२०८३ श्रावण १६ गते शनिवार
१. हिंसाबाट सत्ता परिवर्तन गर्ने सोच हाबी भयोः राधेश्याम अधिकारी
वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले ब्यालेट (मतदान) को साटो हिंसाका माध्यमबाट सत्ता परिवर्तन गर्ने मान्यता स्थापित हुन खोजेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । शनिवार ललितपुरमा आयोजित प्रकाश काफ्लेको ३४ औँ स्मृति दिवस तथा ३२ औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान राजनीतिक अवस्था र लोकतन्त्रको भविष्यप्रति यस्तो बताउनुभएको हो । अधिकारीले विगतका हिंसात्मक घटनाहरूमा दोषीलाई जवाफदेही बनाउन नसक्दा त्यसकै पुनरावृत्ति भइरहेको तर्क गर्नुभयो । भदौ २३ र २४ गतेका घटनाहरूको स्मरण गर्दै उहाँ ती घटनाहरूमा जवाफदेहिता वहन गराउन नसकिएकै कारण अहिले फेरि त्यस्तै प्रकृतिका घटनाहरू दोहोरिन थालेको बताउनु भयो । उहाँले हालैका दिनमा देखिएका धार्मिक तथा अधार्मिक प्रकृतिका उश्रृङ्खल गतिविधि र निजी क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरूमाथि भएका आक्रमणप्रति चासो व्यक्त गर्नुभयो ।
२. सद्भाव ¥याली लगत्तै सुनसरी र सिरहा घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
सुनसरी र सिरहामा भएका घटनाका दोषीहरूलाई तत्काल कानूनी दायरामा ल्याउन माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ । जनकपुरधाममा आयोजित सद्भाव ¥याली समापन भए लगत्तै युवाहरूको एक समूहले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको हो । नगरमा आयोजित सद्भाव ¥याली विसर्जन भएलगत्तै स्वतःस्फूर्त रूपमा भेला भएका युवाहरूले विरोध प्रदर्शन शुरु गरेका थिए । उनीहरूले सुनसरी र सिरहामा भएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गर्दै चर्को नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरूले समाजमा शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न राज्य पक्ष थप संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् ।
३. व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपियोः सीता गुरुङ
नेपाली काँग्रेसकी नेतृ एवं पूर्वमन्त्री सीता गुरुङले व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपिएको बताउनुभएको छ । ‘समाज र राजनीतिबीचको अन्तरसम्बन्ध’ विषयक एक कार्यक्रममा बोल्दै उहाँले प्रजातन्त्र प्राप्तिको लामो सङ्घर्षपछि पनि प्रणालीलाई सुदृढ बनाउन नसकिएकोमा चिन्ता व्यक्त गर्नुभएको हो । मुलुकको विविधतालाई सम्बोधन गर्दै प्रत्येक नागरिकले राज्यमा आफ्नो सुरक्षा र भविष्य सुनिश्चित देख्ने वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । वर्तमान राजनीतिक अवस्था, भू–राजनीति र सामाजिक परिवेशलाई मध्यनजर गर्दै जनतामा पुनः आशा जगाउनु नै अहिलेको मुख्य चुनौती र आवश्यकता रहेको नतृ गुरुङको भनाइ छ ।
४. लोकतन्त्रको वास्तविक परीक्षा शक्तिशालीको सुविधाबाट नभई कमजोरको न्यायबाट हुन्छः न्यायाधीश मल्ल
सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले लोकतन्त्रको वास्तविक मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुने बताउनुभएको छ । प्रकाश काफ्लेको ३४ औँ स्मृति दिवस तथा ३२ औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण समारोहलाई शनिबार ललितपुरमा सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । न्यायाधीश मल्लले मुलुकमा उत्कृष्ट संविधान, कानून र सक्षम संस्थाहरू विद्यमान भएपनि तिनको सान्दर्भिकता सबैभन्दा कमजोर नागरिकले राज्यको ढोकामा पाउने न्यायको प्रकृतिमा निर्भर रहने उल्लेख गर्नुभयो । सबैभन्दा कमजोर नागरिक न्याय खोज्दै आउँदा उसले सुनुवाइ पाउँछ कि मौनता, सहयोग पाउँछ कि अपमान ? उहाँको प्रश्न छ । त्यसले नै कानून र संस्थाको वास्तविक मूल्य निर्धारण गर्ने बताउनु भयो ।
५. राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छः गगनकुमार थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर जनसेवाको मुख्य माध्यम बनाउनुपर्ने बताउनुभएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राजनीतिमा बढ्दै गएको पद र शक्तिको आशक्तिप्रति चिन्ता व्यक्त गर्नुभएको हो । नेपाली काँग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै सभापति थापाले राजनीतिलाई सबैभन्दा ठूलो सार्वजनिक र मानव सेवाको क्षेत्रका रूपमा परिभाषित गर्नुभयो । नागरिक सेवा र मानव सेवाका लागि शक्ति र सत्तालाई साधन बनाउनुपर्नेमा केवल सत्ता प्राप्तिकै लागि मात्र राजनीति गर्ने अवस्थामा पुग्नु दुःखको विषय भएको उहाँको भनाइ छ । यो राजनीतिको उद्देश्यभन्दा फरक र विचलित बाटो भएको बताउनु भयो ।
६. रविले भ्रम र यथार्थको सम्मिश्रणबाट भीड जम्मा गरे, कानूनी समस्याले बालेन कामचलाउ भएः खगेन्द्र संग्रौला
साहित्यकार खगेन्द्र संग्रौलाले गत फागुन २१ को संसदीय निर्वाचनमा भेडापन हाबी भएको टिप्पणी गर्नुभएको छ । ‘समाज र राजनीतिबीचको अन्तरसम्बन्ध’ विषयक एक कार्यक्रममा बोल्दै उहाँले गत निर्वाचनमा उम्मेदवार थाहा नपाइकनै बालेन्द्र साह नै उम्मेदवार हो भन्दै मतदान गरेको पाइएको भन्दै यस्तो टिप्पणी गर्नुभएको हो । नेपाली समाज र वर्तमान मनोविज्ञानमा भेडापन हाबी भएको उहाँको तर्क छ । उहाँले समाजको विवेकहीन भीडतन्त्रलाई राजनीतिक नेताहरूले आफ्नो फाइदाका लागि प्रयोग गर्ने गरेको बताउनु भयो । साहित्यकार संग्रौलाले नेपाली समाजमा तार्किकताको अभाव रहेको र यसमा एक प्रकारको ‘भेडोपन’ हाबी भएको तर्क गर्नुभयो । इतिहासको सन्दर्भ जोड्दै उहाँले पहिलो संविधानसभा निर्वाचनमा माओवादीको पक्षमा देखिएको अभूतपूर्व लहर र दोस्रो निर्वाचनमा त्यो जनमानस एकाएक हराएको प्रसङ्ग उल्लेख गर्नुभयो । गत फागुन २१ को निर्वाचनको अनुभव सुनाउँदै उहाँले चितवन र नवलपरासीका मतदाताहरूमा चरम अन्योल देखिएको बताउनु भयो ।
७. मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरण मात्र भयोः प्रा. कृष्ण खनाल
प्रा. कृष्ण खनालले नेपाली राजनीतिमा जिम्मेवारी लिने संस्कारको अभाव रहेको र मुलुक ‘बहुसंकट’ (पोली–क्राइसिस) को अवस्थाबाट गुज्रिरहेको बताउनुभएको छ । समाज र राजनीतिबीचको अन्तरसम्बन्धबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दलहरूले निर्वाचनमा व्यहोरेको हारको वस्तुनिष्ठ समीक्षा गर्नुको सट्टा दोषारोपण गरेर उम्किने गरेको टिप्पणी गर्नुभएको हो । मुलुकको वर्तमान अवस्थालाई ‘बहुसंकट’ को संज्ञा दिँदै उहाँले सरकारले समस्याको स्थायी समाधान खोज्नुको सट्टा तात्कालिक रूपमा सामसुम पार्ने काम मात्र गरिरहेको आरोप लगाउनु भयो । मिटरब्याज पीडितसँगको सम्झौता र देवानगञ्जमा भएका घटनालाई उदाहरणका रूपमा प्रश्तुत गर्दै उहाँ अहिले समस्यालाई शिथिल मात्र बनाएको तर सम्बोधन नगरिएको बताउनु भयो । समस्याको शिथिलीकरण समाधान नभएको उहाँको दाबी छ ।
८. मुलुक र पार्टी दुवै संकटको भुमरीमाः नयाँ कार्यदिशाका लागि राष्ट्रिय भेलाः काँग्रेस संस्थापन इतर समूह
नेपाली काँग्रेसको संस्थापन इतर समूहका नेता डा. शशांक कोईरालाले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताउनुभएको छ । शनिवार सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोईरालाले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा नयाँ गति दिन ५ सय ५१ सदस्यीय आयोजक समितिको संयोजनमा भेला बोलाइएको स्पष्ट पार्नुभयो । नेपाली राजनीति विगत एक वर्षदेखि अनिश्चितता र हिंसाको भुमरीमा रुमल्लिएको उल्लेख गर्दै डा. कोईरालाले यसको प्रत्यक्ष असर नेपाली काँग्रेसमा परेको बताउनु भयो । उहाँले २०८२ भदौ २४ गतेको हिंसात्मक घटनामा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रिय सदस्य डा. आरजु राणा देउवामाथि भएको साङ्घातिक आक्रमण र पार्टी कार्यालयहरूमा भएको तोडफोडका कारण उत्पन्न त्रासदीपूर्ण अवस्थाको स्मरण गर्दै त्यस्तो संकटका बेला एकताको आवश्यकता रहेकोमा त्यसो हुन नसकेको बताउनु भयो ।
९.भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित
नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ (उत्कृष्ट सेवा सम्मान) बाट सम्मानित गरेको छ । नेपाल र भियतनामबीचको कुटनीतिक, व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै मन्त्रालयले श्रेष्ठलाई प्रशंसापत्रसहित सम्मान गरेको हो। भियतनामको वैदेशिक सेवामा पु¥याएको विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै प्रदान गरिएको उक्त सम्मानपत्रमा भियतनामका परराष्ट्रमन्त्री हो बिन्ह ट्रुङले हस्ताक्षर गर्नुभएको छ । नेपालमा रहेका भियतनामी नागरिक तथा व्यवसायीहरूलाई आवश्यक सहजीकरण प्रदान गर्नुका साथै दुई देशबीचको द्विपक्षीय सहयोग अभिवृद्धिमा सेतुको रूपमा काम गरेको भन्दै भियतनाम सरकारले श्रेष्ठको योगदानको प्रशंसा गरेको छ ।
१०. प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल
सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले आधुनिक प्रविधि र जलवायु परिवर्तनका कारण मानव अधिकारको क्षेत्रमा नयाँ र जटिल चुनौतीहरू थपिएको बताउनुभएको छ । शनिवार ललितपुरमा आयोजित प्रकाश काफ्लेको ३४ औँ स्मृति दिवस तथा ३२ औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै न्यायाधीश मल्लले हिंसाको स्वरूप परिवर्तन भएको धारणा व्यक्त गर्नुभयो । उहाँले हिंसा सधैँ शरीरमा देखिने नील डाममा मात्र सिमित नहुने उल्लेख गर्दै अहिले मोबाइल, कम्प्युटर, विभेदकारी तथ्याङ्क र एल्गोरिदमभित्र लुकेका डिजिटल हिंसाहरू बढ्दै गएको बताउनु भयो । आर्टिफिसियल इन्टेलिजेन्स, बायोमेट्रिक्स, अनुहार पहिचान र व्यापक तथ्याङ्क सङ्कलन जस्ता प्रविधिले मानिसलाई सुविधा दिएपनि यसले गोपनीयता, अभिव्यक्ति स्वतन्त्रता, समानता र मानवीय स्वायत्ततामा नयाँ प्रश्नहरू जन्माएको उहाँको तर्क छ ।
११. नेतृत्वमा करुणा र सहानुभुति हुनुपर्छः सभापति थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक नेतृत्वमा करुणा र सहानुभूति हुनुपर्ने बताउनुभएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेतृत्वको प्रमुख गुण मानवीय संवेदना हुनुपर्ने बताउनुभएको हो । सभापति थापाले आगामी साउन २४ गतेदेखि पार्टीले ‘एनसी फर एनसी’ (नेप्लिज काँग्रेस फर नेसनल कज) अभियान शुरु गर्न लागेको जानकारी दिनुभयो । यस अभियानअन्तर्गत पार्टीका प्रत्येक नेता तथा कार्यकर्ताले वर्षभर आफूलाई कुनै न कुनै सामाजिक वा राष्ट्रिय कार्यमा संलग्न गराउनुपर्ने नीति लिइएको उहाँले स्पष्ट पार्नुभयो । विपद् व्यवस्थापनसम्बन्धी तालिम लिइरहेका सहभागीहरूलाई लक्षित गर्दै उहाँले यस वर्षको आफ्नो सङ्कल्प विपद् प्रतिकार्यसँग जोड्न आग्रह गर्नुभयो । आधुनिक युगमा नेतृत्वका लागि ज्ञान र प्रविधिको सीप मात्र पर्याप्त नहुने तर्क गर्नुभयो ।
१२. धार्मिक तथा जातीय सहिष्णुता र शान्तिका लागि काठमाडौंमा नागरिक समाजको ‘सद्भाव ¥याली’
मुलुकमा जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले काठमाडौंमा ‘सद्भाव ¥याली’ आयोजना गरिएको छ । वृहत नागरिक आन्दोलनको अगुवाइमा शान्ति, सद्भाव र न्यायका लागि यो ¥याली निकालिएको हो । पछिल्लो समय तराईका विभिन्न जिल्लामा देखिएको जातीय तथा धार्मिक तनावलाई न्युनिकरण गर्दै सामाजिक एकता कायम गर्न नागरिक समाजले यो पहल गरेको हो । गत साउन १० गते सुनसरीको कप्तागञ्जमा दुई समुदायबीच भएको झडपमा दुई जनाको मृत्यु भएको थियो भने सिरहामा उत्पन्न धार्मिक विवादका क्रममा प्रहरीको गोली लागि एक जनाको ज्यान गएको थियो । यी हिंसात्मक घटनाहरूका कारण तराईका केही जिल्लाहरूमा अझै पनि स्थिति तनावपूर्ण रहेको छ भने स्थानीय प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरेको छ ।
१३. धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी
तराईका विभिन्न जिल्लाहरूमा उत्पन्न तनावपूर्ण स्थितिलाई सामान्यीकरण गर्न गृहमन्त्री सुधन गुरुङले शनिवार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता शुरु गर्नुभएको छ । गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी समूहका प्रतिनिधिहरूसँग छलफल अगाडि बढाउनुभएको हो । गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा परी दुई युवकको मृत्यु भएपछि तराईका जिल्लाहरूमा प्रदर्शन र आन्दोलन चर्किएको थियो । सोही क्रममा सिरहामा हिन्दु र मुस्लिम समुदायबीचको विवादले उग्र रूप लिँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर थप एक जना युवाको ज्यान गएको थियो । आन्दोलनलाई शान्त पार्न र सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन गर्न गृहमन्त्री गुरुङ यतिबेला तराई भ्रमणमा हुनुहुन्छ । वार्ताका माध्यमबाट केही स्थानको माहोल क्रमिक रूपमा शान्तिपूर्ण बन्दै गएको छ ।
१४. जातीय र धार्मिक सहिष्णुताका लागि काठमाडौंमा सद्भाव ¥याली
मुलुकमा जातीय तथा धार्मिक सहिष्णुता र शान्ति कायम गर्ने उद्देश्यका साथ नेपाली काँग्रेसका भ्रातृ संस्थाहरूले राजधानीमा सद्भाव ¥याली आयोजना गरेका छन् । तराईका विभिन्न जिल्लाहरूमा हालै उत्पन्न धार्मिक तथा जातीय तनावका बीच सामाजिक सद्भावको सन्देश प्रवाह गर्न यो ¥याली निकालिएको हो । गत साउन १० गते सुनसरीको कप्तागञ्जमा दुई समुदायबीच भएको झडपमा परी दुई जनाको मृत्यु भएको थियो । त्यसैगरी सिरहामा उत्पन्न धार्मिक द्वन्द्वलाई नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर थप एक जनाको निधन भएपछि तराईका जिल्लाहरूमा सुरक्षा स्थिति तनावपूर्ण बनेको छ । उक्त घटनाहरूपश्चात तराईका केही क्षेत्रहरूमा अझै पनि निषेधाज्ञा जारी रहेको र सामाजिक वातावरण असहज बनेको पृष्ठभूमिमा काँग्रेसका भ्रातृ संस्थाहरूले काठमाडौंमा प्रदर्शन गर्दै शान्ति र सद्भावका लागि अपिल गरेका हुन् ।
१५. जनकपुरधाममा सामाजिक सद्भाव कायम गर्न वृहत ¥याली प्रदर्शन
जनकपुरधाममा पछिल्लो समय उत्पन्न तनावपूर्ण परिस्थितिलाई मत्थर पारी सामाजिक सद्भाव र एकता कायम गर्ने उद्देश्यले एक वृहत् सद्भाव ¥याली निकालिएको छ । जिल्ला प्रशासन कार्यालय, धनुषाको अगुवाईमा आयोजित उक्त ¥यालीमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको छ । जनकपुरधामस्थित रेल्वे स्टेसनबाट प्रारम्भ भएको ¥यालीले नगरका विभिन्न मुख्य चोकहरूको परिक्रमा गरेको थियो । सुनसरीमा भएको दुई समुदायबीचको झडपपछि उत्पन्न तनाव र स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) का बीच नागरिकहरूमा शान्तिको सन्देश प्रवाह गर्न यो कार्यक्रम आयोजना गरिएको हो । ¥यालीमा सहभागीहरूले ‘सामाजिक एकता कायम गरौं’ र ‘शान्ति तथा सद्भाव कायम गरौं’ जस्ता नाराहरू लगाएका थिए । सद्भाव ¥यालीमा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू, सरकारी कर्मचारी, विभिन्न धर्मका अगुवा, नागरिक समाजका प्रतिनिधि, उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
१६. काँग्रेस संस्थापनइतर समूहद्वारा डा. शशांक कोईरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला आयोजक समिति’ घोषणा
नेपाली काँग्रेसको संस्थापन इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोईरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ । शनिवार आयोजित सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको आगामी राष्ट्रिय भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न उक्त समिति र भेलाका लागि आवश्यक अन्य विभिन्न उपसमितिहरूको घोषणा गरिएको हो । आयोजक समितिमा पार्टीका १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय पदाधिकारी, सदस्यहरू, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारी, जिल्ला सभापतिहरू, उपत्यकाभित्रका जिल्ला कार्यसमिति पदाधिकारीहरू, महानगर तथा नगर सभापतिहरू समावेश गरिएको नेता मिनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
१७. ‘विश्वको छत’ मा वन्यजन्तुको सुरक्षाः तिब्बती मृगको संरक्षणमा रेन्जरहरूको सक्रियता
समुन्द्र सतहबाट औसत ४ हजार ५ सय मिटरभन्दा बढीको उचाईमा अवस्थित विश्वको छत मानिने चाङताङ राष्ट्रिय प्रकृति आरक्षमा तिब्बती मृग लगायतका दुर्लभ वन्यजन्तुको संरक्षणका लागि रेन्जरहरू अहोरात्र खटिएका छन् । हरेक वर्ष ग्रीष्म ऋतुमा पोथी तिब्बती मृगहरू प्रजननपश्चात आफ्ना बच्चाहरू सहित चाङताङस्थित आफ्नो बासस्थानतर्फ बसाइँ सर्ने गर्छन् । यस संवेदनशील समयमा वन्यजन्तुलाई कुनै अवरोध नपुगोस् भन्ने उद्देश्यले रेन्जरहरूले मुख्य करिडोर र नदी क्षेत्रहरूमा सूक्ष्म निगरानी गर्ने गरेका छन् । यस क्रममा घाइते भएका, थकित भएका वा बथानबाट पछि परेका साना मृगहरूलाई रेन्जरहरूले उद्धार गरी सुरक्षित स्थानमा पु¥याउने गर्दछन्। तथ्याङ्क अनुसार चुओलुओमु वन्यजन्तु संरक्षण केन्द्रका रेन्जरहरूले प्रत्येक बसाइँसराइको मौसममा संकटमा परेका ३०० देखि ४०० वटा तिब्बती मृगको उद्धार गर्दै आएका छन् ।
१८. १७ वर्षपछि लेबनानी राष्ट्रपतिको टर्की भ्रमणः द्विपक्षीय हित र क्षेत्रीय सुरक्षाका विषयमा छलफल
लेबनानका राष्ट्रपति जोसेफ औनले बिहीबार टर्कीको राजधानी अंकारामा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ । १७ वर्षको अन्तरालपछि लेबनानी राष्ट्र प्रमुखबाट भएको यो पहिलो औपचारिक टर्की भ्रमण हो । भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति औनले दक्षिणी लेबनानबाट इजरायली सेनाको पूर्ण फिर्ती सुनिश्चित गर्न र क्षेत्रीय स्थिरता पुनःस्थापनाका लागि टर्कीसँग सहयोगको आग्रह गर्नुभयो । ‘टर्की टुडे’काअनुसार राष्ट्रपति औनले लेबनानमा क्रियाशील संयुक्त राष्ट्रसंघीय अन्तरिम बललाई नयाँ अन्तर्राष्ट्रिय बलद्वारा प्रतिस्थापन गर्ने विषयमा हाल परामर्श भइरहेको जानकारी दिनुभयो । लेबनानको मुख्य प्राथमिकता सुरक्षा शून्यता सिर्जना हुन नदिनु रहेको उल्लेख गर्दै राष्ट्रपति औनले नयाँ अन्तर्राष्ट्रिय सुरक्षा बलले लेबनानी सशस्त्र बललाई सुदृढ बनाउन सहयोग पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
१९. खोप तथा प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरणका लागि नाइजेरियालाई गाभीद्वारा ५० करोड डलर सहयोग
नाइजेरियाले आगामी पाँच वर्षभित्र देशभर नियमित खोप अभियान र प्राथमिक स्वास्थ्य सेवालाई सुदृढ बनाउन ‘गाभी, द भ्याक्सिन एलायन्स’ बाट करिव ५० करोड अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको छ । गाभीको ६.० कार्यक्रम अन्तर्गत स्वीकृत भएको सो सहयोग राशि नाइजेरियाका स्वास्थ्य तथा समाज कल्याण मन्त्री मोहम्मद अली पाटे र गाभीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) सानिया निश्तारबीच राजधानी अबुजामा भएको उच्च स्तरीय छलफलपछि सुनिश्चित भएको हो । छलफलका क्रममा स्वास्थ्य मन्त्री पाटेले नाइजेरियाको खोप अभियानका लागि प्रस्ताव गरिएको यो सहयोगले आन्तरिक वित्तीय व्यवस्थापनमा थप प्रोत्साहन मिल्ने बताउनु भयो । उहाँले यस सहायताबाट खोपको आपूर्ति मात्र नभई यसको प्रभावकारी वितरण समेत सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो ।
२०. गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा सक्रिय हमास र अन्य सबै सशस्त्र समूहहरूको ‘पूर्ण निशस्त्रीकरण’ का लागि ‘बोर्ड अफ पिस’ बीच सम्झौता भएको दाबी गर्नुभएको छ । बिहीवार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत सो जानकारी दिँदै राष्ट्रपति ट्रम्पले यस सम्झौतालाई गाजामा नयाँ प्यालेस्टिनी सरकार गठन गर्ने दिशामा एक निर्णायक कदमका रूपमा व्याख्या गर्नुभएको छ । उक्त नयाँ सरकारले प्यालेस्टिनी जनताको हितका लागि ’बोर्ड अफ पिस’ सँग निकट रहेर कार्य गर्ने उहाँले बताउनु भयो । ‘यस सम्झौतापछि इजरायलले स्थायी सुरक्षाको अनुभूति गर्नेछ र गाजा अब उप्रान्त आतङ्ककारी आक्रमणको आधार क्षेत्रका रूपमा रहने छैन’ ट्रम्पले उल्लेख गर्नुभएको छ ।
२१. टर्कीः भ्रष्टाचार अनुसन्धानका क्रममा मेयरसहित ५५ जना हिरासतमा
टर्कीको प्रहरीले राजधानी अङ्काराको एतिमसगुत नगरपालिकाका मेयर एर्दाल बेसिकिओग्लुसहित ५५ जनालाई भ्रष्टाचार अनुसन्धानका क्रममा हिरासतमा लिएको छ । आन्तरिक मन्त्रालयका अनुसार विपक्षी दलद्वारा सञ्चालित नगरपालिकालाई लक्षित गरी यो कारबाही अघि बढाइएको हो । पक्राउ परेका मेयर बेसिकिओग्लु प्रमुख विपक्षी दल रिपब्लिकन पिपल्स पार्टी (सीएचपी) का सदस्य हुन् । राजनीतिमा प्रवेश गर्नुअघि उनी टर्कीका एक चर्चित अभिनेताका रूपमा स्थापित थिए । मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार यस अभियानका क्रममा उनका तीनजना उपमेयरहरूलाई समेत नियन्त्रणमा लिइएको छ । नगरपालिकाभित्र भएको भनिएको भ्रष्टाचार र अनियमितताको उजुरीका आधारमा अभियोजकहरूले गिरफ्तारी वारेन्ट जारी गरेपछि बिहीवार बिहानै समन्वयित रूपमा छापा मारिएको थियो ।
२२. पाकिस्तानको कोइला खानीमा विस्फोटः ३४ कामदारको मृत्यु भएको अनुमान
पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा एक कोइला खानीमा भएको विस्फोटमा परी ३४ जना कामदारको मृत्यु भएको उद्धार अधिकारीहरूले बताएका छन् । प्रान्तीय राजधानी क्वेटाको बाहिरी इलाकामा अवस्थित उक्त खानीमा बिहीवार स्थानीय समयअनुसार दिउँसो करिब ४ बजे विस्फोट भएको थियो । खानीभित्र काम चलिरहेका बेला अचानक विस्फोट हुँदा त्यहाँ कार्यरत मजदुरहरू भित्रै थुनिएका थिए । उद्धार टोलीले हालसम्म ३२ जनाको शव निकालिसकेको छ भने अन्य दुई जना अझै खानीको अत्यन्तै जटिल र पहुँचयोग्य नभएको क्षेत्रमा फसिरहेका छन् । खानीको उक्त हिस्सामा पुग्न कठिन भएकाले बाँकी दुई जनाको पनि जीवितै उद्धार हुने सम्भावना न्यून रहेको उल्लेख गर्दै अधिकारीहरूले दुर्घटनामा संलग्न सबै ३४ जनाकै मृत्यु भएको हुनसक्ने बताएका छन् ।
२३. भारतको महाराष्ट्रमा भवन भत्किँदा नौ जनाको मृत्यु, उद्धार कार्य जारी
भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रमा एक बहुतले आवासीय भवन भत्किँदा नौ जनाको मृत्यु भएको छ । बिहीवार राति भएको यस दुर्घटनामा अन्य धेरै व्यक्तिहरू भग्नावशेषमा पुरिएको स्थानीय अधिकारीहरूले शुक्रवार पुष्टि गरेका छन् । भारतको आर्थिक राजधानी मुम्बई नजिकै पर्ने भिवण्डी क्षेत्रमा उक्त दुर्घटना भएको हो । घटना पश्चात रातभर उद्धार कार्य सञ्चालन गरिएको थियो । भग्नावशेषमुनि अझै केही मानिसहरू फसिरहेको आशङ्का गरिएको छ र उनीहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास जारी रहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन अझै बाँकी रहेको अधिकारीहरूले बताएका छन् ।
२४. भीषण हावाहुरीका कारण ग्रीसभर डढेलो फैलियो, समुन्द्री मार्गबाट सयौँको उद्धार
ग्रीसमा शुक्रवार चलेको तिब्र हावाहुरीका कारण मुलुकभर डढेलोको प्रकोप बढेको छ । हावाको गतिका कारण आगो अनियन्त्रित रूपमा फैलिएपछि सयौँ मानिसहरूलाई समन्ुद्री मार्गबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने अग्नि नियन्त्रकहरू ७० भन्दा बढी स्थानमा लागेको डढेलो निभाउन प्रयासरत छन् । ग्रीस फायर सर्भिसका प्रवक्ता भासिलिस भार्थाकोगियानिसकाअनुसार हाल सुरक्षाकर्मीहरू देशभरका ७३ स्थानमा लागेका डढेलो नियन्त्रण गर्न लागिपरेका छन् । सबैभन्दा गम्भीर अवस्था मध्य ग्रीसको बोयोटिया क्षेत्रीय इकाई अन्तर्गत पर्ने जिरोनोमी गाउँ नजिक देखिएको छ । त्यहाँको आगलागी तटीय बस्ती एगियोस भासिलियोसतर्फ फैलिएपछि सडक मार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक सञ्जाल विच्छेद भएपछि ग्रीक राष्ट्रिय प्रसारक इआरटीकाअनुसार २५४ जना स्थानीय बासिन्दा र पर्यटकहरूलाई समुन्द्री मार्गबाट उद्धार गरिएको छ ।
२५. मलेसियाको जनसंख्या ३ करोड ४४ लाख पुग्यो
मलेसियाको कुल जनसंख्या सन् २०२६ मा ३ करोड ४४ लाख पुगेको छ । मलेसियाको तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको आधिकारिक प्रतिवेदन अनुसार अघिल्लो वर्ष ३ करोड ४२ लाख रहेको जनसंख्यामा ०.५ प्रतिशतको वार्षिक वृद्धिदर देखिएको हो । तथ्याङ्क विभागकाअनुसार मलेसियाली नागरिकको संख्या सन् २०२५ को ३ करोड ८ लाखबाट बढेर ३ करोड १० लाख पुगेको छ । नागरिकहरूको जनसंख्यामा वृद्धिदर ०.६ प्रतिशत कायम रहेको छ । यसको विपरित, गैर–नागरिकको संख्यामा भने गिरावट आएको छ । सन् २०२५ मा ०.५ प्रतिशतले घटेको गैर–नागरिकको संख्या यस वर्ष थप ०.२ प्रतिशतले खुम्चिएको विभागले जनाएको छ ।
देशको कुल जनसंख्यामा नागरिकको हिस्सा ९०.२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ९०.१ प्रतिशत रहेको थियो ।
२६. सन् २०२६ को दोस्रो त्रैमासिकमा हङकङको अर्थतन्त्र ४.३ प्रतिशतले विस्तार
हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) सरकारले शुक्रवार सार्वजनिक गरेको प्रारम्भिक अनुमानित तथ्यांकअनुसार सन् २०२६ को दोस्रो त्रैमासिकमा हङकङको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.३ प्रतिशतले वृद्धि भएको छ । जनगणना तथा तथ्यांक विभागले सार्वजनिक गरेको विवरणअनुसार यो वृद्धिदर पहिलो त्रैमासिकको ५.९ प्रतिशतको तुलनामा केही सुस्त देखिएको हो । एचकेएसएआर सरकारका प्रवक्ताले मजबुत व्यापारिक गतिविधि र लचिलो आन्तरिक मागका कारण दोस्रो त्रैमासिकमा आर्थिक वृद्धि सम्भव भएको जानकारी दिएका छन् । प्राप्त तथ्यांकअनुसार यस अवधिमा निजी उपभोग खर्चमा वास्तविक रूपमा २.९ प्रतिशतको वृद्धि भएको छ । व्यापारतर्फ वस्तुको कुल निर्यातमा २८.८ प्रतिशत र आयातमा २९.३ प्रतिशतको उल्लेख्य वृद्धि देखिएको छ ।
२७. ‘केही नेपाल ऐन संशोधन’मार्फत कानून बदल्ने अभ्यास गलतः काँग्रेस सांसद खाती
नेपाली काँग्रेसका सांसद खम्मबहादुर खातीले नेपालमा ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन’ भनेर गतल अभ्यासबाट कानुनको संसोधन गर्ने गरिएको बताउनुभएको छ । शनिवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको ऐन कार्यान्वयन मापनः महत्व, अभ्यास, चुनौती र आगामी बाटो सम्बन्धी छलफलमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले पटक–पटक ‘केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन’ मार्फत आफूले चाहे अनुसारको कानून संशोधन गर्ने गरेको बताउनु भयो । सत्तामा रहेका पक्षले आफ्नो अनुकूलता र प्रतिकूलताका आधारमा कानून बनाउने तथा संशोधन गर्ने गर्दा त्यसको प्रत्यक्ष असर सर्वसाधारणमा पर्ने उहाँको भनाइ छ । यसले जनमुखी कानून निर्माणको सिद्धान्तलाई कमजोर बनाएको उहाँको दाबी छ । उहाँले कानून निर्माण गर्दा विज्ञहरु राखेर जनमुखी कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
२८. एकीकृत कानून निर्माण गर्न कानुन कार्यन्वयन मापन आवश्यक छः परशुराम मेघी गुरुङ
विधायन व्यवस्थापन समितिका पुर्वसभापति परशुराम मेघी गुरुङले एकीकृत कानून निर्माण गर्न ऐन कानून कार्यन्वयन मापन आवश्यक रहेको बताउनुभएको छ । शनिवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको नेपालमा ऐन कार्यान्वयन मापनः महत्व, अभ्यास, चुनौती र आगामी बाटो सम्बन्धी छलफलमा उहाँले कानुनको जंगल बनाउन नहुने बताउनुभएको हो । उहाँले कानून निर्माणको उद्देश्य केवल नयाँ ऐन थप्नु नभई विद्यमान ऐन, नियम र कानूनलाई चुस्त, दुरुस्त तथा प्रभावकारी बनाउनु रहेको बताउनु भयो । नेपालको विधायकी अभ्यास लामो इतिहास नभएको उल्लेख गर्दै गुरुङले विषयगत समितिमार्फत विधेयकमाथि विस्तृत छलफल गर्ने अभ्यास संविधान कार्यान्वयनपछि मात्र व्यवस्थित रूपमा अघि बढेको धारणा राख्नुभयो । गुरुङले अहिले संघ, सात प्रदेश र ७५३ स्थानीय तह गरी कुल ७६१ तहबाट कानून निर्माण भइरहेको उल्लेख गर्दै अत्यधिक संख्यामा ऐन थपिँदा कानूनको जङ्गल सिर्जना हुने खतरा रहेको बताउनु भयो । प्रत्येक तहले वर्षमा १० वटा मात्रै ऐन बनाएमा पनि ७ हजार ६ सयभन्दा बढी ऐन थपिने उहाँको भनाई छ ।
२९. सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैनः नेकपा नेता सुवेदी
नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रिय सभामा संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले सरकारले राष्ट्रिय सभाका सांसदहरुको आवश्यक सुझाव समेत नमान्ने गरेको आरोप लगाउनुभएको छ । शनिवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको नेपालमा ऐन कार्यान्वयन मापनः महत्व, अभ्यास, चुनौती र आगामी बाटो सम्बन्धी छलफलमा उहाँले राष्ट्रिय सभाले दिएका सुझावलाई सरकारले बेवास्ता गर्ने प्रवृत्ति बढेको आरोप लगाउनुभएको हो । उहाँले संविधानले राष्ट्रिय सभालाई सीमित अधिकार दिएको उल्लेख गर्दै सरकारले विधेयकमाथि सांसदहरूले दिएका आवश्यक सुझावसमेत स्वीकार नगरेको गुनासो गर्नुभयो । हालै राष्ट्रिय सभाका सबै सदस्य एकमत भएर सहकारीसम्बन्धी विधेयकमा संशोधनका लागि सुझाव दिएको स्मरण गर्दै उहाँले सो सुझावलाई सरकारले अस्वीकार गरेको बताउनु भयो ।
३०. स्वार्थ समूहको दबाबमा होइन, राष्ट्रिय हितमा कानून बनाऔँः एमाले सांसद झाँक्री
नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले स्वार्थ समूहको दबाबमा नभई राष्ट्रिय हितमा कानून बनाउनुपर्नेमा जोड दिनुभएको छ । शनिवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको ऐन कार्यान्वयन मापनः महत्व, अभ्यास, चुनौती र आगामी बाटो सम्बन्धी छलफलमा उहाँले स्वार्थ समूहको दबाबभन्दा राष्ट्रिय आवश्यकता र राज्यको क्षमता हेरेर मात्रै कानुन बनाउनुपर्नेमा जोड दिनुभएको हो । उहाँले संसद्ले कानून निर्माणका विषयमा अनावश्यक आत्मग्लानि बोक्न नहुने पनि बताउनु भयो । नेपाल, बेलायत, भारत, जर्मनी, फ्रान्सलगायत वेस्टमिन्स्टर प्रणाली अपनाएका अधिकांश मुलुकमा सरकारले नै मुख्य रूपमा विधेयक ल्याउने अभ्यास रहेको उल्लेख गर्दै उहाँले सरकारले ल्याएका विधेयकलाई संसदले आवश्यक्ता अनुसार परिमार्जन गरेर पारित गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा नयाँ संविधान जारी भएपछि पर्याप्त कानून नबनेको भन्दै हुने आलोचनाप्रति समेत प्रश्न उठाउनु भयो । उहाँकाअनुसार कानून नबनेकै कारण नागरिकको जीवनमा वास्तवमै कस्तो असर परेको छ ? भन्ने विश्लेषण गर्न आवश्यक छ । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij