२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपालका सात बक्सरले जापानमा हुने २० औं एशियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसामस्थित गुवाहटीमा गर्ने भएको छ ।
जापानको आइची\नागोया शहरमा असोज ३ गतेदेखि शुरु हुने एशियाली खेलकुदमा नेपालका चार पुरुष र ३ महिला बक्सरले नेपालको चुनौती दिँदैछन् । सन् २०१० को ग्वाङ्झाउ एशियन गेम्समा पदक जितेयता नेपाली बक्सिङ असफल हुँदै आएको छ ।
यसपल्ट पदक जित्ने लक्ष्यसहित नेपाली टोलीले लामो समयदेखि तयारी गर्दै आएको छ । पछिल्लो समय बक्सिङमा राम्रो प्रदर्शन गर्दै आएको भारतमा नेपालले प्रशिक्षण गर्ने भएको छ । सात खेलाडीसहित ९ सदस्यीय नेपाली टोली सोमबार आसाम जाँदै छ ।
स्पोट्र्स अथोरिटी अफ इण्डिया (साइ) अन्तर्गत नेशनल सेन्टर अफ एक्सिलेन्समा ४० दिने प्रशिक्षणमा रहने नेपाली बक्सिङ टोलीका प्रशिक्षक दीपक महर्जनले बताए । चीनको एसियाली गेम्समा पदक जित्ने खेलाडी दीपक नै हुन् ।
पुरुष ५५ केजीमुनि चन्द्रबहादुर थापा, ६० केजीमुनि खगेन्द्र रोका मगर, ७० केजीमुनि दानबहादुर दर्लामी र ९० केजीमुनि रविन नेपालले प्रतिस्पर्धा गर्ने छन् । महिला ५१ केजीमुनि रमिशा श्रेष्ठ, ५४ केजीमुनि अस्मिता तामाङ र ६५ केजीमुनि कुसुम तामाङ सहभागी हुनेछन् । नेपाली टोली त्यत्तैबाट जापान जानेछ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता र नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले टोलीलाई शुक्रवार एक कार्यक्रमबीच बिदाइ गरे । पछिल्लो तीन संस्करण नेपालको बक्सिङ पदकविहीन रहँदै आएको छ । सात खेलाडीमध्ये रविनले दोस्रोपल्ट एशियन गेम्स खेल्न लागेका हुन् ।
रविनले १९ औं एशियाली खेलकुदमा प्रतिष्पर्धा गरेका थिए । चन्द्र थापा पदक आशा गरिएका खेलाडी हुन् । चन्द्रले सन् २०२५ मा दुबईमा भएको आइबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक जितेकका थिए । चन्द्रको कांस्य पदक नेपाली बक्सिङको इतिहासमा हालसम्मकै ठूलो हो । प्रशिक्षकमा दीपकसँगै राज श्रेष्ठ छन् ।
एसियाली खेलकुदमा समग्रमा बक्सिङले ६ कांस्य पदक जितेको छ । बक्सिङले दक्षिण कोरियाको सिओलमा सन् १९८६ मा भएको १०औं संस्करणदेखि हो । त्यसबेला ४ कांस्य पदक जितेको थियो । बाँकी २ संस्करणमा बक्सिङले पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको थियो । सन् १९९० मा चीनको बेइजिङमा भएको ११औं संस्करणमा चित्रबहादुर गुरुङले पदक जिते । पछिल्लोपल्ट दीपकले १६ औं एसियाडमा काँस्य जितेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij