२०८३ श्रावण १० गते आइतवार
काठमाडौं । समस्याग्रस्त सहकारीबारे मुद्दामा गएका बचतकर्ताले तत्कालका लागि बचत फिर्ता नपाउने भएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मुद्दामा गएका बचतकर्ताको हकमा अदालती प्रक्रियाको अन्तिम टुङगो नलाग्दासम्म बचत फिर्ता नगर्ने भएको हो ।
समितिले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता र कर्जा असुलीलाई व्यवस्थित गर्नका लागि कार्यविधि नै बनाई अघि बढेको छ । समितिले उक्त कर्जा असुलीमा पनि ऋणको ब्याज अन्योल भएको खण्डमा सन्दर्भ ब्याजदर १६ प्रतिशतका दरले गणना गर्ने निर्णय गरेको छ । त्यसैगरी लिलाम गर्दा धितोको मूल्याङ्कन प्रक्रियालाई स्पष्ट पारी बजार मूल्यमा खरिद बिक्री गर्ने निर्णय गरेको छ ।
समितिले ‘बचत फिर्ता, ऋण असुली तथा सम्पत्ति व्यवस्थापन कार्यविधि, २०८३’ बनाइ लागु गरेको छ । समितिले मंगलबार स्वीकृत गरेको उक्त कार्यविधि लागु भइसकेको एक अधिकारीले बताए । समस्याग्रस्त सहकारीको सम्पत्ति दायित्व समयमै राफसाफ गर्नका लागि कार्यविधि नै बनाइ अघि बढेको ती अधिकारीले बताए । ‘कार्यविधिले सहकारी सम्बन्धी कानुनले स्पष्ट नबनाएका विषयहरूलाई नबाझिने गरी असुली र बचत फिर्तालाई स्पष्ट बनाएको छ ’ उनले भने ।
कार्यविधि अनुसार समितिले अवधि तोकी बचतकर्तालाई आफ्नो बचत रकम अनलाइन प्रणालीमार्फत दाबी गर्न सूचना प्रकाशन गर्नेछ । बचतकर्ताले मागदाबी गर्दा विवरण तथा प्रमाणको स्क्यान प्रति संलग्न गर्नुपर्नेछ । मागदाबी गर्दा एकै व्यक्तिले एउटै संस्थामा एकपटक भन्दा बढी मागदाबी गर्न नपाउने व्यवस्था कार्यविधिले गरेको छ । त्यसैगरी मागदाबी गर्न छुट भएका बचतकर्ताले पुनः मागदाबी पेश गर्न पाउने गरी समितिले सूचना प्रकाशन गर्न सक्ने व्यवस्था कार्यविधिले गरेको छ ।
मागदाबीमा फरक परी बचतकर्ता मर्कामा परेको निवेदन परेमा समितिले आवश्यक प्रमाण बुझी सम्बन्धित बचतकर्तालाई मागदाबी संशोधन गर्न पाउने गरी अनुमति दिन सक्ने व्यवस्था कार्यविधिमा समेटिएको छ । समितिले बचत फिर्ता गर्दा १० हजार वा सोभन्दा कम बचत हुने बचतकर्ताको मागदाबी अनुसार क्रमशः फिर्ता हुने व्यवस्था गरेको छ । सो भन्दाबढी मागदाबी भएका बचतकर्तालाई सम्बन्धित समस्याग्रस्त सहकारीको कोषमा भएको मौज्दात रकमबाट मागदाबी नबढ्ने गरी समान रुपले फिर्ता गरिने व्यवस्था समितिले गरेको छ । यसअघि केही बचत फिर्ता पाइसकेकालाई पाएको रकम कार्यविधि बमोजिम अधिकतम हदमा घटाई बाँकी देखिने रकमभन्दा बढी नहुने गरी फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
समस्याग्रस्त सहकारीमा एकभन्दा बढी बचत खाता भएमा एकलाई आधार मानी बचत फिर्ता हुने व्यवस्था कार्यविधिमा उल्लेख छ । बचत फिर्ता वापत अचल सम्पत्ति लिँदा पनि अझै रकम लिन बाँकी रहेकालाई तत्कालका लागि स्थगित राखिने कार्यविधिमा उल्लेख छ ।
त्यसैगरी बचत फिर्ता गर्दा सम्बन्धित समस्याग्रस्त सहकारीमा रकम रहेका र मागदाबी फारम भरेकामध्ये ८० वर्ष पूरा भएका, नेपाल सरकारबाट प्राथमिकता पाउने भनी तोकिएका गम्भीर प्रकृतिको रोग लागेका, एकल व्यक्ति, जनजाति, दलित र पिछडिएका क्षेत्र वा वर्गका बचतकर्तालाई क्रमशः प्राथमिकता दिई फिर्ता गरिने कार्यविधिमा उल्लेख छ ।
मस्तिष्कघात, मिर्गौला फेल, क्यान्सर आदि विभिन्न प्रकारका घातक रोगी भएका बचतकर्ता, असी वर्ष नाघेका नागरिक, दृष्टिविहीन तथा (क) वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिलाई वार्षिक बढीमा पचास हजार रुपैयाँसम्मको बचत फिर्ता दिन सकिने कार्यविधिमा उल्लेख छ ।
नेपाल सरकारबाट चक्रिय राहत कोष मार्फत प्राप्त हुने रकम बचत फिर्तामा प्रयोग भएको अवस्थामा प्रयोग भएको रकमको सोधभर्ना सम्बन्धित समस्याग्रस्त सहकारीको खातामा जम्मा भएको मौज्दात रकमबाट हुनेछ ।
सोधभर्ना गर्दा साना बचतकर्तालाई उपलब्ध गराइने रकम सम्बन्धित समस्याग्रस्त सहकारीको खातामा मौज्दात नभएमा सम्बन्धित समस्याग्रस्त सहकारीका सञ्चालक, पूर्व सञ्चालक, व्यवस्थापक, लेखा सुपरीवेक्षण समिति तथा उपसमितिका पदाधिकारी, व्यवस्थापक तथा कर्मचारीबाट असूल गरी सोधभर्ना गरिने व्यवस्था कार्याविधिले गरेको छ । साथै समस्याग्रस्त सहकारीको बचत अपचलनमा संलग्न नातेदारको नाममा रहेको सम्पत्ति समेतबाट सरकारी बाँकी सरह दामासाहीले हुने रकम असूल गर्न सकिने व्यवस्था गरिएको छ ।
सम्बन्धित समस्याग्रस्त सहकारीको पहिचान भएका ऋणीले ऋण चुक्ता नगरेसम्म आफ्नो बचत पनि फिर्ता पाउन नसक्ने व्यवस्था कार्यविधिले गरेको छ । त्यसैगरी पहिचान भएका सञ्चालक, पूर्व सञ्चालक, व्यवस्थापक, लेखा सुपरीवेक्षण समिति र उपसमितिका पदाधिकारी तथा कर्मचारी वा निजका परिवार, पहिचान भएका बचत अपचलन वा दुरुपयोगकर्ता र तिनीहरूका परिवारका सदस्यहरूले अन्य बचतकर्ताको बचत फिर्ता नभएसम्म पाउँदैनन् ।
कार्यविधि अनुसार अदालतमा मुद्दा विचाराधीन रहेका बचतकर्ताको बचत फिर्ताको सम्बन्धमा अदालतको अन्तिम आदेश वा फैसला नभएसम्म बचत फिर्ता हुने छैन । समितिबाट पहिचान भएका ऋणीको जमानी बसेका बचतकर्ताले समेत सम्बन्धित ऋणीको ऋण चुक्ता नभएसम्म फिर्ता पाउने छैनन् ।
त्यसैगरी बचतकर्ताको मृत्यु भएमा वा वेपत्ता भएमा कानुन बमोजिम हकवाला स्थापित हुने आधार प्रमाण पेश नगरेसम्म बचत फिर्ता हुँदैन । समस्याग्रस्त सहकारीमा अन्य कुनै आर्थिक दायित्व बाँकी रहेको फेला परेमा उक्त दायित्व फरफारक नगरेसम्म र बचत फिर्ता पाउने व्यक्तिको बैंक खाता रोक्का भएको अवस्थामा बचत फिर्ता नहुने कार्यविधिमा उल्लेख छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij