२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले रासायनिक मलको अभाव समाधान गर्न नसकेको भन्दै कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको राजीनामा माग गरेका छन्।
आम किसान मोर्चाले शुक्रबार बाराको कलैयामा आयोजना गरेको ‘मलखादको हाहाकार स् आपूर्तिमा असफल सरकार’ कार्यक्रममा बोल्दै उनले धान रोपाइँको मुख्य समयमा पनि किसानले पर्याप्त मल नपाउनु सरकारको असफलता भएको बताए ।
'कृषिप्रधान देशमा धान रोपाइँको समयमा किसानले मल पाएका छैनन्। किसानलाई मल उपलब्ध गराउन नसक्ने मन्त्रीलाई पदमा बस्ने नैतिक अधिकार छैन। असफल कृषि मन्त्रीले तत्काल राजीनामा दिनुपर्छ,' साहले भने।
उनले दुईतिहाइ बहुमतको सरकार भए पनि किसानले सरकार भएको अनुभूति गर्न नसकेको दाबी गरे । किसानका समस्या समाधान गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै उनले सरकार असफल हुन नपाउने बताए ।
साहले सरकारले किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउन नसकेको आरोप लगाए । भारतबाट मल ल्याउन खोज्ने किसानलाई समेत दुःख दिने काम स्वीकार्य नहुने उनको भनाइ थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij