Logo

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

पूर्वराजा ज्ञानेन्द्रको नयाँ वर्षको सन्देश: बालेन नेतृत्वको सरकारप्रति 'नरम' र युवा पुस्ताप्रति सकारात्मक

पूर्वराजा ज्ञानेन्द्रको नयाँ वर्षको सन्देश: बालेन नेतृत्वको सरकारप्रति 'नरम' र युवा पुस्ताप्रति सकारात्मक


  • 134
    Shares

    पूर्वराजा ज्ञानेन्द्रको नयाँ वर्षको सन्देश: बालेन नेतृत्वको सरकारप्रति 'नरम' र युवा पुस्ताप्रति सकारात्मक

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य सञ्चालनको गतिविधिमा युवा पुस्ताको बढ्दो संलग्नताप्रति सकारात्मक सुनिएका छन्। विगतमा राजनीतिक दलहरूको कार्यशैलीप्रति निकै आक्रामक देखिने गरेका पूर्वराजा यस पटक भने बालेन शाह नेतृत्वको सरकार र नयाँ पुस्ताको उदयप्रति  नरम र आशावादी सुनिएका हुन् । 

    सोमबार नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा भिडियोमार्फत शुभकामना सन्देश दिएका शाहले  राजनीति र राज्य सञ्चालनमा युवाहरूको सहभागितालाई ‘उत्साहको विषय’ भन्दै यसले राष्ट्रलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरेका हुन् । 

    उनले भिडियो सन्देशमा भनेका छन्, ‘पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साहित पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउन मद्दत पुग्छ,’। 

    विगतका राजनीतिक परिवर्तनहरू केबल सतहु मात्र भएको र दलीय खिचातानीले गर्दा देश प्रयोगशाला मात्र बनेको टिप्पणी उनले गर्ने गरेका थिए । तर, वर्तमान सन्दर्भमा युवाहरूको नेतृत्वले राष्ट्रिय समृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गर्दै उनले नयाँ सरकारलाई केही महत्त्वपूर्ण सुझावहरू समेत दिएका छन् । 

    पूर्वराजाले आर्थिक अवस्थालाई उकास्न, छिमेकी र बाह्य मित्र राष्ट्रहरूसँगको सम्बन्ध सुदृढ बनाउन र आन्तरिक सुरक्षा व्यवस्थालाई चुस्त राख्न नयाँ नेतृत्वलाई सुझाव दिएका छन्। उनले परनिर्भरता र पराधीनताबाट देशलाई जोगाउन हरेक क्षेत्रमा आत्मनिर्भर र स्वाधीन बन्नुपर्नेमा जोड दिएका छन् । 

    पूर्वराजाले आपसी रिसराग र प्रतिशोधको राजनीति त्यागेर जनचाहना अनुसार अघि बढ्न आग्रह समेत गरेका छन् । युवा पुस्ताप्रति आशावादी देखिएका उनले सबै नेपालीले न्याय, शान्ति र सुख पाउने अभिलाषा व्यक्त गर्दै देशको मौलिक पहिचान जोगाउनु नै अहिलेको मुख्य दायित्व भएको बताएका छन् ।

     

    images
    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - १७:३६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij