२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । देशभरका विभिन्न औद्योगिक क्षेत्रमा सञ्चालित सयौं उद्योगहरूले लामो समयदेखिको भाडा र महसुल नतिरेपछि ‘औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड’ले बक्यौता रकम बुझाउन ७ दिने अल्टिमेटम दिएको छ ।
लिमिटेडले एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र बक्यौता राफसाफ नगरे कानुनबमोजिम कारबाही गरी रकम असुलउपर गर्ने चेतावनी दिएको हो ।
लिमिटेडको केन्द्रीय कार्यालय बालाजुले जारी गरेको सूचनाअनुसार औद्योगिक क्षेत्रभित्र सम्झौता गरी सञ्चालनमा रहेका उद्योगहरूले कार्यालयबाट उपलब्ध गराइएको जमिन, भवन, विद्युत् र पानीलगायत सेवा प्रयोग गरेबापतको महसुल नियमित रूपमा बुझाएका छैनन् ।
पटक–पटक पत्राचार तथा ताकेता गर्दा समेत अटेर गरी बक्यौता नबुझाएपछि बाध्य भएर सार्वजनिक सूचना निकाल्नुपरेको लिमिटेडले जनाएको छ ।
समयमै रकम नउठ्दा औद्योगिक क्षेत्रका पूर्वाधार निर्माण, मर्मत सम्भार र उद्योगहरूलाई प्रदान गरिने सेवा सुविधामा गम्भीर कठिनाइ उत्पन्न भएको सूचनामा उल्लेख छ । लिमिटेडले २०८३ वैशाख मसान्तसम्मको कुल बक्यौता रकमसहित सयौं उद्योगहरूको नाम सार्वजनिक गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij