Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

९०० विद्यार्थी मृत्युको मुखबाट फर्किएको कथा

९०० विद्यार्थी मृत्युको मुखबाट फर्किएको कथा


  • 883
    Shares

    ९०० विद्यार्थी मृत्युको मुखबाट फर्किएको कथा
    images

    काठमाडौं । गत बुधबार आएको बाढीबाट ९०० विद्यार्थीको ज्यान कसरी बचाइयो भन्ने विषयमा एक जना प्रधानाध्यापकले सुनाएका छन्। 

    बाढी आउनुभन्दा ठीक १० मिनेटअघि मात्र उनीहरूलाई त्यहाँबाट सुरक्षित स्थानमा सारिएको थियो।

    नुवाकोटस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले बीबीसीसँग कुरा गर्दै स्थानीय समयअनुसार बिहान ९:१० बजे आफूलाई विपत्तिको चेतावनी दिने चारवटा फोन आएको बताए। उक्त विपत्तिमा परी हालसम्म कम्तीमा ७९४ जनाको ज्यान गइसकेको छ।

    उनले तुरुन्तै विद्यालय खाली गराउने निर्णय गर्दै बालबालिकालाई अग्लो स्थानतर्फ भाग्न भने। साथै, विद्यार्थीले भरिएका बसहरूलाई त्यहाँबाट फर्काएर सुरक्षित स्थानतर्फ लैजान निर्देशन दिए।

    दवाडीले भने, ‘यदि हामीले छिटो निर्णय नगरेको भए र १० मिनेट मात्र ढिला भएको भए, विद्यार्थी र म लगायत हामी कोही पनि आज तपाईंसँग बोल्न सक्ने अवस्थामा हुने थिएनौँ।’

    केही मिनेटको अन्तरालमा चार फरक व्यक्तिहरूबाट चेतावनी आएका कारण उनलाई आसन्न खतराको आँकलन गर्न मद्दत पुगेको थियो।

    उनले थपे, ‘एक जना अभिभावकले आएर मलाई भन्नुभयो- ठूलो बाढी आइरहेको छ, म यहाँ आफ्नी छोरीलाई लिन आएको हुँ, म उनलाई लिएर जान्छु।’

    ‘ठूलो कारणबिना अभिभावकहरू यसरी हतारिएर आउँदैनन्, त्यसैले बालबालिकालाई सुरक्षित स्थानमा सार्न मैले एक सेकेन्ड पनि खेर फाल्नु हुँदैन भन्ने पक्का भयो।’

    ‘मैले अब थप ढिलाइ गर्नु हुँदैन भन्ने निर्णय गरेँ। यदि बाढी नआएको भए पनि, यो एक दिनको कक्षाको मात्र कुरा हुन्थ्यो।’

    ‘हामीले यति धेरै जीवन बचाउन सकेकोमा मलाई गर्व महसुस हुन्छ।’

    बुधबार नेपालका विभिन्न भागमा तहसनहस मच्चाएको र कम्तीमा २,४२६ जनालाई बेपत्ता बनाएको यस बाढीले विद्यालयको भवनलाई हिलो र भग्नावशेषले पुरिदियो।

    पानी यति छिटो आयो, नदीबाट करिब १०० मिटर टाढा रहेको छात्रावास भवन तुरुन्तै डुबेको कुरा दवाडीले बताए।

    सुरुमा धेरै विद्यार्थीले अवस्था कति गम्भीर छ भन्ने मेसो नै पाएनन्।

    १६ वर्षीया छात्रा युनिशा अमात्यले बाढी आउनुभन्दा ठीक अगाडि आफ्ना साथीहरूसँगै सुरक्षित स्थानतर्फ भागेको बताइन्।

    उनले बीबीसीसँग भनिन्, ‘म र मेरा साथीहरू जम्मा १० सेकेन्डको अन्तरले मात्र बाँच्यौँ।’

    ‘बाढी आउनु ठीक अघि हामी कक्षामा पढिरहेका थियौँ। शिक्षकहरू एकै ठाउँमा जम्मा हुनुभएको थियो र सुरुमा के भयो भन्ने उहाँहरूलाई पनि थाहा थिएन। पाँच मिनेटपछि शिक्षकहरू आएर हामीलाई बाढीको बारेमा जानकारी दिँदै घर जान भन्नुभयो।’

    विपत्तिको खबर सुनेर एक जना विद्यार्थी बेहोस भएको, तर सुरुमा धेरैले खतरालाई सामान्य रूपमा लिएको र गणित कक्षामा रहेका आफ्ना सहपाठीहरूलाई पर्खिएर बसेको उनले बताइन्।

    युनिशा र उनका साथीहरू विद्यालयको पछाडि रहेको बाटो हुँदै उकालोतर्फ भागे।

    विद्यालय वरपरको स्थानीय बजारलाई इङ्गित गर्दै उनले भनिन्, ‘म छिटो हिँड्न सकिरहेकी थिइनँ र साथीहरूले मलाई उकालो चढ्न मद्दत गरे। हामीले सुरक्षित क्षेत्रमा पुग्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्यौँ। हामी विद्यालयको पछाडिको साँघुरो भर्याङबाट उम्क्यौँ। हेर्दाहेर्दै मेरो आँखा अगाडि नै बजार बगायो।’

    ‘मेरो जुत्तामा ग्रिप नभएको भए म लड्ने थिएँ, भाग्ने क्रममा सुरक्षित क्षेत्रमा पुग्न विद्यार्थी र अन्य मानिसहरू एकअर्कालाई धकेलिरहेका थिए। भाग्नका लागि अर्कै बाटो रोज्ने मानिसहरूलाई सायद बाढीले बगायो।’

    छिमेकी गाउँतर्फ लाग्नुअघि विद्यार्थी र शिक्षकहरू सुरक्षित हुन सुरुमा केही सय मिटर उकालो चढेका थिए।

    सडक सञ्जाल टुटेको र यातायात अवरुद्ध भएका कारण उद्धार टोली त्यहाँ पुग्नुअघि धेरै जना दुई रातसम्म अलपत्र परेका थिए।

    विद्यालयबाट नदीपारि बस्ने प्रधानाध्यापक र युनिशा दुवैलाई अन्ततः हेलिकप्टरबाट उद्धार गरी उनीहरूको गाउँ पुर्याइएको थियो।

    यसैबिच, अभिभावकहरू आफ्ना छोराछोरी र आफन्तलाई सम्पर्क गर्न आतुर थिए।

    युनिशाकी आमा सबिना कुमारी श्रेष्ठले आफूले छोरी र श्रीमान् दुवैलाई पटकपटक फोन गर्न खोजेको तर दुवैसँग सम्पर्क हुन नसकेको बताउँछिन्।

    उनका श्रीमान् युवराज अमात्य तुरुन्तै विद्यालयतर्फ लागे।

    उनले भने, ‘बाढीको खबर फैलिने बित्तिकै मैले छोरीको नम्बरमा फोन गर्ने प्रयास गरेँ, तर सम्पर्क हुन नसकेपछि म डराएँ।’

    ‘केही मिनेटमै म छोरीको विद्यालयतर्फ दौडिएँ, त्रिशूली बजार बाढीले बगाइसकेको थियो। अनि मलाई मेरी छोरी अब रहिनन् जस्तो लाग्यो। म यति धेरै आत्तिएको थिएँ, आफ्नो स्कुटर रोकेँ। त्यहाँ बाढी आइरहेको थियो तर म छोरीबिना फर्किने कुरा सोच्न पनि सक्दिनथेँ।’

    झन्डै एक घण्टासम्म छोरी जीवित छिन् वा छैनन् भन्ने उनलाई केही थाहा थिएन र लगातार फोन गर्दा पनि सम्पर्क हुन सकेको थिएन। अन्ततः फोन लाग्यो र युनिशाले उठाइन्।

    उनले भने, ‘अन्ततः मेरी छोरीले फोन उठाइन् र मैले आफूलाई रोक्न सकिनँ, म भक्कानिएँ... मसँगै भएका दुई जना आफन्त पनि रोए र मलाई अँगालो हाले।’

    त्यो क्षण सम्झँदा युनिशाका आँखा रसाएको देखिन्छ।

    उनले भनिन्, ‘म डाँडाको टुप्पोमा पुगेपछि बुवाको फोन आयो। उहाँ रोइरहनुभएको थियो र म त्यसबेला एक शब्द पनि बोल्न सकिनँ।’

    यता घरमा उनको परिवार चिन्तित हुँदै उनको पखाइमा थियो।

    उनकी आमाले भनिन्, ‘मेरी कान्छी छोरीसमेत सुत्न सकेकी थिइनन्। तर तीन दिनपछि (शुक्रबार) उनलाई देख्न पाउँदा मलाई धेरै आनन्द आयो, म निकै खुसी र ढुक्क छु।’

    युनिशा आफू अब अगाडि के हुन्छ भन्ने कुरा सोचिरहेको बताउँछिन्।

    उनले भनिन्, ‘अहिले मलाई आफ्नो थप अध्ययनको चिन्ता लागिरहेको छ।’

    ‘मैले विद्यालय परिवर्तन गर्नुपर्यो भने, पुराना साथीहरूलाई धेरै मिस गर्नेछु र नयाँ साथीहरू बनाउन गाह्रो हुनेछ। मेरो आगामी पढाइलाई लिएर म दुःखी छु।’

    साइरन र सुरक्षित स्थानमा जान दिइने सतर्कता लगायतका राम्रा पूर्वचेतावनी प्रणालीहरू भएको भए स्थानीय बासिन्दाहरूलाई चाँडै प्रतिक्रिया जनाउन मद्दत पुग्न सक्ने कुरा प्रधानाध्यापक दवाडी बताउँछन्।

    तर तत्काल कदम चाल्ने आफ्नो निर्णयले ठूलो विनाश हुनबाट जोगाएको उनको विश्वास छ।

    ‘यदि मैले त्यो पिरियड सकिएपछि मात्र विद्यालय बन्द गर्ने निर्णय गरेको भए त्यहाँ केही पनि बाँकी रहने थिएन, बिहान ९:३० बजे विद्यालयको घण्टी मात्र बजिरहेको हुन्थ्यो होला।’

     बिबिसि

    प्रकाशित मिति :भाद्र १५ २०८३ सोमवार - १०:३०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij