२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्यवृद्धि र सरकारले लगाएको विभिन्न शीर्षकका करहरूको विरोधमा आइतबार चितवनमा फरक खालको प्रदर्शन हुने भएको छ।
जेनजी अभियन्ता मिराज ढुंगाना नेतृत्वको ‘गरी खान देऊ’ को चितवन शाखाले मोटरसाइकल नचढाई हातले दोहोर्याएर विरोध र्याली आयोजना गर्न लागेको हो।
आइतबार अपराह्न ४:३० बजे चितवनको चौबिसकोठीबाट सुरु हुने उक्त र्याली लायन्स चोकसम्म पुग्ने भएको छ। यस आन्दोलनको नेतृत्व बिशु लामा गुरुङले गरेको गरी खान देउले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। दैनिक उपभोग्य वस्तुदेखि खाद्यान्नसम्म सबै कुराको मूल्य आकासिएको बेला आर्थिक संकटको समयमा जनतामाथि थप करको भार थोपर्नु अन्यायपूर्ण भएको ढुङ्गानाको भनाइ छ।
उनका अनुसार सरकारले पेट्रोलियम पदार्थमा भन्सार महसुल, प्रदूषण शुल्क, सडक मर्मत दस्तुर, पूर्वाधार विकास कर, मूल्य अभिवृद्धि कर र हरित कर गरी ६ प्रकारका करहरू लगाउँदै आएको छ। हाल प्रतिलिटर पेट्रोलको मूल्य २१७ रुपैयाँ पुग्दा सरकारले झन्डै ६५ देखि ७० रुपैयाँ त कर मात्रै लिने गरेको छ।
आन्दोलनको उद्देश्य सरकारसँग घाटामा पेट्रोल माग्नु नभई, संकटको घडीमा लगाइएका अनावश्यक करहरू हटाउन दबाब दिनु रहेको ढुङ्गानाको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij