२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । भक्तपुरमा पत्नीको बीभत्स हत्या गरेको आरोपमा पक्राउ परेका ३८ वर्षीय विदुर विश्वकर्माले पत्नी परपुरुषसँग निकट भएको आशंकामा हत्या गरेको बयान दिएका छन्। जिल्ला प्रहरी कार्यालय भक्तपुरको हिरासतमा रहेका उनले बयानका क्रममा तीन जना पुरुषहरूको नाम लिँदै उनीहरूसँग पत्नीको निकटता बढेकाले आफूले घटना गराएको दाबी गरेका हुन्।
गएको बुधबार राति भक्तपुर नगरपालिका वडा नम्बर १० छालिङ रोडस्थित सैनिक ब्यारेक पछाडि ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको खुकुरी प्रहार गरी हत्या भएको थियो। खुकुरी प्रहार गर्ने उनका पति विदुरलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रकाश जवेगुका अनुसार अभियुक्त विदुरले बयानमा तीन पुरुषको नाम लिए पनि उनको उक्त दाबी पत्याउने ठोस आधार भने फेला परेको छैन। अभियुक्तमा मानसिक समस्या जस्तो देखिन्छ, त्यसैले यस्तो मान्छेले शंकाकै भरमा कसैको नाम लियो भन्दैमा त्यही नै हत्याको मुख्य कारण हो भन्न सकिँदैन, डीएसपी जवेगुले भने। प्रहरीले घटनाको चुरो कुरो पत्ता लगाउन गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ।
विदुरले आफूलाई विभिन्न पुरुषसँग पत्नी नजिकिएको शंका लाग्ने गरेको र घटनाका दिन अत्यधिक मदिरा सेवन गरेपछि उत्तेजित भएर आफैँलाई सम्हाल्न नसक्दा खुकुरी प्रहार गरेको स्वीकारेका छन्। घटनाका समयमा बाबुआमाबिच भएको झगडा र तानातानका क्रममा उनीहरूका ८ वर्षीय छोरा समेत घाइते भएका थिए।
उपचारपछि बालकको स्वास्थ्य सामान्य रहेको र उनलाई हाल जिल्ला प्रहरी कार्यालयको बालमैत्री कक्षमा संरक्षणमा राखिएको छ। घटनास्थल आसपासका छिमेकीहरूका अनुसार उक्त दम्पती बस्ने डेरामा प्रायः हरेक साँझ झगडा र होहल्ला हुने गर्दथ्यो।
विदुरले दिनहुँ अत्यधिक मदिरा सेवन गरेर परिवारमा विवाद गर्ने र टोलमै अशान्ति मच्चाउने गरेका कारण स्थानीयवासी समेत उनीसँग रुष्ट रहँदै आएका थिए। प्रहरीले घटनाको विस्तृत प्रतिवेदन र कानुनी प्रक्रिया अगाडि बढाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij