२०८३ श्रावण १६ गते शनिवार
काठमाडौं । सुनसरीबाट सुरु भएको प्रदर्शन मधेसका विभिन्न जिल्लामा फैलिने संकेत देखिएपछि नेपाल प्रहरीले कोशी, मधेस र लुम्बिनी प्रदेशमा उच्च सुरक्षा सतर्कता अपनाएको छ। सम्भावित तनाव र प्रदर्शनलाई नियन्त्रणमा राख्न प्रहरी प्रधान कार्यालयले एआईजीदेखि एसएसपी तहसम्मका वरिष्ठ अधिकृतलाई फिल्डमा खटाएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार जोखिमको आकलन गर्दै शुक्रबार बिहानदेखि विभिन्न संवेदनशील जिल्लामा वरिष्ठ प्रहरी अधिकृत परिचालन गरिएको छ। प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले एआईजीदेखि एसएसपीसम्म १५ जना अधिकृतलाई जोखिमयुक्त क्षेत्रमा खटाएको जानकारी दिएका छन्।
प्रहरीका अनुसार सुनसरीबाट सुरु भएको दुई समुदायबीचको तनाव अन्य जिल्लामा फैलिन नदिन केन्द्रबाट खटिएका अधिकृतहरूले स्थानीय सुरक्षा निकायसँग समन्वय गर्दै आवश्यक जनशक्ति परिचालन गर्नेछन्। उनीहरूको मुख्य जिम्मेवारी सुरक्षा व्यवस्थापन, सूचना समन्वय तथा सम्भावित जोखिम न्यूनीकरण रहेको छ।
यसअनुसार एआईजी सिद्धिविक्रम शाहलाई बाँके, एआईजी हिमालय कुमार श्रेष्ठलाई मधेस प्रदेश, एआईजी उमा प्रसाद चतुर्वेदीलाई कपिलवस्तु तथा एआईजी ईश्वर कार्कीलाई कोशी प्रदेश र सुनसरीमा खटाएको छ।
त्यस्तै डीआईजी दिनेश कुमार आचार्यलाई सिरहा र डीआईजी अबि नारायण काफ्लेलाई सप्तरीमा समन्वयको जिम्मेवारी दिइएको छ।प्रहरी प्रधान कार्यालयले सर्लाही, पर्सा, रौतहट, चितवन, महोत्तरी, बारा, धनुषा लगायतका जिल्लामा पनि एसएसपी तहका अधिकृत परिचालन गरेको जनाएको छ। सुरक्षा निकायले परिस्थितिलाई नियन्त्रणबाहिर जान नदिन निरन्तर निगरानी र समन्वयात्मक रूपमा सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij