह ऐरीले १५ रन तथा गुल्सन झाले १ रन बनाए। नेपालका कुशल भुर्तेल शून्य, आसिफ शेख २ र कुशल मल्ल ९ रनमा आउट भए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले १०२ रन बनाएको थियो। उसका लागि फैजल खान अहमदजाइ र नजिबुल्लाह जाड्रानले समान ३० रन बनाए। नानगेयलिया खानले १७ तथा करिम जनतले ९ रन जोडे।
नेपालका बलरमध्ये ललित राजवंशीले ४ विकेट तथा कुशल भुर्तेलले ३ विकेट लिए। ललितले १३ रन मात्र खर्चिए भने कुशलले २१ रन दिए। अफगानिस्तानका फारिदुन दावुदजाइ, अब्दुल्लाह अहमदजाइ र अरब गुलले एक–एक विकेट लिए।
अफगानिस्तानविरुद्धको जितसँगै नेपालले प्रतियोगितामा महत्वपूर्ण सफलता हात पारेको छ। नेपालले अब शनिबार जापानसँग प्रतिस्पर्धा गर्नेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij