Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

आज दिनभरका ५५ खबर

आज दिनभरका ५५ खबर


  • 1.8K
    Shares

    आज दिनभरका ५५ खबर
    images

    १. स्वास्थ्य क्षेत्रको सुधार र सुदृढीकरणमा सरकार प्रतिवद्ध छः स्वास्थ्यमन्त्री मेहता

    स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मुलुकको स्वास्थ्य क्षेत्रको समग्र सुधारबाटै सुसम्पन्न समाज र राष्ट्र निर्माण सम्भव रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा मन्त्रालयको वार्षिक बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । मन्त्री मेहताले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डअनुसार कूल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन हुनुपर्ने भएपनि हाल ४.८ प्रतिशत मात्र विनियोजन गर्न सकिएको जानकारी दिनुभयो । मन्त्रालयलाई प्राप्त कूल बजेटमध्ये ६ प्रतिशत प्रदेश र ३६ प्रतिशत स्थानीय तहमा अनुदानका रूपमा हस्तान्तरण गरिएको उहाँले स्पष्ट पार्नुभयो । यस्तै, ७९ औँ विश्व स्वास्थ्य सङ्गठनको महासभामा नेपालले कम स्रोत भएका मुलुकका लागि प्राविधिक सहयोग र मानवीय सहायताको विषयलाई प्रभावकारी रूपमा उठाएको उहाँले बताउनु भयो । 

    २. साना किसान र युवा स्वरोजगार प्राथमिकतामा रहेको मन्त्री चौधरीको भनाइ

    कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उपलब्ध बजेट सिलिङभित्र रहेर उत्पादनमुखी र किसानमैत्री कार्यक्रमहरू तय गरिएको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन शिर्षकमाथि सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौधरीले बताउनुभएको हो । मन्त्रालयले सार्वजनिक गरेको बजेट विवरणअनुसार संघीय निकायका लागि ६० अर्ब ३० करोड, प्रदेश सशर्त अनुदानतर्फ ७ अर्ब ७१ करोड, स्थानीय तह सशर्त अनुदानतर्फ ३ अर्ब २० लाख र वित्तीय व्यवस्थापनतर्फ २ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ । कुल बजेटको करिव ५५ प्रतिशत हिस्सा रासायनिक मलको आपूर्तिका लागि छुट्टाइएको छ । 

    ३. सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन पूर्वाधार विकास सरकारको प्राथमिकताः पर्यटनमन्त्री

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ऐतिहासिक व्यक्तित्वहरूको निवास संरक्षण, राष्ट्रिय संस्कृति नीतिको तर्जुमा र पर्यटन पूर्वाधार निर्माण सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा मन्त्रालयको आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उहाँले यस्तो धारणा राख्नुभएको हो । मन्त्री पौडेलले पुरस्कार वितरण प्रक्रियालाई व्यवस्थित बनाउन स्पष्ट कार्यविधि निर्माण गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । व्यक्तिगत नाममा बजेट विनियोजन गरिएको भन्ने जिज्ञासामा उहाँले जननायक विश्वेश्वरप्रसाद कोईराला लगायतका ऐतिहासिक व्यक्तित्वका निवासहरू केवल व्यक्तिगत सम्पती मात्र नभई पर्यटकीय र श्रद्धाको केन्द्रसमेत भएकाले ती संरचनाको पुनर्निर्माणका लागि बजेट छुट्याइएको प्रष्ट पार्नुभयो । 

    ४. समावेशी समाज निर्माण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखी बजेट तर्जुमा गरिएको छः मन्त्री वादी

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमले समावेशी, सुरक्षित र मर्यादित समाज निर्माण गर्ने लक्ष्य राखेको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको सम्बोधन गर्दै मन्त्री वादीले सो धारणा राख्नुभएको हो । मन्त्री वादीले मन्त्रालयको कार्यक्षेत्र विस्तार भई दलित, मधेसी, मुस्लिम, थारू, आदिवासी जनजाति र सीमान्तकृत समुदायका मुद्दाहरू समेत समेटिएकाले सोही अनुरूप बजेट विनियोजनमा वृद्धि गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार महिला सशक्तीकरण, लैङ्गिक समानता र हिंसामुक्त समाज निर्माण मन्त्रालयको उच्च प्राथमिकतामा रहेका छन् । लैङ्गिक हिंसा विरुद्ध शुन्य सहनशीलताको नीति अनुरूप मन्त्रालयले ‘लैङ्गिक हिंसा विरुद्धको एकीकृत कानून’ तर्जुमा गर्ने तयारी गरेको छ । ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४’ लाई पालेर्मो प्रोटोकल र समसामयिक आवश्यकता अनुसार संशोधन गर्ने प्रक्रिया शुरु भइसकेको मन्त्री वादीले बताउनु भयो । 

    ५. सञ्चार क्षेत्रको सुधार र पूर्वाधार विस्तारमा सरकारको सक्रियता, ७७ वटै सदरमुकाममा एफटीटीएच सेवा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले मुलुकको दूरसञ्चार सेवाको गुणस्तर अभिवृद्धि र पूर्वाधार विस्तारका लागि सरकारले विशेष प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रको आधुनिकीकरण र सेवा प्रवाहमा प्रभावकारिता ल्याउन चालिएका कदमबारे जानकारी गराउनु भयो । मन्त्री तिमिल्सिनाकाअनुसार ७७ वटै जिल्ला सदरमुकाममा ‘फाइबर टु दि होम’ (एफटीटीएच) सेवा पु¥याइसकिएको छ । अब यस सेवालाई सबै नगरपालिका तथा गाउँपालिकाका वडाहरूसम्म विस्तार गर्ने कार्य शुरु भइसकेको छ ।

    ६. वैदेशिक रोजगार ऐन संशोधनको तयारी अन्तिम चरणमा–भनेः ‘अध्यादेशबाट ल्याइदिउँ’

    युवा, श्रम तथा रोजगार रामजी यादवले वैदेशिक रोजगार ऐनलाई समयानुकूल परिमार्जन गर्न सरकारले तिब्रता दिएको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्रीले ऐन संशोधनको मस्यौदा आगामी ७ गतेभित्र कानून मन्त्रालय पठाउने तयारी भइरहेको जानकारी दिनुभएको हो । ऐन संशोधनको आवश्यकता र तत्परताबारे प्रष्ट पार्दै मन्त्रीले ऐन ल्याउन आफूलाई धेरै हतारो रहेको भन्दै अध्यादेशबाट ल्याइदिने चेतावनी दिनुभयो । विद्यमान वैदेशिक रोजगार ऐनले विगत एक दशकदेखि क्षेत्रगत बेथिति निम्त्याएको स्वीकार गर्दै मन्त्रीले यसलाई लगाम बिनाको घोडाको संज्ञा दिनुभयो । उहाँले पुराना कमजोरीलाई सुधार नगरी अघि बढ्न नसकिने भन्दै नयाँ कानूनले ती समस्या सम्बोधन गर्ने दाबी गर्नुभयो । 

    ७. वास्तविक सुकुम्वासीको पहिचान नगरी डोजर आतंक मच्चाइएको भन्दै सांसद केसीद्वारा सरकारको ध्यानाकर्षण

    नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले वास्तविक सुकुम्वासीको पहिचान नगरी सरकारले डोजर आतंक मच्चाएको भन्दै गम्भीर आपत्ति जनाउनुभएको छ । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सरकारको पछिल्लो कदमले सुकुम्वासीहरूमा त्रास सिर्जना गरेको र उनीहरूको संवैधानिक अधिकार हनन् भएको बताउनु भयो । सांसद केसीले नदी किनार, वन क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूमाथि कारबाही गर्ने सरकारको सुरुवाती प्रयास शाहसिक देखिए पनि अहिले त्यो दुस्साहसमा परिणत भएको टिप्पणी गर्नुभयो । सुकुम्वासी बस्तीमा डोजर चलाउँदा वास्तविक सुकुम्वासीहरू भोकभोकै बस्नुपर्ने अवस्था आएको र बालबालिकाहरू विद्यालय जानबाट वञ्चित भएको उहाँको भनाइ थियो । 

    ८. रुग्ण उद्योगको पुनःसञ्चालन र पेट्रोलियम भण्डारण क्षमता विस्तारलाई प्राथमिकता दिनेछौँः उद्योगमन्त्री

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बन्द तथा रुग्ण अवस्थामा रहेका सरकारी उद्योगहरूलाई पुनः सञ्चालन गरी उत्पादन र रोजगारी वृद्धि गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८३÷८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको बुधवार जवाफ दिँदै मन्त्री कुमारीले सातवटा सरकारी उद्योगहरूको सम्पती र दायित्व मूल्याङ्कनको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो। अर्थ मन्त्रालयमार्फत भइरहेको उक्त अध्ययनका आधारमा उपयुक्त मोडालिटी तयार गरी ती उद्योगहरूलाई सञ्चालनमा ल्याइने उहाँको भनाइ थियो । मन्त्री कुमारीकाअनुसार सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न कुल मागको ३ महिनाका लागि पुग्ने गरी भण्डारण क्षमता विस्तार गर्ने लक्ष्य राखेको छ । 

    ९.महिला सहकारीका लागि नयाँ व्यावसायिक यात्रा खोजिँदै

    नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य जग कृषि र सहकारी हुन् । तर परम्परागत खेती प्रणाली, वित्तीय साक्षरताको कमी र बैंकिङ क्षेत्रको धितोमुखी नीतिका कारण साना किसान सधैँ औपचारिक वित्तीय पहुँचबाट टाढा रहँदै आएका छन् । यही चुनौतीकाबीच हेफर नेपालको अगुवाइमा आयोजना हुन लागेको ‘खेतदेखि वित्तसम्म’ राष्ट्रिय पिचिङ कार्यक्रमले कृषि लगानीमा नयाँ आयाम थप्ने भएको छ । असार ५ गते ललितपुरमा हुन लागेको कार्यक्रममा ग्रामीण महिला उद्यमीहरूले देशका ठूला बैंकका प्रमुखहरू र लगानीकर्ताहरू सामु आफ्ना व्यावसायिक योजना प्रश्तुत गर्दैछन् ।

    १०. बजेटमा सकारात्मक सुधार र नीतिगत नविनताको प्रयासः विकासविद् मोना शेर्पा

    आर्थिक वर्ष २०८३ ÷८४ को बजेटले मुलुकको सुशासन र समृद्धिको आकांक्षालाई पहिल्याउन केही सकारात्मक, नवप्रवर्तनात्मक र नीतिगत सुधारका प्रयासहरू अघि सारेको छ । सोह्रौँ आवधिक योजनाको मार्गचित्र अनुकूल बजेट ल्याउने सरकारको यो कदम आफैँमा सराहनीय रहेको विकासविद् तथा लैंगिक अधिकारकर्मी मोना शेर्पाको विश्लेषण छ । दुई दशकभन्दा लामो समयदेखि विकास अभ्यास र लैंगिक अधिकारका क्षेत्रमा क्रियाशील शेर्पाका अनुसार बजेटले अघि सारेका प्रगतिशील योजनाहरूको उद्देश्य उत्कृष्ट भएपनि तिनलाई भुइँ तहमा सफल बनाउन कार्यान्वयनको तहमा केही रचनात्मक सुधार गर्नुपर्ने देखिन्छ ।

    ११. प्रधानमन्त्रीको अभिव्यक्ति र सभामुखको भुमिकाप्रति सांसद चन्द्रमोहन यादवको आपत्ति

    नेपाली काग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र सभामुखको भुमिकालाई लिएर प्रतिनिधि सभामा कडा आपत्ति जनाउनुभएको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले संसदको गरिमा र राष्ट्रियताका सवालमा गम्भीर प्रश्न उठाउनुभएको हो । सांसद यादवले सभामुखको निष्पक्षतामाथि प्रश्न उठाउँदै उनले आफ्नो पूर्वपार्टीसँगको सम्बन्ध अझै त्याग्न नसकेको आरोप लगाउनु भयो । सदनको अभिभावकका रूपमा सबैलाई समान व्यवहार गर्नुपर्नेमा सभामुखको भुमिका संकुचित देखिएको उहाँको तर्क थियो । 

    १२. निजी क्षेत्रमैत्री विद्युत ऐनका लागि पहल गर्ने इप्पान अध्यक्ष डाँगीको प्रतिवद्धता

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित अध्यक्ष मोहन डाँगीले निजी क्षेत्रमैत्री विद्युत ऐनका लागि पहल गर्ने बताउनुभएको छ । बुधवार संस्थाको कार्यालयमा कार्यभार सम्हाल्दै उहाँले यस्तो प्रविद्धता जनाउनुभएको हो । उहाँले निजी क्षेत्रका समस्या समाधान र नीतिगत सुधारका लागि सक्रिय पहल गर्ने बताउनु भयो । उहाँले आफ्नो कार्यकालमा गरिएका प्रतिवद्धताहरूलाई कार्यसमितिबाट पारित गराई व्यवस्थित रूपमा कार्यान्वयन गर्ने बताउनु भयो । अध्यक्ष डाँगीले ऊर्जा क्षेत्रमा विद्यमान समस्याहरूलाई राष्ट्रिय स्तरमा मन्त्रालयसँगको सहकार्य र छलफलबाट समाधान गरिने उल्लेख गर्नुभयो । 

    १३. जनकपुरमा ‘ट्राफिक सप्ताह २०८३’ को शुभारम्भः सडक सुरक्षा र प्रविधिमैत्री अनुसन्धानमा जोड

    मधेस प्रदेशको राजधानी जनकपुरधाममा सडक सुरक्षा र ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘ट्राफिक सप्ताह २०८३’ को विधिवत शुभारम्भ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा, मधेस प्रदेश प्रहरी कार्यालय तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा एवं ट्राफिक व्यवस्थापन कार्यालयको संयुक्त आयोजनामा सञ्चालित यस कार्यक्रमको अवसरमा नगरमा जनचेतनामूलक प्रभातफेरी समेत गरिएको छ ।

    १४. चिकित्सा शिक्षा आयोगको बैठकमा ‘कानूनले नचिनेको व्यक्ति’ को उपस्थितिप्रति सांसद बरालको आपत्ति

    नेकपा (एमाले) का सांसद गुरु बरालले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा कानूनले नचिनेको व्यक्तिको उपस्थिति भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बरालले प्रधानमन्त्रीको अध्यक्षतामा सम्पन्न आयोगको बैठकमा पूर्वउपाध्यक्ष डा. श्रीकृष्ण गिरीको उपस्थितिलाई लिएर प्रश्न उठाउनुभएको हो । सांसद बरालले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को व्यवस्था अनुसार हाल आयोगको उपाध्यक्ष पद रिक्त रहेको र नयाँ उपाध्यक्ष छनोटका लागि लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा सिफारिस समितिले प्रक्रिया अगाडि बढाइरहेको अवस्थामा गिरी कसरी बैठकमा सहभागी हुनुभयो भनी प्रश्न गर्नुभयो । 

    १५. कुवेतका जेलमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न सांसद खुश्बु ओलीको माग

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले कुवेतका विभिन्न जेलमा रहेका र अलपत्र परेका नेपाली महिलाहरूको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद ओलीले वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेर अमानवीय पीडा भोग्न बाध्य नेपाली महिलाहरूको अवस्था भयावह रहेको बताउनु भयो । उहाँले कुवेतमा समस्यामा परेकी नेपाली चेली सर्मिला दर्जीलाई निकै प्रयासपछि उद्धार गरी नेपाल फर्काउन सफल भएको जानकारी दिँदै सोही क्रममा त्यहाँ रहेका अन्य नेपाली महिलाहरूको कारुणिक अवस्था रहेको पनि बताउनु भयो । आफूले सदनमा तीन पटकसम्म विषय उठाएको र नेपाली राजदूतावाससँगको निरन्तर समन्वयपछि शर्मिला दर्जीलाई स्वदेश फर्काउन सफल भएको उहाँले बताउनु भयो ।

    १६. एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग

    नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सन् २०२६ मा जापानमा आयोजना हुने २० औँ एशियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधवार बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रमुख सचेतक महरले बजेट अभावका कारण महिला खेलाडीहरू सो प्रतिष्ठित प्रतियोगिताबाट वञ्चित हुन लागेको समाचारप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले खेलाडीहरूको भिसा प्रक्रियाका लागि राहदानीसमेत सङ्कलन गरिसकिएको अवस्थामा बजेटलाई बहाना बनाएर सहभागिता रोक्नु खेलाडी र खेलकुद क्षेत्रप्रति अन्याय हुने बताउनु भयो । सम्बोधनका क्रममा महरले प्रधानमन्त्रीको सामाजिक सञ्जाल (फेसबुक) को कभर फोटोमा महिला फुटबल टोलीको सामूहिक तस्बिर रहेको उल्लेख गर्दै उक्त सम्मानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । 

    १७. उर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रको एकतावद्ध प्रयास र प्रभावकारी पैरवी आवश्यकः गणेश कार्की

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का निःवर्तमान अध्यक्ष गणेश कार्कीले सरकारले लिएको १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न निजी क्षेत्रको एकतावद्ध पहल र सरकारसँगको निरन्तर समन्वय आवश्यक रहेको बताउनुभएको छ । बुधवार इप्पानका नवनिर्वाचित पदाधिकारीहरूको पदभार ग्रहण कार्यक्रममा बोल्दै कार्कीले ऊर्जा क्षेत्रमा विद्यमान अन्योल चिर्न र निजी क्षेत्रका मागहरू सम्बोधन गराउन संस्थागत रूपमा एउटै आवाज हुनुपर्नेमा जोड दिनुभएको हो । निःवर्तमान अध्यक्ष कार्कीले सरकारले बजेटमार्फत १० मेगावाटसम्मका आयोजनाका लागि केही प्रावधान ल्याएपनि विद्युत खरिद सम्झौता (पीपीए) को घटाघट प्रक्रिया लगायतका विषयमा अझै अन्योल कायम रहेको उल्लेख गर्नुभयो । 

    १८. असार तेस्रो हप्तादेखि सुकुम्बासीलाई लालपुर्जा वितरण गरिने

    भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आगामी असार तेस्रो हप्तादेखि सुकुम्बासीहरूलाई लालपुर्जा वितरण कार्य शुरु गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले सुकुम्बासी समस्या समाधानका लागि सरकारले नयाँ कार्ययोजनाका साथ काम गरिरहेको जानकारी दिनुभयो । मन्त्री रावलले विगतका आयोगहरू राजनीतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुम्बासी समस्या समाधान हुन नसकेको टिप्पणी गर्नुभयो । 

    १९. अप्रिल–मे महिनामा भारतको निर्यातमा १४.६६ प्रतिशतको वृद्धि

    भारतको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको अप्रिल र मे महिनामा भारतको समग्र निर्यातमा उल्लेख्य वृद्धि भएको छ । वस्तु तथा सेवासहितको कुल निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.६६ प्रतिशतले वृद्धि भई १६२.६९ अर्ब अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्षको अप्रिल र मे महिनामा भारतको कुल निर्यात १४१.८९ अर्ब डलर रहेको थियो । मन्त्रालयकाअनुसार समीक्षा अवधिमा वस्तु निर्याततर्फ मात्र १६.०९ प्रतिशतको उच्च वृद्धि देखिएको छ । अघिल्लो वर्षको दुई महिनामा ७६.५९ अर्ब डलर रहेको वस्तु निर्यात यस वर्ष ८८.९१ अर्ब डलर पुगेको छ । 

    २०. अस्ट्रेलियाको केन्द्रिय बैंकद्वारा ब्याजदर यथावत, मुद्रास्फीतिको जोखिम अझै कायमै

    अस्ट्रेलियाको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ अस्ट्रेलिया’ (आरबीए) ले ब्याजदरलाई स्थिर राख्ने निर्णय गरेको छ । विश्वव्यापी तेल आपूर्तिमा देखिएको अवरोधका कारण मुद्रास्फीति (महँगी) अझै केही समय उच्च रहने जोखिमलाई मध्यनजर गर्दै बैंकले यस्तो कदम चालेको हो । आरबीएको मौद्रिक नीति सञ्चालक समितिको दुई दिने बैठकले नगद दरको लक्ष्यलाई ४.३५ प्रतिशतमा नै यथावत राख्ने सर्वसम्मत निर्णय गरेको छ । यो निर्णय अर्थशास्त्रीहरूले गरेका पूर्वअनुमान अनुरूप नै रहेको छ । अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) को पछिल्लो तथ्याङ्क अनुसार अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर मार्चको ४.६ प्रतिशतबाट घटेर अप्रिलमा ४.२ प्रतिशतमा झरेको छ ।

    २१. इण्डोनेसियाको मध्य सुलावेसीमा ६.७ म्याग्निच्युडको भूकम्प

    इण्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा मंगलबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । इण्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान तथा भूभौतिकी एजेन्सीले भूकम्पको पुष्टि गर्दै यसबारे जानकारी दिएको हो । एजेन्सीकाअनुसार स्थानीय समय अनुसार मंगलवार बिहान १०ः२७ बजे (०३ः२७ जीएमटी) उक्त भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको बताइएको छ । 

    २२. कङ्गोमा इबोलाको प्रकोप बढ्दोः सङ्क्रमितको सङ्ख्या ८३७ पुग्यो, असुरक्षाका कारण नियन्त्रणमा चुनौती

    प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको प्रकोप तिब्र रूपमा फैलिँदै गएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म सङ्क्रमित हुनेहरूको सङ्ख्या ८३७ पुगेको छ भने यस रोगका कारण १९६ जनाले ज्यान गुमाइसकेका छन् । कङ्गोको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये मृत्युदर २३.४ प्रतिशत रहेको छ । हालसम्म ४९ जना बिरामी उपचारपछि निको भएका छन् भने ३७६ जनालाई उच्च निगरानीमा (आइसोलेसन) राखेर उपचार गरिँदैछ । बुन्डिबुग्यो प्रजातिको इबोला भाइरसबाट शुरु भएको यो प्रकोप विशेषगरी इतुरी प्रान्तको बुनिया, मोंगब्वालु र रम्पारा जस्ता मुख्य हटस्पट क्षेत्रहरूमा केन्द्रित रहेको पाइएको छ । 

    २३. चीनको छिङहाइमा शक्तिशाली भूकम्पः एकको मृत्यु, आठ घाइते

    उत्तर–पश्चिम चीनको छिङहाइ प्रान्तस्थित हाइसी मङ्गोलियाली र तिब्बती स्वायत्त प्रान्तमा गएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । उद्धार टोलीले दिएको जानकारीअनुसार मङ्गलवार राति ११ बजेसम्मको तथ्याङ्क अनुसार भूकम्पमा अन्य आठ जना घाइते भएका छन् । भूकम्पमा परी घाइते भएकाहरूलाई स्थानीय अस्पतालमा प्राथमिक उपचारपश्चात् डिस्चार्ज गरिएको उद्धार तथा राहत मुख्यालयले जनाएको छ । भूकम्पपछि उत्पन्न जोखिमलाई मध्यनजर गर्दै हजारौँ स्थानीय बासिन्दा, विद्यार्थी तथा शिक्षकहरूलाई सुरक्षित स्थानमा सारिएको छ । 

    २४. चीनद्वारा नयाँ उपग्रह सिजियान–३१ को सफल प्रक्षेपण

    चीनले मङ्गलवार नयाँ उपग्रह सिजियान–३१ लाई सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । लङ मार्च–३ बी वाहक रकेटमार्फत उक्त उपग्रहलाई लक्षित कक्षमा पठाइएको हो । दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ भू–उपग्रह प्रक्षेपण केन्द्रबाट बेइजिङ समयअनुसार मङ्गलबार साँझ ५ः४५ बजे रकेटको उडान गरिएको थियो । नयाँ प्रक्षेपण गरिएको यस उपग्रहलाई मुख्यतया अन्तरिक्ष वातावरणको पहिचान र अनुगमनका लागि प्रयोग गरिने चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । यो लङ मार्च शृङ्खलाका वाहक रकेटहरूको ६५१ औँ उडान मिसन हो । 

    २५. जापानको केन्द्रिय बैंकद्वारा ब्याजदरमा वृद्धि, ३१ वर्ष यताकै उच्च बिन्दुमा

    जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ (बीओजे) ले नीतिगत ब्याजदरमा वृद्धि गरी ३१ वर्षयताकै उच्च बिन्दुमा पु¥याएको छ । मंगलबार सम्पन्न दुई दिने बोर्ड बैठकले अल्पकालीन ब्याजदरलाई ०.७५ प्रतिशतबाट बढाएर १.० प्रतिशत कायम गर्ने निर्णय गरेको हो । सन् १९९५ यताकै यो उच्च ब्याजदर हो । बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्न र कमजोर बन्दै गएको जापानी येनलाई बल पु¥याउन केन्द्रिय बैंकले यो कदम चालेको बताइएको छ । गभर्नर काजुओ उएडा कलेजोको संक्रमणका कारण अस्पताल भर्ना भएकाले बैठकमा अनुपस्थित रहे तापनि बोर्डका अन्य सदस्यहरूले ब्याजदर वृद्धिको सर्वसम्मत निर्णय लिएका हुन् । सन् २०२४ मार्चमा नकारात्मक ब्याजदर नीति अन्त्य गरेयता यो पाँचौँ पटकको ब्याजदर वृद्धि हो ।

    २६. जापानमा सरकारको सैन्य विस्तार नीतिको विरोधमा विशाल प्रदर्शन

    जापानी प्रधानमन्त्री सानाए ताकाइची र सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) ले पछिल्लो समय अघि सारेको सैन्य विस्तार सम्बन्धी नीतिको विरोधमा आइतबार टोकियोमा विशाल जनप्रदर्शन भएको छ । राजधानी टोकियोका सडकमा उत्रिएका ठूलो संख्याका प्रदर्शनकारीहरूले युद्ध विरोधी र शान्ति लेखिएका हेल्मेटहरू लगाएका थिए । उनीहरूले संविधान संशोधन खारेज गर र युद्ध रोक जस्ता नाराहरू लगाउँदै सरकारको कदमप्रति चर्को असन्तुष्टि व्यक्त गरे । प्रदर्शनका आयोजकहरूकाअनुसार जापान सरकारले आफूलाई शान्ति प्रेमी राष्ट्र भन्दै आएपनि व्यवहारमा जापान–अमेरिका सुरक्षा गठबन्धनलाई मजबुत बनाउने, आत्मरक्षा बल (एसडिएफ) को विस्तार गर्ने र पुनः सैन्यीकरणको प्रक्रियालाई तिब्रता दिने कार्य गरिरहेको छ । 

    २७. भारतमा थोक मुद्रास्फीतिमा उल्लेख्य वृद्धि, मे महिनामा ९.६८ प्रतिशत पुग्यो

    भारतमा थोक मुद्रास्फीति मे महिनामा बढेर ९.६८ प्रतिशत पुगेको छ । संघीय वाणिज्य तथा उद्योग मन्त्रालयलेसार्वजनिक गरेको आधिकारिक तथ्याङ्कअनुसार अप्रिल महिनामा ८.२६ प्रतिशत रहेको थोक मुद्रास्फीतिमा मे महिनामा वृद्धि देखिएको हो । मन्त्रालयकाअनुसार कच्चा तेल, इन्धन र उत्पादित वस्तुहरूको मूल्यमा भएको तिब्र वृद्धिका कारण थोक मुद्रास्फीति बढ्न पुगेको हो । इन्धनको मूल्य बढेसँगै ढुवानी खर्चमा भएको वृद्धिले पनि समग्र मूल्यस्तर बढाउन भूमिका खेलेको उल्लेख गरिएको छ । यसैबीच, संघीय मन्त्रालयले मासिक थोक मूल्य सूचकाङ्क गणनाको विधिमा समेत परिमार्जन गरेको छ । मन्त्रालयले गणनाका लागि आधार वर्ष २०११–१२ लाई परिवर्तन गरी २०२२–२३ कायम गरेको छ । 

    २८. सन् २०२६ को पहिलो पाँच महिनामा भियतनामको चामल निर्यात आम्दानी २ अर्ब डलर नाघ्यो

    सन् २०२६ को पहिलो पाँच महिनामा भियतनामले करिब ४५ लाख टन चामल निर्यात गर्दै २ अर्ब ९ करोड अमेरिकी डलर राजश्व आर्जन गरेको छ । स्थानीय सञ्चारमाध्यम भीएन इकोनोमीले त्यहाँको कृषि तथा वातावरण मन्त्रालयलाई उद्धृत गर्दै सोमबार सो तथ्याङ्क सार्वजनिक गरेको हो । मन्त्रालयको प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा चामल निर्यातको परिमाण ६.६ प्रतिशतले वृद्धि भएको छ । यद्यपि, निर्यातको परिमाण बढे पनि यसबाट प्राप्त हुने कुल राजश्वमा भने गत वर्षको तुलनामा ३.६ प्रतिशतले गिरावट आएको छ । 

    २९. सिरियाको रक्कामा इस्लामिक स्टेटको आत्मघाती आक्रमण विफल, एक सुरक्षाकर्मीको मृत्यु

    सिरियाली सुरक्षा बलले उत्तरी सहर रक्कास्थित आन्तरिक सुरक्षा मुख्यालयमा इस्लामिक स्टेट (आईएस) समूहले गर्न खोजेको ठूलो आक्रमणलाई विफल तुल्याएको छ । उक्त घटनामा परी एक सुरक्षाकर्मीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । सिरियाली गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार इस्लामिक स्टेट समूहसँग आबद्ध दुई जना आत्मघाती आक्रमणकारीले आन्तरिक सुरक्षा नेतृत्वको मुख्यालयलाई लक्षित गरी आतंकवादी आक्रमणको प्रयास गरेका थिए । 

    ३०. जनार्दनको प्रश्न– ‘नेपालमा वास्तविक कम्युनिस्ट पार्टी छ ?’

    प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपाली कम्युनिस्ट आन्दोलन आफ्नो मूल दर्शन र व्यवहारबीचको अन्तरविरोधका कारण विघटनको संघारमा पुगेको बताउनुभएको छ । बुधवार आयोजित दर्शनशास्त्रको ईतिहास पुस्तकको परिचर्चा कार्यक्रममा उहाँले माक्र्सवादी दर्शनलाई आत्मसात गर्न नसक्दा नेपाली कम्युनिस्ट आन्दोलन संकटमा परेको बताउनुभएको हो । माक्र्सवादी दर्शनको सार व्याख्या गर्नु मात्र नभई परिवर्तन गर्नु रहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार किताबी दर्शन र जीवन व्यवहारबीचको दूरी, संसदवादप्रतिको अत्याधिक झुकाव तथा जडसूत्रीय ढंगले माक्र्सवादलाई कुण्ठित गर्ने प्रवृत्तिले आन्दोलनलाई कमजोर बनाएको हो । शर्माले भौतिकवादी दर्शनको वकालत गर्ने नेताहरू स्वयं व्यवहारमा आदर्शवादी बनेको आरोप लगाउनु भयो । भनाईमा भौतिकवादी र जीवनमा आदर्शवादी मान्यता राख्ने नेतृत्वको कारण कम्युनिस्ट आन्दोलन विघटनको संघारमा पुगेको उहाँको दाबी छ । उहाँले आफूमा समेत यस्तो कमजोरी देखिएको स्वीकार गर्नुभयो । 

    ३१. भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कुटनीतिक पहल जारी छः अर्थमन्त्री 

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । 
    नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको बजेटसम्बन्धी छलफलमा उहाँले यी विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन भारत र चीनसँग कुटनीतिक पहल भइरहेको बताउनुभएको हो । उहाँले परराष्ट्रमन्त्री शिशिर खनालको भारत र चीन भ्रमणमा समेत विमानस्थल सञ्चालन, हवाई मार्ग विस्तार, कनेक्टिभिटी र व्यवस्थापनका विषय प्रमुख एजेण्डाका रूपमा उठाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘भैरहवाको एयरपोर्ट संचालनको ल्याउन लागेको लागेकै छौँ । हामीलाई चासो छैन होला ? त्यो पोखरा, भैरहवाको ऋण तिर्ने हामी, त्यो ऋणको फाइल सदर गर्ने त मै हुन्छु, यति किस्ता तिर्नुपर्ने भनेर हरेक दिन । 

    ३२. वर्तमान सरकारको विदेश नीतिमा देशभक्तहरु ढुक्क हुने स्थिति छैनः प्रदीप ज्ञवाली

    नेकपा एमाले नेता प्रदीप ज्ञवालीले वर्तमान सरकारको विदेश नीतिमा देशभक्तहरु ढुक्क हुने परिस्थिति नरहेको बताउनुभएको छ । बुधवार काठमाडांैमा आयोजित एक कार्यक्रममा उहाँले परराष्ट्र नीतिका विषयमा सरकारका गतिविधिमाथि निरन्तर निगरानी आवश्यक रहेको बताउनुभएको हो । उहाँले कुटनीतिमा भनिएका सबै कुरा नगर्ने र गरिएका सबै कुरा नभन्ने हुँदा सरकारका कतिपय गतिविधिहरुले गर्दा देशभक्तहरू पूर्ण रूपमा ढुक्क हुन सक्ने अवस्था नरहेको बताउनु भयो । यद्यपि सरकारले दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयास गरेको देखिएको उहाँको भनाई छ । 

    ३३. विचार र दर्शन सामाजिक सञ्जालका पोष्टमा सिमित हुन पुगेको छः प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपालमा विचार र दर्शनहरु संकुचित हुँदै फेसबुक र एक्समा सिमित हुन पुगेको बताउनुभएको छ । बुधवार आयोजित दर्शनशास्त्रको ईतिहास पुस्तककाृ परिचर्चा कार्यक्रममा उहाँले नेपालमा दर्शनप्रतिको रुचि र बौद्धिक बहस संकटमा परेको बताउनुभएको हो । उहाँले भारतका प्रसिद्ध दार्शनिक तथा लेखक देवीप्रसाद चट्टोपाध्यायको भनाइ स्मरण गर्दै विचार र दर्शनप्रतिको चासो घट्दै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो । चट्टोपाध्यायले ‘भारतलाई दर्शनको सबैभन्दा बढी आवश्यकता भएको बेला नै दर्शनप्रतिको रुचि र बौद्धिक बहसमा खडेरी देखिएको’ उल्लेख गरेको सन्दर्भ प्रस्तुत गर्दै ज्ञवालीले नेपालमा पनि यस्तै अवस्था देखिन थालेको बताउनु भयो । 

    ३४. व्यवसायीका सुझावअनुसार नीति सच्याउन तयार छौँः अर्थमन्त्री डा. वाग्ले

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रका जायज माग र सुझावहरूलाई ग्रहण गर्न तयार रहेको बताउनुभएको छ । बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको बजेटसम्बन्धी छलफलमा उहाँले व्यवसायीहरूको तथ्यगत माग गर्न सरकार तयार रहेको बताउनुभएको हो । उहाँले प्रमाण र तथ्यका आधारमा आफ्ना माग प्रश्तुत गर्न पनि व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले उद्योग प्रवद्र्धनका लागि कच्चा पदार्थ र मध्यवर्ती वस्तुको भन्सार दर अन्तिम उत्पादनभन्दा कम राख्ने नीति लिइएको बताउनुभयो । यद्यपि, केही क्षेत्रमा एउटा उद्योगको अन्तिम उत्पादन अर्को उद्योगको कच्चा पदार्थ हुने भएकाले भन्सार दर निर्धारणमा केही असमानता हुन सक्ने स्वीकार गर्नुभयो ।

    ३५. व्यवसायीलाई ‘थुन्ने’ संस्कृतिको अन्त्य हुनुपर्छः चेम्बर अध्यक्ष अग्रवाल

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले व्यवसायीहरुलाई ‘थुन्ने’ संस्कृतिको अन्त्य गर्नुपर्न बताउनुभएको छ । चेम्बरले आयोजना गरेको बजेटसम्बन्धी छलफलमा उहाँले व्यवसायीहरुलाई आशंकाकै भरमा थुन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभएको हो । उहाँले आर्थिक अपराध प्रमाणित नभई अनुसन्धानकै क्रममा हुने धरपकडले लगानीमैत्री वातावरणमा नकारात्मक प्रभाव पार्ने बताउनुभयो । ‘पहिला सुन्ने, अपराध प्रमाणित भए वित्तीय कारबाही गर्ने’ नीति अपनाउनुपर्ने नीति अवलम्वन गर्नुपर्ने उहाँको भनाई छ । यसका लागि कानुनमा एन्टिसिपेटरी बेलको व्यवस्था गर्न उहाँले माग गर्नुभयो । उहाँले एउटै क्षेत्रमा धेरै निकायको हस्तक्षेपका कारण व्यवसायी त्रासमा रहने अवस्था रहेको भन्दै ‘एक क्षेत्र–एक नियामक’ को अवधारणा लागू गर्नुपर्ने बताउनु भयो । 

    ३६. जनताको समस्याप्रति सरकार गम्भिर नभएको सत्तारुढ रास्वपाका सांसदहरुको गुनासो

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले नै जनताको जल्दाबल्दा समस्या समाधानका लागि आवश्यक बजेटको व्यवस्था नगरेको भन्दै सरकारको आलोचना गरेका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाकी सांसद इन्दिरा राना मगरले संकटमा परेका जनताको समस्या तत्काल समाधान हुने गरी बजेटका व्यवस्था गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण समेत गराउनु भयो । उहाँले सडक बाटोको अभावमा झापा, हुम्ला, जुम्लालगायतका नागरिकहरुले ठूलो जोखिम उठाउनुपर्ने भएकाले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने कुरामा ढिलाई गर्न नहुने बताउनु भयो ।

    ३७. तीन वटै तहको सरकारको सहकार्यमा मुलुकमा रोजगारीको अवसर सृजना गरिनेछः मन्त्री यादव

    युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले तीन तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागि परेको दाबी गर्नुभएको छ । बुधवार आफनो मन्त्रालयसम्बन्धि विनियोजन शिर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले उक्त कुरा बताउनुभएको हो । मन्त्री यादवले नीति, कार्यविधि, प्रणाली र कार्यान्वयन संरचनालाई स्पष्ट पार्ने काममा सरकारले ध्यान दिएको पनि बताउनु भयो । उहाँले मन्त्रालयका लागि बजेटको आवश्यक्ता भएमा तत्काल निकासा गर्न सकिने अवस्था रहेको मन्त्री यादवको भनाई थियो  ।
    उहाँले भन्नुभयो,‘स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने उद्देश्यले राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा व्यवस्था गरिएको छ । 

    ३८. नेपाल वायु सेवा निगमलाई उकास्नका लागि उपयुक्त मोडलको खोजी भइरहेको छः पर्यटनमन्त्री पौडेल

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायु सेवा निगमलाई माथि उकास्नका लागि उपयुक्त मोडलको खोजी भइरहेको बताउनुभएको छ । निगम दुर्गतिमा फसेको उल्लेख गर्दै उहाँले त्यसलाई उकास्नका लागि सरकारले संरचनागत रुपमा नै आमूल सुधार गर्नका लागि राष्ट्रिय बहसमार्फत उपयुक्त मोडलको खोजी गरिरहेको स्पष्ट पार्नुभयो । बुधवार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शीर्षकमाथिको सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पौडेलले निगम पखेटा घाइते भएका चराजस्तो भएको उल्लेख गर्दै त्यसलाई सुधारको बाटोमा अघि बढाउनका लागि सरकार प्रयासरत रहेको बताउनु भयो ।

    ३९. पत्रकारिता क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउन सरकार प्रतिवद्ध छः सञ्चामन्त्री तिमिल्सिना

    सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । 
    बुधवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक अन्तर्गतको आफनो मन्त्रालयसम्बन्धि विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले उक्त कुरा बताउनु भएको हो । मन्त्री तिमिल्सिनाले पत्रकारहरुको न्युनतम पारिश्रमिक कार्यान्वयनका लागि पनि सरकारले प्रभावकारी कदम चाल्ने बताउनु भयो । पत्रकारिता क्षेत्रलाई राम्रो बनाउने उद्देश्यले सरकारले आगामी आर्थिक वर्षका लागि ५० लाख बजेट विनियोजन गरेको मन्त्री तिमिल्सिनाको जिकिर थियो ।

    ४०. प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

    हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले वेल घेराउ गरेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयहरुको विभिन्न शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको मन्त्रीहरुले जवाफ दिने कार्यसूचि अन्तर्गत बैठक जारी रहँदा उक्त पार्टीका सांसदहरुले उभिएर विरोध गरिरहेका थिए । सभामुख डोलप्रसाद अर्यालले बस्न पटक पटक आग्रह गर्दा पनि नमानेपछि बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको हो । विपक्ष दलहरुले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै संसदमा विरोध गर्दै आएका छन । 

    ४१. प्रधानमन्त्रीको सीमा सम्बन्धि गलत अभिव्यक्ति सच्याउन सभामुखले अझै रुलिङ नगरेकोमा नेकपाको आपत्ति

    प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले संसदमा प्रधानमन्त्रीले दिएको सीमा सम्बन्धि अभिव्यक्ति तत्काल सच्याउनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालसँग माग गर्नुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको  गलत अभिव्यक्ति अझै पनि नसच्चिएको र सभामुख अर्यालले पनि सच्याउनका लागि रुलिङ नगरेको पनि आक्रोश व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति उहाँले आफैले संसदमा आएर नसच्याएसम्म आफूहरुको विरोध कायमै रहने अडान पनि स्पष्ट पार्नुभयो । सांसद शर्माले संसदमा हुर्मत लिने काम सरकारले गरिरहेको जिकीर पनि गर्नुभयो ।  

    ४२. प्रधानमन्त्रीले सीमबारे राष्ट्रघाती अभिव्यक्ति दिनु भयो, आम जनतासँग माफी माग्नु पर्दछः एमाले सांसद राना

    प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद कृपाराम रानाले प्रधानमन्त्री बालेन्द्र साहले सीमाबारे संसदमा राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै आम जनतासँग माफी माग्नुपर्ने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त माग गर्नुभएको हो । सांसद रानाले प्रधानमन्त्रीको नेपालले पनि भारतको सीमा मिचेको छ भनि दिएको अभिव्यक्तिले आफूलाई लज्जाबोध भईरहेको पनि बताउनु भयो । उहाँले प्रधानमन्त्री साहले उक्त अभिव्यक्तिबारे संसदको रेकर्डबाट नहटाएसम्म आफूहरुको विरोध जारी रहने बताउनु भयो ।

    ४३. भारतसँग चिया निर्यातका लागि देखिएको समस्या समाधान गर्न सरकारले गम्भिर पहल गरिरहेको छः मन्त्री चौधरी

    कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान लागि सरकारले गम्भिर भएर पहल गरिरहेको बताउनुभएको छ । बुधवार आफनो मन्त्रालयको सम्बन्धमा विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले उक्त कुरा बताउनुभएको हो । मन्त्री चौधरीले उक्त समस्या समाधानका लागि प्राविधिक तथा कुटनीतिक पहल गरिएको र त्यो सकारात्मक दिशातिर गइरहेको पनि बताउनु भयो । विगत ३ दिन यता इलामलगायतका देशभरका चिया उद्योगीहरुले चिया निर्यातमा समस्या देखिएपछि आफनो उद्योग बन्द गरेका छन । मन्त्री चौधरीले चियाको निर्यातमा सहजीकरण गर्न सरकार लागि परेको बताउनु भयो ।

    ४४. मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन २०६४ को संशोधन प्रक्रिया शुरु भइसकेको छः मन्त्री बादी

    महिला, बालबालिका तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन २०६४ को संशोधन प्रक्रिया शुरु भइसकेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले उक्त कुरा बताउनु भएको हो । मन्त्री बादीले महिला विरुद्ध हुने कुनै पनि किसिमको कार्यलाई कानून बमोजिम दण्डनीय बनाई पीडितले क्षतिपूर्ति पाउने हक सुनिश्चित गर्नेगरी लैंगिक हिंसा विरुद्धको एकीकृत कानून तर्जुंमा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । उहाँले महिला तथा बालबालिकामाथि हुने लैगिक हिंसा निवारण तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच कार्यक्रम १२ वटा स्थानीय तहमा आगामी आर्थिक वर्षमा संचालन गर्ने योजनाबारे पनि संसदलाई जानकारी गराउनु भयो ।

    ४५. रसायनिक मलको परनिर्भरता कम गर्दै लगिनेछः मन्त्री चौधरी

    कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रसायनिक मलको परनिर्भरता कम गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधवार आफनो मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले रसायनिक मलको परनिर्भरता कम गर्नका लागि सरकारले जैविक, प्राङगारिक मलको उपयोग बढाउन आवश्यक बजेटको समेत व्यवस्था गरेको बताउनु भयो । त्यसैगरी मन्त्री चौधरीले मलको लागि बजेटको अभाव हुन नदिने प्रतिवद्धता अर्थ मन्त्रालयले जनाएको जानकारी समेत दिनुभयो । उहाँले मलको वितरणलाई पारदर्शी बनाउनका लागि तीन वटै तहको सरकारले सहकार्य गरेर अघि बढने व्यवस्था गरिएको पनि स्मरण गराउनु भयो । मन्त्री चौधरीले आगामी आर्थिक वर्षको मलको आपूर्ति र व्यवस्थापन कार्ययोजना पनि तयार भइसकेको बताउनु भयो ।

    ४६. श्रम संस्कृति पार्टीद्वारा संसदको वेल घेराउ

    प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका सांसदहरुले प्रतिनिधि सभा बैठकमा वेल घेराउ गरेका छन् । बुधवार विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयहरुको विनियोजन शिर्षकमाथिको छलफल भइरहेका बेला उक्त पार्टीका अध्यक्ष हकराज राईसहितका सांसदहरुले वेल घेराउ गरेका हुन । यता, सभामुख डोलप्रसाद अर्यालले भने सभामुखको आदेश विनानै जथाभावी गरेको भन्दै उक्त पार्टीका सांसदलाई सचेत गराउनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले आफूले मन्त्रालयगत बजेटबारे सोधिएको प्रश्नको जवाफ नदिनुभएको भन्दै उठेर विरोध गर्नुभएको थियो । सभामुखको बारम्बारको आग्रहपछि पनि नमानेपछि राईसहितका पार्टीका सांसदहरुले वेल घेराउ गरेका हुन् । 

    ४७. सरकारले तेस्रो मुलुकमा चिया निर्यातका लागि तत्काल बजारको सुनिश्चित गरोस्ः काँग्रेस सचेतक राई

    नेपाली काँग्रेसका सचेतक निष्कल राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ । गुणस्तर परीक्षणको नाममा भारतले चिया निर्यातमा रोक लगाएपछि उहाँले बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उक्त माग गर्नुभएको हो । सचेतक राईले सरकारले भारतले चिया निर्यातमा रोक लगाउँद इलामका चिया उद्योग बन्द हुँदा त्यहाँ आश्रित श्रमिकहरुको बेहाल हुँदा पनि सरकारले उक्त समस्या समाधानका लागि पहल गरेको गुनासो गर्नुभयो । सचेतक राईले भारतसँग तत्काल सम्वाद गरी उक्त समस्या समाधान गर्न पनि सरकारलाई दबाब दिनुभयो ।

    ४८. सरकारसँग हर्कराज राईको मागः सुकुम्बासीहरुको तत्काल पुनर्वासको व्यवस्था गरियोस्

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले डोजर चलाएर बेघरबार बनाएर सुकुम्बासीहरुलाई उनीहरु बसेको पुरानै ठाउँमा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले डोजर आतंकबाट विस्थापित भएका सुकुम्बासीहरुले होल्डिङ सेन्टरमा खाना र पानीको समेत अभाव झेलिरहेको उल्लेख गर्दै उहाँले उनीहरुलाई राहत दिने र पुनर्वासको तत्काल व्यवस्था गर्न सरकारलाई सचेत गराउनु भयो । अध्यक्ष राईले सुुकुम्बासीहरुले आफूहरु पहिला बसेको ठाउँमा नै सिटी प्लान गरेर पुनर्वास गराउँदा राम्रो हुने भनेकाले सरकारले उक्त कुरा अनुसार नै काम गरे हुने अध्यक्ष राईको भनाई थियो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहले सीमा सम्बन्धि अभिव्यक्ति संसदको रेडर्कबाट नहटेसम्म आफूहरुको विोध संसदमा जारी रहने पनि स्पष्ट पार्नुभयो ।

    ४९. सहकारी पीडितहरुको लागि वितरण गरिएको बजेट राज्यकोषको होइनः मन्त्री रावल

    भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी पीडितहरुको रकम राज्यकोषबाट एक पैसा पनि खर्च नगरिएको दाबी गर्नुभएको छ । राज्यकोषबाट सहकारी पीडितहरुको रकम वितरण भइरहेको चर्चा भईरहेका बेला मन्त्री रावलको यस्तो स्पष्टिकरण आएको हो । बुधवार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको सम्बन्धि विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले राज्यकोषबाट समस्याग्रस्त सहकारीहरु पीडितहरुको रकम उपलब्ध गराएको भन्ने भ्रमबाट मुक्त हुन सांसदहरुलाई पनि आग्रहअ गर्नुभयो । मन्त्री रावलले उक्त रकम समस्याग्रस्त सहकारी संस्थाका व्यवस्थापन, संचालक, लेखा समितिलगायतबाट असुली गरिएको पनि बताउनु भयो ।

    ५०. स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको छः स्वास्थ्यमन्त्री मेहता

    स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको बताउनुभएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक अघि बढाउनका लागि उक्त तयारी भईरहेको भन्दै उहाँले त्यसका लागि आवश्यक सुझाव दिन सांसदहरुसहित सम्बन्धित सबै पक्षसँग आग्रह पनि गर्नुभयो । बुधवार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालय सम्बन्धि विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने पनि बताउनु भयो । उहाँले सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतको स्वास्थ्य बीमालाई साविकको स्वास्थ्य बीमामा समाहित गर्ने लगायतका विषयहरुमा पैरवी भइरहेको पनि बताउनु भयो ।

    ५१. तिलगंगा बस्ती हटाएको विरोधमा पशुपति विकास कोषमा ४५ दिनदेखि धर्नामा पीडितहरु

    पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका क्रममा सरकारले आफूहरूमाथि अन्याय गरेको भन्दै तिलगंगा क्षेत्र (ब्लक बी १३) का पीडितहरु विगत ४५ दिनदेखि धर्नामा बसेका छन् । सरकारले गत वैशाख १८ र १९ गते तिलगंगा क्षेत्र (ब्लक बी १३)मा बसोवास गर्दै आएका नागरिकको घर टहरा भत्काएको थियो । आफूहरू सुकुम्बासी नभएपनि सरकारले सुकुमबासीझैँ गरेर अधिकार हनन गरेको आरोप लगाउँदै उनीहरू गौशालास्थित पशुपति क्षेत्र विकास कोषको मुख्य गेट अगाडि धर्नामा बसिरहेका छन् । स्थानीय सुदर्शन गौतमले आफूहरू सुकुम्बासी नभई राज्यलाई कर तिरेर वैधानिक रूपमा बसोबास गरिरहेका नागरिक भएको स्पष्ट पार्नुभयो । 

    ५२. सगरमाथा आरोहण गरी इतिहास रचेकी ट्रान्स महिला निलम भन्छिन्–‘राज्यले नेपाल यौनिक तथा लैङ्गिक अलपसंख्यक समुदायमैत्री रहेको सन्देश प्रवाह गरोस्’

    सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला निलम पौडेलले हिमाल आरोहणका लागि आवश्यक प्रायोजन (स्पोन्सरशिप) प्राप्त गर्न आफूले ठुलो संघर्ष गर्नुपरेको भन्दै गुनासो गर्नुभएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सगरमाथा आरोहण गर्नको लागि सरकारी निकायसहित साझेदार संस्थाहरुबाट पर्याप्त सहयोग नपाएको गुनासो गर्नुभएको हो । उहाँले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायप्रति समाजमा अझै पनि विभेदपूर्ण दृष्टिकोण रहेको उल्लेख गर्दै आफू ट्रान्स समुदायको भएकै कारण सहयोग पाउन नसकेको बताउनु भयो ।

    ५३. डा. कृष्ण गिरी चिकित्सा शिक्षा आयोगको बैठकमा ‘उपाध्यक्ष’को हैसियतमा सहभागिः एमालेले जनायो आपत्ति

    नेकपा (एमाले)का सांसद गुरु बरालले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्त नभई प्राध्यापक डा. कृष्ण गिरीलाई आयोगको बैठकमा उपाध्यक्षको हैसियतमा बैठकमा सहभागी गराएको भन्दै आपत्ति जनाउनुभएको छ । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बरालले यस्तो आपत्ति जनाउनुभएको हो । उहाँले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पद हाल रिक्त रहेको र आयोगको ऐनअनुसार लोकसेवा आयोगका अध्यक्षसहितको सिफारिस समितिको सिफारिसमा आयोगको उपाध्यक्ष मन्त्रिपरिषद्ले नियुक्त गर्ने व्यवस्था रहेको उल्लेख गर्नुभयो ।

    ५४. प्रिमियर गल्फमा भूवनको अग्रता कायमै

    प्रोफेसनल गल्फर भुवन नगरकोटीले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन शीर्ष स्थानमा अग्रता कायमै राखेका छन् । यो सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता हो । जहाँ भुवनले लगातार दोस्रो अग्रता कायमै राखेका हुन् । गोकर्ण गल्फ क्लबमा भुवनले समग्रमा १३ अन्डर १ सय ३१ को स्कोरमा शीर्षता कायमै राखे । उनले सदभाव आचार्यमाथि दुई स्ट्रोकको अग्रता लिएका छन् । भुवनले चार अन्डर ६८ को स्कोरमा दोस्रो दिनको खेल पूरा गरे । सदभावले ६ अन्डर ६६ खेल्दै समग्रमा ११–अन्डर १ सय ३३ सहित दोस्रो स्थानमा रहेका छन् । सुवास तामाङ र शुक्रबहादुर राई ( कुल आठ अन्डर १ सय ३६) सहित सतेस्रो स्थानमा छन् । 

    ५५. जीवी राई सहकारी घोटाला प्रकरणको अभियुक्त भन्दा पहिले नेपाली नागरिक हुन्, उनको अवस्थाबारे राज्य गम्भीर बनोस्ः सांसद राई

    श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगी प्रकरणका फरार अभियुक्त जीवी राईको खोजिमा सरकारले तदारुकताका साथ काम नगरेको आरोप बलगाउनुभएको छ । बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँको सहकारी ठगीको विषय न्यायिक विषय भएपनि नेपाली नागरिकको अवस्थाबारे जानकारी लिनु राज्यको दायित्व भएको बताउनु भयो । उहाँले रास्वपा सभापति रवि लामिछानेलाई इंगित गर्दै विगतमा आकाश पताल जहाँ भएनि खोजेर ल्याउने अभिव्यक्ति दिनेहरु अहिले मौन रहेको टिप्पणी गर्नुभयो । राई पक्राउ परे समस्या हुने डरले सरकार पक्षले चासो नदिएको हुनसक्ने उहाँको आशंका छ । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :आषाढ ३ २०८३ बुधवार - २०:२८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij