२०८२ चैत्र २३ गते सोमवार
काठमाडौं । विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेर अवैधरूपमा अनलाइन ठगी र क्यासिनोमा काम गर्न बाध्य पारिएका ७ जना नेपालीको उद्धार गरिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरी नेपाल फर्काइएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरू चैत २२ गते कम्बोडियाबाट उडेर २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको दूतावासले जनाएको छ ।
कतिपय भने भिसाविना नै लुकेर बसिरहेका थिए । दूतावासले यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई पनि फर्काउने पहल निरन्तर भइरहेको जानकारी दिएको छ । कम्बोडियामा अझै पनि धेरै नेपाली नागरिकलाई अनलाइन ठगी लगायतका गैरकानुनी काममा लगाइएको र भिसा अवधि सकिएर पनि बसिरहेको सूचना दूतावासलाई प्राप्त भएको छ ।
कठिन अवस्थामा रहेका र नेपाल फर्कन चाहने नेपाली नागरिकलाई सहजीकरणका लागि तत्काल सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । अलपत्र परेकाहरूले बैंककस्थित नेपाली राजदूतावास वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरू शिवराज पराजुली, लालसिंह खड्का र रामजीकुमार क्षेत्रीलाई सम्पर्क गर्न सक्नेछन् ।
नेपाल सरकारले तोकेको मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान दूतावासले सम्पूर्ण नागरिकलाई सचेत गराएको छ । कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा भ्रमणको बहाना बनाएर कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड जस्ता देशमा रोजगारीको खोजीमा नआउन राजदूतावासले अपिल गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij