२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनलाई लक्षित गर्दै सबै तहका सदस्यलाई अधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेको छ।
बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता देवराज चालिसेले सदस्यताको नाममा कुनै पनि सदस्य महाधिवेशन प्रक्रियाबाट वञ्चित नहुने गरी आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए।
उनका अनुसार गत भदौ २८ गतेको बैठकले सदस्यता नवीकरण भएका र अधिवेशन प्रक्रियामा जोडिएका सबै सदस्यलाई सहभागी गराउने निर्णय गरिसकेको छ। उनले अब सदस्यताको विषयलाई लिएर कसैलाई पनि अधिवेशनबाट वञ्चित हुने अवस्था नरहेको बताए।
पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई समेत आगामी महाधिवेशनमा सक्रिय रूपमा सहभागी गराउने व्यवस्था गरिएको चालिसेले जानकारी दिए।
बैठकले वडा अधिवेशनदेखि केन्द्रसम्मका सबै तहमा समानुपातिक तथा सहभागितामूलक वातावरण निर्माण गर्ने विषयमा जोड दिएको छ। साथै, पार्टीको समग्र एकता, सङ्गठन सुदृढीकरण र राष्ट्र निर्माणमा कांग्रेसको भूमिकाबारे पनि छलफल भएको प्रवक्ता चालिसेले बताए।
उनका अनुसार १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न कार्यतालिकालाई चुस्त बनाउँदै आवश्यक निर्देशनसमेत दिइएको छ। पार्टीभित्र देखिएका प्राविधिक तथा व्यवस्थापकीय विषय समाधान गर्दै सबै तहका अधिवेशन निर्धारित मितिमै सम्पन्न गर्ने तयारी कांग्रेसले गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij