२०८३ बैशाख १५ गते मंगलवार
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक डा. नवराज अधिकारी अवकाशमा गएका छन्। ५८ वर्षे उमेर हदका कारण उनले अनिवार्य अवकाश लिएका हुन् । झण्डै २७ वर्षसम्म बोर्डमा नियमन, नीति निर्माण, बजार सुपरीवेक्षण र संस्थागत विकासमा सक्रिय भूमिका निर्वाह गरेका अधिकारी गत बिहीबारदेखि औपचारिक रूपमा सेवा निवृत्त भए ।
२०५६ सालमा सेबोनमा प्रवेश गरेका अधिकारी नेपालको पुँजी बजार क्षेत्रका अनुभवी नियामक तथा विज्ञको छवि बनाउन सफल भएका छन् । २०२२ जुनदेखि २०२६ अप्रिलसम्म कार्यकारी निर्देशक (विशेष श्रेणी) का रूपमा नीति, अनुसन्धान तथा तालिम विभाग र सुपरिवेक्षण विभागको नेतृत्व गरेका उनले यसअघि बोर्ड सचिव, सुपरिवेक्षण विभाग प्रमुख, प्रवक्ता लगायत महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए। २०२४ जनवरीदेखि अप्रिलसम्म उनले कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।
बजार सुधार र सुशासनमा विशेष योगदान
डा. अधिकारीले सेबोनमा रहँदा लगानीकर्ता संरक्षण कोष, नीतिगत सुधार, अध्ययन–अनुसन्धान समिति तथा बजार सुधारसम्बन्धी विभिन्न पहलको नेतृत्व गरेका थिए। प्रादेशिक कार्यालय स्थापना सम्भाव्यता अध्ययन, लगानीकर्ता शिक्षा विस्तार, बजार संरचना सुधार तथा नीतिगत प्रतिवेदन निर्माणमा उनको भूमिका उल्लेखनीय मानिन्छ।
नेपालको पुँजी बजारमा ‘इन्साइडर ट्रेडिङ’ सम्बन्धी पहिलो अनुसन्धान अधिकृतका रूपमा पनि उनी चर्चित छन्। रिडी हाइड्रोपावर कम्पनीसँग सम्बन्धित मुद्दामा गरिएको अनुसन्धानका आधारमा अदालतबाट दोषी ठहर, कैद तथा जरिवानाको फैसला भएको घटना बजार पारदर्शिताको उदाहरणका रूपमा हेरिन्छ।
अधिकारीले एसडिएमएस (Securities Data Management System) परियोजनाको व्यवस्थापन गरेका थिए । जसलाई सरकारी आर्थिक सुधार कार्यक्रमअन्तर्गत उत्कृष्ट परियोजनाका रूपमा सम्मान गरिएको थियो।
२०७२ सालको भूकम्पपछि सेयर बजार स्थायित्वका लागि गठित अध्ययन समितिको संयोजक बनेर उनले तीन दिनमै प्रतिवेदन तयार गरी बजार पुनः सञ्चालनमा योगदान दिएका थिए।
शिक्षण र अन्तर्राष्ट्रिय योगदान
डा. अधिकारी त्रिभुवन विश्वविद्यालयअन्तर्गत एमफिल तहमा वित्तीय प्रणाली, कर्पोरेट फाइनान्स र पुँजी बजार विषय अध्यापन गर्दै आएका छन्। उनले ११० भन्दा बढी कलेज तथा विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा समेत योगदान दिएका छन्।
अन्तर्राष्ट्रिय रूपमा उनले क्यानडास्थित टोरोन्टो सेन्टरसँग सहकार्य गर्दै वित्तीय सुपरीवेक्षण तथा लगानीकर्ता शिक्षा कार्यक्रमहरूमा नेपालको प्रतिनिधित्व गरेका थिए। सन् २०१६ मा सेबोनलाई आईओएससीओ (IOSCO) को एसोसिएट सदस्यता दिलाउने प्रक्रियामा समेत उनको भूमिका रहेको बताइन्छ।
उनले चार दर्जनभन्दा बढी अनुसन्धानमूलक लेख प्रकाशित गरेका छन्। ‘नेपाल विद्याभूषण (क)’, उत्कृष्ट कार्यसम्पादन पुरस्कार तथा कृष्णचन्द्र रेग्मी उत्कृष्ट शोधपत्र पुरस्कारसहित दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट उनी सम्मानित छन्।
यसैबीच, सेबोनमा नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया सुरु गरिएको छ। अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि रिक्त पदपूर्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको हो।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र पूर्व बैंकर भुवनकुमार दाहाल सदस्य छन्।
श्रेष्ठ २०८१ मंसिर १० मा अध्यक्ष नियुक्त भएका थिए। उनको कार्यकाल २०८५ मंसिर ९ सम्म रहने भए पनि २०८३ वैशाखमै राजीनामा दिएपछि पद समयअघि नै रिक्त भएको हो। अब नियुक्त हुने नयाँ अध्यक्षले बाँकी करिब साढे दुई वर्षको कार्यकाल पूरा गर्नेछन्।
पछिल्ला वर्षहरूमा सेबोन नेतृत्वमा विवाद र आरोप दोहोरिँदै आएका कारण अहिले अनुभवी, संस्थागत र विश्वासिलो नेतृत्व आवश्यक रहेको धारणा बलियो बन्दै गएको छ। यही पृष्ठभूमिमा डा. नवराज अधिकारीलाई सम्भावित विकल्पका रूपमा समेत हेरिन थालेको छ।
अध्यक्ष बन्न चाहिने योग्यता के छ ?
धितोपत्र बोर्डको अध्यक्ष कार्यकारी पद हो । अध्यक्षले धितोपत्र बोर्डको प्रशासकीय प्रमुखको रुपमा दैनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी हुन्छ। शैक्षिक योग्यता कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ भने धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको अनुभवी हुनुपर्ने व्यवस्था धितोपत्र सम्बन्धी ऐन २०६३ मा उल्लेख छ । अध्यक्षको पदावधि चार वर्षको हुन्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij