२०८३ बैशाख २४ गते बिहिवार
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रमा दोस्रो चरणअन्तर्गत थप १७ लाख थान स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ सुरु भएको छ ।
सरकारले पहिलो चरणमा छापिन बाँकी रहेका ‘ब्याकलग’ लाइसेन्स छपाइ सम्पन्न गर्नुका साथै दैनिक मागलाई प्राथमिकतामा राख्दै दोस्रो चरणको सम्झौता गरेको हो । सुरक्षण मुद्रण केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले असार मसान्तभित्र १७ लाख थान लाइसेन्स छपाइ गर्ने लक्ष्य राखिएको जानकारी दिएका छन् ।
दोस्रो चरणको सम्झौताअन्तर्गत हालसम्म ८२४ थान अत्यावश्यक र २१ हजार ४८६ थान नियमिततर्फ गरी कुल २२ हजार ३१० थान लाइसेन्स छपाइ गरेर विभागलाई हस्तान्तरण गरिसकिएको छ ।
हाल वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेश जानुपर्ने अवस्थाका विद्यार्थीहरूका लागि प्राथमिकताका आधारमा तत्कालै मुद्रण गरिने अत्यावश्यक लाइसेन्स १२९ थान रहेका छन् । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच गत वैशाख ४ गते क्युआर कोडसहितको स्मार्ट लाइसेन्स छपाइसम्बन्धी सम्झौता भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij