२०८२ चैत्र ५ गते बिहिवार
१. शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले चैत ६ गते शुक्रवारदेखि मौसममा उल्लेख्य बदलाव आउने जानकारी दिएको हो । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनको मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै देशभरका नागरिकलाई विशेष शतर्कता अपनाउन अपील गरेको छ । जल तथा मौसम विज्ञान विभागको विवरणअनुसार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र विनाशकारी हावाहुरी चल्ने सम्भावना देखिएको छ ।
२. राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मत परिणामसहितको अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । बिहीवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई हस्तान्तरण गर्नुभएको हो । समारोहमा निर्वाचन आयोगका आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराको पनि उपस्थिति रहेको थियो । त्यसैगरी आयोगका सचिव कृष्णबहादुर राउत लगायत अन्य उच्च पदस्थ अधिकारीहरूको समेत सहभागिता रहेको थियो । प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोग र संवद्ध सबै पक्षलाई धन्यवाद ज्ञापन गर्नुभयो । आयोगले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेसँगै अब नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ ।
३. महिला राष्ट्रिय लिगमा पुलिस र वागमती युथको रोमाञ्चक जित
वमना देउवा र रेखा पौडेलको दुई गोलमा नेपाल पुलिस क्लवले रबाफिलो जितसँगै शहीद स्मृति राष्ट्रिय महिला फुटबल लिगको शुरुवात गरेको छ । च्यासलस्थित च्यासल स्टेडियममा बिहीवार भएको दोस्रो खेलमा नेपाल पुलिसले चर्च ब्वाइज युनाइटेड महिला टिममाथि ५–० को जित निकाल्यो । मिना र रेखाले दुई गोल गर्दा अमृता जैशीले एक गोल थपिन् । पुलिसले पहिलो हाफमा नै चार गोल गरेको थियो । तर दोस्रो हाफमा एक गोल मात्र गर्न सक्यो । त्यसअघि भएको पहिलो खेलमा वागमती युथ क्लबले आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबलाई ५–४ गोल अन्तरले हरायो । अस्मिता मगर र दिक्षा रानपालको दुई गोल प्रेरणा वागमतीले लिगमा सुखद् शुरुवात गरेको छ । च्यासल स्टेडियममा बिहीवार भएको खेलमा वागमतीले आरएस रिसोर्ट एण्ड बिच फुटबल क्लवमाथि ५–४ गोल अन्तरको रोमाञ्चक जित निकाल्यो ।
४. प्रतिनिधि सभामा ९६ महिलाको प्रवेशः निर्वाचन आयोग
नयाँ प्रतिनिधि सभामा महिलाको प्रतिनिधित्व ३५ प्रतिशत पुगेको छ । जसले नेपाली संसदलाई दक्षिण एशियाकै उत्कृष्ट समावेशी नमूनाका रूपमा प्रश्तुत गरेको हो । निर्वाचन आायेगका प्रवक्ता नारायणप्रसा भट्टराईकाअनुसार २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा यसपटक ९६ जना महिला सदस्यहरूले प्रवेश पाएका छन् । यो संख्या नेपालको संसदीय इतिहासमा एक महत्वपूर्ण उपलब्धि हो ।कुल सदस्य संख्याको करिव ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित हुनुले संवैधानिक व्यवस्थाको सफल कार्यान्वयनलाई झल्काएको बताउनु भयो । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ ७ वटा राजनीतिक दलका १ सय ६४ जना र १ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा १ सय ६५ जना निर्वाचित भएका उहाँले बताउनु भयो । त्यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फ ७ वटा राजनीतिक दलका १ सय १० जना सदस्यहरू निर्वाचित भएका छन् । यसरी नयाँ संसदमा विभिन्न विचारधारा बोकेका दलहरूको सन्तुलित उपस्थिति देखिएको प्रवक्ता भट्टराईको भनाइ छ ।
५. पुरुष राष्ट्रिय लिग र शहीद स्मारक महिला लिग स्थगित
अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनिश्चितकालका लागि एन्फा राष्ट्रिय लिग र शहीद स्मारक महिला राष्ट्रिय लिग दुवै स्थगित गरेको छ । श्रम स्वीकृति बिना नै विदेशी खेलाडी खेलाएको आरोप लागेपछि एन्फाले अर्को सूचना नआएसम्म महिला र पुरुष दुवै प्रतियोगिता स्थगित गरेको जनाएको छ । एन्फाले बिहीवार फरकफरक समयमा प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय लिग र शहीद स्मारक महिला राष्ट्रिय लिग स्थगित गरेको जानकारी दिएको हो । श्रम स्विकृतिबिना नै विदेशी खेलाडीलाई खेलाएको भन्दै श्रम विभागमा उजुरी परेको थियो । विभागले पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीलाई राष्ट्रिय लिगमा नखेलाउन निर्देशन जारी गर्दै बिहीबार नै एन्फलाई पत्र पठाएको थियो ।
६. निर्वाचन आयोगको वित्तीय सफलताः ३ अर्ब ५४ करोड २८ लाख ७ सय ९६ रुपैयाँ मात्रै खर्च
मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले माग गरिएको बजेटको करिव आधा मात्रै खर्च गरेर अर्बौं रुपैयाँ जोगाउन सफल भएको छ । निर्वाचन आयोगले यसपटकको निर्वाचन व्यवस्थापनमा वित्तीय अनुशासनको उत्कृष्ट नमूना प्रश्तुत गरेको हो । बिहीवार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले सरकारसँग कुल ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरेको बताउनु भयो । अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोढड ६६ लाख ९० हजार रुपैयाँको श्रोत सहमति भएको बताउनु भयो । तर अन्तिम खर्च विवरणअनुसार केवल ३ अर्ब ५४ करोड २८ लाख ७ सय ९६ रुपैयाँ मात्रै खर्च भएको उहाँको भनाइ छ । यसले राज्यको ढुकुटीबाट ३ अर्ब ३२ करोड भन्दा बढी रकम वचत भएको छ । आयोगले ५० प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका सामग्रीहरू प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूबाटै खरिद गर्ने नीति लिएको थियो । यसले ढुवानी खर्च र केन्द्रमा हुने अनावश्यक खरिद प्रक्रियालाई घटाएको उहाँले बताउनु भयो ।
७. नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी
सङ्घीय संसद सचिवालयले नयाँ निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण आगामी १२ गते गर्नेगरी तयारी अगाडि बढाएको छ । बिहीवार संसद सचिवालयका महासचिवले राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधिहरूसँग गर्नुभएको छलफलमा शपथ ग्रहण र संसदीय दलका कार्यालय व्यवस्थापनबारे चर्चा गरिएकोहो । छलफलमा मुख्यतया शपथ ग्रहणको मिति र दलका कार्यालयहरूको व्यवस्थापनमा केन्द्रित रहेर कुराकानी भएको सहभागी सांसदहरुले बताए । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले १२ गते सांसदहरुको शपथ गर्नेगरी तयारी अघि बढाइएको बताउनु भयो । निर्वाचन आयोगले सूचि पठाइसकेपछि र राष्ट्रपति कार्यालयबाट समय सुनिश्चित भएपछि समय टुंगो लाग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘मुख्यतः १२ गते शपथ ग्रहण गर्ने गरी तयारी भएको छ । निर्वाचन आयोगले सूची पठाएपछि र राष्ट्रपति कार्यालयबाट समय सुनिश्चित भएपछि समय टुङ्गिनेछ । संसदीय दलका कार्यालयहरूको व्यवस्थापन र सेवा सुविधाका विषयमा पनि छलफल भएको छ ।’
८. खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको २१ औँ संस्करण शुरु
खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको २१ औँ संस्करण पोखरामा शुरु भएको छ । नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको शुभारम्भ भएको हो । प्रतियोगिता पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो । सो क्रममा नगर प्रमुख आचार्यले पोखरेली पर्यटनको मेरुदण्डका रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई नियमित सञ्चालनका लागि विभिन्न पहलहरू गरिएको बताउनु भयो । अन्तर्राष्ट्रिय विमानस्थलका कारण विस्थापित हुने अवस्थामा पुगेको प्याराग्लाइडिङ उडानलाई पुनः सञ्चालन गर्ने सन्दर्भमा विभिन्न चरणहरूमा समाधान केन्द्रित छलफलहरू गरिएको उहाँले बताउनु भयो । पोखरा भ्रमणमा आउने अधिकांश पर्यटकहरूको प्रमुख रोजाइमा पर्ने गरेको प्याराग्लाइडिङ उडानलाई अझ व्यवस्थित बनाउन व्यवसायीहरूलाई उहाँले आग्रह गर्नुभयो । सुरक्षाको पक्षलाई मजबुत बनाउँदै पर्यटकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन समेत दिनुभयो । पोखरा साहसिक गतिविधिका कारण परिचित रहेको उल्लेख गर्दै यसको गरिमा कायम राख्न उहाँले अपिल गर्नुभयो ।
९.असनमा मनाइयो देवता जुधाउने जात्रा
काठमाडौंको ऐतिहासिक र व्यापारिक केन्द्र असनमा पाहाँ चह्रे पर्वको अवसरमा तीन देवीहरूको मिलन गराउने ‘द्यः ल्वाकेगु’ जात्रा भव्यताका साथ सम्पन्न भएको छ । वर्षौंदेखि चल्दै आएको यो परम्परा काठमाडौं उपत्यकाको सांस्कृतिक वैभव हो । नेवार समुदायमा विशेष महत्व राख्ने पाहाँ चह्रे पर्व तीन दिनसम्म मनाइन्छ । यसको दोस्रो दिन असनमा ‘द्यः ल्वाकेगु’ अर्थात देवता जुधाउने जात्रा मनाइन्छ । यो जात्रा खासगरी तीन दिदीबहिनी अजिमाहरू— भद्रकाली (लुमधि अजिमा), कङ्केश्वरी (कङ्ग अजिमा) र नीलबाराही (तेउडा वा लुतिमरु अजिमा) बीचको भेटघाटको प्रतीक हो ।धार्मिक विश्वासअनुसार यी तीन दिदीबहिनीहरू वर्षमा एकपटक असनमा भेट हुने गर्दछन् । असनको अन्नपूर्ण मन्दिर अगाडि हुने यस समारोहमा तीनवटा खत (रथ) हरूलाई आपसमा ठोक्काएर देवताहरूलाई ‘भेट’ गराइन्छ । खत बोक्ने युवाहरूले परम्परागत बाजागाजाको तालमा उल्लासका साथ खतलाई घुमाउने र जुधाउने गर्दछन् । यस क्रममा ‘च्वय्ला’ (मशाल) साटासाट गर्ने गरिन्छ ।
१०. ४७ करोड लागतमा कोदारीको पहिरो नियन्त्रण शुरुः २ सय ५० घरधुरी जोखिममुक्त हुँदै
अरनिको राजमार्ग अन्तर्गत कोदारी क्षेत्रमा विगत एक दशकदेखि जोखिम बढाउँदै आएको ‘इको पहिरो’ नियन्त्रणको काम शुरु भएको छ । सडक डिभिजन कार्यालय चरिकोटले करिव ४७ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरी नेपालकै सबैभन्दा ठूलो ‘स्लोप स्टेबिलाइजेसन’ (भिरालो जमिन स्थिरीकरण) परियोजना अघि बढाएको हो । राजमार्गको १ सय १३ किलोमिटर चेनेजमा पर्ने यो पहिरो विगत ८–१० वर्षदेखि बग्न शुरु गरेको थियो । पहिरो निरन्तर बढ्दै जाँदा सडक पूर्णरूपमा क्षति हुनुका साथै सडकभन्दा माथि रहेका करिव २ सय ५० भन्दा बढी घरहरू उच्च जोखिममा परेका थिए । गत वर्षायाममा पहिरोले उग्र रूप लिएपछि स्थानीय बासिन्दाले दीर्घकालीन समाधानको माग गर्दै राजमार्ग नै अवरुद्ध गरेका थिए । त्यसपछि सडक विभागका महानिर्देशकसहितको टोलीले स्थानीयसँग सम्झौता गरी अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित गरेर काम अघि बढाएको हो ।
११. १ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
निर्वाचन आायेगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा बदर मतको संख्यामा उल्लेख्य गिरावट आएको बताएको छ । बिहीवार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो बताउनुभएको हो । विशिष्ट परिस्थिति र भौगोलिक चुनौतीका बाबजुद १ करोड ८९ लाख भन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् । निर्वाचन आयोगकाअनुसार अन्तिम नामावली अनुसार कुल १ करोड ८९ लाख ३ हजार ६८९ तदाता कायम रहेका थिए । जसमा महिला मतदाताको संख्या ९२ लाख ४० हजार १३१ र पुरुष मतदाताको संख्या ९६ लाख ६३ हजार ३५८ रहेको छ । अन्य लिङ्गी मतदाताको संख्या २ सय रहेको छ ।
यसपटकको निर्वाचनको अर्को सुखद पक्ष भनेको बदर मतको संख्यामा आएको कमी उहाँले बताउनु भयो । आयोगकाअनुसार औसत बदर मत ४.७ प्रतिशतमा सिमित रहेको छ । प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत मत बदर भएको तथ्याङ्क छ । मतदाता शिक्षा कार्यक्रम र सरल मतपत्र डिजाइनका कारण बदर मतको संख्या नियन्त्रणमा आएको आयोगको विश्लेषण छ ।
१२. अजरबैजानले इरानलाई थप मानवीय सहायता पठायो
राष्ट्रपति इल्हाम अलिएभको निर्देशनमा अजरबैजानले इरानलाई थप मानवीय सहायता पठाएको छ । छिमेकी राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न मार्च ८, २०२६ मा अलिएभ र इरानी राष्ट्रपति मसुद पेजेस्कियानबीच भएको टेलिफोन वार्ता पछि यो सहायताको व्यवस्था गरिएको हो । यस खेपमा ८२ टन सहायता सामग्री रहेको छ, जसमा ७६ टन खाद्यान्न, चार टन औषधि र दुई टन चिकित्सा उपकरणहरू समावेश छन् । यी सामग्रीहरू पाँचवटा ट्रकमार्फत ढुवानी गरिएका छन् । जसमा नजिकिँदै गरेको चाडपर्वको अवसरमा दिइने उपहार र नौरोज (ल्यधचगश) सँग सम्बन्धित सामग्रीहरू पनि रहेका छन् । अजरबैजानका लागि इरानका राजदुत मोजतबा डेमिर्चिलुले पत्रकारहरूसँग कुरा गर्दै इरानलाई मानवीय सहायता पठाउने पहिलो देश अजरबैजान भएकोमा तेहरानले यसको स्वागत गरेको बताउनु भयो । इरानलाई सहायता पु¥याउन ट्रान्जिट मार्गको रूपमा आफ्नो भूभाग प्रयोग गर्न अनुरोध गर्दै धेरै तेस्रो देशहरूले अजरबैजानलाई सम्पर्क गरेका छन् ।
१३. अमेरिकी केन्द्रिय बैंक (फेड) द्वारा ब्याजदर ३.५–३.७५ प्रतिशतमा स्थिर
अमेरिकी फेडरल रिजर्भले बुधवार बजारको अपेक्षा अनुरूप संघीय कोष दरको लक्ष्य दायरा ३.५ देखि ३.७५ प्रतिशतमा कायम राख्ने निर्णय गरेको छ । उपलब्ध सूचकहरूले आर्थिक गतिविधि ठोस गतिमा विस्तार भइरहेको देखाउँछन् । रोजगारी वृद्धि न्युन रहेको छ र पछिल्ला महिनाहरूमा बेरोजगारी दरमा खासै परिवर्तन आएको छैन । मुद्रास्फीति अझै पनि केही उच्च छ रहेको फेडरल ओपन मार्केट कमिटीले एक विज्ञप्तिमा भनेको छ । यद्यपि आर्थिक दृष्टिकोणको बारेमा अनिश्चितता उच्च छ । अमेरिकी अर्थतन्त्रको लागि मध्य पूर्वको घटनाक्रमको प्रभाव अनिश्चित छ । समिति आफ्नो दोहोरो जनादेशको दुवै पक्षका जोखिमहरूप्रति सचेत छ । १२ जना सदस्यहरूमध्ये ११ जनाले दर अपरिवर्तित राख्ने पक्षमा मतदान गरेका थिए । बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै फेडका अध्यक्ष जेरोम पावेलले मध्य पूर्वको द्वन्द्वका कारण बढ्दो तेलको मूल्यले निकट भविष्यमा मुद्रास्फीति बढाउने अपेक्षा गरिएको बताउनु भयो । रोजगारी वृद्धि न्यून रहे पनि पछिल्ला महिनाहरूमा बेरोजगारी दरमा खासै परिवर्तन आएको छैन ।
१४. कम्बोडियाको पर्यटनले सन् २०२५ मा ३.८७ बिलियन अमेरिकी डलर राजश्व संकलन ग¥यो
पर्यटन मन्त्रालयको बुधवारको आधिकारिक प्रतिवेदनअनुसार कम्बोडियाको पर्यटनले सन् २०२५ मा ३.८७ बिलियन अमेरिकी डलर कुल राजश्व आर्जन गरेको छ । जुन अघिल्लो वर्षको ३.६३ बिलियन डलरको तुलनामा ६.६ प्रतिशतले बढी हो । प्रतिवेदनकाअनुसार गत वर्ष राजश्वमा वृद्धि भएपनि यस दक्षिणपूर्वी एशियाली देशमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूको संख्या भने अघिल्लो वर्षको ६७ लाखबाट करिव १७ प्रतिशतले घटेर ५५ लाख ७० हजारमा झरेको छ । पर्यटन उद्योगले ४ लाख २० हजार प्रत्यक्ष रोजगारी सिर्जना गरेको पनि प्रतिवेदनमा उल्लेख छ । गार्मेन्ट, जुत्ता र ट्राभल सामानको निर्यात, कृषि, र निर्माण तथा घरजग्गा बाहेक पर्यटन कम्बोडियाको अर्थतन्त्रलाई टेवा पु¥याउने चार स्तम्भहरूमध्ये एक हो । पर्यटन मन्त्री हुओट हाकले हालै कम्बोडिया एक सुरक्षित र न्यानो पर्यटकीय गन्तव्य भएको बताउनु भयो ।
१५. घानाले कृषि उत्पादन बढाउन प्रविधि र नवप्रवर्तनको प्रयोग गर्ने
घानाका राष्ट्रपति जोन ड्रामाणी महामाले देशको पहिलो कृषि प्रविधि मेलाको उद्घाटन गर्दै कृषि उत्पादन बढाउन र दिगो आर्थिक वृद्धिलाई उत्प्रेरित गर्न प्रविधि र नवप्रवर्तनको प्रयोगमा सरकारले नेतृत्व गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यो पहल घानाको अर्थतन्त्रलाई अझ बढी उत्पादक, थप विविध र थप लचिलो बनाउने बृहत्तर राष्ट्रिय दृष्टिकोणको एक हिस्सा भएको राष्ट्रपतिले बताउनु भयो । सरकारले मूल्य अभिवृद्धिमा आधारित अर्थतन्त्र निर्माण गर्न खोजेको छ । घानाले उत्पादन गर्ने कुरालाई तयारी वस्तुमा रूपान्तरण गर्ने, निर्यातका लागि प्राथमिक उत्पादनहरू प्रशोधन गर्ने, आफ्ना जनताका लागि मर्यादित रोजगारी सिर्जना गर्ने र आफूले उत्पादन गरेको कुरा उपभोग गर्ने काम गर्ने पनि बताउनु भयो । राष्ट्रपतिले यस शुक्रवारदेखि कृषि यान्त्रीकरणलाई बढावा दिने उद्देश्यले ६० वटा किसान सेवा केन्द्रहरूको निर्माण शुरु हुने बताउनु भयो ।
१६. दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट १६ जनाको मृत्यु
दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा तीन लेबनानी सैनिकसहित १६ जनाको मृत्यु भएको छ । सिडोन जिल्लाको अरब अल–जाल सहरमा, स्थानीयहरूले ध्वस्त भएको आवासीय भवनको भग्नावशेष पन्छाएका थिए । लेबनानी आधिकारिक स्रोतहरूकाअनुसार यस आक्रमणले अन्य धेरैलाई घाइते बनाएको छ र यो दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा भएको व्यापक तनावको एक हिस्सा थियो । लेबनानको हिजबुल्लाह समूहले खियाम नजिकै इजरायली सेनाको भेलातर्फ रकेट प्रहार गरेको, उत्तरी इजरायलको नहारियामा भारी गोलाबारी गरेको र मारौन अल–रासमा रहेका स्थानहरूमा ड्रोन आक्रमण गरेको बताएको छ ।
१७. नेटोले दक्षिणी टर्कीको हवाई क्षेत्रको सुरक्षा गर्न थप प्याट्रियट प्रणाली तैनाथ ग¥यो
गत हप्ता इरानबाट टर्कीको हवाई क्षेत्रतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइललाई रोकिएपछि, नेटोले टर्कीको दक्षिणी अडाना प्रान्तमा थप एक प्याट्रियट वायु रक्षा प्रणाली तैनाथ गरेको टर्कीको रक्षा मन्त्रालयले बुधवार जनाएको छ । टर्कीको रक्षा मन्त्रालयका प्रवक्ता रियर एडमिरल जेकी अक्टुर्कले एक पत्रकार सम्मेलनमा आफूहरुको हवाई क्षेत्र र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय स्तरमा चालिएका कदमहरूको अतिरिक्त, जर्मनीको रामस्टेनमा रहेको एलाइड एयर कमाण्डद्वारा तैनाथ गरिएको थप प्याट्रियट प्रणाली अडानामा राखिएको बताउनु भयो । जसले त्यहाँ पहिले नै रहेको स्पेनिस प्याट्रियट प्रणालीलाई थप मद्दत गर्नेछ ।
१८. भारतीय राजधानीमा आगलागीबाट ९ जनाको मृत्यु
भारतीय राजधानी दिल्लीको एउटा बहुतले भवनमा बुधवार भएको भीषण आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । शहरको पालम क्षेत्र नजिकै रहेको राम चोक बजारमा रहेको चारतले भवनभित्रको कपडा र कस्मेटिक्स पसलबाट आगलागी शुरु भएको थियो । अस्पतालमा १२ जनालाई ल्याइएको थियो । जसमध्ये नौ जनालाई मृत घोषित गरिएको र तीन जना घाइते भएका बताइएको छ । वरिष्ठ प्रहरी अधिकारी अभिमन्यु पोसवालकाअनुसार मृतकको पहिचान दुई पुरुष, चार महिला र तीन बालबालिकाको रूपमा गरिएको छ । पोसवालले फरेन्सिक र अपराध टोलीले घटनाको कारणबारे अनुसन्धान गरिरहेको र कानूनी प्रक्रिया शुरु गरिएको बताउनु भयो । प्रहरीकाअनुसार भवनको दोस्रो र तेस्रो तल्ला आवासीय इकाइहरू थिए ।
१९. भू–राजनीतिक तनावका बीच घानाद्वारा नीतिगत दर घटाएर १४ प्रतिशत कायम
घानाको केन्द्रिय बैंकले जारी भू–राजनीतिक तनावका बीच आफ्नो बेन्चमार्क ब्याजदरलाई १५० आधार बिन्दुले घटाएर १४ प्रतिशतमा झारेको छ । बैंक अफ घानाका गभर्नर जोन्सन एसियामाले मौद्रिक नीति समितिको पत्रकार सम्मेलनका क्रममा मध्यपूर्वमा बढ्दो भू–राजनीतिक तनावले वाह्य क्षेत्रमा अनिश्चितता थपेको र यसले कच्चा तेलको मूल्य बढाउन सक्ने बताउनु भयो । विश्वव्यापी तनावका बाबजुद, गभर्नरले केन्द्रिय बैंकले आवश्यक कदम चाल्न बजारका प्रवृत्तिहरूलाई निरन्तर नियालिरहेको र मध्यम अवधिमा हेडलाइन मुद्रास्फीति वाञ्छित सीमाभित्रै रहने अपेक्षा मौद्रिक नीति समितिले गरेको बताउनु भयो । उहाँले समष्टिगत आर्थिक अवस्थामा भएको उल्लेख्य सुधारका कारण मुद्रास्फीति अपेक्षा गरेभन्दा तिब्र गतिमा घटेको र यो ६ देखि १० प्रतिशतको मध्यम अवधिको लक्ष्यभित्रै रहने विश्वास व्यक्त गर्नुभयो ।
२०. मलेसियाको आन्तरिक पर्यटन २०२५ मा ११.५ प्रतिशतले वृद्धि
सार्वजनिक आधिकारिक तथ्याङ्कअनुसार सन् २०२५ मा मलेसिया भ्रमण गर्ने आन्तरिक पर्यटकहरूको संख्या अघिल्लो वर्षको तुलनामा ११.५ प्रतिशतले बढेर २९ करोड १ लाख पुगेको छ । मलेसियाको तथ्याङ्क विभागले एक विज्ञप्ति जारी गर्दै उक्त वर्ष आन्तरिक पर्यटन खर्च १२१ अर्ब रिंगिट (३०.८६ अर्ब अमेरिकी डलर) पुगेको जनाएको छ । यो खर्च अघिल्लो वर्षको तुलनामा १३.३ प्रतिशतको वृद्धि हो । समग्रमा, बढ्दो पर्यटक संख्या, उच्च पर्यटन खर्च र पर्यटनसँग सम्बन्धित उद्योगहरूको मजबुत प्रदर्शनका कारण मलेसियाको आन्तरिक पर्यटन क्षेत्र आर्थिक वृद्धिको मुख्य खम्बाका रूपमा रहिरहेको छ । विभागकाअनुसार सन् २०२५ मा देखिएको यो निरन्तरको वृद्धिले आन्तरिक मागलाई बलियो बनाउन, लघु, साना तथा मझौला उद्योगहरूलाई सहयोग पु¥याउन र समग्र आर्थिक लचिलोपन अभिवृद्धि गर्न यस क्षेत्रको महत्वपूर्ण भुमिकालाई प्रष्ट पारेको छ ।
२१. संयुक्त राष्ट्रसंघद्वारा यमनमा यस वर्षको मानवीय आवश्यकताका लागि २.१६ अर्ब अमेरिकी डलरको अपिल
संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले बुधवार यमनका लागि यस वर्षको मानवीय आवश्यकता र प्रतिक्रिया योजना सार्वजनिक गर्दै २.१६ अर्ब अमेरिकी डलरको अपिल गरेका छन् । यस योजनाले यमनभरिका १ करोड २० लाख मानिसहरूलाई जीवनदायी सहायता प्रदान गर्ने लक्ष्य राखेको छ । जसमा चरम भोकमरी, गम्भीर कुपोषण, विस्थापन, रोगको जोखिम वा आधारभूत सेवाहरूको अभाव झेलिरहेका ९० लाखभन्दा बढी मानिसहरू समावेश छन् । संयुक्त राष्ट्रसंघका महासचिवका उप–प्रवक्ता फरहान हकले दैनिक ब्रिफिङमा द्वन्द्व, आर्थिक गिरावट, विस्थापन, रोगको प्रकोप र जलवायु झट्काका कारण मानवीय आवश्यकताहरू निरन्तर बढिरहेका बताउनु भयो । २ करोड २० लाखभन्दा बढी मानिसहरूलाई मानवीय सहायताको आवश्यकता छ ।
२२. आयोगद्धारा समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमका बीच समानुपातिकतर्फका १ सय १० जना सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको हो । सांसदहरुलाई आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा.जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले प्रमाणपत्र वितरण गर्नुभएको हो । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ६ वटा राजनितिक दलले सिट प्राप्त गरेका थिए । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली काँग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले ९, श्रमसंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४÷४ सिट जितेका थिए । प्रत्यक्षतर्फ निर्वाचित भएका १ सय ६५ जना संसदलाई भने मतपरिणाम सार्वजनिक भएलगत्तै मुख्य निर्वाचन अधिकृत कार्यालयबाट प्रमाण पत्र दिईएको थियो ।
२३. एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल
नेकपा एमालेकी सचिव पद्मा अर्यालले निर्वाचन परिणामलाई स्वीकार गर्दै अब आफ्नो पार्टी सशक्त प्रतिपक्षको भुमिकामा उत्रिने बताउनुभएको छ । बिहीवार निर्वाचन आयोगले आयोजना गरेको प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचित सांसदको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी सरकारको नेतृत्व गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकरात्मक कामको लागि सहयोग गर्ने बताउनु भयो । उहाँले एमाले स्थायित्वको पक्षमा रहेकोले निर्वाचनले देशलाई राजनीतिक स्थिरता दिएको बताउनु भयो । सचिव अर्यालले रोजगारी सिर्जना, उत्पादनमा वृद्धि, महिला र ज्येष्ठ नागरिकको सम्मान लगायतका काममा सरकार केन्द्रित हुनुपर्नेमा जोठ दिनुभयो । राजनीतिक अस्थिरता नै विकास र समृद्धिको प्रमुख बाधक भएको उहाँको भनाई छ । नयाँ शक्तिले झन्डै दुई तिहाइ जनसमर्थन पाएको अवस्थामा सरकारप्रति जनताको अपेक्षा अझ उच्च रहेको उहाँले बताउनु भयो । एमालेले प्रतिपक्षबाट जनताको मतको रक्षा गर्दै सरकारलाई सही ट्रयाकमा ल्याउने उहाँको भनाई छ ।
२४. बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी
संघीय संसद सचिवालयले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलहरुलाई संसदीय दलको कार्यलय उपलब्ध गराएको छ । सचिवालयले बिहीवारदेखि राजनितिक दलहरुलाई कार्यालय उपलब्ध गराएको प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । संसदीय दलका कार्यालय व्यवस्थापन चुनौतीपूर्ण देखिएपनि उपलब्ध स्रोतसाधनभित्रै रहेर कार्यालय व्यवस्थापन गरिएको उहाँले बताउनु भयो । उहाँले दलका प्रतिनिधिहरुलाई कार्यलयको प्रत्यक्ष अवलोकन गराइएको जानकारी दिनुभयो । उहाकाअनुसार ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका लागि पहिला नेपाली कम्युनिष्ट पार्टीले प्रयोग गर्दै आएको कार्यालय उपलब्ध गराइएको छ । यस्तै अन्य दललाई संख्याअनुसार स्थान बाँडफाँट गरिएको सचिवालयले जनाएको छ । सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण चैत १२ गते दिउँसो २ बजे गर्नेगर तयारी पनि गरेको छ ।
२५. सांसदहरुको प्राथमिकतामा विकास, सुशासन र समान अवसर
नवनिर्वाचित सांसदहरुले विकास, सुशासन र समान अवसरलाई प्राथमिकतामा राखेका बताउनुभएको छ । बिहीवार निर्वाचन आयोगमा प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित प्रमाणपत्र लिएपछि संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले रोजगारी, उत्पादनमा वृद्धि र देशको समृद्धि नै आफूहरुको मुख्य एजेण्डा रहेको बताउनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समिना मियाँले हालै भएको निर्वाचनले पुराना दल र राजनीतिक प्रवृत्तिलाई जनताले अन्त्य नयाँ पुस्तामा पुस्तान्तरण गरेको बताउनु भयो । उहाँले जनताको माग र इच्छाअनुसार काम गर्नु नै आफ्नो प्राथमिक लक्ष्य भएको स्पष्ट पार्नुभयो । पार्टीले काठमाडौँका पूर्वमेयर बालेन्द्र साहलाई भावी प्रधानमन्त्री तोकेर निर्वाचनमा गएकोले जनतामा उहाँमाथी ठूलो भरोसा गरेर मत दिएको बताउनु भयो । साहले काठमाडौंमा गरेका विकासका कामलाई देशभर विस्तार गर्ने योजना रहेको उहाँको भनाई छ ।
२६. स्थानीय तह र प्रदेश सभा सदस्यको निर्वाचन एकैपटक गर्नुपर्छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकैपटक गर्न आवश्यक रहेको बताउनुभएको छ । किहीवार प्रतिनिधि सभाको समानुपातिकतर्फका सांसदहरुलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एक पटक गर्नुपर्ने बताउनुभएको हो । उहाँले यसले निर्वाचन खर्च घट्ने बताउनु भयो । भण्डारीकाअनुसार आगामी १३–१४ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्नेछ भने प्रदेश सभा निर्वाचन २०८४ मंसिरमा गर्नुपर्ने छ । यी दुई निर्वाचनलाई एउटै मितिमा सम्पन्न गर्नसके मितव्ययी र प्रभावकारी हुने उहाँको तर्क छ । तर वर्तमान कानूनी संरचनाले संयुक्त निर्वाचनको व्यवस्था गर्न नसक्ने उहाँले बताउनु भयो । त्यसको लागि हाल लागू रहेका करिव १० वटा निर्वाचनसम्बन्धी कानूनलाई एकीकृत गरी एउटै निर्वाचन व्यवस्थापन ऐन ल्याउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो । सो ऐनको लागि आयोगले मस्यौदा तयार गरी दुई वर्षभन्दा बढी अघि नै सरकारलाई पठाइसकेको जानकारी दिनुभयो ।
२७. धर्म र पहिचानको नाममा राजनीति गर्ने प्रवृत्ति त्यागौँः मुख्यमन्त्री बानियाँ
वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जात, धर्म र पहिचानको नाममा राजनीति गर्ने प्रवृत्ति त्यागेर मानवतामा आधारित राजनीति गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल आदिवासी जनजाति महासंघको ११ औँ राष्ट्रिय महाधिवेशनलाई बिहीवार काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा गणतन्त्र स्थापना भएसँगै सबै जाती र समूदायले समान अधिकार प्राप्त गरेको जिकिर गर्नुभयो । गणतन्त्र स्थापनापछि जनजाति, मधेशी, मुस्लिम, महिला तथा खस आर्य लगायत सबै समुदायले अधिकार प्राप्त गरेको उल्लेख गर्दै उहाँले अब अधिकारको मागभन्दा कर्तव्यको प्रभावकारी व्यवस्थापनतर्फ ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले समावेशिता र समानुपातिक प्रतिनिधित्व संविधानले सुनिश्चित गरिसकेको भन्दै पहिचानको राजनीति संस्कृति, परम्परा र अस्तित्व जोगाउनका लागि आवश्यक भए पनि विभाजनकारी ढंगले प्रयोग गर्न नहुने धारणा राख्नुभयो । उहाँले सशस्त्र द्वन्द्वकालीन सन्दर्भ उल्लेख गर्दै त्यस समयमा जातीय पहिचानभन्दा माथि उठेर सेना, प्रहरी र सर्वसाधारण नागरिकको ज्यान गएको स्मरण गराउनु भयो ।
२८. पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस
सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै व्रह्माजीले कालगणना शुरु गर्नुभएको स्मरणमा बिहीवार ज्योतिष दिवस मनाइएको छ । चैत्र शुक्ल प्रतिपदाका दिन काल अर्थात समय गणना शुरु भएको विषय व्रह्मपुराणमा उल्लेख भएअनुसार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिलगायत ज्योतिषसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाले एक कार्यक्रमका बीच दिवस मनाएका हुन् । ज्योतिष दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ज्योतिष परिषद्का अध्यक्ष केशवप्रसाद धितालले पञ्चाङ्ग निर्माण भएपनि त्यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनु भयो । उहाँले पञ्चाङ्ग प्रकाशन मात्र नभई त्यसको व्यवहारिक प्रयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै यसका लागि परिषद्ले देशव्यापी पहल गरिरहेको दाबी पनि गर्नुभयो । अध्यक्ष धितालले पञ्चाङ्गसम्बन्धी देखिएका विवादले कार्यान्वयनमा समस्या सिर्जना गर्ने भएकाले यस्ता विषय समाधानतर्फ विद्वत वर्गको ध्यान जानुपर्नेमा उहाँको जोड छ ।
२९. पर्यटकहरूको सुरक्षा व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन बोर्डद्वारा पर्यटक प्रहरीलाई मोटरसाइकल हस्तान्तरण
पर्यटकहरूको सुरक्षा व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ । बिहीवार बोर्डमा एक कार्यक्रमका बीच बोर्डले पर्यटक प्रहरीलाई १४ थान मोटरसाइकल हस्तान्तरण गरेको हो । बोर्डका वरिष्ठ प्रवन्धक सूर्य थपलीयाले पर्यटक प्रहरीको पहुँच र प्रतिक्रिया क्षमतालाई थप प्रभावकारी बनाउने उद्देश्यले वार्षिक बजेटमार्फत मोटरसाइकल हस्तान्तरण गरिएको जानकारी दिनुभयो । मोटरसाइकलहरूमार्फत पर्यटक प्रहरीलाई दुर्गम र व्यस्त पर्यटकीय क्षेत्रहरूमा छिटो सेवा प्रवाह गर्न मद्दत पु¥याउने बोर्डको विश्वास रहेको पनि उहाँको भनाइ छ । उहाँले भन्नुभयो,‘पर्यटन प्रहरीको मोबिलिटीको लागि र विभिन्न किसिमका गतिविधिहरु सञ्चालन गर्न तथा पर्यटनको सहयोगको लागि पर्यटक प्रहरीलाई सहज होस् भन्ने हेतुले हामीले यस वर्षको बजेटमार्फत मोटरसाइकल सहयोग गरेका हौँ । यसले पर्यटकको सुरक्षाका लागि सरोकारवाला निकाय कति प्रतिवद्ध छन् भन्ने कुरा पनि देखिएको छ । पर्यटक प्रहरी युनिट केन्द्रिय कार्यालयलाई १४ वटा मोटरसाइलक हस्तान्तरण गरिएको छ ।’
३०. मनसुन शुरु हुनुअघि नै कुमारी घरको छानो जिर्णोद्धार गरिसक्न निर्माण पक्षलाई कार्यवाहक प्रमुख डंगोलको निर्देशन
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मनसुन शुरु हुनुअघि कुमारी वहाल (कुमारी घर)को छानो जिर्णोद्धार गरिसक्न निर्देशन दिनुभएको छ । बिहीवार वसन्तपुरस्थित कुमारी घरको छानो जीर्णोद्धार कार्यको अनुगमन गर्र्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले कुमारी घरसँग सम्बन्धित धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षमा असर नहुने गरी समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिएको बताउनु भयो । उहाँले कुमारी वहाल काठमाडौंको अनुहार समेत भएको उल्लेख गर्र्दै यसको छानो चुहिएको सूचना पाएपछि चासो राखेर महानगरपालिका जीर्णोद्धारका लागि आएको बताउनु भयो । गत बर्खायामबाट कुमारी घरको छानो चुहिने भएपछि जीर्णोद्धारको प्राविधिक पक्ष अध्ययन गर्न साउन २ गते समिति गठन भएको थियो । कार्यवाहक प्रमुख डंगोलले जीर्णोद्धार कार्य सम्पन्न भइसकेपछि थप सामाजिक तथा धार्मिक कार्य अगाडि बढाइने जानकारी समेत बताउनु भयो ।
३१. स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि प्लान्ट निर्माण गर्न प्रसूति गृह र काठमाडौं महानगरबीच एमओयु
काठमाडौं महानगरपालिका र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबीच स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि प्लान्ट निर्माण गर्न अनुदानसम्बन्धी सम्झौता भएको छ । बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा महानगर र अस्पतालबीच उक्त समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरिएको हो । सम्झौताअनुसार प्रसूति तथा स्त्रीरोग अस्पतालले महानगरअन्तर्गतका स्वास्थ्य प्रवद्र्धन केन्द्रहरूबाट निस्कने स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि प्लान्ट निर्माण गर्नेछ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार उक्त प्लान्ट निर्माणका लागि महानगरले दुई करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ । एमओयू कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्य प्रवद्र्धन केन्द्र विस्तारसँगै स्वास्थ्यजन्य फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको कारण सम्झौता गरिएको बताउनु भयो ।
३२. ५ वर्षमा ५० लाख पर्यटक भित्र्याउने गुरुयोजना बनाउन सुझाव
होटल एशोसिएशन नेपाल (हान) का अध्यक्ष विनायक शाहले मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रलाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिनुभएको छ । पर्यटन क्षेत्रले देशको आर्थिक गतिविधिमा ठूलो योगदान दिन सक्ने भएपनि अहिले स्पष्ट मार्गचित्र नभएको उहाँँले बताउनु भयो । अध्यक्ष शाहले आगामी ५ वर्षका लागि बन्न लागेको सरकारले एउटा ठोस योजना ल्याउनुपर्ने र सोही आधारमा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताउनु भयो । शाहले आगामी ५ वर्षभित्र ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहितको योजना बनाउन सरकारलाई सुझाव दिनुभएको छ । उक्त लक्ष्य प्राप्तिका लागि आवश्यक नीति, ऐन र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।
अध्यक्ष शाहले भन्नुभयो–‘खासगरी पर्यटन क्षेत्रले यो देशको आर्थिक समृद्धिमा धेरै कुरा दिनसक्छ । यसका लागि एउटा प्रष्ट मार्गचित्र खाँचो छ ।
३३. २७ औँ फ्लोरा एक्स्पो शुरु, स्मार्ट पुष्प व्यवसायका लागि सहयोग गर्ने कृषिमन्त्रीको प्रतिवद्धता
२७ औँ फ्लोरा एक्सपो शुरु भएको छ । बिहीवारदेखि काठमाडौंको भृकुटीमण्डपमा फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा ‘२७ औँ फ्लोरा एक्स्पो २०८२’ शुरु भएको हो । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ शुरु भएको मेलाको उद्घाटन वागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलले गर्नुभयो । मन्त्री पौडेलले पुष्पव्यवसाय प्रवद्र्धनका लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनु भयो । उहाँले स्मार्ट पुष्प व्यवसायका लागि प्रदेश सरकारले चालु वर्षको बजेटमा रकम छुट्टाएको बताउँदै त्यो वितरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँकाअनुसार कार्यविधि अर्थमन्त्रालयमा पुगिसकेको छ ।
३४. पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने
पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०८२ काठमाडौंमा हुने भएको छ । उद्यमशीलता प्रवद्र्धन गर्दै युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने उद्देश्यका साथ चैत ८ र ९ मा उक्त सम्मेलन हुन लागेको हो । सम्मेलनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्वलम्वन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले देशभरका लघुवित्त सदस्यदेखि विज्ञहरुको सम्मेलनमा सहभागिता रहने जानकारी दिनुभयो । उहाँकाअनुसार सम्मेलनले लघुवित्त सदस्यमा समृद्धि ल्याउनेबारे छलफल हुनेछ । श्रेष्ठले मुलुकमा लघुवित्तमार्फत गरिबीलाई शुन्यमा लैजानेबारे समेत सम्मेलनमा छलफल हुने जानकारी दिनुभयो । बेरोजगारीलाई शुन्यमा झर्दै लघुवित्तमार्फत नै मुलुकलाई समृद्धिको बाटोमा लैजान सकिनेमा उहाँको जोड थियो । —न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij