२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग ४८–२४ अंकले पराजित भएको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा शुक्रबार भएको खेलमा भारतले नेपाललाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।
खेलको पहिलो हाफमै भारतले ३१–१७ को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि भारतले दबाब कायम राख्दै १७–७ को स्कोर निकालेर २४ अंकको अन्तरमा खेल आफ्नो पक्षमा पारेको हो ।
सेमिफाइनलमा पुगेका दुवै टोलीले कास्य पदक पाउने प्रावधानअनुसार भारतसँगको हारसँगै नेपालले लगातार दोस्रो एसियन गेम्समा महिला कबड्डीबाट कास्य पदक जितेको छ । नेपालले यसअघि हाङझाउमा भएको १९औँ एसियन गेम्समा पनि कास्य पदक जितेको थियो ।
नेपाल समूह ‘बी’मा रहेको थियो । समूह चरणमा नेपालले थाइल्यान्डलाई ४६–४३ ले हराएको थियो भने चाइनिज ताइपेइसँग ३७–१८ ले पराजित भएको थियो । अन्तिम खेलमा श्रीलंकालाई ३४–२४ ले हराउँदै नेपाल सेमिफाइनल पुगेको थियो ।
जारी एसियन गेम्समा यो नेपालको दोस्रो पदक हो । यसअघि करातेको कुमिते ८४ केजीतर्फ तेन्जिङ शेर्पाले नेपालका लागि कास्य पदक जितेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij