२०८३ बैशाख २२ गते मंगलवार
काठमाडौं । पर्साको वीरगञ्जस्थित पूर्वाधार विकास कार्यालयको बोर्डमा मोबिल छर्कने र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार बिहान करिब सवा ९ बजे वीरगञ्ज महानगरपालिका वडा नं. २३ मा रहेको कार्यालय परिसरभित्रै पुगेर उनीहरूले उदण्डता प्रदर्शन गरेका थिए। पक्राउ पर्नेहरूमा वीरगञ्ज ३३ वर्षीय जयपुजन ठाकुर लोहार र ३० वर्षीय मनमोहन पाण्डे रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले पूर्वाधार विकास योजनाको विषयलाई लिएर सोही कार्यालयका कर्मचारी राम प्रवेश यादवसँग विवाद गरेका थिए। विवादकै क्रममा आक्रोशित बनेका उनीहरूले सरकारी कार्यालयको बोर्डमा मोबिल छर्किएर फरार भएका थिए। घटनालगत्तै कार्यालय प्रमुखले वडा प्रहरी कार्यालय श्रीपुरमा टेलिफोनमार्फत जानकारी गराएपछि प्रहरी टोलीले खोजी कार्य तीव्र पारेको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्कीले घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij