२०८३ बैशाख १७ गते बिहिवार
काठमाडौं । पछिल्लो केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्गहरूमा यातायात आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीलेको विवरण अनुसार, बागमती र गण्डकी प्रदेशका केही खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
प्रहरीका अनुसार बागमती प्रदेशको सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित ईकु पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
त्यसैगरी, गण्डकी प्रदेशको लमजुङस्थित मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा ठप्प छ । मध्यनेपाल नगरपालिका-१० बिमिरेभञ्ज्याङमा खसेको पहिरोका कारण सवारी साधन चल्न सक्ने अवस्था छैन ।
केही स्थानमा भने अवरोध हटाएर सडकलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । कोशी प्रदेशको भोजपुर नगरपालिका-५ बोखिममा बाढीका कारण प्रभावित भएको मध्यपहाडी लोकमार्ग अहिले एकतर्फी रूपमा सुचारु भएको छ ।
यस्तै, गण्डकी प्रदेशकै म्याग्दीस्थित बेनी-जोमसोम सडकखण्ड पनि एकतर्फी सञ्चालनमा छ । अन्नपूर्ण गाउँपालिका-३ जलथलेमा खसेको पहिरो पन्छाएर एकतर्फी यातायात सुचारु गरिएको प्रहरीले जनाएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij