२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । देशका आठ वटा प्रमुख विश्वविद्यालयहरूमा रिक्त उपकुलपति नियुक्तिका लागि २४ जना सम्भावित उम्मेदवारहरूको नाम सिफारिस भएको छ। उपकुलपति छनोट समितिले प्रत्येक विश्वविद्यालयका लागि तीन-तीन जनाको नाम समेटेर अन्तिम सूची तयार पारी नियुक्तिका लागि पठाएको हो।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको नेतृत्वमा गठित सिफारिस समितिले सो नामावली टुंगो लगाएको हो। शिक्षा मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयमा नाम पुगिसकेको र प्रधानमन्त्रीको अध्ययनपछि आगामी केही दिनभित्रै उपकुलपतिहरूको औपचारिक नियुक्ति गरिने सम्भावना छ।
आठ वटा विश्वविद्यालयको उपकुलपति बन्नका लागि देशभरबाट कुल २१८ जना प्राज्ञहरूले आवेदन दिएका थिए। तीमध्ये समितिले पहिलो चरणमा उत्कृष्ट १० जनाको नाममा राखेर सार्वजनिक सुझावसमेत संकलन गरेको थियो। अन्ततः कार्यक्षमता र योग्यताका आधारमा २४ जनाको नाम अन्तिम सिफारिसमा परेको हो। सरकारले यसअघि अध्यादेशमार्फत साबिकका उपकुलपतिहरूलाई पदमुक्त गरेपछि गत वैशाख २५ गते खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको थियो।
उपकुलपति चयनलाई राजनीतिक हस्तक्षेपमुक्त र पारदर्शी बनाउन यसपटक कडा मापदण्ड राखिएको छ। उम्मेदवार बन्नका लागि कम्तीमा विद्यावारिधि पूरा गरेको र अनुसन्धान तथा प्राज्ञिक क्षेत्रमा १० वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकिएको थियो। साथै, आवेदकको उमेर ४० वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था थियो।
त्रिविको उपकुलपतिका लागि छनोट भएका तीन जनामा प्रा.डा. नन्दबहादुर सिंह, डा. भोला थापा र प्रा.डा. दुर्गादत्त पौडेल छन्। प्रा.डा. सिंह मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति हुन्। त्यस्तै, डा. थापा काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति हुन् भने प्रा.डा. पौडेल अमेरिकाको युनिभर्सिटी अफ लुसियामा कार्यरत छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij