२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । झापाको हल्दीबारीमा घरायसी विवादको क्रममा श्रीमानले दाउ प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । हल्दीबारी गाउँपालिका–५ स्थित धनुषपोखरी नजिकै गए राति सामान्य विवादका कारण गोकर्ण भनिने गणेश भण्डारीले आफ्नी ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीको टाउकोमा दाउ प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्थानीयका अनुसार भण्डारी दम्पतीबीच विगत लामो समयदेखि झैझगडा हुँदै आएको थियो । राति करिब ९ बजे गोकर्ण मादक पदार्थ सेवन गरेर घर फर्किएपछि दुवैबीच भनाभन भएको थियो । सोही क्रममा विवाद बढ्दै जाँदा आवेशमा आएर गोकर्णले श्रीमतीमाथि दाउ प्रहार गरेको बताइएको छ ।
श्रीमतीको हत्या गरिसकेपछि गोकर्णले छिमेकीको घरमा पुगेर आफूले श्रीमतीको हत्या गरेको स्वीकार गरेका थिए ।
त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले भण्डारीलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याएको छ । उर्मिला गोकर्णकी कान्छी श्रीमती थिइन् । जेठी श्रीमतीसँग सम्बन्ध विच्छेद भएपछि उनले उर्मिलासँग घरजम गरेका थिए । मृतक उर्मिलाका एक छोरी र एक छोरा रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij