२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । तारकेश्वर नगरपालिका–१ मा ईभी कारभित्र जलेको अवस्थामा मृत फेला परेकी ४५ वर्षीया रश्मी रिजालको मृत्यु आत्मदाहका कारण भएको प्रारम्भिक निष्कर्षमा नेपाल प्रहरी पुगेको छ।
नुवाकोटको बेलकोटगढी नगरपालिका स्थायी घर भई काठमाडौंको मनमैजुमा बस्दै आएकी रश्मी साउन ८ गते बिहान घरबाट निस्केपछि सम्पर्कविहीन भएकी थिइन्। परिवारले उनी घर नफर्किएपछि प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए।
खोजीका क्रममा शनिबार तारकेश्वरस्थित कालेबासे–चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक शंकास्पद रूपमा रोकिएको बिएई ०४१० नम्बरको ईभी कार फेला परेको थियो। कालो सिसा भएका कारण स्थानीयले गाडीभित्र केही देख्न नसकेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले गाडी खोलेर हेर्दा पछाडिको सिटमा रश्मीको जलेको शव फेला परेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनास्थलको सिसिटिभी फुटेज, गाडीभित्र भेटिएका प्रमाण र प्रारम्भिक अनुसन्धानले रश्मीले आफैँ शरीरमा पेट्रोल छर्केर आगो लगाएको देखाएको छ। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार उनले सुरुमा गाडीबाहिर शरीरमा पेट्रोल छर्केकी र त्यसपछि गाडीभित्र प्रवेश गरेर आगो लगाएकी थिइन्।
प्रहरीले घटनास्थलबाट तीन वटा लाइटर बरामद गरेको छ। गाडीको ढोका भित्रबाट लक गरिएको थियो भने गाडीको भित्री भाग जलेको भए पनि बाहिरी भाग भने सुरक्षित रहेको पाइएको छ। मृतकको अनुहार र खुट्टामा बढी जलेको अवस्था भेटिएको प्रहरीले जनाएको छ।
आइतबार त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम सम्पन्न भएपछि शव परिवारलाई जिम्मा लगाइएको छ।
रश्मी रिजाल नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा मर्चेन्ट हेडका रूपमा कार्यरत थिइन्। प्रहरीका अनुसार उनी केही समयदेखि मानसिक तनावमा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाका सबै पक्षबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij