२०८३ बैशाख १० गते बिहिवार
१. सीमामा मधेसी जनतामाथि चरम दमन भइरहेको छ, हामी विद्रोहको नजिक छौँः महन्थ ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेस र नेपाल–भारत सीमा क्षेत्रमा व्याप्त अशान्ति र सर्वसाधारणमाथि भइरहेको दुव्र्यवहारप्रति चिन्ता व्यक्त गर्नुभएको छ । सीमा नाकामा सर्वसाधारणले भोग्नुपरेको सास्ती र राज्यको उदासिनताले गर्दा आफूहरू ‘विद्रोहको नजिक’ पुगेको चेतावनीसमेत उहाँले दिनुभयो । अध्यक्ष ठाकुरले सीमा क्षेत्रका भन्सार र सुरक्षाकर्मीहरूले ‘तजबिजी अधिकार’ (स्वविवेकिय अधिकार) को दुरुपयोग गरी सर्वसाधारणलाई दुःख दिने गरेको बताउनु भयो । । कानून स्पष्ट नहुँदा हाकिमहरूको तजबिजी चल्ने र त्यसले भ्रष्टाचार तथा सास्ती बढाएको उहाँको आरोप छ । विगतमा काम र खाद्यान्नका लागि मानिसहरू नेपाल आउने गरेको स्मरण गर्दै ठाकुरले अहिले स्थिति उल्टो भएको बताउनु भयो । सीमा सुरक्षाका नाममा महिलाहरू सबैभन्दा बढी प्रताडित भइरहेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो ।
२. विद्युत व्यापार र प्रशारण लाइनमा निजी क्षेत्रलाई ढोका खोल्न इप्पानको माग
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले जलविद्युत क्षेत्रको विकास र सरकारले लिएको ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न विद्युत व्यापार र प्रशारण लाइनमा निजी क्षेत्रलाई अनुमति दिनुपर्ने माग गर्नुभएको छ । सुदूरुपश्चिम प्रदेशमा जलविद्युत आयोजना निर्माणका सम्भावना तथा चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । वरिष्ठ उपाध्यक्ष डाँगीले मुलुकको उर्जा क्षेत्रमा देखिएका समस्याहरूको मुख्य जड प्रशारण लाइन रहेको भन्दै यसमा निजी क्षेत्रलाई प्रवेश दिइनुपर्नेमा जोड दिनुभयो । वरिष्ठ उपाध्यक्ष डाँगीले सुदूरपश्चिम प्रदेशमा १८ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन क्षमता रहेपनि हाल केवल १ सय ५९ मेगावाट मात्र उत्पादन हुनु दुःखद् रहेको बताउनु भयो । वि.सं.२०५५ सालदेखि निजी क्षेत्रले उर्जा उत्पादनमा प्रवेश पाएयता हालसम्म करिव ३ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरिसकेको उल्लेख गर्दै डाँगीले सोहीअनुसारको उदार नीति अन्य क्षेत्रमा पनि आवश्यक रहेको बताउनु भयो ।
३. लाङटाङ ट्रेल रन–२०८३ को तयारी पूरा
लाङटाङ ट्रेल रन–२०८३ को तयारी पूरा भएको छ । रसुवा र नुवाकोट जिल्लाका पर्यटनकर्मीहरूको साझा संस्था रसुवा–नुवाकोट पर्यटन समाजले रसुवाको प्रमुख पर्यटकीय क्षेत्र लाङटाङको प्रचार–प्रसार र पर्वद्धनका लागि ‘लाङटाङ ट्रेल रन–२०८३’ आयोजना गर्न लागेको हो । २०७२ को महाभूकम्पले थलिएको लाङटाङ क्षेत्रका पर्यटकीय केन्द्रहरूलाई पुनर्जीवित गराउन र साहसिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न यो दौड प्रतियोगिता कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । प्रतियोगिता बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, खेलकुद विकास परिषद र रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको सहकार्यमा हुन लागेको हो । यो दौड गोसाइँकुण्ड गाउँपालिकाको ३ हजार ८ सय ७० मिटर उचाईमा रहेको केन्जिन गुम्बाबाट शुरु भई लाङटाङ गाउँ, घोडाबेला, लामा होटल हुँदै स्याफ्रुवेसीसम्म करिव ३२ किलोमिटरको दूरीमा हुनेछ ।
४. रातो मत्स्येन्द्रनाथको रथ मंगलबजार पु¥याइयो, आज सुन्धारा लगिँदै
वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ बुधवार गाबहालबाट तानेर मंगलबजार पु¥याइएको छ । स्थानीयवासी र गुठियारहरूको विशेष सक्रियतामा रथ तानेर मंगलबजार पु¥याइएको हो ।आज बिहीवार मंगलबजारबाट पाटनको सुन्धारामा रथ लगिने कार्यक्रम रहेको छ । जात्रा तालिकाअनुसार आज दिउँसोपछि रथ सुन्धाराका लागि प्रस्थान गर्नेछ । मंगलवारबाट विधिवत रुपमा शुरु भएको रातो मत्स्येन्द्रनाथको रथ यात्रा मंगलवार पुल्चोकबाट तानेर गाबहाल लगिएको थियो । आज बिहानैबाट मंगलबजारमा पूजाआजा गर्ने भक्तजनहरूको ठूलो भीड लागेको छ । स्थानीय बासिन्दाहरूले रथको दर्शन र पूजा अर्चना गरिरहेका छन् । जात्रालाई शान्तिपूर्ण र भव्य रुपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था पनि मजबुत पारिएको छ ।
५. बजेटबारे सांसदहरु भन्छन्–‘पहुँचवालाको थालभरि मासु, शक्ति नहुनेको भागमा हड्डी र झोल मात्रै’
बजेट विनियोजन प्रणालीलाई पहुँच र पहुँचवालाको प्रभावबाट मुक्त गरी नीतिगत आधारमा अघि बढाउनुपर्नेमा विभिन्न दलका सांसदहरूले साझा आवाज उठाएका छन् ।
‘गोजीका योजना’ बोकेर मन्त्रालय धाउने परम्पराको अन्त्य, राष्ट्रिय सदाचार नीतिको कार्यान्वयन र बजेटको दोहोरोपन रोक्नुपर्ने उनीहरूको मुख्य माग छ । स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको पुनरुत्थान, सार्वजनिक ऋणको व्यवस्थापन र कर्णाली तथा सुदूरपश्चिम जस्ता दुर्गम क्षेत्रको न्यायोचित विकासका लागि ठोस योजना ल्याउन सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । कर्मचारीतन्त्रको ढिलासुस्ती र केन्द्रिकृत मानसिकता अन्त्य गर्दै आगामी बजेटले उत्पीडित र दूरदराजका जनताको वास्तविक समस्या सम्बोधन गर्नुपर्नेमा उनीहरूको जोड छ । समग्रमा, बजेटलाई पहुँचवालाको खेलौना नभई सुशासन र समृद्धिको ‘वास्तविक ऐना’ बनाउनुपर्ने उनीहरूको निष्कर्ष छ ।
६. फिफाको अल्टिमेटम बोकेर राखेप पुगे एन्फा महासचिव, मे ४ भित्र निकास खोज्ने तयारी
अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच नेपाली फुटबलमा देखिएको पछिल्लो संकट समाधानका लागि औपचारिक वार्ता शुरु भएको छ ।
बिहीवार एन्फाका महासचिव किरण राईले राखेपका पदाधिकारीहरूलाई भेटेर फिफाले पठाएको पछिल्लो पत्र हस्तान्तरण गर्नुभएको हो । महासचिव राईकाअनुसार फिफाले आगामी मे ४ सम्मको समयसीमा तोक्दै नेपाली फुटबलमा देखिएको हस्तक्षेपको अवस्था अन्त्य गर्न पत्र पठाएको छ । राखेप, फिफा, एएफसी र एन्फाबीच यसअघि भएको भर्चुअल छलफलपछि फिफाले यो नयाँ पत्र पठाएको हो । राईले भन्नुभयो, ‘फिफाको पत्रमा मे ४ सम्म सस्पेन्सनको खतरा हट्नुपर्ने उल्लेख छ, त्यसपछि मात्रै अन्य विषयमा छलफल गर्न सकिने जनाइएको छ ।’ विवादको बीचमै एन्फाले वैशाख १४ गते सोमवारदेखि खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ । यसलाई रणनीतिक चाल नभई फुटबलको दायित्व भएको राईले दाबी गर्नुभयो ।
७. कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै सात दिने अल्टिमेटम
कमला नदीमा नयाँ पुल निर्माणको कार्य तत्काल अगाडि बढाउन माग गर्दै ‘नयाँ कमला पुल निर्माण सङ्घर्ष समिति सिराहा–धनुषा’ ले मधेस प्रदेश सरकारलाई सात दिने अल्टिमेटम दिएको छ । २०८१ भदौ ७ गते मधेस प्रदेश सरकार र सङ्घर्ष समितिबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै समितिले आन्दोलनको चेतावनी दिएको हो । दुई वर्ष बित्न लाग्दा समेत सहमति पूर्ण रूपमा कार्यान्वयन नभई अल्मल्याउने, टार्ने र जनतालाई झुक्याउने काम मात्र भएको समितिको आरोप छ । सङ्घर्ष समितिले बुझाएको ज्ञापन पत्रअनुसार हाल आर्थिक वर्ष २०८२÷८३ समाप्त हुन लाग्दा पनि नयाँ पुल निर्माणको ठेक्का प्रक्रिया शुरु समेत गरिएको छैन । यस बीच जीर्ण अवस्थामा रहेको पुरानो पुलको मर्मत कार्य समेत प्रभावकारी रूपमा हुन सकेको छैन । सात दिनभित्र ठेक्का प्रक्रिया अघि नबढाए अनसन, चक्काजाम र सडक अवरोध जस्ता सशक्त आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्ने सङ्घर्ष समितिले स्पष्ट पारेको छ । यस विषयमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले १५ वर्षदेखि जीर्ण रहेको यो पुल मधेसको जीवनरेखा भएको स्वीकार गर्दै यसको निर्माण नितान्त आवश्यक रहेको बताउनु भयो ।
८. ऊर्जा विकासविना समृद्धिको कल्पना गर्न सकिँदैन, १० वर्षका लागि विशेष कानून चाहियोः इप्पान अध्यक्ष कार्की
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले देशको आर्थिक समृद्धिका लागि उर्जा क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभएको छ । सांसदहरूसँगको एक छलफलमा अध्यक्ष कार्कीले उर्जा क्षेत्रको विकास नभइकन अन्य कुनैपनि विकासको कल्पना गर्न नसकिने बताउनुभएको हो । उहाँले जलविद्युत आयोजनाहरू निर्माणमा भइरहेका नीतिगत र संरचनागत अवरोधहरू हटाउन सरकार र संसदको ध्यानाकर्षण गराउनु भयो । ऊर्जा क्षेत्रमा रहेका नीतिगत र कानूनी अड्चनहरूलाई सम्बोधन गर्न १० वर्षका लागि विशेष कानून वा ‘ऊर्जा संकटकाल’ घोषणा गरेर काम अघि बढाउन सरकारसँग आग्रह गर्नुभयो । ऊर्जा क्षेत्रमा रहेका नीतिगत र कानूनी अड्चनहरूलाई सम्बोधन गर्न १० वर्षका लागि विशेष कानून बनाएर अघि बढ्न आग्रह गर्नुभएको हो । विशेष गरी वन तथा वातावरण मन्त्रालयका नीतिहरू विकासमैत्री नभएकोमा उहाँले गुनासो गर्नुभयो । राष्ट्रिय निकुञ्ज र वनका कडा नीतिले गर्दा बाटो, उद्योग र जलविद्युत सबै ठप्प हुने अवस्था रहेको बताउनु भयो । उहाँले यसलाई अन्त्य गर्न एकद्वार प्रणाली तत्काल लागू गर्नुपर्ने बताउनु भयो । ऊर्जा क्षेत्र नै देश समृद्धिको मुख्य आधार भएकले उर्जाको विकास बिना अन्य कुनैपनि क्षेत्रको विकास कल्पना गर्न नसकिने बताउनु भयो । राजनीतिक परिवर्तनपछि अबको मुख्य एजेण्डा आर्थिक समृद्धि हुनुपर्ने र त्यसमा जलविद्युतको भुमिका निर्णायक रहने उल्लेख गर्नुभयो ।
९.‘ए सुन सरकार सुनिदिनुप¥यो’ भन्दै कानूनका विद्यार्थीको मार्चपास
विश्वविद्यालयमा विद्यार्थी संगठनहरूको अस्तित्व समाप्त पार्ने सरकारी नियतका विरुद्ध नेपाल ल क्याम्पसमा अध्ययनरत कानूनका विद्यार्थी सडकमा उत्रिएका छन् । नेपाल ल क्याम्पस स्ववियु तथा संयुक्त विद्यार्थी संगठनको आयोजनामा आज विद्यार्थीले सरकारको अधिनायकवादी कदम विरुद्ध प्लेकार्डसहित शान्तिपूर्ण मार्चपास गरेका हुन् । विद्यार्थीले विश्वविद्यालयको स्वयत्ततामा हस्तक्षेप गर्न खोजेको र विद्यार्थी संगठनहरूको आवाजलाई दबाउन सरकारले अधिनायकवादी बाटो लिएको आरोप लगाएका छन् । मार्चपासमा सहभागीहरूले ‘शिक्षामा दलीय हस्तक्षेप बन्द गर’, ‘स्ववियुको अधिकार रक्षा गर’ र ‘अधिनायकवादी कदम खारेज गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर क्याम्पस परिसर अगाडि प्रदर्शन गरेका थिए ।
१०. अफ्रिकाले विश्व व्यवस्थालाई पुनःसंरचना गर्न थप गतिशील भुमिका खेल्नुपर्छः सेनेगलका राष्ट्रपति
सेनेगलका राष्ट्रपति बसिरु डियोमे फेले अफ्रिकाले विश्वव्यापी व्यवस्थाको पुनःसंरचनामा थप गतिशील भुमिका खेल्नुपर्ने र आफ्नो सार्वभौमिकतालाई दृढतापूर्वक स्थापित गर्नुपर्ने बताउनुभएको छ । राजधानी डाकार नजिकैको डियाम्नियाडियोमा १० औं डाकार अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा मञ्चको उद्घाटन गर्दै उनले सो धारणा राख्नुभएको हो । राष्ट्रपति फेकाअनुसार यस वर्षको मञ्चको मुख्य विषयवस्तुले अफ्रिकी देशहरूले महाद्वीपको अस्थिरताको चक्रलाई तोड्न संयुक्त रूपमा उपायहरू विकास गर्नुपर्ने आवश्यकतालाई जोड दिन्छ ।
११. अमेरिकी नौसेना सचिव जोन फेलानले तत्काल पद छोड्ने घोषणा
अमेरिकी नौसेना सचिव जोन सी. फेलानले तत्काल लागू हुने गरी पदबाट राजीनामा दिनुभएको छ । पेन्टागनका प्रमुख प्रवक्ता सीन पार्नेलले बुधवार सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो । प्रवक्ता पार्नेलले यसबारे कुनैपनि स्पष्ट कारण नखुलाइकनै यो अचानकको निर्णयबारे जानकारी दिनुभएको हो । नौसेनाका उपसचिव हंग काओले निमित्त सचिवको रूपमा कार्यभार सम्हाल्ने छन् । यो घोषणा यस्तो समयमा आएको छ जब अमेरिकी नौसेनाले इरानसँगको युद्ध विरामको समयमा ‘स्ट्रेट अफ हर्मुज’ नजिकैका इरानी बन्दरगाहहरूमा नाकाबन्दी गरिरहेको छ । नौसेना सचिव एक नागरिक पद हो, जसले नौसेना विभागको नीति, प्रशासन, बजेट र समग्र तयारीको जिम्मेवारी सम्हाल्छ । रक्षा सचिव पीट्स हेगसेथले पेन्टागनको नेतृत्व सम्हालेदेखि धेरै वरिष्ठ सैन्य अधिकारीहरूलाई पदमुक्त गरेका छन् ।
१२. दक्षिण भारतमा पटाका कारखाना विस्फोटः १३ जनाको मृत्यु
दक्षिण भारतको केरला राज्यको थ्रिसुर जिल्लास्थित मुन्दाथिकोड क्षेत्रमा रहेको एक पटाका बनाउने कारखानामा शक्तिशाली विस्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। विस्फोटमा करिव दुई दर्जन मानिस घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ । घटना हुँदा कारखानामा करिव ४० जना कामदार कार्यरत थिए । पटाकाहरू स्थानीय चाड थ्रिसुर पुरमका लागि बनाइँदै थियो । यो घटना तामिलनाडुको विरुधुनगरमा दुई दिन अघिमात्रै भएको पटाका कारखानामा यस्तै विस्फोटमा २५ जनाको मृत्यु भएलगत्तै घटेको हो ।
१३. पाकिस्तानी प्रधानमन्त्री र इरानी राजदुतबीच भेटवार्ता
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ र इरानी राजदुत रेजा अमिरी मोगदमबीच भेटवार्ता भएको छ । अमेरिका र इजरायलसँगको युद्धविरामलाई स्थायी बनाउन भेट गरिएको हो । पाकिस्तानी प्रधानमन्त्री कार्यालयकाअनुसार उनीहरूबीच क्षेत्रीय परिस्थिति र शान्ति प्रयासका बारेमा छलफल भएको छ । अमेरिकासँग इरानको वार्ता चाँडै हुने पाकिस्तानले बताउँदै आएको छ । दुई देशबीचको वार्ताका लागि पाकिस्तानले मध्यस्थता गरिरहेको छ ।
१४. मकाउद्वारा म्याड्रिड रोडशोमार्फत स्पेनमा पर्यटन प्रवद्र्धन
स्पेनको राजधानी म्याड्रिडले मकाउ सरकारी पर्यटन कार्यालयद्वारा आयोजित मकाउ नाइटको सफलतापूर्वक आयोजना गरेको छ । यो कार्यक्रम मकाउको सांस्कृतिक सम्पदा, पर्यटन स्रोत र आधुनिक विकासलाई प्रदर्शन गर्ने एक प्रमुख माध्यम बनेको छ । म्याड्रिडको पुएन्टे डेल रे स्क्वायरमा शुक्रवारदेखि मङ्गलवारसम्म एक्सपेरियन्स मकाउ रोडशो आयोजना गरिएको हो । रोडशोमा २० वटा स्टल र ४ वटा मुख्य विषयगत क्षेत्रहरू समावेश थिए । दर्शकहरूले मकाउको प्रख्यात ग्यास्ट्रोनोमी (पाककला), आधुनिक रिसोर्टहरू र ऐतिहासिक गल्लीहरूको प्रत्यक्ष अनुभव गर्न पाए।म्याड्रिड नगर परिषद् र स्थानीय अधिकारीहरूले यस रोडशोलाई मकाउ र स्पेनबीचको सम्बन्धमा एक असाधारण अवसर को रूपमा लिएका छन् ।
१५. मध्यपूर्व द्वन्द्वमा एर्दोगानद्वारा शान्ति र कुटनीतिको समर्थन
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधवार मध्यपूर्वमा जारी द्वन्द्वको समाधानका लागि टर्कीले शान्ति र कुटनीतिको पक्षमा दृढ समर्थन जनाएको बताउनुभएको छ । टर्कीको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार अंकाराको भ्रमणमा रहनुभएका नेटोका महासचिव मार्क रुटसँगको भेटवार्ताका क्रममा राष्ट्रपति एर्दोगानले उक्त धारणा राख्नुभएको हो । भेटघाटका क्रममा दुवै पक्षबीच क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूमा विस्तृत छलफल भएको थियो । यसै क्रममा, एर्दोगानले रुस–युक्रेन द्वन्द्वको शान्तिपूर्ण अन्त्यका लागि टर्कीको निरन्तर प्रयास रहने प्रतिवद्धता समेत दोहो¥याउनु भयो । उहाँले दुई देशबीचको वार्तालाई पुनर्जीवित गर्न र राष्ट्रप्रमुख स्तरको संवादलाई सहज बनाउन टर्कीले सक्रिय भूमिका खेल्ने बताउनु भयो ।
१६. रुसको स्याज्रान शहरमा युक्रेनी ड्रोन आक्रमणबाट आवासीय भवन भत्किँदा २ जनाको मृत्यु
रुसको समारा क्षेत्रस्थित स्याज्रान शहरमा बुधवार बिहान भएको युक्रेनी ड्रोन आक्रमणपछि एउटा आवासीय भवनको केही भाग भत्किँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूकाअनुसार समाराका गभर्नर भ्याचेस्लाभ फेडोरिस्चेभले ड्रोनहरूले स्याज्रानका दुईवटा अपार्टमेन्ट भवनहरूलाई निशाना बनाएका थिए । दुईवटा भवनमा भएको आक्रमणबाट एउटा भवनको प्रवेशद्वार नै भत्किएको बताइएको छ । रुसको आपत्कालीन मन्त्रालयका अनुसार, भग्नावशेषबाट दुईवटा शवहरू निकालिएका छन् र हालसम्म थप मानिसहरू फसेको जानकारी प्राप्त भएको छैन । घाइतेहरूमध्ये तीनजनालाई अस्पताल भर्ना गरिएको छ भने अन्यले वाह्य उपचार लिइरहेका छन् ।
१७. वेस्ट बैंकमा हिंसाः २ प्यालेस्टाइनीको हत्या, एउटा विद्यालय ध्वस्त
वेस्ट बैंकमा इजरायली सेटलर्स (बस्तीका बासिन्दा) द्वारा गरिएको आक्रमणमा परी दुई प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयकाअनुसार रामल्लाहको पूर्वमा रहेको अल–मुघायर गाउँमा भएको उक्त आक्रमणमा १४ वर्षीय अवस अल–नसान र ३२ वर्षीय जिहाद अबु नाइमको ज्यान गएको छ । प्यालेस्टाइनी स्रोतहरूले जनाएअनुसार इजरायली सेनाको सुरक्षामा रहेका सशस्त्र सेटलर्सको समूहले स्थानीय विद्यालयलाई लक्षित गरी गोलीबारी गरेको थियो । इजरायल डिफेन्स फोर्सले उक्त घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
१८. ‘टुर डे लुम्बिनी– शान्तिका लागि साइकल यात्रा’ हुने
नेपालबाट शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनी – शान्तिका लागि साइकल यात्रा’ हुने भएको छ । नेपाल पर्यटन बोर्डमा बिहीवार पत्रकार सम्मेलन गरी आगामी वैशाख १५ देखि १९ गतेसम्म साईकल यात्रा हुन लागेको जानकारी दिइएको हो । काठमाडौंदेखि लुम्बिनीसम्म सञ्चालन हुने साइकल यात्रामा स्वदेश तथा विदेशका साइकल यात्री, युवा, कर्पोरेट क्षेत्रका प्रतिनिधिहरुको सहभागीता हुनेछ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने लक्ष्यसहित साईकल यात्रा गर्न शुरु गरिएको आयोजक संस्था टुर डे लुम्बिनी–पेडल फर पिसका अध्यक्ष मेघबहादुर आलेले जानकारी दिनुभयो । जेन–जी आन्दोलनपछि नेपालमा पनि पूर्णरुपमा शान्ति स्थापना नभएको र विश्वमा पनि विभिन्न किसिमका द्वन्द्व भइरहेकोले शान्ति स्थापनाको लागी यो यात्रा महत्वपूर्ण हुने उहाँको भनाई छ । उहाँले लुम्बिनीबाट हरेक वर्ष शान्तिको सन्देश दिनुपर्ने बताउनु भयो । अमेरिका–ईरान–ईजरायल युद्ध, रसिया–युक्रेन युद्धको कारण हाल विश्व आक्रान्त रहेको उहाँको भनाई छ ।
१९. मल आयात गर्दा सीमा नाकामा कुनै अवरोध हुँदैनः उजुरी दिए तत्काल कारबाही गर्छौं–अतिरिक्त महानिरीक्षक मगर
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले नेपाल भारत सीमा नाकामा किसानलाई मल आयात गर्दा कुनै अवरोध सिर्जना नहुने बताउनुभएको छ । बिहीवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले मल आयातमा सहजीकरण गरिएको बताउनुभएको हो । उहाँले मल आयातमा दुःख दिने कुरा पुरानो भइसकेको उल्लेख गर्दै यसवर्ष मल आयातमा नरोक्नेगरि सीमा सुरक्षा पोस्ट (बीओपी) लाई निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले सीमानाकामा मल आयात गर्दा दुःख दिएको पाइएमा खबर गर्न पनि आग्रह गर्नुभयो । उहाँले खुला सीमाको फाइदा उठाएर मलको नाममा अरु वस्तु तस्करी हुने गरेको उल्लेख गर्दै चेकजाँच लगायतका कार्य भने भइरहेको बताउनु भयो । मलको बोरामा चिनी लगायतका वस्तु आयात हुने गरेको उहाँको भनाई छ ।
२०. साइबर अपराध बढ्दो, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्याः महानिरिक्षक कार्की
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा साइबर बुलिङ्ग लगायत साइबर अपराध तिब्र गतिमा बढिरहेको बताउनुभएको छ । बिहीवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उहाँले इन्टरनेट र मोबाईलको बढ्दो प्रयोगसँगै साईवर अपराधका घटनाहरु वृद्धि भएको बताउनुभएको हो । उहाँकाअनुसार विशेषगरी महिला र युवाहरू साईबर अपराधका घटनाबाट बढी प्रभावित भएका छन् । हालको तथ्याङ्कअनुसार ४ हजारभन्दा बढी सामाजिक सञ्जालको फेक एकाउण्टबाट घृणा फैलाउने सम्बन्धी निवेदन प्रहरीमा दर्ता भएका छन् । त्यसैगरी बुलिङ र ह्यारेसमेन्टका ३ हजारभन्दा बढी घटनाहरू दर्ता भएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार सबैभन्दा बढी वित्तीय अपराधका १० हजार भन्दा बढी उजुरी प्रहरीकोमा परेको छ । एकाउन्ट ह्याकिङ, अनलाइन ठगी, धम्की (थ्रेट) दिने, यौनजन्य हिंसा जस्ता गतिविधि व्यापक बन्दै गएको उहाँले बताउनु भयो ।
२१. मौसमजन्य विपद् व्यवस्थापनका लागि देशभर ६० वटा अस्थायी बेस स्थापना गर्ने तयारी
सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन र उद्धार कार्यलाई सुदृढ बनाउन देशभर स्थायी र अस्थायी संरचना बनाउने भएको छ । बिहीवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले ९ वटा विपद् व्यवस्थापन सम्बन्धी स्याथी बेस र ६० वटा अस्थायी बेस सञ्चालन ल्याउन लागेको जानकारी दिनुभयो । उहाँकाअनुसार हालै सुनसरीको चतरा, सप्तरीको भारदह, काभ्रेको भकुण्डे, डोटीको बोर्डर, गोरखाको आरुटार र जुम्लाको सीमामा ६ वटा बेस स्थापना गरिएको छ । उहाँकाअनुसार सशस्त्र प्रहरीले हाल चार वटा स्थायी अपरेशनल युनिट स्थापना गरेको छ । कुरिनटारस्थित तालिम केन्द्र, मनाङको उच्च पर्वतीय उद्धार तालिम शिक्षालय, सप्तरीको विशेष कार्य शिक्षालय र विपद् उद्धार गणले विपद् व्यवस्थापनसम्बन्धी कार्य गर्ने गरेका छन् । उहाँले प्रहरी हेडक्वाटरदेखि विओपीसम्म नै विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त दक्ष जनशक्ति परिचालन गरेको पनि जानकारी दिनुभयो ।
२२. मन्त्रिपरिषद् बैठकः प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय उल्ट्याइयो
सरकारले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने तत्कालीन सरकारको निर्णय उलट्याउँदै सो जग्गा पूर्ववत रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण केन्द्रकै प्रयोगमा रहने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको २०७५ भदौ १ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय गरेको थियो । मन्त्री पोखरेलका अनुसार बैठकले खानेपानी तथा ढल व्यवस्थापन परियोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणसम्बन्धी वित्तीय सम्झौता अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय समेत गरेको छ ।
२३. विपद् प्रतिकार्यमा स्थानीय तहलाई सक्रिय बनाउनुपर्नेमा जोड
राष्ट्रिय सभाका सांसदहरुले विपद् प्रतिकार्य एवं जोखिम नियन्त्रणमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । प्राकृतिक विपद् प्रतिकार्यका लागि बलियो संयन्त्र बनाउनुका साथै मानवीय त्रुटीका कारण उत्पन्न हुने विपद्का सन्दर्भमा दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने उनीहरुको भनाइ छ । विशेषगरी प्राकृतिक विपद् नियन्त्रण र प्रतिकार्यका लागि स्थानीय सरकारलाई सक्रिय बनाउनुपर्नेमा उनीहरुको जोड छ । बैठकमा बोल्दै नेकपा (एमाले)का सांसद सोनाम गेल्जेन शेर्पाले विपद्पछि पीडितले समयमै राहत नपाउने अवस्था अझै कायम रहेको भन्दै सरकारले गम्भीरतापूर्वक कदम चाल्नुपर्ने बताउनु भयो । उहाँले पहिरोजस्ता घटनामा राहत घोषणा भएपनि वितरण प्रक्रियामा वर्षौं लाग्ने गरेको उल्लेख गर्दै यस्तो प्रणाली सुधार्न आवश्यक रहेको बताउनु भयो ।
२४. शिशुवा–खुदीखोला सडकको उद्घाटन
कास्कीको पोखरा महानगरपालिका–३० मा पर्ने शिशुवा–शिसाघाट सडक खण्डअन्तर्गत शिशुवा–खुदीखोला सडकको उद्घाटन गरिएको छ । शहरी विकास तथा भवन निर्माण विभागको समन्वय र विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत निर्माण सम्पन्न उक्त सडकको बिहीवार महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो । सडक उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख आचार्यले करिव सवा तीन अर्ब रुपैयाँ लागतमा परियोजना अघि बढिरहेको जानकारी दिनुभयो । उहाँले प्राविधिक र व्यवस्थापकीय पक्षलाई समेत ध्यानमा राखी ‘रेटेड क्राइटेरिया’ अनुसार काम सम्पन्न गरिएको उल्लेख गर्दै उहाँले यो परियोजना देशकै नमूना परियोजना रहेको दाबी पनि गर्नुभयो । उहाँले सडकखण्ड विस्तारका क्रममा सामुदायिक वन एवं स्थानीयको बस्ती व्यवस्थापन गर्नुपर्दा केही ढिलाई भएको बताउनु भयो । पोखरा महानगरको सडक पूर्वाधार लगायतको कामका लागि संघ सरकारसँग आवश्यक समन्वय भइरहेको समेत बताउनु भयो ।
२५. विपद् व्यवस्थापन प्राधिकरणले भन्योः विपद् व्यवस्थापनमा स्रोत, साधन छैन
सरकारसँग विपद् व्यवस्थापनका लागि स्रोत तथा साधनको अभाव रहेको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सो कुराको जानकारी गराएको हो । प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले त्यस्ता खालको अभाव हुन नदिनका लागि आफूहरुले निजी क्षेत्रसँगको सहकार्यमा जोड दिनुपरेको समेत स्पष्ट पार्नुभयो । मनसुनजन्य विपद् व्यवस्थापनका लागि हवाई उद्धारका लागि आवश्यक पर्ने हेलिकप्टर, डुंगा, ड्रोन लगायतका व्यवस्थापन गर्नका लागि निजी क्षेत्रसँग सहकार्य गर्नु परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी प्रमुख भट्टले गत वर्षमा जस्तै यस वर्ष पनि विपद व्यवस्थापनका लागि अभाव भएका स्रोत र साधनको थप व्यवस्थापनका लागि निजी क्षेत्रसँगको सहकार्यमा जोड दिइएको बताउनु भयो ।
२६. विपद् व्यवस्थापनमा स्थानीय सरकारलाई जिम्मेवार बनाउनुपर्नेमा जोड
सरकारले अत्याधिक गर्मीले निम्त्याउने विपद् व्यवस्थापनसम्बन्धि कार्ययोजना, २०८३ को मस्यौदामाथि छलफल शुरु गरेको छ । बिहीवार राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको आह्वानमा सो कार्ययोजनाको मस्यौदामाथि सरोकारवाला निकायहरुसँग छलफल गरिएको हो । छलफलमा सो विपद् व्यवस्थापनका लागि स्थानीय सरकारसँगको सहकार्यमा जोड दिने नीतिलाई अवलम्वन गरेर अघि बढ्नुपर्ने सुझाव प्राप्त भएको सो प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँले स्थानीय तहले त्यस्ता खालको विपद् व्यवस्थापनका लागि विद्यालय तहमा पठनपाठनको व्यवस्था गराउनुपर्नेमा पनि जोड दिइएको बताउनु भयो ।
२७. सरकारी सञ्चार माध्यामलाई मात्रै विज्ञापन दिने निर्णय फिर्ता लिन दबाब दिँदै पत्रकार महासंघले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो
नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन निजी क्षेत्रको सञचार माध्यामलाई नदिने निर्णय तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री बालेन्द्र साहलाई ज्ञापन पत्र बुझाएको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सो निर्णय फिर्ता लिन दवाव दिँदै प्रधानमन्त्री साहलाई ज्ञापन पत्र बुझाएको हो । सरकारको सो निर्णयसंविधान, कानून र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएकाले त्यसलाई कार्यान्वयनमा नलैजान स्थानीय र प्रदेश सरकारलाई पनि सचेत गराइएको महासंघकी अध्यक्ष निर्मला शर्माले बताउनु भयो । महासंघले सरकारले सो निर्णय फिर्ता नलिए त्यसलाई अन्तराष्ट्रियकरण गर्ने चेतावनी समेत दिएको छ । महासंघकी अध्यक्ष शर्माले भन्नुभयो,‘आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने काम भएको छ । यो सँगै सञ्चार मन्त्रालयले हिजो मात्रै जारी गरेको विज्ञप्ती आएको छ । त्यसको पनि हामीले घोर विरोध गर्दछौँ । जथाभावी ढंगले समाचार पत्रकारहरुले लेख्यो भने भनेर जुन विज्ञप्ती आएको छ ।
२८. काठमाडौंमा ‘फुड एण्ड बेभरेज तथा हस्पिटालिटी एक्स्पो २०२६’ शुरु
आतिथ्य तथा खाद्य उद्योगसँग सम्बन्धित व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले ‘फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२६’ प्रदर्शनी काठमाडौंमा शुरु भएको छ । ग्लोवल एक्स्पोजिसन एण्ड म्यानेजमेन्टले आयोजना गरेको ११ औँ संस्करणको मेला बिहीबारदेखि शुरु भएको हो । मेलामा खाद्य तथा पेय पदार्थ, होटल तथा रेष्टुरेण्ट व्यवस्थापन, किचन उपकरण, सप्लाई चेन, आतिथ्य सेवा लगायत क्षेत्रसँग सम्बन्धित कम्पनी, उद्यमी र सरोकारवालाहरूको सहभागिता छ । आयोजककाअनुसार प्रदर्शनीले स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्राण्डलाई एकै ठाउँमा ल्याउँदै नयाँ प्रविधि, सेवा र उत्पादनहरूको प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ । प्रदर्शनीकर्ता दिप थापाले आफूले वेभरेजसम्बन्धि स्टल राखेको जानकारी दिनुभयो । मेलामा धेरै जनाको भेला हुँदा आफूहरुको व्यापारमा समेत प्रवद्र्धन हुने आशा उहाँले राख्नुभयो ।
२९. कानूनी र संरचनागत अवरोध हटाएर जलविद्युतको विकासमा लाग्नुपर्नेमा सांसदहरुको जोड
उर्जा क्षेत्रको विकासका लागि कानूनी र संरचनागत समस्या रहेको भन्दै सांसदहरुले नीतिगत र संरचनागत अवरोधलाई हटाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । सुदूरपश्चिम प्रदेशमा जलविद्युत आयोजना निर्माणका सम्भावना र चुनौतीबारे आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी सांसदहरूले ऊर्जा क्षेत्रलाई देशको आर्थिक पुनरुत्थानको प्रमुख आधारका रूपमा प्रश्तुत गर्दै उनीहरूले नीतिगत अवरोध हटाउन, प्रशारण पूर्वाधार विस्तार गर्न र दीर्घकालदेखि रोकिएका आयोजनाहरू अघि बढाउन जोड दिनुभयो । कार्यक्रममा बोल्दै सांसद हरिमोहन भण्डारीले देशको वर्तमान आर्थिक अवस्था गम्भीर रहेको बताउनु भयो । उहाँले ऊर्जा नै अबको एउटै आशाको किरण भएको बताउँदै यसको विकासका लागि देखिएका समस्याबारे आफू सांसदमा प्रश्तुत हुने बताउनु भयो । उहाँले मुुलुकमा २८ खर्बभन्दा बढी सार्वजनिक ऋण रहेकाले यसलाई घटाउन पनि उर्जाको विकास हुन जरुरी रहेको बताउनु भयो । उहाँले ऊर्जा उत्पादकहरूलाई लगानीको वातावरण सुनिश्चित गर्ने प्रतिवद्धतासमेत जनाउनु भयो ।
३०. विद्युत उत्पादन अनुमति पाउनै ७–१० वर्ष लाग्नेछः उर्जा उत्पादक जोशी
उर्जा उत्पादक सुमन जोशीले जलविद्युत आयोजनाहरूको अनुमति पत्र (लाईसेन्स) प्राप्त गर्ने प्रक्रिया अत्यन्तै झन्झटिलो रहेको बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशमा जलविद्युत आयोजना निर्माणका सम्भावना तथा चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले एउटा आयोजनाको निर्माण अनुमति पाउनु अघिको सरकारी कागजी प्रक्रिया पूरा गर्न मात्रै ७ देखि १० वर्ष लाग्ने गरेको बताउनु भयो । जोशीकाअनुसार निर्माण अनुमति नपाउन्जेल प्रवद्र्धकहरू फिल्डमा गएर काम गर्न पाउँदैनन् । लाइसेन्स प्राप्त गर्ने चार वटा मुख्य चरणहरू पार गर्नुपर्ने र यसमा पीपीए (विद्युत खरिद सम्झौता), वातावरणीय अध्ययन र स्थानीय समस्याहरूलाई गणना नगर्दा पनि एक दशकको समय कागजी काममै बित्ने गरेको बताउनु भयो ।
३१. प्रधानमन्त्री कप एनभिए लिगः आर्मीको विजयी शुरुवात
विभागीय टोली त्रिभूवन आर्मी क्लवको पुरुष टोलीले दशौं प्रधानमन्त्री कप एनभिए लिगमा विजयी शुरुवात गरेको दिन महिला टोलीले पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीवारदेखि शुरु भएको प्रतियोगितामा पुरुषतर्पm आर्मीले खिल्जी युवा क्लवमाथि ३–१ को सेटमा जित निकाल्दै सुखद शुरुवात ग¥यो । आर्मीकै महिला टोली भने विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपिएफ क्लवसँग ३–१ ले पराजित भयो । उद्घाटन खेलसमेत रहेको पुरुषतर्पm खिल्जीले आर्मीमाथि चुनौती दिए पनि पार गर्न सकेन । खिल्जीले पहिलो सेट २५–१८ ले आफ्नो बनाउँदै अग्रता लियो । तर, त्यो लय कायम राख्न नसक्दा खिल्जीले खेलमा हार सामना ग¥यो । आर्मी खिल्जीविरुद्ध दोस्रो सेट २५–२०, २५–२१ र २५–२० ले आफ्नो बनाउँदै खेलमा उत्कृृष्ट पुनरागमन गर्न सफल भयो ।
आर्मीकै महिला टोलीले बलियो एपिएफविरुद्ध चुनौती दिए पनि सफल भएन । एपिएफले पहिलो सेटमा प्रतिष्पर्धात्मक रूपमा २५–२३ ले आफ्नो बनायो । तर दोस्रो सेट आर्मीले २५–१७ ले आफ्नो पक्षमा राख्दै पुनरागमन गर्ने संकेत ग¥यो । एपिएफले तेस्रो सेट २५–१९ र चौथो सेट पनि २५–१९ ले आफ्नो बनाउँदै आर्मीको लक्ष्य पूरा हुन दिएन । महिलातर्पm अर्को विभागीय टोली नेपाल पुलिस क्लबले पनि सुखद् शुरुवात ग¥यो । स्पाइकर उषा भण्डारी चम्किएपछि पुलिसले एभरेस्ट भलिबल क्लवमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । पहिलो सेटमा एभरेस्टले पुलिसलाई निकै चुनौती दियो । तर, यो सेट पुलिसले २६–२४ ले आफ्नो बनायो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij