२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रशान्त महासागरको सानो देश फिजीले एचआईभी सङ्क्रमण तीव्र रूपमा बढेपछि राष्ट्रिय स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ। लागूऔषधको बढ्दो प्रयोग, असुरक्षित यौनसम्पर्क, कम परीक्षण र एचआईभी सङ्क्रमितप्रतिको सामाजिक विभेदका कारण सङ्क्रमण नियन्त्रणमा चुनौती थपिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
फिजीमा अहिले करिब हरेक ६० वयस्कमध्ये एक जना एचआईभी सङ्क्रमित रहेको अनुमान छ। १० लाखभन्दा कम जनसङ्ख्या रहेको यो देशमा सन् २०२५ मा मात्रै २ हजार ६० जनामा नयाँ सङ्क्रमण पहिचान भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्री डा. एटोनियो लालाबालाभुले मङ्गलबार सङ्कटकाल घोषणा गर्दै सङ्क्रमणको अवस्था गम्भीर रहेको र तत्काल समन्वित कदम आवश्यक रहेको बताएका छन्। फिजीले जनवरी २०२५ मै एचआईभी प्रकोप घोषणा गरेर परीक्षण बढाएको थियो। त्यसपछि सङ्क्रमणको अवस्था थप गम्भीर रहेको देखिएको हो।
फिजीमा पाँच वर्षअघि करिब १६७ जनामध्ये एक जना एचआईभीसँग बाँचिरहेको अनुमान गरिएको थियो। अहिले यो अनुपात बढेर ६० मध्ये एक पुगेको छ। एचआईभीका कारण हुने मृत्यु पनि बढेको छ। राष्ट्रिय स्वास्थ्य तथ्याङ्कअनुसार सन् २०२५ मा एचआईभीसम्बन्धी कारणले ११७ जनाको मृत्यु भएको थियो। सन् २०२१ मा यस्तो मृत्यु सङ्ख्या २५ मात्रै थियो।
संयुक्त राष्ट्रसङ्घीय एचआईभी तथा एड्ससम्बन्धी कार्यक्रम (युएनएड्स) की फिजी सल्लाहकार रेनाटा रामका अनुसार सङ्क्रमण फैलिने गति र आफू सङ्क्रमित भएको थाहा नपाएका मानिसको ठूलो सङ्ख्या चिन्ताको विषय हो। उनका अनुसार फिजीमा एचआईभीसँग बाँचिरहेका मानिसमध्ये करिब ३९ प्रतिशतलाई मात्र आफ्नो सङ्क्रमणबारे थाहा छ। उपचारमा रहेकाको सङ्ख्या झन् कम, करिब २२ प्रतिशत मात्रै छ। विश्वभर भने एचआईभी सङ्क्रमितमध्ये औसत ७८ प्रतिशत उपचारमा रहेको युएनएड्सको अनुमान छ।
फिजीमा एचआईभी सङ्क्रमण बढ्नुको प्रमुख कारणमध्ये इन्जेक्सनमार्फत लागूऔषध प्रयोग पनि रहेको अधिकारीहरूले बताएका छन्। अमेरिकाबाट अष्ट्रेलिया, न्युजिल्यान्ड र एसियाका अन्य बजारतर्फ तस्करी हुने लागूऔषधको ट्रान्जिट मार्गका रूपमा फिजी प्रयोग हुन थालेपछि देशमा ठूलो मात्रामा मेथाम्फेटामिन भित्रिएको बताइएको छ। यसको असर स्थानीय समुदायमा पनि देखिन थालेको छ। स्वास्थ्य तथ्याङ्कअनुसार सन् २०२५ मा सङ्क्रमणको माध्यम पहिचान भएका नयाँ सङ्क्रमितमध्ये करिब आधा इन्जेक्सनमार्फत लागूऔषध प्रयोग गर्ने व्यक्ति थिए। बाँकीमध्ये अधिकांश यौनसम्पर्कबाट सङ्क्रमित भएका थिए। युएनएड्सकी रामका अनुसार एउटै सुई वा इन्जेक्सन उपकरण धेरै व्यक्तिले प्रयोग गर्दा एचआईभी सर्ने जोखिम बढेको छ।
लागूऔषधसँगै असुरक्षित यौनसम्पर्क पनि सङ्क्रमण फैलिनुको अर्को प्रमुख कारण हो। कम कन्डम प्रयोग, एकभन्दा बढी यौनसाथी, सीमित परीक्षण र एचआईभीसम्बन्धी सामाजिक कलङ्कले समस्या थप जटिल बनाएको अधिकारीहरूले बताएका छन्। सङ्क्रमित व्यक्तिको रगत वा अन्य शारीरिक तरल पदार्थ असंक्रमित व्यक्तिको रक्तप्रवाहमा प्रवेश गर्दा एचआईभी सर्न सक्छ। सङ्क्रमित आमाबाट गर्भावस्था, प्रसव वा स्तनपानका क्रममा बच्चामा पनि भाइरस सर्न सक्छ। स्वास्थ्य मन्त्री लालाबालाभुका अनुसार फिजीमा हरेक ५० गर्भवती महिलामध्ये एक जना एचआईभी सङ्क्रमित रहेको अनुमान छ। सन् २०२५ मा मात्रै ५९ शिशु आमाबाट एचआईभी सङ्क्रमित भएको सेभ द चिल्ड्रेन फिजीले जनाएको छ। दुई महिनाको एक शिशुमा एचआईभी र क्षयरोग दुवै सङ्क्रमण देखिएको संस्थाले जनाएको छ।
फिजीको एचआईभी सङ्कटमा सामाजिक विभेद र डर पनि ठूलो समस्या बनेको छ। एचआईभी सङ्क्रमितलाई सहयोग गर्ने संस्था फिजी नेटवर्क प्लसका कार्यकारी निर्देशक जोएली कोलातीका अनुसार गरिबी, स्वास्थ्य सेवासम्म पुग्न कठिनाइ, गोपनीयताको चिन्ता र सामाजिक विभेदका कारण धेरै मानिस परीक्षण तथा उपचारमा जान हिचकिचाउँछन्। एचआईभीसँग १९ वर्षदेखि बाँचिरहेका कोलातीका अनुसार कतिपय मानिस उपचार गर्न नचाहेर होइन, आफू एचआईभी क्लिनिकमा गएको अरूले थाहा पाउलान् भन्ने डरले स्वास्थ्य सेवाबाट टाढा हुन्छन्।
फिजीमा एचआईभी सङ्क्रमण बढिरहेका बेला विश्वभर भने नयाँ सङ्क्रमण घटिरहेको छ। युएनएड्सका अनुसार सन् २०१० देखि २०२५ सम्म विश्वमा नयाँ एचआईभी सङ्क्रमणको सङ्ख्या करिब ४२ प्रतिशतले घटेको अनुमान छ।
फिजी सरकारले अब परीक्षण र उपचारको पहुँच बढाउने योजना अघि सारेको छ। जोखिम घटाउन प्रयोग गरिने ‘प्रि–एक्सपोजर प्रोफिल्याक्सिस’ मा पहुँच विस्तार गर्नुका साथै सुई तथा सिरिन्ज कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ। स्वास्थ्य मन्त्रीले सुई वा इन्जेक्सन उपकरण साझा गरेका वा कन्डमबिना यौनसम्पर्कका कारण सङ्क्रमणको जोखिममा रहेका व्यक्तिलाई लक्षण देखिन पर्खनुको सट्टा तत्काल परीक्षण गराउन आग्रह गरेका छन्। उनले एचआईभी सङ्क्रमितलाई लाञ्छना लगाउने, बहिष्कार गर्ने वा धम्की दिने काम नगर्न पनि आग्रह गरे। स्वास्थ्य अधिकारीहरूका अनुसार सामाजिक विभेद घटाउन सके परीक्षण र उपचारमा मानिसको पहुँच बढाउन सकिन्छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij