Logo

२०८३ बैशाख ३ गते बिहिवार

२०८३ बैशाख ३ गते बिहिवार

स्कुलमै रक्तपात, ९ को मृत्युले टर्की स्तब्ध

स्कुलमै रक्तपात, ९ को मृत्युले टर्की स्तब्ध


  • 729
    Shares

    स्कुलमै रक्तपात, ९ को मृत्युले टर्की स्तब्ध

    टर्की । कडा बन्दुक नियन्त्रणका लागि परिचित टर्की एकै साता दुईवटा विद्यालय गोलीकाण्डले स्तब्ध बनेको छ । पछिल्लो घटनामा दक्षिणी कहरामानमारस प्रान्तस्थित एक विद्यालयमा १४ वर्षीय विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा नौ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् ।

    गृहमन्त्री मुस्तफा सिफ्ट्कीका अनुसार घाइतेमध्ये छ जना सघन उपचार कक्षमा छन् र तीन जनाको अवस्था गम्भीर छ । घटनाका आक्रमणकारी आठौँ कक्षामा अध्ययनरत १४ वर्षीय किशोर रहेको पुष्टि गरिएको छ । प्रारम्भिक अनुसन्धानअनुसार उसले आफ्नै बुबाको बन्दुक झोलामा लुकाएर विद्यालय ल्याएको थियो ।

    कहरामानमारसका गभर्नर मुकेरेम उनलुरले आक्रमणको विवरण दिँदै उक्त विद्यार्थीले दुई वटा कक्षाकोठामा प्रवेश गरेर जथाभावी गोली चलाएको बताए । “उसले अनियमित रूपमा गोली हान्यो, जसका कारण धेरै विद्यार्थी र शिक्षकहरू घाइते तथा मृतक भए”, उनले भने ।

    घटनापछि सार्वजनिक भएको भिडियोमा विद्यार्थीहरू ज्यान जोगाउन विद्यालय भवनको पहिलो तलाबाट हाम फाल्दै भागेको देखिन्छ । करिब डेढ मिनेटको उक्त भिडियोमा कम्तीमा १५ राउन्ड गोली चलेको आवाज सुनिन्छ । अन्य विद्यार्थीहरू विद्यालयको आँगन हुँदै भागिरहेका दृश्यले घटनाको भयावहता झल्काउँछ ।

    गभर्नर उनलुरका अनुसार आक्रमणकारी एक पूर्वप्रहरी अधिकारीका छोरा थिए र उनीसँग पाँचवटा बन्दुक तथा सातवटा म्यागजिन थिए । घटनाक्रमकै बीच उसको मृत्यु भएको पुष्टि गरिएको छ । “उसले आफैँलाई गोली हानेको हो कि अराजक अवस्थामै मृत्यु भयो भन्ने अझै स्पष्ट भएको छैन”, उनले भने ।

    प्रहरीले घटनापछि आक्रमणकारीका बुबा उगुर मर्सिन्ली र आमालाई नियन्त्रणमा लिएको जनाएको छ । साथै, किशोरको सामाजिक सञ्जाल गतिविधि जाँच गर्दा उसले अमेरिकी सामूहिक हत्यारा इलियट रोडगरलाई सन्दर्भ गरेको खुलेको छ । सन् २०१४ मा क्यालिफोर्नियामा छ जनाको हत्या गरेर आत्महत्या गरेका रोडगरप्रति उसले रुचि देखाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

    घटनास्थलबाट आएका दृश्यहरू अत्यन्त हृदयविदारक छन् । स्थानीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको फुटेजमा शवहरू बोकेका झोला र आत्तिएका अभिभावकहरू विद्यालयतर्फ दौडिरहेका देखिन्छन् । घटनापछि गृह र शिक्षामन्त्री तत्काल त्यहाँ पुगेका छन् भने न्यायमन्त्री अकिन गुर्लेकले विस्तृत अनुसन्धान सुरु भएको जानकारी दिएका छन् ।

    पीडित परिवारहरूको पीडा झन् मार्मिक छ । एक अभिभावक ओमर एर्दागले आफ्नो अनुभव सुनाउँदै भने, “मेरो बच्चाले त्यो दृश्य देखेपछि मलाई भन्यो—‘बुबा, मेरो साथीलाई चोट लागेको छ ।’ भित्र धेरै रगत थियो । भगवानलाई धन्यवाद, मैले मेरो बच्चालाई सुरक्षित निकाल्न सकेँ ।” उनले भविष्यमा आफ्ना छोराछोरीलाई फेरि त्यही विद्यालय पठाउन सकिने कि नसकिने चिन्ता व्यक्त गरे ।

    स्थानीय बासिन्दा जुलेहा बोस्काले पनि घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै बालबालिकामा बढ्दो हिंसात्मक प्रवृत्तिबारे प्रश्न उठाए । “के हिंसात्मक भिडियो गेमहरूले यस्तो मनोवैज्ञानिक असर पारिरहेका छन् ? वास्तविक समस्या के हो, हामी अझै बुझ्न सकेका छैनौँ”, उनले भने ।

    घटनाको विरोधमा राजधानी अन्कारामा शिक्षक युनियनहरूले प्रदर्शन गर्दै विद्यालय सुरक्षामा कडाइ गर्न माग गरेका छन् । “हामी हाम्रा विद्यालयहरूलाई हिंसाको थलो बन्न दिन्नौँ”, भन्ने नारासहित प्रदर्शन गरिएको थियो ।

    राष्ट्रपति रेसेप तैयप एर्दोगनले घटनाप्रति दुःख व्यक्त गर्दै यसलाई पूर्ण रूपमा अनुसन्धान गरिने बताएका छन् । “हामीले उज्ज्वल विद्यार्थीहरू र एक समर्पित शिक्षक गुमाएका छौँ”, उनले सामाजिक सञ्जालमार्फत उल्लेख गर्दै घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।

    यो घटना हुनु एक दिनअघि मात्र सान्लिउर्फा प्रान्तमा अर्को विद्यालयमा गोलीकाण्ड भएको थियो, जहाँ एक पूर्व विद्यार्थीले १६ जनालाई घाइते बनाएका थिए । तीमध्ये १० जना विद्यार्थी थिए । आक्रमणकारीले पछि आत्महत्या गरेका थिए ।

    लगातार यस्ता घटनाले टर्कीमा विद्यालय सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ । प्रमुख विपक्षी दलका नेता ओजगुर ओजेलले विद्यालयहरूमा बढ्दो हिंसालाई अब सामान्य घटनाका रूपमा लिन नसकिने बताए । “यो गम्भीर सुरक्षा सङ्कटमा परिणत भइसकेको छ”, उनले चेतावनी दिँदै विद्यालयमा कडा निगरानी, सुरक्षाकर्मी वृद्धि, क्यामेरा प्रणाली सुदृढीकरण र आपतकालीन योजना अनिवार्य बनाउनुपर्ने बताए ।

    टर्कीमा कडा बन्दुक कानून भए पनि पछिल्ला घटनाहरूले कार्यान्वयन र निगरानीमा कमजोरी रहेको सङ्केत गरेका छन् । विज्ञहरूका अनुसार विद्यालयलाई सुरक्षित क्षेत्र बनाउनेतर्फ अब तुरुन्तै ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ ।

    images
    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - ११:४८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij