Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

आज साउन १५: खिर खाएर मौलिक सांस्कृतिक पर्व मनाइँदै

आज साउन १५: खिर खाएर मौलिक सांस्कृतिक पर्व मनाइँदै


  • 638
    Shares

    • images
    आज साउन १५: खिर खाएर मौलिक सांस्कृतिक पर्व मनाइँदै
    images

    काठमाडौं । आज साउन १५ गते, नेपाली समाजमा खिर खाएर मौलिक सांस्कृतिक पर्व मनाइँदै छ । वर्षायाममा असार १५ मा दही चिउरा र साउन १५ मा खिर खाने परम्परा प्राचीनकालदेखि चलिआएको छ ।

    साउने झरीका बेला तातो खिर खानु स्वास्थ्यका लागि राम्रो मानिने भएकाले यो परम्परा बसेको विश्वास गरिन्छ । दूधमा चामल, चिनी तथा विभिन्न मसला मिसाएर खिर तयार गरिन्छ ।

    संस्कृत भाषामा खिरलाई ‘पायस’ भनिन्छ । यसलाई सात्विक आहारमध्ये उत्तम मानिने भएकाले पितृ तथा देवकार्यमा समेत प्रयोग गर्ने परम्परा छ । वैदिक सनातन धर्मावलम्बीले श्राद्धलगायत पितृकार्यमा गाईको दूधबाट खिर बनाएर चढाउने चलन अहिले पनि कायम छ ।

    साउनसम्म आइपुग्दा गाउँघरमा खेतीपातीको मुख्य काम सकिने र हरियालीसँगै गाईभैँसीका लागि पर्याप्त घाँस उपलब्ध हुने भएकाले दूध उत्पादन बढ्ने समयका रूपमा पनि यसलाई लिइन्छ । दूध प्रशस्त हुने समयमा इष्टमित्र र छोरीचेलीलाई बोलाएर खिर खुवाउने परम्परा विकास भएको विश्वास गरिन्छ ।

    साउनलाई भगवान् शिवको महिनाका रूपमा समेत लिइन्छ । शिवलाई दूध तथा दूधबाट बनेका परिकार चढाउने धार्मिक परम्परासँग पनि साउनमा खिर खाने चलन जोडिएको बताइन्छ । यद्यपि साउन १५ मै खिर खानुपर्ने स्पष्ट शास्त्रीय वचन भने नपाइने उल्लेख छ । नेपालमा चामलका अतिरिक्त साबुदाना, सेवइ, मकै र गाजरलगायतबाट पनि खिर बनाउने गरिन्छ । विशेषगरी साउनमा हरियो मकै प्रशस्त पाइने भएकाले मकैको खिर बनाएर खाने चलनसमेत छ ।

    नेपाली समाजमा विभिन्न महिनाको मध्य दिनलाई विशेष परिकारसँग जोड्ने मौलिक परम्परा छ । असार १५ मा दही चिउरा, साउन १५ मा खिर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउखट्टे र माघ १५ मा मालपुवालगायत परिकार बनाएर खाने चलन रहिआएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई ‘खिर दिवस’का रूपमा मनाउने निर्णय गरेको छ । बोर्डका अनुसार यस वर्ष आठौँ खिर दिवस मनाइँदै छ ।

    images
    प्रकाशित मिति :श्रावण १५ २०८३ शुक्रवार - ०७:३८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij