२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । लामो समयदेखि पानी नपरेर खडेरी बढेपछि सुदूरपश्चिमको धनगढीमा स्थानीय बासिन्दाहरूले वर्षा गराउन अनौठो सांस्कृतिक परम्परा अपनाएका छन्। धनगढीका स्थानीयहरूले पानी परोस् र बालीनाली जोगियोस् भन्ने कामनासहित शनिबार धुमधामका साथ भ्यागुताको बिहे गराइदिएका हुन्।
स्थानीयहरूले परम्परागत विवाहमा जस्तै भाले र पोथी भ्यागुतालाई समातेर सिन्दूर हालिदिँदै र रातो घुम्टो ओढाइदिँदै रीतपूर्वक विवाह सम्पन्न गराएका थिए। नेपाल र छिमेकी देश भारतका विभिन्न भू(भागमा पनि लामो समय पानी नपर्दा यसरी भ्यागुताको बिहे गराउने चलन परापूर्वकालदेखि नै रहिआएको छ।
इन्द्र देउता प्रसन्न हुने मान्यताहिन्दु धार्मिक मान्यताअनुसार भ्यागुतालाई वर्षाका देवता राजा इन्द्रको दूत मानिन्छ। भ्यागुता कराएर विन्ती गरेपछि यसको आवाज सिधै इन्द्रसम्म पुग्ने र उनले खुसी भएर वर्षा गराउने जनविश्वास रहिआएको छ।
वर्षायाम सुरु हुनै लाग्दा भ्यागुताहरू बढी कराउने भएकाले हाम्रा पुर्खाहरूले भ्यागुताको आवाज र पानी पर्ने प्रक्रियाबीच प्रत्यक्ष सम्बन्ध रहेको विश्वासमा यो परम्परा सुरु गरेको पाइन्छ।
तर वैज्ञानिक रूपमा हेर्दा भ्यागुताको बिहे गराउँदैमा पानी पर्दैन। वास्तवमा मौसम अनुकूल भएपछि वर्षा सुरु हुन्छ र त्यसपछि भ्यागुताहरू बाहिर निस्केर कराउन थाल्छन्। अर्थात् पानी परेपछि भ्यागुताहरू सक्रिय हुने हुन्, भ्यागुताले पानी पार्ने होइनन्।
वैज्ञानिक रूपमा पुष्टि नभए पनि यो परम्परा नेपाली समाजको मौलिक संस्कृति, लोकविश्वास र प्रकृतिप्रतिको सम्मानको एउटा बलियो प्रतीक हो। यसले पर्यावरणमा भ्यागुता जस्ता जीवहरूको महत्त्व र तिनको संरक्षणबारे मानिसहरूलाई सचेत गराउन समेत साङ्केतिक भूमिका खेलिरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij