२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा गृहमन्त्री सुधन गुरुङले दिएको अभिव्यक्तिप्रति सांसदहरूले कडा नियमापत्ति जनाएका छन्। मुगुका २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाह र निधनको विषयमा संसद्लाई जानकारी दिने क्रममा गृहमन्त्री गुरुङले सांसदहरूलाई नै हप्काउने शैलीमा बोलेको भन्दै उनको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिएको हो।
सभामुख डोलप्रसाद अर्यालले घटनाबारे जानकारी दिन समय दिएपछि रोष्ट्रममा पुगेका गृहमन्त्री गुरुङले संसद्मा प्रश्न उठाउने सांसदहरू लक्षित गर्दै भनेका थिए, “धेरै साथीभाइहरू देखेँ। घाँटी सुक्ने गरी चिच्याइरहनुभएको थियो। तपाईंहरू कति जना हुनुहुन्थ्यो हस्पिटलमा ? घाँटी सुक्ने गरी चिच्याएर कराएर हुँदैन। जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन।”
गृहमन्त्रीको सो गैरजिम्मेवार अभिव्यक्ति लगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले नियमापत्ति जनाउँदै नियन्त्रणमा लिन माग गरेका छन्। सांसद शर्माले सदनले सरकारलाई सदनमै खोज्ने र प्रश्न गर्ने अधिकार राख्ने भन्दै मन्त्रीको जवाफ गैरजिम्मेवार र अपमानजनक भएको ठहर गरेका छन्।
“सदनमा सांसदहरूले प्रस्तुत गरेको विषयलाई ‘घाँटी सुक्ने गरी चिच्याएको’ भन्न मिल्दैन। यो सांसदहरूप्रति, जनप्रतिनिधिप्रति र सिङ्गो संसद्प्रति जिम्मेवार मन्त्रीले गरेको अपमान हो,” सांसद शर्माले आक्रोश पोख्दै भने, “यस गैरजिम्मेवार अभिव्यक्तिलाई संसद्को रेकर्डबाट तत्काल हटाइयोस्।”सांसद शर्माले आगामी दिनमा सरकारका प्रतिनिधिहरूलाई संसद्मा जिम्मेवारीपूर्वक प्रस्तुत हुन र जनप्रतिनिधिहरूले उठाएका प्रश्नको जिम्मेवारीका साथ जवाफ दिन समेत सभामुखमार्फत सचेत गराएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij