Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

लोमान्थाङमा २४ घण्टामा ७ पटक धक्का, अधिकांश घरमा चिरा

लोमान्थाङमा २४ घण्टामा ७ पटक धक्का, अधिकांश घरमा चिरा


  • 911
    Shares

    लोमान्थाङमा २४ घण्टामा ७ पटक धक्का, अधिकांश घरमा चिरा
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुस्ताङको लोमान्थाङ क्षेत्रमा ७ पटक भूकम्पको धक्का महसुस भएको छ। पटक–पटक भूकम्प आएपछि स्थानीय त्रसित भएका छन्।

    निरन्तरको भूकम्पका कारण ऐतिहासिक तथा पर्यटकीय क्षेत्र लोमान्थाङमा ठूलो क्षति पुगेको गाउँपालिका अध्यक्ष टसी न्हूर्बू गुरुङले जानकारी दिएका छन्।

    सदियौँ पुराना माटोका संरचनाले बनेको लोमान्थाङका अधिकांश घरमा चिरा परेको छ। गाउँपालिका अध्यक्ष गुरुङका अनुसार गाउँपालिकाभित्रका करिब सबैजसो घरमा क्षति पुगेको छ भने ५० प्रतिशतभन्दा बढी घर तत्काल बस्न नमिल्ने गरी उच्च जोखिममा परेका छन्।

    उनका अनुसार २० देखि ३० प्रतिशत घर पूर्ण रूपमा बस्न अयोग्य भएका छन् भने करिब ५० प्रतिशत घरमा उल्लेख्य क्षति पुगेको प्रारम्भिक अनुमान छ।

    ‘पुराना र नयाँ केही नभनी भूकम्पले क्षति गरेको छ। धेरैजसो घरहरू चिरिएका छन्,’ अध्यक्ष गुरुङले भने, ‘अलिबेर अडिएर भूकम्प रह्यो भने सबै गर्ल्यामगुर्लुम ढल्छन्।’

    हालसम्म भूकम्पका कारण मानवीय तथा पशुचौपायाको क्षति भने नभएको गाउँपालिकाले जनाएको छ।

    क्षतिको यकिन विवरण संकलन गर्न प्राविधिक टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली फिल्डमा खटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्सालले जानकारी दिए।

    जनप्रतिनिधि, कर्मचारी, प्राविधिक तथा सुरक्षा टोली वडा–वडामा पुगेर क्षतिको अवलोकन र मुचुल्का उठाउने काम गरिरहेका छन्।

    माटोबाट बनेका परम्परागत तथा ऐतिहासिक संरचना भएकाले थप पराकम्पन आएमा बाँकी घरसमेत भत्किने जोखिम रहेको गाउँपालिकाले जनाएको छ। क्षतिको विवरण जिल्ला प्रशासन कार्यालय तथा संघ र प्रदेश सरकारलाई समेत जानकारी गराइएको छ।

    प्रकाशित मिति :भाद्र २४ २०८३ बुधवार - १३:२१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij