Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

आज दिनभरको २५ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २५ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 932
    Shares

    • images
    आज दिनभरको २५ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. प्रधानमन्त्री कप क्रिकेटमा कर्णाली र मधेसको पहिलो जित

    उत्कृष्ट बलिङ प्रेरणामा कर्णाली र मधेस प्रदेशले जारी प्रधानमन्त्री एकदिवसीय (५० ओभर) क्रिकेट प्रतियोगितामा पहिलो जित आत्मसात गरेका छन् । मधेस प्रदेशको दुई जिल्लामा बुधवार सम्पन्न खेलमा कर्णालीले कोशी प्रदेशमाथि १६ रन र मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि पाँच विकेटको जित निकाल्दै जारी प्रधानमन्त्री कपमा पहिलो सफलता पाएको हो । दुवै जितमा उत्कृष्ट बलिङको साथ रह्यो । कर्णालीको जितमा दिनेश अधिकारीले पाँच विकेट लिए । उनी म्यान अफ दी म्याच पनि भए । मधेशका लागि अरनिको यादवले अलराउन्ड प्रदर्शन गरे । उनले अविजित ४६ रन र तीन विकेट लिए र म्यान अफ दी म्याचको हकदार पनि भए । जनकपुरमा कर्णाली र कोशीका ब्याटरले निकै संघर्ष गर्नुप¥यो । वीरगञ्जमा पनि सुदूरपश्चिम र मधेशका ब्याटरका लागि पनि सहज भएन । मध्य गतिका बलर दिनेशको पाँच विकेटको प्रेरणामा कर्णालीले सनसनीपूर्ण जित आत्मसात ग¥यो ।

    २. काँग्रेस केन्द्रिय कार्य समितिको बैठक जारी

    नेपाली काँग्रेसको केन्द्रिय कार्य समितिको बैठक शुरु भएको छ । मंगलवारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी बैठक आज मध्यान्ह शुरु भएको हो । बैठकमा प्रतिनिधि सभामा संसदीय दलको नेता चयन, १५ औं नियमित महाधिवेशनबारे छलफल हुनेछ । काँग्रेस सभापति गगन थापाले आगामी वर्षको भदौ २४ देखि २६ सम्म १५ औं महाधिवेशन गर्ने प्रश्ताव प्रश्तुत गर्नुभएको छ । बैठकमा केन्द्रिय सदस्यहरु यसबारे आफ्नो धारणा राखिरहनुभएको छ ।

    ३. आस्था र कलाको जीवन्त सङ्गमः काठमाडौंको मुटुमा ठडिँदै सेतो मत्स्येन्द्रनाथको भव्य रथ

    चैत शुक्ल अष्टमीका दिनदेखि शुरु हुने काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ‘सेतो मत्स्येन्द्रनाथको रथ यात्रा’ को तयारी अहिले उत्कर्षमा पुगेको छ । काठमाडौंको जमलस्थित तीनधारा पाठशाला अगाडि अहिले कालीगढ र स्थानीयहरूको सक्रियताले शहरको व्यस्त सडकमा एउटा छुट्टै धार्मिक रौनक थपेको छ । सेतो मत्स्येन्द्रनाथको रथ निर्माणमा आधुनिक मेसिनरीको सट्टा पूर्णरूपमा परम्परागत सीप र सामग्रीको प्रयोग गरिएको छ । करिव ३२ फिट अग्लो यो शिखर शैलीको रथ बनाउन प्रयोग गरिएका काठका ठूल्ठूला बिमहरू, बलिया लठ्ठाहरू र बाँसका भाटाहरूले हाम्रो पूर्खाको इन्जिनियरिङ क्षमताको झल्को दिन्छन् । कालिगढहरू कुनै सुरक्षा उपकरण बिना नै रथको माथिल्लो भागसम्म पुगेर डोरी (लठ्ठा) ले काठहरू बाँधिरहेका दृश्यहरू निकै लोभलाग्दा र शाहसिक देखिन्छन् । 

    ४. ‘चीनको १५ औँ पञ्चवर्षीय योजना र नेपालका लागि अवसर’

    चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । 
    यो योजना चीनको भविष्यको मार्गचित्र मात्र नभई विश्व अर्थतन्त्रमा आफ्नो अग्रसरता कायम राख्ने रणनीतिक दस्तावेज पनि हो । अनुसन्धानकर्ता डा. सीता ढुंगानाकाअनुसार, यो योजना दुई चरणको व्यापक छलफल र जनपरामर्शपछि तयार पारिएको हो । यसमा नेशनल पिपुल्स कंग्रेसले कार्यान्वयन र कानून निर्माणको पाटो हेर्छ भने चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनले सल्लाहकारको भुमिका निर्वाह गर्दछ । 

    ५. अमेरिकी सिनेटद्वारा मार्कवेन मुलिन होमल्याण्ड सेक्युरिटी मन्त्रीमा अनुमोदित

    अमेरिकी सिनेटले सिनेटर मार्कवेन मुलिनलाई होमल्याण्ड सेक्युरिटी विभागको नयाँ मन्त्रीका रूपमा अनुमोदन गरेको छ । विभागको कामकाज ठप्प (शटडाउन) भइरहेको र संकटग्रस्त अवस्थामा रहेकी क्रिस्टी नोएमले राजीनामा दिएपछि उनको रिक्त स्थानमा सिनेटले मुलिनको मनोनयनलाई सदर गरेको हो । मुलिन अब अमेरिकाको आन्तरिक सुरक्षा मामिला हेर्ने प्रमुख निकायको नेतृत्व सम्हाल्नेछन् । 

    ६. अमेरिकी हवाई आक्रमणमा मारिएका १५ अर्धसैनिक सदस्यको इराकमा अन्त्येष्टि

    अमेरिकी हवाई आक्रमणमा मारिएका १५ ‘पपुलर मोबिलाइजेसन फोर्सेस’ (पीएमएफ) का सदस्यहरूको मङ्गलवार इराकको राजधानी बग्दादमा अन्त्येष्टि गरिएको छ । एक सुरक्षा स्रोतले जानकारी दिएअनुसार पश्चिमी प्रान्त अन्बारमा मङ्गलवार सबेरै भएको उक्त आक्रमणमा मारिनेहरूमध्ये एक वरिष्ठ कमाण्डर समेत रहेका थिए । पीएमएफले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणलाई इराकी सार्वभौमसत्ताको घोर उल्लंघनको संज्ञा दिएको छ । यस कार्यले अन्तर्राष्ट्रिय कानून वा मानवीय मान्यताप्रति कुनै सम्मान नदेखाएको कुरामा समेत सो संगठनले जोड दिएको छ ।

    ७. इजरायली हवाई आक्रमणबाट दक्षिण लेबनानका मुख्य पुलहरू ध्वस्त

    इजरायलले दक्षिण लेबनानी शहरहरू, आवासीय क्षेत्रहरू र मुख्य पुलहरूलाई निशाना बनाउँदै हवाई आक्रमण जारी राखेको छ । इरान जोडिएको वृहत्तर द्वन्द्वका बीच यो तनाव अहिले तेस्रो हप्तामा प्रवेश गरेको छ । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीकाअनुसार दक्षिण लेबनानका विभिन्न क्षेत्रमा भएका इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । टायर जिल्लाको चेहाबिये गाउँमा भएको इजरायली हवाई आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् र एउटा आवासीय क्षेत्रमा ठूलो क्षति पुगेको छ । सोही जिल्लाको अल–हनिया शहरमा भएको इजरायली गोलाबारीमा एक जनाको मृत्यु र अर्का एक जना घाइते भएका छन् । 

    ८. इन्धन जोगाउन म्यानमारमा बुधवार ‘वर्क–फ्रम–होम’ व्यवस्था

    म्यानमारले मार्च २५ देखि अर्को सूचना नभएसम्म इन्धन खपत घटाउन मद्दत गर्न सरकारी विभागहरूका लागि बुधवार घरबाटै काम गर्ने व्यवस्था शुरु गरेको छ । सोमवार राज्यको स्वामित्वमा रहेको दैनिक ‘द मिरर’ मा प्रकाशित एक विज्ञप्तिअनुसार यो जानकारी दिइएको हो । राष्ट्रिय रक्षा र सुरक्षा परिषद्को सूचना टोलीले अखबारमा भनेको छ कि यस उपायको प्राथमिक उद्देश्य इन्धन संरक्षण हो । तसर्थ अधिकारी र कर्मचारीहरूले यी तोकिएका घरबाटै काम गर्ने दिनहरूमा कुनैपनि गैर–अत्यावश्यक यात्रा वा सवारी साधनको प्रयोगबाट टाढा रहनुपर्छ । यसले निजी संस्थाहरू र व्यवसायहरूलाई पनि सम्भव भएसम्म समान व्यवस्था अपनाउन प्रोत्साहित गरेको छ । 

    ९.एक वर्षमा अमेरिकी डलरको तुलनामा अफगानी मुद्रा ९.९३ प्रतिशतले बलियो

    अफगानिस्तानको केन्द्रिय बैंक ‘द अफगानिस्तान बैंक’ ले गत चैत ७ (मार्च २०) मा समाप्त भएको फारसी पात्रोको वर्ष १४०४ मा स्थानीय मुद्रा ‘अफगानी’ अमेरिकी डलरको तुलनामा ९.९३ प्रतिशतले मजबुत भएको घोषणा गरेको छ । बैंकद्वारा कार्यान्वयन गरिएका विवेकपूर्ण, सन्तुलित र प्रभावकारी मौद्रिक नीतिहरूको परिणाम स्वरूप मुद्राको मूल्यमा यो वृद्धि भएको बैंकका प्रवक्ता हसिबुल्लाह नूरीले स्थानीय सञ्चार माध्यम एरियाना न्युजलाई बताउनुभएको हो । 

    १०. क्रोएसियाद्वारा इन्धनको मूल्य सीमा थप दुई हप्ताका लागि विस्तार

    मध्यपूर्वको असहज परिस्थितिका कारण इन्धनको मूल्य बढिरहेका बेला क्रोएसियाली सरकारले इन्धनको मूल्यमा लगाइएको सीमालाई थप दुई हप्ताका लागि लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकले आयोजित सरकारी बैठकमा यसबारे जानकारी दिनुभएको हो । मंगलवारदेखि लागू हुने नयाँ नियमअनुसार साधारण पेट्रोलको मूल्य प्रतिलिटर १.६२ युरो (१.८८ अमेरिकी डलर) पुग्नेछ भने साधारण डिजेलको मूल्य प्रतिलिटर १.७३ युरो (२ डलर) कायम हुनेछ । यस्तै, मुख्यतया कृषि र माछापालन क्षेत्रमा प्रयोग हुने ‘ब्लु डिजेल’को मूल्य बढेर प्रतिलिटर १.१९ युरो (१.३८ डलर) पुग्ने समाचारमा उल्लेख छ । यदि सरकारले यो कदम नचालेको भए साधारण पेट्रोलको मूल्य १.७१ युरो (१.९८ डलर), डिजेलको १.८६ युरो (२.१६ डलर) र ब्लु डिजेलको मूल्य १.२३ युरो (१.४३ डलर) प्रतिलिटर पुग्ने प्रक्षेपण गरिएको थियो । सन् २०२० यता बढ्दो मूल्यवृद्धिको प्रभावबाट सर्वसाधारण र व्यवसायहरूलाई जोगाउन सरकारले ल्याएको यो १० औँ राहत प्याकेज हो। 

    ११. जापानी अपराधीद्वारा जबरजस्ती घुसपैठ गरिएको विषयमा चिनियाँ दुतावासको विरोध

    मंगलवार एक जापानी अपराधी जबरजस्ती दुतावासभित्र प्रवेश गरेपछि जापानस्थित चिनियाँ दुतावासले जापानी पक्षसमक्ष गम्भीर ध्यानाकर्षण र कडा विरोध जनाउँदै जापानसँग जिम्मेवारपूर्ण स्पष्टीकरण माग गरेको छ । दुतावासकाअनुसार मंगलवार बिहान जापान आत्मरक्षा बलका बहालवाला अधिकारी भएको दाबी गर्ने एक व्यक्तिले पर्खाल नाघेर जबरजस्ती दुतावासभित्र प्रवेश गरी चिनियाँ कुटनीतिक कर्मचारीहरूको हत्या गर्ने धम्की दिएका थिए । यस घटनाले कुटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धिको गम्भीर उल्लंघन गरेको र दुतावासका कर्मचारी एवं परिसरको सुरक्षामा गम्भीर खतरा उत्पन्न गराएको दुतावासले जनाएको छ । यो अत्यन्त गम्भीर प्रकृति र प्रभावको कार्य भएको दुतावासको ठहर छ ।

    १२. फेब्रुअरीमा जापानको मुख्य उपभोक्ता मूल्य १.६ प्रतिशतले बढ्यो

    जापानको मुख्य उपभोक्ता मूल्य गत वर्षको तुलनामा फेब्रुअरी महिनामा १.६ प्रतिशतले बढेको छ । मार्च २०२२ यता पहिलो पटक यो आँकडा २ प्रतिशतभन्दा तल झरेको सरकारी तथ्याङ्कले मंगलबार देखाएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयकाअनुसार उतारचढाव भइरहने ताजा खाद्यवस्तुको मूल्य बाहेकको मुख्य उपभोक्ता मूल्य सूचकांक जनवरीको २ प्रतिशतको वृद्धिको तुलनामा फेब्रुअरीमा केही सुस्त देखिएको छ । जनवरीमा ५.२ प्रतिशतले घटेको ऊर्जाको लागत फेब्रुअरीमा ९.१ प्रतिशतले घटेको छ । विशेष गरी पेट्रोलको मूल्यमा १४.९ प्रतिशत र बिजुलीको महशुलमा ८ प्रतिशतले गिरावट आएपछि समग्र ऊर्जा लागत घटेको हो । 

    १३. हेलिकप्टर दुर्घटनामा मारिएका प्राविधिकहरूको टर्कीमा अन्त्येष्टि

    टर्कीको अन्कारामा सोमबार हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका दुई प्राविधिकको अन्त्येष्टि गरिएको छ । शनिवार कतारको जलक्षेत्रमा एउटा सैन्य हेलिकप्टर दुर्घटना हुँदा टर्कीका तीन कर्मचारीको मृत्यु भएको थियो । दुई देशबीचको सैन्य सहयोगको हिस्सा स्वरूप कतार–टर्की संयुक्त बल कमाण्ड अन्तर्गत सञ्चालित तालिम अभ्यासका क्रममा उक्त दुर्घटना भएको मन्त्रालयले जनाएको छ । प्रारम्भिक अनुसन्धानले कतारी सशस्त्र बलको हेलिकप्टर प्राविधिक खराबीका कारण दुर्घटना भएको देखाएको मन्त्रालयले थप जानकारी दिएको छ । दुर्घटनामा टर्की सशस्त्र बलका एक सदस्य र टर्कीको सरकारी रक्षा कम्पनी ‘एसेल्सान’ का दुई प्राविधिकको मृत्यु भएको थियो । 

    १४. ‘काठमाडौं महानगरमा समुदायमा आधारित रोग निगरानी प्रणाली शुरु’

    काठमाडौं महानगरपालिकाले महामारीजन्य रोग नियन्त्रणको लागि समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गरेको छ । 
    महानगरले समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गर्नको लागि स्वास्थ्यकर्मीहरुलाई दुई दिने तालिम दिएको हो । महानगरको स्वास्थ्य विभागले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा सबै शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको जनाएको छ । महानगरको स्वास्थ्य सेवा विभाग अन्तर्गत महामारी तथा रोग नियन्त्रण महाशाखाका रोग निगरानी फोकल पर्सन कौशलचन्द्र सुवेदीले समुदायमै रोगको प्रारम्भिक पहिचान, निगरानी र नियन्त्रणका लागि यो प्रणाली महत्वपूर्ण हुने बताउनु भयो ।

    १५. असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री

    प्रधानमन्त्री सुशिला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ । बुधवार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । वर्तमान सरकारले जेन–जी आन्दोनलपछिको असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउन सफल भएको बताउनु भयो । उहाँकाअनुसार निर्वाचन गराउने कार्य चुनौतिपूर्ण थियो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले तोकिदिएकै मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरेर संवैधानिक प्रणालीको सुदृढीकरण गरेको दाबी गर्नुभयो । उहाँकाअनुसार निर्वाचनले देशमा लोकतान्त्रिक मूल्य–मान्यता बलियो बनाउँदै नयाँ राजनीतिक अध्यायको ढोका खोलेको छ । निर्वाचनमार्फत मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिएको उहाँको भनाई छ । 

    १६. सुकुम्वासी बस्तीहरुमा डोजर लगाउन बन्द गर्न माग

    अखिल नेपाल सुकुम्वासी संघले सुकुम्वासी वस्तीहरुमा डोजर लगाएर आतंक सिर्जना गर्न बन्द गर्न माग गरेको छ । संघले बुधवार पत्रकार सम्मेलन गरी सुकुम्वासी बस्तीहरुमा डोजर लगाउन तत्काल बन्द गर्न माग गरेको हो । सरकारले कानूनी रुपमा भूमीहीन, अव्यवस्थित, सुकम्वासी समस्या समाधान गर्नुपर्नेमा उल्टो काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्तीहरुमा डोजर लगाएर आतंक सिर्जना गरेको संघको आरोप छ । अखिल नेपाल सुकुम्वासी संघका इन्चार्ज नरेन्द्र खड्काले काठमाडौंको टोखा नगरपालिका वडा ७ मा रहेको धापासीको सुकम्वासी बस्तीमा रहेको १८ घरमा चैत ९ गते डोजर चलाइएको बताउनु भयो । त्यसअघि काठमाडांैको सिफलमा र भक्तपुरमा रहेको सुकुम्वासी बस्तीमा पनि डोजर चलाइएको उहाँको भनाई छ ।

    १७. प्रतिनिधि सभा सदस्य निर्वाचन नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहितः निर्वाचन आयोग

    निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित निर्वाचनका रूपमा मूल्याङ्कन गरेको छ । बुधवार आयोगद्वारा आयोजित जलपान समारोहमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो मूल्याङ्कन गर्नुभएको हो । उहाँले कुनैपनि मतदान केन्द्रमा झैझगडा वा विवादका कारण पुनः मतदान गर्नुपर्ने अवस्था नआएको भन्दै नेपालको इतिहासकै सफल निर्वाचनको रुपमा व्याख्या गर्नुभयो । उहाँले निर्वाचन अवधीभर राजनीतिक दल, उम्मेदवार र मतदाताले देखाएको अभुतपूर्व संयमको प्रशंसा गर्नुभयो ।

    १८. प्रतिनिधि सभा सदस्यका ज्येष्ठ सदस्य केसीले गरे संसद सचिवालय र नयाँ संसद बैठक कक्षको अवलोकन

    प्रतिनिधि सभा सदस्यका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद सचिवालय र नयाँ संसद बैठक कक्षको अवलोकन गर्नुभएको छ । बुधवार दिँउसो केसीले सिंहदरबारस्थित संसद सचिवालय र नयाँ संसद बैठक कक्षको अवलोकन गर्नुभएको हो । अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संसद लोकतन्त्रको मूल आधार भएको बताउनु भयो । उहाँले संसदबाट आउने विभिन्न विचारहरुको संयोजन गरेर साँझा निष्कर्ष निकाल्नुपर्ने भन्दै आफू सक्रिय रुपमा भूमिका खेल्ने बताउनु भयो । 
    उहाँले भन्नुभयो, ‘लोकतन्त्रको मूल आधार थलो रुपमा रहेको संसदमा भिन्न विचारहरु आउँछन् । 

    १९. प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पदभार ग्रहण गर्नुभएको छ । पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर केसीले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ज्येष्ठ सदस्य केसीले आफ्नो सिमित समयको सभामुखको भुमिकामा कार्यकालमा संसद्लाई निष्पक्ष र पारर्दी रूपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले सभामुखको भुमिकाले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै आफू संसदका सम्पूर्ण सदस्यहरूको विशेषाधिकारको संरक्षकका रूपमा प्रश्तुत हुने बताउनुभयो ।

    २०. उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार चलाउनेछः कुलमान घिसिङ

    उज्यालो नेपाल पार्टीको वागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रम सडकबाटै सरकार चलाउने बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित पार्टीको वाममती प्रदेशस्तरीय अगुवा भेलामा बोल्दै उहाँले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि सडकबाटै आम जनताको सरकारको रुपमा काम गर्ने बताउनुभएको हो । मुलुकको राष्ट्रियता, विद्यमान समस्या समाधान गर्दै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आफ्नो पार्टीले सडकबाटै सशक्त भुमिका निर्वाह गर्ने अध्यक्ष घिसिङको भनाई थियो । उहाँले देशलाई सही बाटोमा लैजानका लागि सरकारलाई खबरदारीको काम गर्ने पनि आफ्नो पार्टीको प्रतिवद्धता रहेको बताउनु भयो । 

    २१. मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबै पक्षलाई राष्ट्रपति पौडेलको आह्वान

    राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबै पक्षलाई आह्वान गर्नुभएको छ । निर्वाचन आयोग नेपालले बुधवार काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रले लक्षित गरेको जनताको जीवनस्तर माथि उठाएर मुल्ुकलाई समृद्ध बनाउने लक्ष्य लिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सो कामका सबैले ध्यान दिने बेला आएको स्पष्ट पार्नुभयो । उहाँले निर्वाचनमा प्राप्त जनादेशले मुलुकको भविष्यलाई दिशा निर्देश गरेको पनि बताउनु भयो । राष्ट्रपति पौडेलले मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व जनप्रतिनिधिहरुको काँधमा आएको पनि उल्लेख गर्नुभयो । उहाँले राष्ट्र निर्माणको साझा लक्ष्यमा सबैको एउटै मत हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

    २२. प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित एक समारोहकाबीच उहाँलाई पद तथा गोपनियताको शपथ खुवाउनुभएको हो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरु, सांसदहरुलगायत नेपालका सरकारका विशिष्ट तहका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । 
    फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट केसी निर्वाचित हुनुभएको थियो । उहाँ ७८ वर्षको हुनुहुन्छ ।

    २३. आगामी वर्षको बजेट बनाउन नयाँ सरकार कुर्दै अर्थ मन्त्रालय

    रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन
    आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई तिब्र पारेको छ । यस पटकको बजेट नयाँ बन्ने बालेन नेतृत्वको सरकारको आर्थिक नीति र सत्ता समीकरणको प्रमुख घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी वाचापत्रमा केन्द्रित रहने अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन् । उनीहरुकाअनुसार अहिले अर्थ मन्त्रालय नयाँ सरकार र नयाँ अर्थमन्त्रीको पर्खाइमा छ । निर्वाचनपछि नयाँ सरकार गठन हुने प्रक्रियामा रहेकाले नयाँ आउने अर्थमन्त्रीको नेतृत्वमा बजेटले अन्तिम रूप पाउनेछ । अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले आगामी बजेटमा सत्तामा रहने राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रलाई विशेष प्राथमिकता दिइने बताउनु भयो । 

    २४. मध्यपूर्व द्वन्द्वको असर कम गर्न एडीबीले ल्यायो विशेष सहायता प्याकेज,गम्भीर संकट आउने चेतावनी

    मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित आर्थिक तथा वित्तीय चुनौतीहरू सामना गर्न एशियाली विकास बैंक (एडीबी) ले आफ्ना विकासोन्मुख सदस्य राष्ट्रहरूका लागि विशेष सहायता प्याकेजको घोषणा गरेको छ । अर्थतन्त्रहरूमा परिरहेको तत्कालको चुनौतीहरु व्यवस्थापन गर्न र दीर्घकालीन रुपमा ती देशको अर्थतन्त्रलाई मजबुत बनाउन एडीबीले  प्याकेज घोषणा गरेको हो । 
    बैंकका अध्यक्ष मासातो कान्डाले  प्याकेजमार्फत सदस्य राष्ट्रहरूलाई द्रुत रूपमा वितरण हुने बजेट सहायता र अत्यावश्यक वस्तुहरूको आयात सुनिश्चित गर्न सघाउ पुग्ने बताउनुभएको छ । उहाँकाअनुसार व्यापार तथा आपूर्ति श्रृंखलालाई सहज पार्न वित्त व्यवस्था उपलब्ध गराइनेछ । विशेष गरी इन्धनको मूल्यमा भएको भारी वृद्धिलाई सम्बोधन गर्न विभिन्न देशका लागि विश्व बैंकले वित्तीय सहयोग उपलव्ध गराउने गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

    २५. काँग्रेसको १५ औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने

    नेपाली काँग्रेसले १५ औँ महाधिवेशन अगामी असोज १६ देखि १९ गतेसम्म गर्नेगरी कार्यतालिका संशोधनसहित पारित गरेको छ । 
    बुधवार बसेको पार्टी केन्द्रिय समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । उहाँले १५ औँ महाधिवेशनको प्रक्रिया यही चैत २३ गतेदेखि शुरु हुने समेत जानकारी दिनुभयो । कार्यतालिकाअनुसार २०८३ भदौ २ गतेदेखि वडा अधिवेशन, गाउँ तथा नगर अधिवेशन भदौ ७ मा हुनेगरी निर्णय गरिएको बताइएको छ । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - २१:३९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij