२०८३ कार्तिक २८ गते शनिवार
१. हेटौंडामा छठको तयारी
हेटौँडामा छठ पर्व मनाउन राप्ती नदी किनारमा धमाधम तयारी भइरहेको छ । तराई–मधेसससहित देशभर श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वका लागि हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती खोलाको तटलाई सिँगारिएको हो । संयुक्त मधेशी सेवा समाज नेपाल र छठ पूजा समारोह समितिको आयोजनामा हुने पूजाका लागि नदी किनारमा सरसफाई, घाट व्यवस्थापन तथा पण्डाल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यस वर्ष राप्ती तटमा ५० देखि ६० हजारभन्दा बढी भक्तजन सहभागी हुने आयोजकको अनुमान छ ।
२. हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने
काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, जनचेतना अभिवृद्धि र समुदायको क्षमता विकासलाई प्राथमिकतामा राख्ने भएको हो । शुक्रवार काठमाडौं महानगरपालिकामा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले हराएका तथा चोरी भएका भगवान र सम्पदालाई घर फर्काउने अभियानलाई संस्थागत र प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँकाअनुसार महानगरपालिकाले यसअघि कुटनीतिक माध्यम तथा विदेशमा रहेका विभिन्न सङ्घसंस्था र समुदायसँग सहकार्य गरेर चोरी भएका सम्पदा फिर्ता ल्याउने प्रयास गर्दै आएको छ ।
३. सुदूरपश्चिम रोयल्स प्लेअफमा
उत्कृष्ट बलिङ लय कायम राख्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा पाँचौं खेलमा जित निकाल्दै प्लेअफमा पुगेको छ । कीर्तिपुरमा शुक्रवार भएको लिगको आफ्नो अन्तिम तथा सातौं खेलमा सुदूरपश्चिमले काठमाण्डु गोर्खाजमाथि ७ रनको जित निकाल्दै प्लेअफमा स्थान बनायो । प्लेअफमा पुग्न जित्नैपर्ने खेलमा सुदूरपश्चिमले उत्कृष्ट बलिङ र फिल्डिङ गर्दै रोमाञ्चक जित रचेको हो । त्रिवि क्रिकेट स्टेडियममा सुदूरपश्चिमले १२६ रनको सामान्य लक्ष्य दिएको थियो । तर बलिङमा उत्कृष्ट लय जारी राखेपछि सुदूरपश्चिम यो लक्ष्य जोगाउन सफल भयो । काठमाण्डुले पूरै ओभरमा सात विकेट गुमाउँदै ११८ रन मात्र जोढ्न सक्यो । अघिल्लो खेलमा पनि सुदूरपश्चिमले जनकपुर बोल्ट्सविरुद्ध १२० रनको लक्ष्य रक्षा गरेको थियो । लगातार दोस्रो खेलमा उत्कृष्ट फिल्डिङ गरेपछि सुदूरपश्चिमले अन्तिम बलमार्पmत जित रच्यो ।
४. सीमाको दूरी मेटाउँदै विगही नदी किनारमा साझा छठघाट, नेपाल–भारतका हजारौँ व्रतालु एकै ठाउँमा
नेपाल र भारतको सीमाबीच बग्ने विही नदी यतिबेला छठ पर्वको उल्लासले झकिझकाउ बनेको छ । नदीको एक किनारमा नेपाल र अर्कोतर्फ भारत रहे पनि छठ पर्वले दुवै देशका नागरिकलाई एउटै सांस्कृतिक र धार्मिक सूत्रमा बाँधेको छ । महोत्तरीको मटिहानी नगरपालिका र धनुषाको तुलसीयाहीसँगै भारतीय सीमावर्ती बजार मधवापुर र रामपुरका स्थानीयवासी मिलेर विही नदी किनारमा करिब दुई किलोमिटर लामो आकर्षक छठघाट निर्माण गरेका छन् । नदीको दुवैतर्फ पाल टाँगेर व्रतालुका लागि पूजास्थल तयार पारिएको छ । घाट व्यवस्थापनदेखि सजावटसम्म नेपाल र भारतका नागरिकको सामूहिक सहभागिता देख्न सकिन्छ । छठ पर्वका लागि तयार गरिएको यो साझा घाटले राष्ट्रिय सीमाभन्दा माथि उठेर दुई देशका नागरिकबीच रहेको आत्मीयता, पारिवारिक सम्बन्ध र सांस्कृतिक निकटतालाई उजागर गरेको छ ।
५. सानो लक्ष्य पनि रक्षा गर्ने आत्मविश्वास छ– सुदूरपश्चिमका बलर हेमन्त धामी
सुदूरपश्चिम रोयल्सका बलर हेमन्त धामीले सामान्य लक्ष्य भएपनि बिना दबाब रक्षा गर्ने आत्मविश्वासमा आफ्नो टोली हुने बताएका छन् । काठमाण्डु गोर्खाजमाथि जितपछि सुदूरपश्चिमका बलर हेमन्तले सामान्य लक्ष्य दिए पनि बलिङ युनिट राम्रो भएकाले बिना दबाबमा खेल्न सक्ने बताएका हुन् । सुदूपश्चिमले लगातार दोस्रो खेलमा सामान्य लक्ष्य रक्षा गरेको थियो । जनकपुर बोल्ट्ससँग १२० रन र काठमान्डुसँग १२६ रनको लक्ष्य सुदूरपश्चिमले लगातार रक्षा ग¥यो । सुदूरपश्चिमका बलर हेमन्तले आफ्नो टोलीको बलिङ राम्रो रहेकाले यी लक्ष्य रक्षा गर्ने आत्मविश्वास रहेको उल्लेख गरे । ब्याटरका लागि पिच त्यति सहज नभएको र त्यसले गर्दा पावरप्लेमा रन बटुल्न सहज नभएको उनी बताउँछन् ।
६. सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ
सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । शुक्रवार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले चारै जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । शपथ ग्रहण गर्नेमा रत्नबहादुर बागचन्द,चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी रहनुभएको छ । गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतमा कार्यरत चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । शपथ ग्रहणसँगै चारै जनाले सर्वोच्च अदालतको न्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ ।
७. सरकार अन्य दलभित्र हस्तक्षेप गरेर पुरानै राजनीतिक सिन्डिकेट बनाउन थाल्योः महामन्त्री पौडेल
नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले अन्य राजनीतिक दलको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर पुरानै शैलीको राजनीतिक सिन्डिकेट बनाउन खोजेको आरोप लगाउनुभएको छ ।
शुक्रवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले काँग्रेसभित्रै नेतृत्व चयन र गुटगत राजनीतिमा हस्तक्षेप गर्न खोजेको बताउनुभएको हो । उहाँले सरकारले लोकतान्त्रिक शासनका सामान्य मर्यादा र विधिको शासनसमेत पालना नगरेको आरोप लगाउनु भयो । निर्वाचनपछि बलियो जनमतसहित बनेको सरकारले नागरिकको विश्वासको सम्मान गर्नुको सट्टा लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार गर्न खोजेको उहाँको भनाइ छ ।
८. मुन्धुमलाई नयाँ पुस्तासम्म पु¥याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव
साहित्यकार तिलविक्रम नेम्वाङ (वैरागी काइँला) ले मुन्धुमलाई नयाँ पुस्तासम्म पु¥याउन परम्परागत शब्द निर्माणको पद्धतिलाई निरन्तरता दिँदै नयाँ शब्द र अभिव्यक्तिको सिर्जना गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार ललितपुरमा आयोजित ‘याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ विमोचन कार्यक्रममा बोल्दै उहाँले मुन्धुमलाई केवल परम्परागत ज्ञानका रूपमा सीमित नराखी समय र पुस्ताअनुसार परिमार्जन तथा विकास गर्दै लैजानुपर्ने बताउनुभएको हो । उहाँले लिम्बू भाषामा नयाँ शब्द निर्माणको सम्भावना देखाउँदै एक विद्वानले हिन्दू देवी दुर्गाको सिंहवाहिनी स्वरूपलाई लिम्बू भाषाकै शब्द निर्माण पद्धतिबाट व्याख्या गरेको बताउनु भयो ।
९.बजेट अभावबीच दशौँ राष्ट्रिय खेलकुदमा मधेसका ७०९ खेलाडी सहभागी हुने
कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशले आजदेखि प्रदेशस्तरीय छनोट प्रक्रिया शुरु गरेको छ । प्रतियोगितामा सहभागी हुने ३२ खेल विधिमध्ये मधेस प्रदेशले २९ विधामा सहभागिता जनाउने भएको छ । मधेस प्रदेशका खेलाडी, प्रशिक्षक, निर्णायक तथा व्यवस्थापक गरी ७०९ जनाको टोली प्रतियोगितामा सहभागी हुने मधेस प्रदेशका खेलकुद परिषद् सदस्यसचिव शिवजीप्रसाद कानूले जानकारी दिनुभयो । प्रतियोगिताको औपचारिक सुरुवात केही विधामा मंसिर ८ गतेदेखि हुने र मुख्य प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने तयारी छ । पत्रकार सम्मेलनमा प्रदेशका खेलकुद पदाधिकारीले बजेट अभाव र प्रदेश सरकारको अस्थिरताका कारण तयारीमा चुनौती थपिएको बताउनु भयो ।
१०. प्रदीप पौडेलको प्रश्न–‘आईजीपी हटाउने सल्लाहकारको नैतिकता खोइ ?’
नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रहरी महानिरीक्षक (आईजीपी) प्रकरणमा प्रधानमन्त्रीका सल्लाहकारसँग जोडिएको सन्देश मेटाउने विषय उठाउँदै सरकारको नैतिकता र जवाफदेहितामाथि प्रश्न उठाउनुभएको छ । शुक्रवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले प्रधानमन्त्रीका सल्लाहकारले आफूलाई दोष लाग्न सक्ने सन्देश मेटाएर अरूमाथि आरोप लगाउने विषय मोबाइल सन्देशमार्फत पठाएको प्रसंग उल्लेख गर्नुभएको हो । उहाँले विगतमा कुनै प्रधानमन्त्रीका सल्लाहकारले यस्तो गतिविधि गरेको भए उनी पदमा रहन सक्थे कि राजीनामा दिनुपर्ने अवस्था आउँथ्यो भन्दै प्रश्न गर्नुभयो । अहिलेको सरकार सञ्चालनमा नैतिकता भन्ने कुरा छ कि छैन भन्ने उहाँको प्रश्न छ ।
११. पश्चिमी वायु सक्रिय हुँदा आईतवारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव
देशमा पश्चिमी वायुको प्रभाव विस्तारै बढ्दै जाँदा आईतवारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासमेत पर्नसक्ने भएकाले काट्न बाँकी रहेको धानबाली सुरक्षित गर्न मौसमविद्ले सुझाव दिएका छन् । नेपाल मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलकाअनुसार शुक्रवार र शनिवार देशभरको मौसम सामान्यतया सफा रहनेछ । यी दुई दिन पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा भएपनि ठूलो मौसमी परिवर्तनको सम्भावना छैन । तर आईतवारदेखि पश्चिमी वायुको प्रभावका कारण मौसममा परिवर्तन आउने देखिएको छ ।
१२. डिजिटल विभेद अन्त्य गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यकः सञ्चारमन्त्री तिमिल्सिना
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचना प्रविधि, दूरसञ्चार र डिजिटल रूपान्तरणका क्षेत्रमा नेपालले प्रविधिमा अग्रणी देशहरूसँग सहकार्य र साझेदारी विस्तार गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार आईटीयू इन्टरनेसनल टेलिकम्युनिकेसन्स युनियनको कन्फरेन्स सकेर स्वदेश फर्किने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रविधिको तिब्र विकाससँगै दूरसञ्चार तथा सूचना प्रविधिको पहुँच विस्तार गर्नुपर्ने बताउनुभएको हो । विभिन्न कारणले प्रविधिमा नागरिकको पहुँच खुम्चिँदै गएको उल्लेख गर्दै त्यसलाई विस्तार गर्ने विषयमा विभिन्न देशसँग द्विपक्षीय छलफल भएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को प्लेनिपोटेन्सियरी सम्मेलनमा नेपालले विशेषगरी उत्थानशीलता, उदयमान प्रविधि र डिजिटल विभेद न्युनिकरणका विषयलाई प्राथमिकताका साथ उठाएको थियो ।
१३. चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री बालेन्द्र साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई चीन भ्रमणलाई घुमघाममा मात्रै सिमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिनुभएको छ । नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणबारे जानकारी गराउँदै आवश्यक निर्देशन लिन रास्वपाका संसदीय दलका सदस्य तथा पार्टीका नेताहरूले शुक्रवार प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री साहले दुई देशबीचको विशिष्ट सम्बन्धलाई थप प्रगाढ बनाउने गरी भ्रमणलाई फलदायी बनाउन सुझाव दिएको बताउनु भयो । उहाँकाअनुसार प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा नेपालको हितलाई केन्द्रमा राखेर अध्ययन, छलफल र अनुभव आदानप्रदान गर्न निर्देशन दिनुभएको छ ।
१४. कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग
टर्कीमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । टर्कीको अन्ताल्यास्थित सम्मेलन केन्द्र परिसरमा विश्वभरिबाट आएका नागरिक समाजका प्रतिनिधि तथा प्रदर्शनकारीहरूले जलवायु सङ्कटको मारमा परेका मुलुकको ऋण मिनाहा गर्न तथा जलवायु अनुकूलन र पुनरुत्थानका लागि अनुदान उपलब्ध गराउन माग गरेका हुन् । प्रदर्शनमा ऐक्यवद्धता जनाउँदै नेपालको नागरिक समाजकी प्रतिनिधि सुजिता माथेमाले कोप–३१ लाई अघिल्ला प्रतिबद्धता कार्यान्वयन गर्ने सम्मेलन (कोप अफ इम्प्लिमेन्टेसन) भनिए पनि सोअनुरूप प्रगति नदेखिएको बताउनु भयो । जलवायुजन्य विपद्का लागि जिम्मेवार प्रदूषकहरूले प्रतिवद्धताअनुसारको रकम नदिएको उल्लेख गर्दै उहाँले ‘लस एण्ड ड्यामेज’ र ‘ग्रिन क्लाइमेट फन्ड’ लगायतका संयन्त्रबाट अनुदानको सट्टा ऋण बढी आइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
१५. काठमाडौंका विभिन्न स्थानमा छठको तयारी तिब्र, घाट सजाउने काम जारी
छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तयारी शुरु भएको छ । राजधानीका थापाथली, कमलपोखरी, गौरीघाटलगायतका स्थानमा छठ पूजाका लागि घाट सजाउने तथा व्यवस्थापन गर्ने काम भइरहेको छ । छठ पर्वका लागि नदी, पोखरी तथा जलाशय किनारमा सरसफाइ गर्ने, पूजास्थल निर्माण गर्ने र सजावटका कामलाई तिब्रता दिइएको छ । व्रतालु तथा श्रद्धालु भक्तजनको सहजताका लागि विभिन्न स्थानमा घाट व्यवस्थापनको काम भइरहेको छ । तराई–मधेसमा विशेष उल्लासका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकामा पनि सामूहिक रूपमा मनाउने क्रम बढ्दै गएको छ । राजधानीमा बसोबास गर्ने तराई–मधेससहित विभिन्न समुदायका नागरिकले छठ पर्वलाई साझा सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएका छन् ।
१६. ‘लोकतन्त्र खोस्न खोजे काँग्रेस चुप बस्दैन, अरु दुर्गानन्दहरु जन्मिन्छिन्’– प्रदीप पौडेल
नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए काँग्रेस चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ । शुक्रवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा उत्रिन काँग्रेस बाध्य हुने बताउनुभएको हो । पौडेलले आगामी चैतमा स्थानीय तहको निर्वाचन हुनेमा नै संशय उत्पन्न भएको भन्दै सरकारले निर्वाचनको तयारी र प्रतिवद्धता स्पष्ट पार्नुपर्ने बताउनु भयो । निर्धारित समयमा निर्वाचन नगरेर स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने अवस्था स्वीकार्य नहुने उहाँको भनाइ छ ।
१७. गाजाको अस्पतालमा इजरायली हवाई आक्रमण, ६ जनाको मृत्यु
गाजाको दक्षिणी क्षेत्र खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सको शल्यक्रिया विभागमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्। प्यालेस्टिनी सुरक्षा तथा स्वास्थ्य स्रोतका अनुसार बिहिबार इजरायली विमानले अस्पताल परिसरको शल्यक्रिया विभाग रहेको दोस्रो तलामा कम्तीमा एउटा क्षेप्यास्त्र प्रहार गरेको थियो। आक्रमणबाट शल्यक्रिया विभागसहित आसपासका संरचनामा ठूलो क्षति पुगेको छ। मेडिकल कम्प्लेक्सका निर्देशक आतिफ अल–हौतले आक्रमणले भवनमा प्रत्यक्ष क्षति पु¥याएको र सघन उपचार कक्ष तथा शल्यक्रिया कक्षहरूमा समेत गम्भीर असर परेको बताउनुभयो।
१८. चीन, टर्की र इथियोपियाद्वारा कार्बन क्रेडिट बजारमा सहकार्यको पहल
अन्तर्राष्ट्रिय जलवायु सम्मेलन कोप–३१ मा तीन देशको संयुक्त पहल, विकासशील मुलुकबीच सहकार्य र कार्बन बजारको विश्वव्यापी संरचना सुदृढ बनाउने लक्ष्य
टर्कीको तटीय सहर अन्टाल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) का क्रममा चीन, टर्की र इथियोपियाले अन्तर्राष्ट्रिय कार्बन क्रेडिट बजारमा सहकार्य विस्तार गर्ने संयुक्त पहल सुरु गरेका छन्। तीन देशले चीन पेभिलियनमा आयोजित विशेष समारोहबीच उक्त पहल सार्वजनिक गरेका हुन्। कार्यक्रममा सरकारी अधिकारीका साथै संयुक्त राष्ट्रसङ्घ र विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी थिए। चीनका पारिस्थितिकी तथा वातावरण उपमन्त्री ली गाओले निष्पक्षता, समावेशिता र स्वैच्छिक सहभागिताका सिद्धान्तमा आधारित यो पहल विश्वव्यापी रूपमा खुला रहेको बताउनुभयो। यसले अन्तर्राष्ट्रिय कार्बन क्रेडिट बजारको गुणस्तर अभिवृद्धि तथा दीर्घकालीन स्थायित्व प्रवद्र्धन गर्ने उहाँको भनाइ थियो।
१९. जलवायु परिवर्तनविरुद्ध तत्काल कदम चाल्न र जलवायु वित्त सुधार गर्न विश्व नेताहरूको आह्वान
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१ औँ सम्मेलन (कोप–३१) अन्तर्गत टर्कीको अन्टाल्यामा आयोजित विश्व नेताहरूको शिखर सम्मेलन बुधवारदेखि शुरु भएको छ । सम्मेलनमा जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई व्यवहारमा उतार्न तथा जलवायु वित्त व्यवस्थालाई थप प्रभावकारी बनाउन विश्व नेताहरूले जोड दिएका छन् । सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी चुनौती समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनु भयो । सबै विषयमा राष्ट्रहरूबीच समान धारणा हुन आवश्यक नभए पनि कुनै एक देशले मात्रै समाधान गर्न नसक्ने समस्यामा सहकार्य गर्नुपर्ने उहाँको भनाइ थियो ।
२०. टर्कीमा सैन्य हेलिकोप्टर दुर्घटना, चार सैनिकको मृत्यु
टर्कीको पूर्वी प्रान्त मालात्यामा बिहीबार सैन्य हेलिकोप्टर दुर्घटना हुँदा चार सैनिकको मृत्यु भएको छ । टर्कीको रक्षा मन्त्रालयका अनुसार एस–७० सैन्य हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । हेलिकोप्टरमा सवार चारै जना सैनिकको मृत्यु भएको मन्त्रालयले जनाएको छ । स्थानीय सञ्चारमाध्यम एनटीभीका अनुसार मालात्या प्रान्तको येसील्युर्त जिल्लास्थित सामन्कोय क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको हो ।
२१. टिकटक र अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सद्वारा साना व्यवसायको ई–कमर्स प्रवद्र्धन गर्न डिजिटल कमर्स ल्याव सञ्चालन
टिकटक र अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी) ले साना तथा मझौला व्यवसायलाई डिजिटल सीप र प्रविधिमा सक्षम बनाउने उद्देश्यले घानाको राजधानी आक्रामा डिजिटल कमर्स ल्याब सञ्चालनमा ल्याएका छन् । मंगलवार शुरु गरिएको यो विश्वव्यापी पहल ल्याटिन अमेरिका, अफ्रिका र दक्षिणपूर्वी एसियाका छनोट गरिएका बजारमा विस्तार गरिने जनाइएको छ । यस कार्यक्रममार्फत साना व्यवसायलाई डिजिटल व्यापारका अवसर उपयोग गर्न, बजार पहुँच विस्तार गर्न, आम्दानी बढाउन र दीर्घकालीन व्यावसायिक क्षमता विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । टिकटककी दक्षिण अफ्रिकाका लागि सरकारी सम्बन्ध तथा सार्वजनिक नीतिकी प्रमुख थोलोआना एन्चेके–महलाएलाले डिजिटल प्लेटफर्मले व्यवसायलाई ग्राहकसम्म पुग्न सहज बनाएको बताउनुभयो ।
२२. यमनमा हवाई आक्रमणमा मारिएकाहरूको सामूहिक अन्त्येष्टि, ४४ जनाको मृत्यु
यमनको राजधानी सानाअ नजिकैको एक गाउँमा भएको हवाई आक्रमणमा मारिएका व्यक्तिहरूको बुधवार सामूहिक अन्त्येष्टि गरिएको छ । राजधानी सानाअको अल–शाब मस्जिदमा आयोजित अन्त्येष्टिमा सयौँ मानिस सहभागी भएका थिए । उनीहरूले मृतकप्रति प्रार्थना गर्दै शवपेटिकासहित अन्तिम संस्कारमा सहभागिता जनाएका थिए । मृतकमा महिला तथा बालबालिका समेत रहेका छन् । हुथी समूहकाअनुसार सानाअको पूर्वी क्षेत्रमा पर्ने बानी हुशायस जिल्लाको अश शरियाह गाउँमा भएको हवाई आक्रमणमा ४४ जनाको मृत्यु भएको थियो । यमनमा हुथी विद्रोही र साउदी अरब नेतृत्वको गठबन्धन समर्थित सरकारी सेनाबीच द्वन्द्व चर्किँदै गएको समयमा उक्त आक्रमण भएको हो ।
२३. युरोपेली राजनीतिक समुदायको नवौँ शिखर सम्मेलन डब्लिनमा शुरु, सुरक्षा र आर्थिक चुनौतीबारे छलफल हुँदै
युरोपेली मुलुकहरूबीच क्षेत्रीय सुरक्षा, आर्थिक प्रतिस्पर्धात्मकता र साझा चुनौतीबारे छलफल गर्न युरोपेली राजनीतिक समुदाय (ईपीसी) को नवौँ शिखर सम्मेलन आयरल्याण्डको राजधानी डब्लिनमा शुरु भएको छ । बिहीवारदेखि शुरु भएको सम्मेलनमा युरोपका करिव ५० देशका नेताहरू सहभागी छन् । डब्लिनस्थित कन्भेन्सन सेन्टरमा आयोजित सम्मेलनको सहअध्यक्षता आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले गरिरहेका छन् । ‘बलियो, सुरक्षित र जोडिएको युरोप’ भन्ने नारासहित सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा युरोपको आर्थिक प्रतिस्पर्धात्मक क्षमता वृद्धि, नवीन प्रविधिको प्रवद्र्धन, ऊर्जा सहकार्य तथा सुरक्षा चुनौतीको सामना गर्ने क्षमतामा सुधार गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
२४. रुसको सेन्ट पिटर्सबर्गमा कार विस्फोट हुँदा सैन्य अधिकारीको मृत्यु
रुसको सेन्ट पिटर्सबर्गस्थित पुष्किन्स्की जिल्लामा कार विस्फोट हुँदा एक सैन्य अधिकारीको मृत्यु भएको छ । सेन्ट पिटर्सबर्गको अनुसन्धान समितिकाअनुसार बिहीवार भएको विस्फोटमा रुसी सैनिकको मृत्यु भएको हो । स्थानीय सञ्चारमाध्यम फोन्टान्काले मृतक सैन्य अधिकारी कर्नेल पदमा कार्यरत रहेको जनाएको छ । यद्यपि, उनको पूर्ण परिचय सार्वजनिक गरिएको छैन । घटनाबारे अनुसन्धान गर्न रुसको अनुसन्धान समितिको सेन्ट पिटर्सबर्गस्थित मुख्य अनुसन्धान निर्देशनालयले हत्या अभियोगमा आपराधिक मुद्दा दर्ता गरेको छ । अनुसन्धान समितिका अनुसार घटनास्थलमा अनुसन्धानकर्ता, फरेन्सिक विज्ञ तथा सुरक्षा अधिकारीहरू परिचालन गरिएको छ ।
२५. रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी
अबको वार्तामा युरोपेली देशलाई पनि सहभागी गराउने सहमति, युद्ध अन्त्यका मुख्य विवाद भने कायमै
रुस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक पहलसँगै अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदान गर्ने तयारी अघि बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुशनरले प्रस्तावित आदानप्रदानबाट हजारौँ युद्धबन्दी आफ्ना परिवारसँग पुनर्मिलन हुन सक्ने बताउनुभएको छ। कुशनरले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत रुस र युक्रेनबीच युद्धका क्रममा अहिलेसम्मकै ठूलो युद्धबन्दी आदानप्रदान गर्ने दिशामा काम भइरहेको जानकारी दिनुभएको हो। उहाँले भन्नुभएको छ, “हामी युद्धकै सबैभन्दा ठूलो युद्धबन्दी आदानप्रदानतर्फ पनि काम गरिरहेका छौँ, जसबाट सम्भवतः हजारौँ मानिस आफ्ना परिवारसँग पुनर्मिलन हुन सक्नेछन्।” उहाँले आदानप्रदानमा सहभागी हुने युद्धबन्दीको सङ्ख्या वा त्यसको निश्चित मिति भने खुलाउनुभएको छैन।
२६. शैक्षिक योग्यतामाथि प्रश्न उठेपछि इण्डोनेसियाका उपराष्ट्रपतिद्वारा राजीनामा
शैक्षिक योग्यतामाथि प्रश्न उठेपछि इन्डोनेसियाका उपराष्ट्रपति जिब्रान राकाबुमिङ राकाले बिहीबार संसद्मा राजीनामा पेश गर्नुभएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९८७ मा जन्मिनुभएका जिब्रानले सन् २०२४ अक्टोबर २० मा उपराष्ट्रपतिको पदभार ग्रहण गर्नुभएको थियो । उहाँको कार्यकाल पाँच वर्षका लागि निर्धारित थियो । उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिँदा प्रयोग गर्नुभएको विदेशी शैक्षिक योग्यताको समकक्षता प्रमाणपत्रलाई इन्डोनेसियाको सर्वोच्च अदालतले हालै अमान्य ठहर गरेपछि उहाँमाथि राजनीतिक दबाब बढेको बताइएको छ । इण्डोनेसियाको संविधानअनुसार उपराष्ट्रपति पद रिक्त भएको अवस्थामा ६० दिनभित्र जनपरामर्श सभाको बैठक बसेर नयाँ उपराष्ट्रपति चयन गर्नुपर्ने व्यवस्था छ ।
२७. नेपालको क्रेडिट रेटिङ ‘बीबी माइनस’ मै, राजनीतिक स्थीरताले सुधारको संकेत
अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिचले नेपालको सार्वभौम क्रेडिट रेटिङ ‘बीबी माइनस’ मै कायम राखेको छ । फिचले नेपालको भविष्यको आर्थिक तथा वित्तीय अवस्थालाई हेर्दै आउटलुक पनि स्थिर राखेको हो । नेपालले २०८१ मंसिर ७ मा पहिलो पटक र २०८२ मंसिर २ मा दोस्रो पटक यही साख पाएको थियो । हालै सार्वजनिक प्रतिवेदनमा फिचले नेपालको न्यून सरकारी ऋण, बलियो विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाहलाई सकारात्मक पक्षका रूपमा उल्लेख गरेको छ । जलविद्युत् क्षेत्रको सम्भावना र बहुपक्षीय विकास साझेदारबाट प्राप्त हुने सहुलियतपूर्ण वित्तीय सहयोगले पनि नेपालको ऋण तिर्न सक्ने क्षमतालाई बलियो बनाएको फिचको निष्कर्ष निकालेको छ । तर कमजोर सुशासन, न्यून प्रतिव्यक्ति आय, सीमित आर्थिक विकास र प्राकृतिक विपद्को जोखिमका कारण नेपालको रेटिङमा सुधार हुन नसकेको फिचको रिपोर्टले देखाएको छ ।
२८. राष्ट्रिय परिचयपत्र प्रणाली १५ सरकारी निकायसँग जोडियो, सर्वोच्च अदालतदेखि स्थानीय तहसम्म अन्तरआवद्धताको तयारी
राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली सरकारी सेवा प्रवाहसँग जोडिने क्रम तिब्र बनेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हालसम्म १५ वटा सरकारी तथा सार्वजनिक निकायका सूचना प्रणालीसँग अन्तरआवद्धता कायम गरी सेवा सञ्चालनमा ल्याएको छ । सर्वोच्च अदालतदेखि स्थानीय तहसम्मका निकायले समेत राष्ट्रिय परिचयपत्र प्रणालीसँग आफ्नो सेवा अन्तरआवद्धता गर्न अनुरोध गरेका छन् । विभागको आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासिक प्रगति विवरणअनुसार राहदानी विभाग, घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणाली, कम्पनी रजिस्ट्रारको कार्यालय, नागरिक एप, चालक अनुमतिपत्रसम्बन्धी इडीएल प्रणाली (वागमती प्रदेश), कर्जा सूचना केन्द्र, निवृत्तभरण व्यवस्थापन कार्यालय, वैदेशिक रोजगारसम्बन्धी सेवा, निर्वाचन आयोग, आन्तरिक राजस्व विभागको प्यानसेवा, राष्ट्रिय कितावखाना (निजामती), गृह मन्त्रालयको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली, स्वास्थ्य बीमा बोर्ड र अध्यागमन विभागलगायतका प्रणालीसँग अन्तरआवद्धता कायम भइसकेको छ ।–न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij