२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रबाट ७ जेठमा प्रहरीले नौ विदेशी महिलालाई पक्राउ गर्यो। पर्यटकलाई रातको समयमा यौन क्रियाकलापका लागि जोड गरेको आरोपमा प्रहरी वृत्त, लैनचौरको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। २२ देखि ४२ वर्षका ती महिला भियतनाम, बाङ्लादेश र युगान्डाका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार उनीहरू ‘भिजिट भिसा’ मा नेपाल आएका थिए। ९० दिनको भिसामा नेपाल आएका उनीहरू ठमेलमा ‘ग्याङ’ बनाएर बस्थे। रात परेपछि कोठाबाहिर निस्किन्थे।
अभद्र व्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालयले १० हजार रुपैयाँ जरिवाना तिराएपछि प्रहरीले उनीहरूलाई अध्यागमन विभाग पठायो। अध्यागमनले एक वर्षसम्म नेपाल आउन नपाउने गरी ‘डिपोर्ट’ गर्यो।
भट्टराईका अनुसार प्रहरीले ‘निरीक्षण’ का क्रममा ती महिला पक्राउलाई गरेको थियो। “बाटो छेकीछेकी विदेशी र स्वदेशी पर्यटकसँग मोलमोलाइ गर्दै यौन क्रियाकलापका लागि जोड गरेको पाइएपछि पक्राउ गरेका हौँ,” भट्टराई भन्छन्, “ठमेल क्षेत्रमा यस्तो गतिविधि गर्ने स्वदेशी–विदेशी दुवै नागरिकलाई निगरानी गरिरहेका छौँ।”
ठमेल रात्रिकालीन जीवन, होटल, रेस्टुराँ, ट्राभल एजेन्सी, ट्रेकिङ व्यवसाय, क्लब, डान्सबार र हस्तकला पाइने पसलका कारण विदेशी र आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। ठमेल क्षेत्र चौबीसै घन्टा खुला हुने भएकाले रातको समयमा रेस्टुराँ, क्लब तथा डान्सबारमा मनोरञ्जन गर्ने, मदिरा पिउने र रमाइलो गर्न चाहनेहरूको पनि गन्तव्य बनेको छ। काठमाडौँ महानगरपालिकाका सुरक्षाकर्मीसमेतले रातको समयमा पहरा दिने ठमेलमा पछिल्लो समय विदेशी नागरिकको संलग्नतामा हुने अवैध गतिविधि देखिएपछि प्रहरीले निगरानी गरिरहेको छ।
त्यसै क्रममा प्रहरी र महानगरको संयुक्त टोलीले रेस्टुराँ, क्लब, डान्सबार र रातभर खुला रहने क्षेत्रमा अनुगमन गर्दा यौन क्रियाकलापकै लागि विदेशी महिला नेपाल आउने गरेको घटना सार्वजनिक भएको हो।
विदेशी महिला पक्राउ परेको यो पहिलो घटना होइन। १० चैत २०८२ को राति पनि प्रहरीले २० जना विदेशी महिलालाई पक्राउ गरेको थियो। उनीहरू सबै युगान्डाका थिए। “निरीक्षण गर्दा ठमेल क्षेत्रमा विदेशी महिलाको संगठित टोली नै यौन व्यवसायमा संलग्न रहेको देखियो,” एसपी भट्टराई भन्छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij