Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मापसेबाट वैशाख महिनामा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

मापसेबाट वैशाख महिनामा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु


  • 694
    Shares

    मापसेबाट वैशाख महिनामा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु
    images

    काठमाडौं । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको र १७४ जना घाइते भएको तथ्यांक छ ।

    काठमाडौं उपत्यकाभित्र मात्रै गत वैशाख महिनामा ३७ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

    उनका अनुसार कोशी प्रदेशमा ३५ सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । मधेश प्रदेशमा २० सवारी दुर्घटनामा २७ जना घाइते भएका छन् । बागमती प्रदेशमा १२ वटा दुर्घटनामा एक जनाको मृत्यु र १९ जना घाइते भएका छन् ।

    त्यसैगरी गण्डकी प्रदेशमा पाँच दुर्घटनामा चार जनाको मृत्यु तथा तीन जना घाइते भएका छन् । लुम्बिनी प्रदेशमा नौ वटा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । कर्णाली प्रदेशमा तीन वटा दुर्घटनामा तीन जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा भएका पनि तीन दुर्घटनामा चार जना घाइते भएका प्रहरीले जनाएको छ ।

    मापसेका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको बताउँदै ट्राफिक नियमको पालना गर्न सबै चालकलाई प्रवक्ता काफ्लेले आग्रह गरे ।

    उनले विशेषगरी रातिको समयमा, सार्वजनिक बिदा तथा विभिन्न पर्व–उत्सवका अवसरमा मादक पदार्थ सेवन गरी सवारी चलाउने क्रम बढी देखिने गरेको जानकारी दिए । उनले मापसे गरी सवारी चलाउनु आफैँमा गम्भीर कानुनी अपराध मात्र नभई मानवीय जीवनका लागि अत्यन्त जोखिमपूर्ण कार्य भएको उल्लेख गरे ।

    ट्राफिक प्रहरीले पछिल्लो समय देशभर मापसे नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ । विशेषगरी शहरी क्षेत्र, राजमार्ग, व्यस्त चोक तथा रातिको समयमा ट्राफिक चेकजाँचलाई कडाइ गरिएको प्रहरीले जनाएको छ ।

    मापसे गरी सवारी चलाउने चालकलाई कानुनअनुसार कारबाही गर्नुका साथै जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताए । उनले भने, ‘मापसे गरी सवारी नचलाउन तथा सुरक्षित यात्राका लागि जिम्मेवार बन्न सम्पूर्ण चालक तथा सर्वसाधारणलाई अनुरोध गर्दै ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ ।’

    उनका अनुसार मादक पदार्थ सेवन गरेपछि चालकको निर्णय क्षमता कमजोर हुने, सवारी नियन्त्रणमा कठिनाइ हुने तथा तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढ्ने भएकाले दुर्घटनाको सम्भावना अत्यधिक रहने गर्दछ । सवारी चलाउँदा पूर्ण रूपमा सतर्कता अपनाउन र ट्राफिक नियमको पालना गर्न उनले सबै चालकहरुलाई आग्रह गरेका छन् ।

    प्रकाशित मिति :जेठ ११ २०८३ सोमवार - १०:०८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij