Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शरीर आगोले जल्दै गर्दा पनि नगर प्रहरीसँग मोटरसाइकल माग्दै थिए यूवक

शरीर आगोले जल्दै गर्दा पनि नगर प्रहरीसँग मोटरसाइकल माग्दै थिए यूवक


  • 1.5K
    Shares

    शरीर आगोले जल्दै गर्दा पनि नगर प्रहरीसँग मोटरसाइकल माग्दै थिए यूवक
    images

    काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अघि २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरे । 

    मुगुको सोरु गाउँपालिका–१ का स्थायीबासी गणेश अहिले भने भक्तपुर डेरामा बस्दै आएका थिए । काठमाडौं प्रहरीका एसपी पवन भट्टराइका अनुसार गशेणले बिहीबार दिउँसो अन्दाजी १ः४५ बजे आत्मदाहको प्रयास गरेका हुन् ।

    पेट्रोल छर्किएर शरीरमा आगो लगाएका गणेशलाई प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्‍याएको छ । हाल उनको उपचार जारी छ । गणेशले आत्मदाह प्रयास गर्दा उनले लगाएका लुगा करिब सबैजसो जलेको पाइएको स्थानीयको भनाइ छ ।

    प्रहरीले उनको अवस्था गम्भीर रहेको जनाएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेटअगाडि उनले आत्मदाहको प्रयास गरेका हुन् । आगोले जलेका उनलाई प्रहरीले ट्याक्सीमा राखेर वीर अस्पताल पुर्‍याएको हो । 

    प्रहरीको प्रारम्भीक अनुसन्धानका क्रममा गणेश पठाओ चालक रहेको खुलेको एसपी भट्टराईले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले गणेशले आत्मदाह प्रयास गरेका क्षेत्रका सबै सीसीटीभी फुटेज प्रहरीले संकलन गरेको छ ।

    गणेश पठाओ चालक हुन् । प्रहरीका अनुसार उनी वाग्मती प्रदेशको ०२–०६४ प ३२५० नम्बरको मोटरसाइकल लिएर राहदानी विभाग पुगेका थिए । विभागको ३ नम्बर गेट अगाडि एउटा टहरोको निर्माण कार्य चलिरहेको छ । सोही टहरो अगाडि गणेशले आफ्नो मोटरसाइकल पार्किङ गरे ।

    तर, उनले पार्क गरेको केही मिनेटमै काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोली भ्यानसहित पुग्यो । नगरप्रहरीको टोली विभिन्न क्षेत्रमा राखिएका अवैध पार्किङबाट सवारी साधान भ्यानमा उठाएर बग्गीखानास्थित नगरप्रहरीको कार्यालयमा लैजाने गर्छ ।

    गणेशको मोटरसाइकलमा पनि नगरप्रहरीको टोलीले ह्वील लक गर्‍यो । तर, गणेशको मोटरसाइकल भ्यानमा नराख्दै उनी त्यहीँ पुगे ।

    मोटरसाइकल छोड्दिन हारगुहार गरे । तर, नगरपालिकाको टोलीले मोटरसाइकल भ्यानमा राख्न बल नै प्रयोग गरे । प्रत्यक्षदर्शी कतिपयले उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेको बताउँछन् भने कतिपयले छुट्टै बोटलमा ल्याएको बताउँछन् । 

    यद्यपी उनले पेट्रोल कहाँबाट ल्याए भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन । नगरप्रहरीले मोटरसाइकल उठाएर महानगरको गाडीमा राख्न लाग्दा नेपालीले आफ्नै मोटरसाइकलमा रहेको पेट्रोल मिनरल वाटरको बोटलमा झिकिसकेको केही स्थानीयको तर्क छ ।

    कतिपयले भने मोटरसाइकलबाट नभइ बाहिरबाट ल्याएको तर्क गरेका छन् । प्रहरीले पनि यसको अनुसन्धान सुरु भइसकेको जनाएको छ ।

    आफ्नो मोटरसाइकल नदिए त्यही पेट्रोल छर्केर आत्मदाह गर्ने चेतावनी नेपालीले नगर प्रहरीलाई दिएका थिए । तर नगर प्रहरीले उनको कुरा नसुनी मोटरसाइकल गाडीमा राख्न लागेपछि नेपालीले पेट्रोल आफ्नो शरीरमा छर्केर आफैँले आगो लगाएका थिए । 

    प्रत्यक्षदर्शीका अनुसार उनले आफ्नो शरीरमा आगो लगाउँदा कोही भिडियो बनाउँदै थिए भने कोही तर्सेर पर पर सरेका थिए । एक/दुई मिनेट जलेपछि केही स्थानीयले उनको शरीरमा लागेको आगो निभाउने प्रयास गरेका थिए । 

    केही स्थानीय युवाले नजिकका पसलबाट जारको पानीले उनको शरीरमा लगाएको आगो निभाउने प्रयास गरेका थिए । स्थानीयले आगो निभाउने प्रयास गर्दा नेपाली चिच्याउँदै सडकमा लडिबुडी गरेका थिए । केहीबेरपछि स्थानीय उनको शरीरमा लागेको आगो निभाउन सफल भएका थिए । 

    प्रत्यक्षदर्शीका अनुसार पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका गणेशको शरीरमा आगो दन्किएको थियो । नगरप्रहरीसहितको टोली आगो निभाउनुको साटो गाडी गुडाउनतर्फ लागेको नजिकका प्रत्यक्षदर्शीको भनाइ छ ।

    तर, गणेश रोकिएनन् आगो लागेको शरीर लिएर नगरप्रहरीको भ्यानभित्र छिर्न खोजेका थिए । आगो लागेको केही समयपछि भने उनी सडकमै ढलेको प्रत्यक्षीदर्शीले बताएका छन् । घटनापछि भने नगरप्रहरीको भ्यान राहादानी विभाग परिसरको पार्किङमा राखिएको छ । गशेणको मोटरसाइकल पनि भ्यानमै छ । 

    प्रकाशित मिति :आषाढ २५ २०८३ बिहिवार - १६:२८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij