२०८३ आश्विन २ गते शुक्रवार
१. श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित
श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित भएका छन् । शनिवार काठमाडौंको माईतीघर मण्डलामा हप्तामा एक दिन बिदा दिन र दैनिक १२ घण्टासम्म मात्रै काम गर्ने वातावरण मिलाउन माग गर्दै आन्दोलित भएका हुन् । उनीहरुले युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गर्न माग गरेका छन् । प्रदर्शनरत एमबिबिएस उत्तिर्ण चिकित्सक डा. प्रज्ञान बस्नेतले नेपालमा एमबिबिएस पास गरेपछि एक वर्ष इन्टर्नसिप गर्नुपर्छ । एक वर्ष काम गरेर मात्र एमडिको अध्ययन गर्न पाइने तर आफूजस्ता चिकित्सकहरु राम्रो अंक ल्याएपनि नेपालको उच्च शिक्षामा रहेको शोषणका कारण एमडि अध्ययन गर्न नसकेको बताउनु भयो । चिकित्सकहरुले लगातार ३६ घण्टासम्म काम गर्नुपर्ने र अहिले देशमा दुई दिन बिदा दिइएको समयमा पनि एक दिन पनि आफूहरुलाई बिदा नदिइएको भन्दै आपत्ति जनाउनु भयो । मेडिकल माफिया र केही शिक्षण अस्पतालहरुको आम्दानीको श्रोतको लागि देशको मेधावी पुस्ता श्रम शोषणमा परिरहेको उहाँको जिकिर छ । देशमा सरकार, मन्त्रीहरु फेरिएर काँग्रेस, कम्युनिष्टबाट जेन–जी र बालेनको सरकार आएपनि चिकित्सकहरुको समस्या जहाँको त्यहीँ रहेको भन्दै दुःख व्यक्त गर्नुभयो । अधिकतम दिनमा १२ घण्टाको ड्युटि र हप्तामा एक दिन बिदा होस् भन्ने साधारण माग आफूहरुको रहेको उहाँको भनाइ छ ।
२. वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः डा. सीके राउत
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले मुलुकमा पछिल्लो समय स्थापित हुन खोजेका वैकल्पिक राजनीतिक शक्तिहरू विचारशुन्य र तर्कहीन बन्दै गएको बताउनुभएको छ । काठमाडौंमा शनिवार नयाँ शक्तिको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष राउतले नयाँ पुस्तामा विचार र सिद्धान्तभन्दा पनि ‘सेलेब्रिटी’ प्रवृत्ति र विध्वंशप्रति आकर्षण बढेको टिप्पणी गर्नुभयो । राजनीतिमा विचार र नैतिकताको प्रधानता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले हालको राजनीतिक अवस्थालाई ‘विचारशुन्य युग’को संज्ञा दिँदै सामाजिक सञ्जालमा हुने गालीगलौज र तर्कहीन बहसले लोकतन्त्रलाई कमजोर बनाइरहेको तर्क गर्नुभयो । संसदीय व्यवस्था र लोकतान्त्रिक मूल्यमान्यतामा ह्रास आएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने अनिवार्य शर्त भएपनि सर्वसाधारणले त्यसलाई अनावश्यक ठान्ने परिस्थिति निर्माण हुनु दुःखद भएको बताउनु भयो । अध्यक्ष राउतले पछिल्लो समय राज्यले अवलम्बन गरेको डोजर संस्कृतिको पनि आलोचना गर्नुभयो ।
३. पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको दाबी गर्दै अब देशमा नयाँ वैकल्पिक शक्तिहरूको उदय अनिवार्य भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित नयाँ शक्ति स्थापना दिवसको अवसरमा बोल्दै डा. भट्टराईले अर्थशास्त्रको ‘रचनात्मक ध्वंस’ को नियम झैँ नयाँ पद्धतिको विकासका लागि पुराना शक्तिहरूको अन्त्य आवश्यक रहेको उल्लेख गर्नुभएको हो । भट्टराईले नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विज्ञान, प्रविधि र मध्यम वर्गको भावनालाई बुझेर अगाडि बढेकाले सफलता पाएको बताउनु भयो । यद्यपि रास्वपाको वैचारिक धार ‘राइट अफ सेन्टर’ (दक्षिणपन्थी ढल्काइ) रहेको टिप्पणी गर्नुभयो । देशको बहुसङ्ख्यक जनता अझै पनि गरिबीको रेखामुनि रहेको र ७०–८० प्रतिशत नागरिक शिक्षा, स्वास्थ्य र सम्मानजनक रोजगारीबाट वञ्चित रहेको तथ्यलाई नजरअन्दाज गर्न नहुनेमा उहाँले जोड दिनुभयो । पूर्वप्रधानमन्त्री भट्टराईले पुराना शक्तिहरूको विकल्पमा कम्तीमा दुईवटा प्रमुख वैकल्पिक शक्तिहरू हुनुपर्ने धारणा राख्नुभयो ।
४. पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पशुपति क्षेत्रको धर्म, संस्कृति र परम्परामा प्रतिकूल असर पर्ने गरी सरकारले गरेका निर्णयहरू तत्काल सच्याउन माग गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले स्थानीय संवेदनशीलता र मौलिकतालाई बेवास्ता गरी गरिएका निर्णयहरूले दीर्घकालीन संकट निम्त्याउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । पशुपति क्षेत्रका जात्रा, पर्व र ऐतिहासिक बस्तीहरूको आफ्नै विशिष्ट महत्व रहेको उल्लेख गर्दै थापाले सिंहदरबारबाट गरिने निर्णयहरूले यहाँको संवेदनशीलतालाई सम्बोधन गर्न नसकेको बताउनु भयो । पशुपति क्षेत्रमा कार्यरत जनशक्तिलाई श्रेणीविहीन बनाउने सरकारी निर्णयप्रति लक्षित गर्दै उहाँले यसबाट ती परिवारले परम्परा धान्न नसक्ने र अन्ततः सांस्कृतिक विरासत नै समाप्त हुने चिन्ता व्यक्त गर्नुभयो । लोकतन्त्रमा सरकारले आफ्ना निर्णयहरूलाई प्रतिष्ठाको विषय बनाउन नहुने तर्क गर्नुभयो । सभापति थापाले सरकारले स्थानीय बासिन्दासँग गरेका पुराना बाचा र सम्झौताहरू कार्यान्वयन नगरी बस्ती खाली गराउनु न्यायसंगत नभएको टिप्पणी गर्नुभयो ।
५. जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी
जलवायु परिवर्तनका कारण मानव जीवन, जीविकोपार्जन र समग्र पर्यावरणीय सन्तुलनमा गम्भीर चुनौती खडा भएकोे छ । पछिल्ला अध्ययनहरुले जलवायु परिवर्तनले प्रकृति र जीवजन्तुमा मात्रै नभई प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पु¥याएको देखाएका छन् । प्रजनन तथा आईभीएफ विशेषज्ञ डा. रश्मी श्रीशले पछिल्लो समय विश्वभर निःसन्तानपनको दर बढ्दै गएको र यसको पछाडि जलवायु परिवर्तन तथा वातावरणीय असन्तुलन प्रमुख कारणका रूपमा देखा पर्न थालेको बताउनुभएको हो । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै डा. श्रीशले प्रजनन स्वास्थ्यसम्बन्धी समस्यामध्ये करिव २० प्रतिशतमा जलवायु परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव रहने गरेको अध्ययनले देखाएको बताउनु भयो । चीनमा गरिएको पछिल्लो अध्ययनले निःसन्तानपनको समस्यामा २० प्रतिशत जलवायु परिर्वतनको भुमिका रहेको देखाएको उहाँले बताउनु भयो । जलवायु परिवर्तनले महिला र पुरुष दुवैको प्रजनन स्वास्थ्यमा बराबर असर पार्ने गरेको पनि अध्ययले देखाएको छ । डा. श्रीशले जलवायु परिवर्तनका कारण मौसमा आएको परिर्वतनले मानिसमा बढ्ने तनाव, थकान र जीवनशैलीमा आउने परिवर्तनले यौन स्वास्थ्य र प्रजनन क्षमतामा असर पारिरहेको बताउनु भयो ।
६. कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवद्र्धनः पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजनामा भारतको कोलकातामा ‘पोखरा–नेपाल प्रवद्र्धन अभियान २०२६’ अन्तर्गत बी–टु–बी (बिसनेस टु बिसनेस) नेटवर्किङ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले पर्यटकीय नगरी पोखरा र भारतको कोलकाताबीच पर्यटन सहकार्यको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ । हालैका वर्षहरूमा भारतीय पर्यटकको प्रमुख रोजाइमा पोखरा पर्न थालेपछि नाट्टा गण्डकीले ‘गर्मीमे चलो पोखरा’ भन्ने मूल नाराका साथ प्रवद्र्धनात्मक अभियान शुरु गरेको हो । कार्यक्रममा सहभागी भारतीय पर्यटन व्यवसायीहरूले पोखरालाई दक्षिण एशियाकै उत्कृष्ट गन्तव्यका रूपमा चित्रण गर्दै आगामी दिनमा थप पर्यटक पठाउने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै कोलकातास्थित नेपाली महावाणिज्यदुत झक्कप्रसाद आचार्यले पर्यटन केवल भ्रमणको माध्यम मात्र नभई नेपाल र भारतबीचको मित्रता, संस्कृति र आर्थिक समृद्धिको बलियो सेतु भएको बताउनु भयो । नेपाल र पश्चिम बंगालबीचको भौगोलिक निकटता तथा सांस्कृतिक समानताले पर्यटन विस्तारमा सहजता थपेको उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमले जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
७. कुलेश्वरका बाकसभित्र पाक्दै राजधानीको स्वाद
गर्मी मौसम बढेसँगै संघीय राजधानी काठमाडौंको मुख्य फलफूल थोक केन्द्र ‘कुलेश्वर बजार’ क्षेत्रमा मौसमी फलहरूको बजार निकै तातेको छ । विशेष गरी ग्रीष्मकालीन फलहरूको राजा मानिने आँप र रसिलो रातो लिची यतिबेला कुलेश्वरका सडक पेटी, भण्डारण गृह र थोक पसलहरूमा प्रचुर मात्रामा सजाइएको देख्न सकिन्छ । बिहानैदेखि देशका विभिन्न भाग र छिमेकी क्षेत्रबाट आइपुग्ने मालवाहक गाडीहरूले यहाँको बजारलाई थप चलायमान बनाएका छन् । सिराहा, सप्तरी, सर्लाही तथा मोरङका बगैँचाहरूबाट टिपिएका आँपलाई काठका बलिया बाकस (क्रेट्स) मा पत्रिकाको ओछ्यान लगाएर निकै जतनका साथ पकाउने र प्याकिङ गर्ने कार्यमा स्थानीय मजदुरहरू चौबीसै घण्टा व्यस्त छन् । कुलेश्वरको एक भण्डार गृहमा भेटिएका युवा कामदारहरू काठका बाकसभित्र अखबार बेरेर आँप मिलाउँदै फलामे तारले बाकस कस्न व्यस्त देखिन्थे ।
८. काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’
नेपाली काँग्रेसका संस्थापन इतर पक्षधर युवा नेताहरूले पार्टी नेतृत्वको कार्यशैली, नैतिकता र आन्तरिक लोकतन्त्रको अवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले ‘प्रोजेक्ट गभर्मेन्ट’ जस्ता अवधारणाले पार्टीलाई कमजोर बनाएको र नयाँ राजनीतिक शक्तिहरूको उदयमा सहयोग पुगेको आरोप लगाएका छन् । विशेष महाधिवेशन र भ्रातृ संस्थाका नियुक्तिहरूलाई ‘अपारदर्शी र स्वेच्छाचारी’ भन्दै युवा नेताहरूले ती निर्णयहरू तत्काल सच्याउन माग गरेका छन् । पार्टीको ऐतिहासिक विरासत र अग्रजहरूको योगदानलाई उपेक्षा गरी वाह्य शक्तिको प्रभावमा नेतृत्व चलेको भन्दै उनीहरूले चरणवद्ध आन्दोलनको चेतावनी समेत दिएका छन् । डिजिटल सदस्यता वितरणमा देखिएको अपारदर्शिता र नेतृत्वको ‘नाटकीय’ राजीनामा प्रकरणले राजनीतिक संस्कारको उपहास गरेको उनीहरूको सामूहिक ठहर छ ।
नेपाली काँग्रेसका संस्थापन इतर पक्षधर युवा नेता धर्मराज शाहीले पार्टीको आन्तरिक कार्यशैली र नेतृत्वको नैतिकतामाथि प्रश्न उठाउँदै असन्तुष्टि व्यक्त गर्नुभयो । नेता शाहीले सभापति गगनकुमार थापाको सचिवालय र उहाँले अघि सारेका अवधारणाप्रति टिप्पणी गर्नुभएको हो ।
९.‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’
भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै पर्यटकीय नगरी पोखरा यतिबेला भरिभराउ बनेको छ । लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा डुङ्गा सयरदेखि ट्रेकिङ गतिविधिसम्म अत्यधिक व्यस्त देखिएको हो । फेवातालमा एकै दिन ५ हजारभन्दा बढी पर्यटकले डुङ्गा सयर गरेको डुङ्गा व्यवसायीहरूले बताएका छन् । तालमा दिनभर डुङ्गाको आवतजावत बाक्लो रहँदा व्यवसायीहरू उत्साहित बनेका छन् । त्यस्तै, अन्नपूर्ण क्षेत्रलगायत आसपासका पदमार्गहरूमा पनि भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ । पर्यटकको बढ्दो चापसँगै पोखराका अधिकांश होटल भरिभराउ भएका छन् । होटलहरू पर्यटकले भरिएपछि व्यवसायीहरू खुशी देखिएका छन् । भारतिय पर्यटकको अत्याधिक चापका कारण लेकसाइड तथा मुख्य पर्यटकीय क्षेत्रमा पार्किङ व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । सडक किनारमा सवारीसाधनको भीड बढ्दा ट्राफिक व्यवस्थापनमा समेत दबाब परेको छ ।
नेपालमा वर्षातको समय अर्थात ‘अफसिजन’ मानिने मा पनि भारतीय पर्यटकहरूको उल्लेख्य उपस्थिति देखिएको छ ।
१०. ‘जीवन आफैँमा एक निरन्तर अभ्यास हो’– दयाहाङ राई
साहित्यकार शोभा अधिकारीको ‘सफलताका २७ स्वर्णिम सूत्रहरु’ विमोचन भएको छ । शनिवार अधिकारीद्वारा लिखित सफलताको २७ स्वर्णिम सूत्रहरु लाकार्पण गरिएको हो । लोकार्पण समारोहमा बोल्दै अभिनेता दयाहाङ राईले सफलतालाई केवल भौतिक उपलब्धि वा उचाइ हासिल गर्नुसँग मात्र जोड्न नहुने तर्क गर्नुभयो । कुनै पुस्तक वा विचारधारामा उल्लेख गरिएका सफलताका सूत्रहरू सबैका लागि समान रूपमा फलदायी नहुने उहाँले उल्लेख गर्नुभयो । मानिस एक सामाजिक प्राणी भएकाले उसको सोच र चिन्तन प्रणालीमा समाजको गहिरो प्रभाव रहने राईको भनाइ छ । आफ्नो अभिनय यात्रा र चरित्र निर्माणको अनुभवलाई जोड्दै राईले स्थान र परिवेशले मानिसको अनुभूतिमा परिवर्तन ल्याउने बताउनु भयो । राईले जीवनलाई बुझ्नका लागि सामाजिक र व्यक्तिगत दुवै दृष्टिकोणको सन्तुलन आवश्यक रहेको कुरामा जोड दिनुभयो ।
११. अफगानिस्तानमा चरम गरिबीका कारण बालबालिका विद्यालय छाडेर श्रम गर्न बाध्य
जुन १२ मा विश्व बालश्रम विरुद्धको दिवस मनाइरहँदा अफगानिस्तानमा भने लाखौँ बालबालिकाहरू चरम गरिबीका कारण विद्यालय छोडेर श्रम बजारमा होमिन बाध्य भएका छन् । देशव्यापी रूपमा व्याप्त आर्थिक संकटले परिवारहरू विस्थापित भएसँगै बालबालिकाहरू इँटाभट्टा, बजार, निर्माण क्षेत्र र विभिन्न कार्यशालाहरूमा कठिन श्रम गरिरहेका छन् । दश वर्षका सुलेमानको कथा पनि अफगानिस्तानका लाखौँ बालबालिकाको जस्तै छ । सफा लुगा लगाएर विद्यालय जाने सपना देख्ने उनी प्रत्येक बिहान इँटाभट्टातर्फ लाग्छन् । आफ्नो अवस्थाबारे सुलेमान भन्छन्, ‘म दैनिक इँटा मिलाउने काम गर्छु र मेरा बिरामी बुबालाई श्रममा सघाउँछु । मलाई विद्यालय गएर पढ्ने ठूलो इच्छा छ, तर परिवारको अवस्थाले गर्दा काम गर्न बाध्य छु ।’ अफगानिस्तानमा दशकौँदेखि जारी युद्ध र अन्तर्राष्ट्रिय तथा अमेरिकी प्रतिवन्धका कारण देशको अर्थतन्त्र धराशायी बनेको छ । चरम गरिबी र बेरोजगारीले उग्र रूप लिँदा लाखौँ मानिसहरू घर छोड्न र शिक्षा त्याग्न बाध्य भएका छन् । परिवारको गुजारा चलाउनकै लागि बालबालिकाहरू सडकमा सामान बेच्नेदेखि इँटाभट्टामा पसिना बगाउनेसम्मका जोखिमपूर्ण काममा संलग्न छन् ।
१२. अमेरिका–इरान शान्ति सम्झौताको अन्तिम मस्यौदामा सहमति जुटेको पाकिस्तानी प्रधानमन्त्रीको दाबी
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम र पारस्परिक रूपमा सहमत मस्यौदा तयार भएको जानकारी दिनुभएको छ । सघन मध्यस्थताका प्रयासहरूपछि दुवै राष्ट्र सम्झौताको अन्तिम बिन्दुमा पुगेको उहाँले बताउनुभएको हो । शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै प्रधानमन्त्री सरिफले अब पाकिस्तानले सम्झौताका आगामी प्रक्रियाहरूलाई पूर्णता दिन दुवै पक्षसँग निकट रहेर काम गरिरहेको उल्लेख गर्नुभयो । अमेरिका र इरानबीचको दीर्घकालीन तनाव कम गर्न पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ ।
१३. नाइजेरियामा सुरक्षा कारबाही तिब्रः एक वर्षमा १३ हजारभन्दा बढी आतंककारी मारिए
नाइजेरियामा पछिल्लो एक वर्षको अवधिमा सुरक्षा फौजले सञ्चालन गरेको विभिन्न कारबाहीमा परी १३ हजारभन्दा बढी आतंककारी मारिएका छन् । नाइजेरियाली राष्ट्रपति बोला टिनुबुले शुक्रवार लोकतन्त्र दिवसको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै विद्रोही र आपराधिक समूहहरू विरुद्धको कारबाहीलाई तिब्रता दिइएको जानकारी दिनुभएको हो । राष्ट्रपति टिनुबुका अनुसार नाइजेरियाली सुरक्षा फौजले प्रतिआतंकवाद अभियानलाई थप प्रभावकारी बनाउनुका साथै अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यलाई समेत विस्तार गरेको छ । यसै क्रममा उत्तरपूर्वी राज्य बोर्नोमा गरिएको पछिल्लो सैन्य कारबाहीमा इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्सको कमाण्ड सेन्टर पूर्ण रूपमा ध्वस्त पारिएको उहाँले बताउनु भयो ।
१४. मध्यपूर्वमा जारी तनावका बीच टर्कीको केन्द्रिय बैंकद्वारा नीतिगत ब्याजदर ३७ प्रतिशतमा यथावत
मध्यपूर्वमा जारी तनावका कारण मुद्रास्फीतिमा चाप परेपछि टर्कीको केन्द्रिय बैंकले आफ्नो प्रमुख नीतिगत ब्याजदरलाई ३७ प्रतिशतमा यथावत राखेको छ । बैंकले सावधानी अपनाउँदै लगातार तेस्रो महिना ब्याजदरमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको हो । मौद्रिक नीति समितिको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘भू–राजनीतिक विकासक्रम र त्यसबाट सिर्जित अनिश्चितताका कारण ऊर्जाको मूल्य अस्थिर र उच्च रहेको छ ।’
टर्कीमा वार्षिक मुद्रास्फीति दर मे महिनामा ३२.६ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिना ३२.४ प्रतिशत थियो । मुख्यतया ऊर्जाको मूल्यमा भएको भारी वृद्धिका कारण यो सात महिनायताकै उच्च विन्दु हो ।
यसअघि मार्च महिनामा केन्द्रीय बैंकले ब्याजदर घटाउने प्रक्रियालाई स्थगन गरेको थियो । इरानसँग सम्बन्धित तनावका कारण बजारमा आउन सक्ने उतारचढावले मुद्रास्फीति अझै बढाउन सक्ने बैंकको चेतावनी थियो ।
१५. राज्यद्रोहको मुद्दामा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई ३० वर्षको जेल सजाय
दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक–योललाई राज्यद्रोहको अभियोगमा ३० वर्षको जेल सजाय सुनाएको छ । उत्तर कोरिया (डीपीआरके) मा ड्रोन घुसपैठ गराएर देशको सैन्य हितविपरीत कार्य गरेको ठहर गर्दै सियोल केन्द्रीय जिल्ला अदालतले शुक्रबार उक्त फैसला सुनाएको हो । अदालतले युनलाई साधारण राज्यद्रोहको कसुरमा दोषी ठहर गरेको छ, जुन दक्षिण कोरियाको सैन्य स्वार्थमा हानि पु¥याउने वा शत्रु पक्षलाई फाइदा पुरÞ्याउने अपराधसँग सम्बन्धित छ । फैसलामा भनिएको छ कि उक्त ड्रोन घुसपैठ राष्ट्रिय सुरक्षा वा प्रतिरक्षाका लागि नभई निजी स्वार्थका लागि गरिएको थियो, जसले देशको सैन्य हितमा ठूलो क्षति पु¥याएको छ ।
स्वतन्त्र काउन्सिलको अनुसन्धान टोलीले युन विरुद्ध ३० वर्षको कारागार सजाय माग गरेको थियो । सन् २०२४ अक्टोबरमा प्योङयाङमा ड्रोन घुसपैठ गराउन आदेश दिएको र सोही वर्षको डिसेम्बरमा मार्सल ल (सैन्य शासन) घोषणा गर्न आधार तयार पार्ने उद्देश्यले उत्तर कोरियालाई सैन्य उत्तेजना फैलाउन उकासेको अभियोग उनीमाथि लगाइएको थियो ।
१६. विश्वकप २०२६ः दमासकसमा फुटबल महोत्सवको रौनक, द्वन्द्वपछिको सिरियामा खुशीको सञ्चार
सिरियाको राजधानी दमासकसमा विश्वकप २०२६ को अवसर पारेर विश्वकप महोत्सव शुरु भएको छ । वर्षौंदेखिको द्वन्द्वबाट तङ्ग्रिँदै गरेको यस मुलुकका नागरिकहरूका लागि यो महोत्सव उत्साह, एकता र राहतको माध्यम बनेको छ । राजधानीको पुरानो दमासकस प्रदर्शनी स्थललाई सार्वजनिक फ्यान जोनमा परिणत गरी आयोजना गरिएको यस महोत्सवमा ठूला डिजिटल पर्दाहरूमा फुटबल खेलको प्रत्यक्ष प्रसारण भइरहेको छ । फुटबल खेलका अतिरिक्त महोत्सवमा विभिन्न उमेर समूहका दर्शकहरूलाई लक्षित गरी खाद्य स्टलहरू, खेलकुदसँग सम्बन्धित गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएका छन् । यो महोत्सव जुन ११ देखि जुलाई १९ सम्म विश्वकपको समानान्तर रूपमा सञ्चालन हुने आयोजकले जनाएका छन् ।
१७. हिन्द महासागरमा ५३ लाख वर्ष पुरानो ह्वेलको अवशेष फेला
वैज्ञानिकहरूले हिन्द महासागरमन ह्वेलका अवशेषहरूको विश्वकै सबैभन्दा गहिरो र विशाल सङ्कलन फेला पारेका छन् । दक्षिण–पूर्वी हिन्द महासागरको डायमान्टिना क्षेत्रमा करिव ७,००० मिटरको गहिराइमा यो स्थल फेला परेको हो । अनुसन्धानकाअनुसार यस क्षेत्रमा ५३ लाख वर्षदेखि निर्माण हुँदै आएका प्राचीन जीवावशेषका साथै सक्रिय ह्वेल–फल पारिस्थितिक प्रणालीहरू रहेका छन् । विशेषगरी ६,७८९ मिटरको गहिराइमा भेटिएका तीनवटा बिग्ड ह्वेलका मेरुदण्डका हड्डीहरूले हालसम्मकै सबैभन्दा गहिरो सक्रिय ह्वेल–फल इकोसिस्टमको कीर्तिमान कायम गरेका छन् । ह्वेल–फल भन्नाले मृत ह्वेलको शरीर समुन्द्रको पिँधमा थुप्रिएपछि त्यहाँ विकसित हुने विशेष पारिस्थितिक प्रणालीलाई बुझिन्छ ।
१८. ‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैनः नेता लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं रास्वपा वागमती प्रदेश सभापतिका उम्मेदवार डा. अच्युतम लामीछानेले पार्टीभित्र ‘एक व्यक्ति, एक पद’ व्यवस्था लागू गर्न नहुने बताउनुभएको छ । शनिवार पार्टीको वाग्मति प्रदेशको अधिवेशनको क्रममा पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले उक्त व्यवस्था लागू भएमा वर्तमान पदाधिकारी र निर्वाचित प्रतिनिधिहरूको राजनीतिक भविष्य नै सीमित हुने बताउनु भयो । ‘एक व्यक्ति, एक पद’ नीतिले पार्टीका सक्रिय नेता–कार्यकर्तालाई निक्रिय बनाउने उहाँको भनाई छ । उक्त व्यवस्था लागू भएमा वर्तमान पदाधिकारी तथा निर्वाचित प्रतिनिधिहरूको राजनीतिक अवसर सीमित हुन सक्ने उहाँको तर्क छ । उहाँले पार्टीलाई विद्यालय तथा विश्वविद्यालयसँग तुलना गर्दै जनप्रतिनिधित्वको यात्रा पार्टी संगठनबाटै तय हुने पनि बताउनु भयो । पार्टीभित्र विचार, बहस र राजनीतिक विमर्शमार्फत नेतृत्व विकास हुने र त्यही प्रक्रियाबाट तयार भएका व्यक्तिहरू जनप्रतिनिधिका रूपमा चुनावी मैदानमा जाने उहाँको भनाई छ ।
१९. ‘सुकुम्बासी बस्तीका ६ प्रतिशत मात्रै होल्डिङ सेन्टरमा, बाँकीको विषयमा सरकार नै अनविज्ञ’
सरकारले काठमाडौं उपत्यकाबाट हटाएका करिव ६ प्रतिशत सुकम्बासी मात्रै होल्डिङ सेन्टरमा बसोवास गर्ने गरेको एक प्रतिवेदनले देखाएको छ । बस्तीबाट विस्थापित भएका अधिकांश नागरिक सरकारको पहुँच भन्दा बाहिर रहेको अध्ययनले देखाएको हो । नेपाल बसोवास बस्ती समाज, नेपाल महिला एकता समाज र जेन–जी एलायन्सले संयुक्त रुपमा आयोजना गरेको ‘जबरजस्ती उठिवास पश्चात भूमिहीन सुकुम्वासी र अव्यवस्थितको अवस्था विश्लेषण प्रतिवेदन’ सार्वजानिक कार्यक्रममा कार्यपत्र प्रश्तुत गर्दै स्मिता आचार्यले सरकारद्वारा विस्थापितमध्ये ६ प्रतिशत मात्रै होल्डिङ सेन्टरमा बसेको बताउनु भयो । बाँकी परिवार कहाँ छन् भन्ने विषयमा सरकार अनविज्ञ रहेको उहाँको आरोप छ । उहाँकाअनुसार काठमाडौं उपत्यकाका २७ वटा सुकुम्बासी बस्तीमा डोजर लगाइएको थियो । ती बस्तीमा डोजर लगाउँदा २ हजार ८ सय ६९ घरधुरी भत्किएका छन् । सुकुम्बासी बस्तीमा रहेका ५ हजार ७ सय ६ परिवारका १६ हजार ८ सय ४३ जनालाई सरकारले विस्थापित गरेको उहाँको भनाई छ । तर उक्त तथ्याङ्क सरकारसँग नभएको उहाँको दाबी छ । सरकारको अभिलेखमा भत्काइएको धेरै बस्ती समावेश नभएकाले आफूहरुले समुदायस्तरमा गएर अध्ययन गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार मनोहरा लगायतका केही ठूला बस्तीहरूको तथ्याङ्क सरकारले टिपोट नै गरेको छैन ।
२०. भृकुटीमण्डपमा दोस्रो संस्करणको ग्लोवल कन्जुमर एक्स्पो जारी
काठमाडौंको भृकुटीमण्डपमा दोस्रो संस्करणको ग्लोबल कन्जुमर एक्स्पो संचालन भईरहेको छ । इभेन्ट सोलुसन प्रा.लि.को आयोजनामा शुक्रवारदेखि एक्स्पो सञ्चालनमा आएको हो । असार २ गतेसम्म सञ्चालन हुने एक्स्पोमा एकै स्थानबाट परिवार तथा उपभोक्ताले दैनिक आवश्यकताका विभिन्न सामग्री खरिद गर्न सक्नेछन् । लुगादेखि खाद्यान्नसम्मका सामग्री एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले मिनी भाटभटेनीको अवधारणामा एक्स्पो सञ्चालन गरिएको इभेन्ट सोलुसन प्रा.लि.का मार्केटिङ डिरेक्टर नवीन भट्टले जानकारी दिनुभयो । उहाँकाअनुसार एक्स्पोलाई किनमेलसँगै पारिवारिक मनोरञ्जनको केन्द्रका रूपमा विकास गर्ने प्रयास गरिएको छ । बालबालिकाका लागि खेल क्षेत्र, फुड कोर्ट, फेस पेन्टिङ तथा विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिको व्यवस्था गरिएको उहाँले बताउनु भयो । उहाँका अनुसार यस वर्ष एक्स्पोमा नयाँ व्यवसायी तथा उद्यमीले पनि सहभागिता जनाएका छन् ।
२१. हर्कराज राई भन्छन्–‘देशलाई माया गर्दा गाली खाइरहेको छु’
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले देशलाई माया गरेकै कारण आफूले गाली खानुपरेको गुनासो गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा उहाँले देशको हितका लागि आवाज उठाउँदा अपमान र तिरस्कार सहनुपरेको गुनासो गर्नुभयो । उहाँले आफूले धरानको मेयर हुँदा दैनिक करिव एक हजार गाली पाउने गरेको स्मरण गर्र्दै हाल त्यो संख्या बढेर दैनिक १० हजार पुगेको बताउनु भयो । अध्यक्ष राईले दार्चुलामा पुल बनाउने क्रममा पनि आफूलाई गाली आएको बताउनु भयो । उहाँले सामाजिक सञ्जालमा आफूविरुद्ध संगठित रूपमा गाली अभियान सञ्चालन भइरहेको आशंका पनि व्यक्त गर्नुभयो । उहाँले सो पुल विवादका बीच पनि निर्माण सम्पन्न हुन लागेको र छिट्टै उद्घाटन गर्ने दाबी गर्नुभयो । नेपाली समाजमा अरूले गरेको कामको प्रशंसा गर्नुभन्दा खुट्टा तान्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै उहाँले त्यसको अन्त्य नभएसम्म देश बन्न नसक्ने बताउनु भयो । आफू काम नगर्ने र अरुलाई पनि गर्न नदिने प्रवृत्तिको अन्त्य हुनुपर्ने उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij