२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबार बेइजिङमा चिनियाँ नेताहरूसँग उच्चस्तरीय भेटवार्ता गरेका छन्। मन्त्री खनालले ‘चाइनिज पिपल्स पोलिटिकल कन्सल्टिभ कन्फरेन्स’ (सीपीपीसीसी) का नेशनल कमिटीका अध्यक्ष वाङ हुनिङसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।
सीपीपीसीसी नेतृत्वले नेपालको विधायिका तथा परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर काम गर्ने गर्दछ। विशेषगरी आर्थिक कनेक्टिभिटीका अन्तरदेशीय पहल र रणनीतिहरू बनाउन यस संस्थाको भूमिका महत्त्वपूर्ण मानिन्छ।
टवार्तापछि परराष्ट्रमन्त्री खनालले दुई देशबीचको विकास सहयोग, व्यापार, लगानी र पर्यटन प्रवर्द्धनका विषयमा केन्द्रित रहेर फलदायी छलफल भएको जानकारी दिएका छन्। त्यसैगरी, नेपाल र चीनबीचको राजनीतिक आदान–प्रदान र नागरिक–नागरिक स्तरको (पिपुल्स-टु-पिपुल्स) सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि छलफल भएको थियो।
सोमबार परराष्ट्रमन्त्री खनालले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य तथा विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। त्यसैगरी, उनले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँग पनि भेटवार्ता गरिसकेका छन्। चीनको उच्चस्तरीय भ्रमण पूरा गरी मन्त्री खनाल असार ३ गते स्वदेश फर्किने तालिका रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij