२०८२ चैत्र २३ गते सोमवार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले एक्शनका नाममा स्टन्ट गरेर समय बर्बाद नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् ।
उनले जेनजी पुस्ताले व्यवस्थाको विरुद्धमा नभई अवस्थाको विरुद्धमा विद्रोह गरेको स्मरण समेत गराएका छन् । उनले सरकारलाई संविधान पढ्न समेत सुझाएका छन्। उनले संविधानले समाजवाद उन्मुख राज्यव्यवस्था निर्माण गर्ने संकल्प गरेको उल्लेख गर्दै सरकार त्यसतर्फ ध्यान जानुपर्ने बताएका छन्।
उनले भने, ‘युवाहरुले यो व्यवस्थाका विरुद्ध संघर्ष गरेका थिएनन्, हाम्रो अवस्थाका विरुद्ध संघर्ष गरेका थिए । यसमा मौलाउँदै गरेको विकृति, विसंगति र भ्रष्टाचारका विरुद्धमा संघर्ष गरेका थिए । नवयुवाहरुले आम नागरिकको भावनाको समेत प्रतिनिधित्व गर्ने गरेर विद्रोह गरेका थिए । त्यसकारण म सम्मानित सदनमा सभामुखमार्फत के भन्न चाहान्छु भने सरकारले यो संविधान पढोस् । समाजवादउन्मुख राज्यव्यवस्था निर्माण गर्ने जुन संकल्प गरेको छ यो संविधानले त्यसतर्फ राज्यको ध्यान जाओस् । सरकार एक्शनमा जाओस् तर सरकार स्टन्ट गरेर समय बर्बाद नगरोस् । यदि त्यसो ग¥यौं भने फेरि हामीले नवयुवाहरुको भावनालाई सम्बोधन गर्न सक्दैनौँ ।’
सरकारले विगतमाजस्तै स्टन्ट गर्दै गए जेनजी पुस्ताको भावनाअनुसार अगाडि बढ्न नसकिने उनको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij