Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन


  • 673
    Shares

    सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले कर्मचारीलाई जिम्मेवारीपूर्वक काम गरी गर्व गर्न लायक नतिजा देखाउन आग्रह गरेका छन् ।  ‘जेनजी’ आन्दोलन पछिको राजनीतिक परिवर्तनलाई कर्मचारी संयन्त्रले पनि बदलिएर साथ दिनुपर्ने समय आएकाले आफूले दिएको सेवाप्रति गर्व गर्न लायक काम गर्न उनले कर्मचारीलाई निर्देशन दिए । 

    जिल्ला प्रशासन कार्यालयमा आज आयोजित जिल्लाका सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिसँगको छलफलमा मन्त्री डा.तिमिल्सिनाले सेवा प्रवाहमा ढिलाइ, गैह्रजिम्मेवारी र बहाना अब सह्य नहुने स्पष्ट पारे । राजनीतिक परिवर्तनको मर्म बुझ्न आग्रह गर्दै उनले नयाँ सरकार किन बनेको हो भन्नेबारे सबैले आत्मसमीक्षा गर्नुपर्ने भन्दै सरकारी सेवामा सुधार गरेर जनतालाई सहज रुपमा सुशासन दिन कर्मचारीतन्त्र लाग्नुपर्ने बताए ।

    “समस्या देखाउन सजिलो हुन्छ । तर, अब हामीले आफैँतिर औँला उठाउनुपर्छ । हामीले काम गर्ने भनेको राजनीतिक लाभका लागि नभई देशको सेवाका लागि हो,” मन्त्री डा.तिमिल्सिनाले भने । अहिलेको सरकार पारदर्शिता र जवाफदेहिताको जगमा बनेको उल्लेख गर्दै उनले हरेक नागरिक उत्तिकै जिम्मेवार र जवाफदेही हुनुपर्ने बताए ।

    शासन सञ्चालन र सेवा प्रवाहमा प्रविधिको प्रयोग बढाउन निर्देशन दिँदै मन्त्री डा।तिमिल्सिनाले सरकारी कार्यालयले जनतालाई सेवा दिन बसेको हो भन्ने अनुभूति दिलाउनुपर्ने बताए । “जनतालाई केन्द्रमा राखेर काम गर्नुको विकल्प छैन, अब सबैले काम गर्नुपर्ने समय आएको छ । विगतको तुलनामा आफूलाई सन्तुष्ट हुने गरेर काम गर्न लाग्नुहोस्,” उनले भने ।

    सूचनाको मूल्याङ्कन सन्तुलित ढङ्गले गर्नुपर्ने उल्लेख गर्दै मन्त्री डा. तिमिल्सिनाले कुनै पनि सूचना एकाङ्की रूपमा नलिन र भेदभावपूर्ण व्यवहार नगरी खुला रुपमा सेवाग्राहीको काममा खटिन कर्मचारीलाई सुझाव दिए । संसद्को मुख्य काम कानुन निर्माण भएको उल्लेख गर्दै उनले दशकौँ पुराना कानुनका कारण सरकारी सेवा प्रवाहमा भइरहेको अवरोधलाई हटाउन आवश्यक कानुन छिट्टै निर्माणको तयारीमा अहिलेको संसद् र सरकार लागिसकेको जानकारी दिए । नयाँ कानुन बनाउने र पुराना परिमार्जन गर्ने प्रक्रिया अघि बढिरहेको उनको भनाइ थियो ।

    मन्त्री डा।तिमिल्सिनाले रोकिएका फाइल तत्काल अघि बढाउन निर्देशन दिँदै ‘शून्य फाइल’ अभियान सफल बनाउन मन्त्रालयदेखि प्रदेश र जिल्ला तहमा रहेका कर्मचारी संयन्त्र सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । ‘शून्य फाइल’ अभियानलाई नतिजामुखी बनाउन साप्ताहिक, पाक्षिक र मासिक प्रगति सार्वजनिक गर्न उनले सुझाव दिए ।

    कार्यक्रममा नुवाकोट-१ बाट निर्वाचित सांसद डा.अच्युतम लामिछानेले कार्यालय प्रमुख एवम् प्रतिनिधिहरुलाई सेवाग्राहीप्रति जिम्मेवार बन्न आग्रह गरे । भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन ‘शून्य बेरुजु जिल्ला’ बनाउने लक्ष्य लिन उनले सुझाव दिए । सबै नागरिकलाई समान पहुँच र अवसर सुनिश्चित गर्न तथा राजनीतिक आधारमा कुनै विभेद नराख्न पनि उनले सजग गराए ।

    छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा विभिन्न कार्यालयका प्रमुखको उपस्थिति थियो । सो अवसरमा जिल्लाको विकास आयोजनाको अवस्थाको सम्बन्धमा पनि मन्त्री र सांसदले जानकारी  लिए ।

    images
    प्रकाशित मिति :बैशाख ६ २०८३ आइतवार - १६:५५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij