२०८३ आश्विन १ गते बिहिवार
स्याङ्जा । स्याङ्जाका स्थानीय तहहरूले लोपोन्मुख लोकल काठे गाई र हल गोरु संरक्षणका लागि किसानलाई नगद अनुदान दिने कार्यक्रम विस्तार गरेका छन् । परम्परागत पशुपालन जोगाउने र कृषकलाई त्यसतर्फ आकर्षित गर्न भन्दै विभिन्न पालिकाले प्रोत्साहन रकम वितरण गरेका हुन् ।
स्याङ्जाका ११ स्थानीय तहमध्ये गल्याङ नगरपालिका र फेदीखोला गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई नगद उपलब्ध गराएका छन् भने अर्जुनचौपारी गाउँपालिकाले लोकल काठे गाई पाल्नेलाई प्रोत्साहन अनुदान दिएको छ । बिरुवा गाउँपालिकाले भने आगामी आर्थिक वर्षदेखि हल गोरु पाल्नेलाई नगद दिने नीति लिएको जनाएको छ ।
गल्याङ नगरपालिकाले ११ वटै वडाका ११५ जना कृषकलाई पाँच हजार रुपैयाँका दरले पाँच लाख ७५ हजार रुपैयाँ वितरण गरेको छ । नगरप्रमुख गुरुप्रसाद भट्टराईका अनुसार पछिल्लो समय पावर टिलरलगायत आधुनिक प्रविधिको प्रयोग बढेसँगै हल गोरु पाल्ने चलन घट्दै गएको छ । यही अवस्थालाई ध्यानमा राखेर परम्परागत कृषि प्रणाली जोगाउन प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको हो ।
उनका अनुसार ११५ जना कृषकबाट ११६ हल गोरुको आवेदन परेपछि सोही आधारमा अनुदान उपलब्ध गराइएको हो । यो कार्यक्रम चालु आर्थिक वर्ष २०८२/८३ को कृषक प्रोत्साहन योजनाअन्तर्गत सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij