२०८२ चैत्र ४ गते बुधवार
१. हल्काफुल्का अभिव्यक्ति नदिन र सरकारी अस्पतालमा उपचार गराउन रास्वपा सांसदहरूलाई सभापति लामिछानेको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिनुभएको छ । सांसदहरू अब हिजोको जस्तो सामान्य अभियन्ता वा पेशाकर्मी मात्र नरहेको भन्दै उहाँले पदीय गरिमा कायम राख्न आग्रह गर्नुभएको हो । मिडियामा आउन र भाइरल हुन रमाइलो लाग्ने भए पनि त्यसले पार्ने गम्भीर असरबारे सांसदहरूको ध्यानाकर्षण गराउनु भयो । कुनैपनि सार्वजनिक अभिव्यक्ति दिनुअघि पार्टी पंक्तिसँग सरसल्लाह गर्न उहाँले निर्देशन दिनुभयो । सभापति लामिछानेले आफ्ना सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन आग्रह गर्नुभयो । जनताले पाउने दुःख र सास्तीको महशुस सांसदहरूले पनि गर्नुपर्ने उहाँको भनाइ छ ।
२. व्यावसायिक कृषिका लागि भूमि ऐन संशोधन गरिँदै, खानी र उद्योगमा वातावरणीय स्वीकृति खुकुलो
सरकारले ठूला लगानी भित्र्याउन र निजी क्षेत्रलाई प्रोत्साहित गर्न विद्यमान कानूनी बन्देजहरू फुकाउने तयारी गरेको छ । बुधवार नागरिक लगानी कोषको ३६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री रामेश्वर खनालले व्यावसायिक कृषि र खानी उत्खननमा रहेको प्रचुर सम्भावनालाई मूर्तरूप दिन भूमि ऐन लगायतका कानुनमा संशोधन गर्न लागिएको जानकारी दिनुभएको हो । हालको कानूनी व्यवस्थाअनुसार पहाडमा ७०–७२ रोपनी र तराईमा ५ बिघाभन्दा बढी जग्गा राख्न नपाइने हदबन्दीका कारण ठूलो स्तरमा व्यावसायिक कृषि (कमर्सियल फार्मिङ) गर्न सम्भव नभएको भन्दै उहाँले यसलाई संशोधन गर्न लागिएको बताउनु भयो । यसैगरी, माइनिङ (खानी) क्षेत्रमा पनि ठूलो सम्भावना रहेको तर वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए), रूख कटानीको स्वीकृति र वनको क्लियरेन्स जस्ता झन्झटिला प्रक्रियाले लगानीकर्ता निरुत्साहित भएको उहाँले स्वीकार गर्नुभयो । यसलाई मध्यनजर गर्दै वर्तमान सरकारले नियमावलीमै संशोधन गरेर वातावरणीय स्वीकृति प्रक्रियालाई सरलीकरण गरिसकेको र यसले निजी क्षेत्रमा हौसला बढाएको उहाँले दाबी गर्नुभयो ।
३. रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदहरूलाई अनुशासनमा रहन सभापति लामिछानेको चेतावनी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना नवनिर्वाचित सांसदहरूलाई पार्टी अनुशासनमा रहन चेतावनी दिनुभएको छ । नवनिर्वाचित सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीले विधानमा व्यवस्था गरेको ‘राइट टु रिकल’ यसपटक कडाइका साथ लागू गर्ने घोषणा गर्नुभएको हो । सांसदहरूलाई जिम्मेवारीवोध गराउने उद्देश्यले आयोजित ‘क्लोज क्याम्प’ जस्तो कार्यक्रममा बोल्दै लामिछानेले सरकारको गणितीय अवस्था जस्तोसुकै भएपनि अनुशासनहीनता सह्य नहुने स्पष्ट पार्नुभयो । रास्वपाभित्र सिंगो देशको अनुहार रहेको र विभिन्न पृष्ठभूमि (व्यापार, विद्यार्थी, युवा, महिला, सीमान्तकृत वर्ग, सामाजिक अभियन्ता, कलाकार, पूर्व प्रशासक आदि) बाट आएका व्यक्तिहरू रहेको भन्दै उहाँले यो विशाल परिवारलाई एउटै ट्रयाकमा लैजान अनुशासनको अत्यन्त ठूलो खाँचो रहेको औंल्याउनु भयो ।
४. महिला राष्ट्रिय लिगमा आर्मी र संकटाको रबाफिलो जित
चार विदेशी खेलाडीको साथमा संकटा र विभागीय टोली त्रिभूवन आर्मी क्लवले एन्फा शहीद स्मारक महिला लिगमा सुखद् शुरुवात गरेको छ । ललितपुरस्थित च्यासल स्टेडियममा बुधवारदेखि भएको महिला लिगमा संकटा र आर्मीले फराकिलो जित निकाल्दै प्रतियोगितामा सुखद् शुरुवात गरेका हुन् । पहिलो खेलमा संकटाले छिमेकी क्लव न्युरोड टिम (एनआरटी) माथि ४–० को रबाफिलो जित आत्मसात ग¥यो । संकटाको जितमा चारमध्ये तीन गोल विदेशी खेलाडीले गरे । म्यानमारकी विन थेइङ्गी तुन, मोजाम्बिककी लुसिया जोस र घानाकी क्विनाबेल अकुसुआले गोल गरे । एक गोल सुक्रिया मियाले गरेकी हुन् । विदेशी खेलाडी चम्किएपछि संकटा पूर्ण हाबी भयो । अर्को खेलमा विभागीय टोली आर्मीले झापा एफसीमाथि ५–० को एकपक्षीय जित निकाल्यो ।
५. मन्त्री बन्न ‘मिडिया ट्रायल’ र लबिङ नगर्न सांसदहरूलाई रवि लामिछानेको चेतावनी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्री बन्नका लागि कुनैपनि प्रकारको लबिङ वा ‘मिडिया ट्रायल’ नगर्न आफ्ना सांसदहरूलाई निर्देशन दिनुभएको छ । सांसदहरूको अभिमुखीकरण कार्यक्रमको समापन गर्दै उहाँले सरकारमा जाने विषयलाई लिएर बाहिर जथाभावी नबोल्न सचेत गराउनुभएको हो । रास्वपाले अभूतपूर्व जनमत पाएको र सरकारमा जाने सम्भावना रहेको सन्दर्भमा सांसदहरूबीच मन्त्री बन्ने आकांक्षा बढ्नु स्वाभाविक भएपनि त्यसलाई मिडियाबाजीको विषय नबनाउन उहाँले आग्रह गर्नुभयो । पार्टीले कसलाई सरकारमा पठाउने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय गरी नसकेको उहाँले जानकारी दिनुभाये । मन्त्री छनोटको मापदण्ड व्यक्तिको क्षमता र विज्ञता हुने भन्दै उनले कसैले पनि आफ्नो लागि भनसुन गर्नु नपर्ने बताउनु भयो । मिडियामा धेरै देखिने र नदेखिने दुवैथरी सांसदहरूको मूल्यांकन पार्टीले गरिरहेको उहाँले बताउनु भयो ।
६. मधेस प्रदेशमा ई–रिक्सा र ट्याक्टर चालकलाई ठूलो राहतः लिखित परीक्षा बिना नै लाइसेन्स दिइने
मधेस प्रदेश सरकारले ई–रिक्सा, अटो र ट्याक्टर चलाएर जीविकोपार्जन गर्ने विपन्न तथा निरक्षर नागरिकलाई लिखित परीक्षा नलिई सिधै प्रयोगात्मक (ट्रायल) परीक्षामार्फत लाइसेन्स दिने भएको छ । सय दिने उपलब्धी सार्वजनिक गर्दै मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण यादवले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रियामा महत्वपूर्ण सहजीकरण गर्ने बताउनुभएको हो । मुख्यमन्त्री यादवले प्रदेशमा ठूलो सङ्ख्यामा रहेका यस्ता चालकहरूको बाध्यतालाई बुझेर लिखित परीक्षा नलिई सिधै प्रयोगात्मक (ट्रायल) परीक्षामार्फत लाइसेन्स दिने कानूनी आधार तयार पारिएको घोषणा गर्नुभयो । मुख्यमन्त्रीले मोटरसाइकल जस्ता सवारी साधनहरू सौख र व्यक्तिगत प्रयोजनका लागि बढी प्रयोग हुने भएपनि ई–रिक्सा र ट्याक्टर पूर्णरूपमा गरिबको पेट पाल्ने माध्यम भएकाले यसलाई पहिलो प्राथमिकतामा राखिएको प्रस्ट पार्नुभयो । यस निर्णयले मधेस प्रदेशका हजारौँ विपन्न मजदुरहरूलाई कानूनी रूपमै सवारी चलाएर आफ्नो जीविकोपार्जन गर्न बाटो खुला गर्ने उहाँको विश्वास छ ।
७. प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको पूजा आराधना
प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गर्नुभएको छ । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गर्नुभएको हो । मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उहाँले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना पनि गर्नुभयो । मुलुकभर सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी उहाँले पुकार पनि गर्नुभयो । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत पनि सरिक हुनुहुन्थ्यो ।
८. पाटनको एकल घोडेजात्राः ‘जहाँ एक दिनका लागि सामान्य नागरिक ‘राजा’ बन्छन्’
काठमाडौं उपत्यकामा घोडेजात्राको रौनक छाउँदा ललितपुर (पाटन) मा भने एउटा बेग्लै र अद्वितीय परम्पराले निरन्तरता पाउँछ– ‘एकल घोडेजात्रा’ । काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले भव्य रूपमा घोडेजात्रा मनाइरहँदा पाटनको गल्ली र चोकहरूमा भने मल्लकालीन इतिहास बोकेको एउटा मात्र घोडा दौडाएर यो जात्रा मनाइन्छ । पाटनको यो विशिष्ट जात्रा परम्परागत रूपमा ‘मुर्दा गुठी’ (जसलाई भीमसेन गुठी च्यो–खलः पनि भनिन्छ) ले सञ्चालन गर्दै आइरहेको छ । गुठीका सदस्य सन्तमान महर्जनकाअनुसार यो जात्रा केवल घोडा दौडाउने पर्व मात्र होइन, यो त एउटा सामान्य नागरिकलाई एक दिनका लागि ‘राजा’ को सम्मान दिने दुर्लभ सांस्कृतिक परम्परा हो ।
९.नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ, नीतिगत संरक्षण हामी गर्छौंः रास्वपा सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालको निजी क्षेत्र, गैरआवासीय नेपाली (डायस्पोरा) र अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ । नयाँ दल र नयाँ अनुहारहरू सत्ता र शक्तिमा आउँदा अर्थतन्त्र र लगानीको वातावरणमा कुनै नकारात्मक असर नपर्ने भन्दै उहाँले सबैलाई आश्वस्त पार्नुभएको हो । मुलुकको आर्थिक समृद्धिलाई आफ्नो पार्टीले प्रमुख एजेण्डा बनाएको बताउँदै लामिछानेले निजी क्षेत्रलाई कतै पनि विचलित नहुन आग्रह गर्नुभयो । देश निर्माणको महान अभियानमा विदेशमा रहेका नेपालीहरूको पुँजी र सीप आवश्यक रहेको भन्दै उहाँले डायस्पोरालाई नेपालमै आएर काम गर्न अपिल गर्नुभयो । यसैगरी, अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई लक्षित गर्दै उहाँले नेपाल लगानीका लागि सुरक्षित गन्तव्य भएको बताउनु भयो ।
१०. निर्वाचन सफल पारेकोमा प्रधानमन्त्री कार्कीद्वारा नेकपालाई धन्यवाद
प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन सफल पार्न महत्वपूर्ण भुमिका खेलेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री कार्कीको निमन्त्रणामा नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायतको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेको हो । भेटका क्रममा निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । छलफलका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनमा भाग लिएर शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट मुलुकलाई निकास दिन सहयोगी भुमिका खेलेकोमा नेकपाका नेताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
११. गुटबन्दी र शक्तिको दौडधुप बन्द गर्न सांसदलाई निर्देशन दिँदै लामिछानेले भनेः ‘हामी कानून बनाउन आएका हौं, मन्त्री बन्न होइन’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई पुरानो राजनीतिक संस्कार त्याग्न र गुटबन्दीमा नलाग्न निर्देशन दिनुभएको छ । सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै लामिछानेले सांसदहरूको मुख्य काम कानुन निर्माण गर्नु रहेको भन्दै स्वार्थ समूहको पछि नलाग्न सचेत गराउनुभएको हो । पुराना राजनीतिक दलहरूले जस्तै आफूलाई केन्द्रमा राखेर राजनीति गरे रास्वपाको हविगत पनि उनीहरूको भन्दा नराम्रो हुने चेतावनी उहाँले दिनुभयो । देशलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बेला आएको भन्दै उहाँले मन्त्री वा प्रधानमन्त्री बन्ने व्यक्तिगत सपनाको भारी यो समाजले नबोक्ने स्पष्ट पार्नुभयो । देशमा विचौलियाहरूको बिगबिगी रहेकोतर्फ सचेत गराउँदै उनले कुनै पनि विचौलियासँग साँठगाँठ गर्नु वा चिया खानुअघि आफ्नो छोरा गुमाएर संसदमा पुगेकी ‘शहीदकी आमा’लाई सम्झन सांसदहरूलाई आग्रह गर्नुभयो ।
१२. कर्मचारी बढुवामा ‘बन्द प्रतिष्पर्धा’ स्वीकार्य छैनः अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वर खनालले कर्मचारीहरूको बढुवा र छनोट पद्धतिमा ‘बन्द प्रतिष्पर्धा’ (क्लोज्ड कम्पिटिसन) लागू गर्न नसकिने स्पष्ट पार्नुभएको छ । नागरिक लगानी कोषको ३६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कर्मचारीको कार्यक्षमता र दक्षता वृद्धिका लागि आवश्यक मोटिभेसन र कम्पन्सेसन प्याकेज हुनुपर्ने कुरा जायज भएपनि बन्द प्रतिस्पर्धालाई पक्षपोषण गर्न नसकिने बताउनु भयो । अवकाश कोषमा लाग्ने करको दरमा समानता हुनुपर्ने माग जायज भएपनि वर्तमान अन्तरिम सरकारले त्यसमा निर्णय गर्न नसक्ने स्पष्ट पार्नुभयो । आफू कामचलाउ र अन्तरिम सरकारको मन्त्री भएकाले आयकर ऐन संशोधन गर्ने अधिकार नभएको भन्दै उहाँले यो विषय आगामी अर्थमन्त्रीलाई स्मरण गराएर जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
१३. ‘सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान’ निर्वाचन आयुक्त जबरालाई
“सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान” बाट निर्वाचन आयुक्त सगुनप्रसाद ज.ब.रा. सम्माानित हुनुभएको छ । भुतपूर्व सैनिकहरूको योगदानको कदर गर्दै नेपाली सेनाले हरेक वर्ष पूर्वसैनिकहरु मध्येबाट एक जनालाई सर्वोत्कृष्ट सैनिक सम्मान प्रदान गर्दे आएको छ । उहाँलाई घोडेजात्राको अवसरमा बुधवार आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले सम्मान गर्नुभएको हो । जबराले ३० वर्ष नेपाली सेनामा योगदान गर्नुभएका जबरा महासेनानी दर्जाबाट अवकास हुनुभएको थियो । जबराले आफ्नो सेवाकालमा तथा निवृत्तिपछि पनि राष्ट्रप्रति समर्पित रहँदै समाजमा महत्वपूर्ण योगदान पु¥याएको, अनुशासन, नेतृत्व तथा सेवाभावमा उदाहरणीय भुमिका निर्वाह गरेको आधारमा सम्मानित गरिएको सेनाले जनाएको छ । यस्तो सम्मानमार्फत भूतपूर्व सैनिकहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्य लिएको सेनाको सचिवालयले जनाएको छ ।
१४. ‘टुँडिखेलको फाँटमा टापको गर्जन–संस्कृतिको रङ्ग’ (फोटो फिचर)
ऐतिहासिक टुँडिखेल आज एउटा विशाल रङ्गमञ्चमा परिणत भयो । काठमाडौंको आकाशमा वसन्तको सुवास फैलिरहँदा र नयाँ सिर्जनाका पालुवाहरू पलाउँदै गर्दा, नेपाली सेना र सर्वसाधारणले वर्षौँदेखि जोगाएर राखेको ‘घोडेजात्रा’ को गौरवमय परम्परा आज फेरि एकपटक जीवन्त भयो । नेपाली संस्कृतिमा घोडेजात्राको आफ्नै विशिष्ट गरिमा छ । किंवदन्तीअनुसार प्राचीन कालमा काठमाडौंको टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसले बालबालिकालाई दुःख दिने गथ्र्यो । सोही राक्षसलाई मारिसकेपछि उसको आत्मा फेरि नब्युँतियोस् र उसलाई घोडाका टापहरूले कुल्चिएर राखियोस् भन्ने विश्वासका साथ घोडा कुदाउने परम्परा शुरु भएको मानिन्छ । आजको यो जात्रा केवल एउटा प्रदर्शनी मात्र नभई, नकारात्मक शक्तिमाथि सकारात्मकताको विजय र काठमाडौं उपत्यकाको सुरक्षाको प्रतीक पनि हो ।
१५. अमेरिका इरानसँगको द्वन्द्व अन्त्य गर्न तयार छैनः ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार वासिङ्टन इरानसँगको द्वन्द्व अन्त्य गर्न तयार नभएको बताउनुभएको छ । जुन द्वन्द्व अहिले तेस्रो सातामा प्रवेश गरेको छ । उहाँले आफूहरु अहिल्यै छोड्न तयार नरहेको तर निकट भविष्यमा युद्ध अन्त्य हुने बताउनु भयो । इरानसँगको द्वन्द्वपछिको अवस्था (डे–आफ्टर) को लागि ह्वाइट हाउससँग कुनै योजना छ कि छैन भनेर सोधिएको प्रश्नमा ट्रम्पले कुनै विस्तृत विवरण दिनुभएन । उहाँले फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि ठूलो मात्रामा आक्रमण शुरु गरेदेखि इरान हरेक दृष्टिकोणबाट तहसनहस भएको आफ्नो दाबी दोहो¥याउनु भयो । इरानलाई पुनर्निर्माण गर्न एक दशक लाग्ने उहाँले बताउनु भयो । ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै यदि इरानमा अमेरिकी स्थल सेना पठाएको खण्डमा अमेरिकाको लागि अर्को भियतनाम युद्ध जस्तो बन्नसक्ने कुरामा आफूलाई कुनै डर नभएको बताउनु भयो ।
१६. अस्ट्रेलियाको केन्द्रिय बैंकद्वारा लगातार दोस्रो पटक ब्याजदरमा वृद्धि
अस्ट्रेलियाको केन्द्रिय बैंकले मङ्गलवार आफ्नो मुख्य ब्याजदरमा लगातार दोस्रो महिना ०.२५ प्रतिशत बिन्दुले वृद्धि गरेको छ । रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) ले मङ्गलवार सम्पन्न मौद्रिक नीति सञ्चालक समितिको बैठकले क्यास रेट (नगद दर) को लक्ष्य ३.८५ प्रतिशतबाट बढाएर ४.१० प्रतिशत पु¥याउने निर्णय गरेको जनाएको छ । यो वृद्धि गत फेब्रुअरीको सुरुमा गरिएको ०.२५ प्रतिशत विन्दुको वृद्धिकै निरन्तरता हो । जुन २०२३ पछि केन्द्रिय बैंकले लगातार दुई महिना ब्याजदर वृद्धि गरेको यो पहिलो पटक हो । डिसेम्बर र जनवरी महिनामा मुद्रास्फीति (महँगी) मा देखिएको उच्च वृद्धि र मध्यपूर्वमा जारी युद्धको सम्भावित आर्थिक प्रभावका कारण अर्थशास्त्री तथा बैंकहरूले मङ्गलबारको बैठकबाट ब्याजदर बढ्ने व्यापक प्रक्षेपण गरेका थिए । यस निर्णयप्रति टिप्पणी गर्दै कोषाध्यक्ष जिम चल्मर्सले एक विज्ञप्तिमार्फत ब्याजदरमा भएको यो वृद्धि धितो कर्जा (मोर्गेज) भएका लाखौँ अस्ट्रेलियालीहरूका लागि वास्तवमै कठिन समाचार भएको बताउनुभएको छ ।
१७. आर्थिक कठिनाइको बीचमा सानाका कमजोर वर्गका लागि निःशुल्क भोजन जीवनरेखा बन्दै
हरेक बिहान यमनको सानाका बासिन्दा अब्दुल कादिर खालिद आफ्नो पाँच जनाको परिवारको लागि निःशुल्क भोजन संकलन गर्न एक सामान्य परोपकारी भान्सामा सबेरै पुग्छन् । उनी प्लास्टिकका भाँडाहरू र पुराना झोलाहरू समातेर दिनको राशनको लागि धैर्यपूर्वक लाइनमा बस्छन् । खालिद र सयौं स्थानीय बासिन्दाहरूका लागि, यस भान्साका निर्देशक अबु बदर अल–यमानीले स्थानीय स्वयंसेवकहरूको सहयोग र सामुदायिक दानबाट सञ्चालन गरेको यो निःशुल्क भोजन उनीहरूले हरेक दिन सबैभन्दा बढी प्रतीक्षा गर्ने कुराहरूमध्ये एक हो । अल–यमानीका अनुसार भान्साले गरिब, बिरामी, बेरोजगार र न्यून आय भएका परिवारहरूसहित ५ सय भन्दा बढी परिवारहरूको आवश्यकता पूरा गर्न हरेक दिन ठूला भाँडाहरूमा खाना तयार गर्दछ । सिमित स्रोतसाधनका बाबजुद पनि स्वयंसेवकहरूले खाद्य वितरण कार्यक्रमप्रति प्रतिवद्ध रहेको बताएका छन् । उनीहरू व्यापक मानवीय चुनौतीहरू कायम रहँदा पनि कमजोर परिवारहरूको बोझ कम गर्न दृढ छन् । स्वयंसेवकहरूमध्ये एक अबु जैदले खाँचोमा परेकाहरूलाई मद्दत गर्न पाउँदा आफ्नो खुशी व्यक्त गरे ।
१८. इरान युद्धको विरोध गर्दै अमेरिकी राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टद्वारा राजीनामा
अमेरिकी राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले मंगलवार सामाजिक सञ्जालमार्फत आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेको घोषणा गर्नुभएको छ । उहाँले इरानमा चलिरहेको युद्धलाई आफ्नो अन्तस्करणले समर्थन गर्न नसक्ने बताउनु भयो इरानले अमेरिकालाई कुनै आसन्न खतरा खडा नगरेको र अमेरिकाले इजरायल र यसको शक्तिशाली अमेरिकी लबीको दबाबका कारण यो युद्ध शुरु गरेको बताउनु भयो । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखेको पत्रमा केन्टले यस प्रशासनको शुरुमै, उच्च पदस्थ इजरायली अधिकारीहरू र अमेरिकी मिडियाका प्रभावशाली सदस्यहरूले एउटा भ्रामक अभियान चलाएको बताउनु भयो । फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा आक्रमण शुरु गरेदेखि कम्तिमा १३ अमेरिकी सैनिक मारिएका छन् । वाल स्ट्रिट जर्नलको शुक्रवारको रिपोर्टअनुसार अन्य १० जना गम्भीर घाइते भएका छन् भने करिव २ सय जना सामान्य घाइते भएका छन् । एक शिर्ष अमेरिकी आतंकवाद विरोधी अधिकारीको राजीनामाले इरान युद्धलाई लिएर ट्रम्प प्रशासनमाथि बढ्दो दबाबलाई संकेत गर्दछ ।
१९. घानामा ‘माइक्रोलाइट’ विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु
घानाको पूर्वी बन्दरगाह शहर टेमामा एक माइक्रोलाइट विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घाना राष्ट्रिय अग्नि निवारण सेवा, टेमा क्षेत्रका प्रवक्ता एबेनेजर येन्जुले उक्त घटनाको पुष्टि गर्नुभएको हो । येन्जुका अनुसार बन्दरगाह सहरको ‘कम्युनिटी १’ स्थित ‘टेमा मेट्रोपोलिटन एसेम्बली नर्सरी ३’ विद्यालयको प्राङ्गणमा विमान दुर्घटनाग्रस्त भएको थियो । प्रवक्ताले केही प्रत्यक्षदर्शीहरूको सहयोगमा अग्नि निवारण टोलीले करिब पाँच मिनेटभित्रै आगो निभाउन सफल भएको जानकारी दिनुभयो । विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रवक्ताले बताउनुभएको छ ।
२०. पाकिस्तानको हवाई आक्रमणमा काबुलको अस्पतालमा ४ सय जनाको मृत्युः अफगान अधिकारी
पाकिस्तानको वायुसेनाले अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा लागुऔषध दुव्र्यसनी उपचार अस्पताललाई लक्षित गरी हवाई आक्रमण गरेको छ । जसमा कम्तीमा ४ सय जनाको मृत्यु भएको र करिव २ सय ५० जना घाइते भएको एक अफगान अधिकारीले बताउनु भयो । अफगान सरकारका उपप्रवक्ता हमदुल्लाह फितरतले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको एक विज्ञप्तिमा सोमवार स्थानीय समयअनुसार राति करिव ९ बजे भएको हवाई आक्रमणले काबुलको ओमिद एडिक्सन ट्रिटमेन्ट अस्पतालमा प्रहार गरेको बताउनु भयो । लागुऔषध दुव्र्यसनी बिरामीहरूको उपचारका लागि समर्पित २ हजार शैय्याको यो अस्पताल आक्रमणमा ठूलो मात्रामा ध्वस्त भएको फितरतले बताउनु भयो । हताहत हुनेको संख्या अझै बढ्नसक्ने चेतावनी दिनुभयो । अधिकारीका अनुसार हवाई आक्रमणले अस्पतालमा ठूलो आगलागी भएको थियो । यसैबीच पाकिस्तानले सोमवार अफगान सरकारको दाबीलाई खण्डन गर्दै देशले अफगानिस्तानमा सैन्य प्रतिष्ठान र आतंकवादी समर्थन पूर्वाधारहरूलाई लक्षित गरेको बताएको छ ।
२१. भारतको थोक मुद्रास्फीति फेब्रुअरीमा २.१३ प्रतिशतमा पुग्यो
संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार फेब्रुअरीमा भारतको थोक मूल्य सूचकांक २.१३ प्रतिशतले बढेको छ । मन्त्रालयको विज्ञप्तिअनुसार फेब्रुअरी २०२६ मा मुद्रास्फीतिको सकारात्मक दर मुख्यतया अन्य उत्पादन, आधारभुत धातुहरूको निर्माण, गैर–खाद्य वस्तुहरू, खाद्य वस्तुहरू र कपडाहरू आदिको मूल्यमा भएको वृद्धिको कारणले हो । थोक मूल्य सूचकांक मुद्रास्फीति दर जनवरीमा १.८१ प्रतिशत र डिसेम्बर २०२५ मा ०.९६ प्रतिशत थियो । खाद्य मुद्रास्फीति जनवरीमा १.४१ प्रतिशतको तुलनामा फेब्रुअरीमा १.८५ प्रतिशतमा पुगेको छ । प्राथमिक वस्तु समूहको सूचकांक जनवरीमा १९३.९ बाट ०.५२ प्रतिशतले घटेर फेब्रुअरीमा १९२.९ मा झरेको छ । इन्धन र उर्जा समूहको सूचकांक जनवरीमा १४५.९ बाट १.१७ प्रतिशतले बढेर फेब्रुअरीमा १४७.६ पुगेको छ । उत्पादित वस्तु समूहको सूचकांक जनवरीमा १४७.५ बाट ०.४७ प्रतिशतले बढेर फेब्रुअरीमा १४८.२ पुगेको छ ।
२२. मध्यपूर्व द्वन्द्वका बीच जापानद्वारा तेल भण्डार खुला गर्न शुरु
बढ्दो मध्यपूर्व द्वन्द्वका बीच आपूर्तिको चिन्ता कम गर्न र पेट्रोलियम पदार्थको स्थिर वितरण सुनिश्चित गर्न जापानले आफ्नो भण्डारबाट तेल खुला गर्न शुरु गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । क्योडो न्युजकाअनुसार देशले सुरुमा निजी क्षेत्रले राखेको १५ दिन बराबरको भण्डार खुला गर्दैछ । त्यसपछि सरकारले राखेको एक महिना बराबरको तेल खुला गरिनेछ । जापानी सरकारले तेल प्रशोधनकर्ता र व्यापारिक कम्पनीहरूका लागि अनिवार्य भण्डारण आवश्यकतालाई ७० दिनबाट घटाएर ५५ दिनमा झार्नेछ । जसले उनीहरूलाई आफ्नो मौजुदा भण्डारको केही भाग प्रयोग गर्न सक्षम बनाउनेछ । प्रधानमन्त्री सानाए ताकाइचीले करिव ८ करोड (८० मिलियन) ब्यारेल तेल खुला गर्ने सरकारको योजना घोषणा गर्नुभयो ।क जुन अहिलेसम्मकै सबैभन्दा ठूलो रिलिज हो । यो मात्रा ४५ दिनको घरेलु खपत बराबर हो र सन् २०११ मा उत्तरपूर्वी जापानमा गएको विनाशकारी भूकम्प र सुनामीपछि खुला गरिएको मात्राभन्दा १.८ गुणा बढी भएको क्योडो न्युजले रिपोर्ट गरेको छ । सरकारले राखेको भण्डारबाट थोक विक्रेताहरूलाई तेल बेच्ने तयारी भइरहेको छ ।
२३. सन् २०२६ को शुरुमा हङकङ भित्रिने पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
हङकङ पर्यटन बोर्डले मंगलवार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को पहिलो दुई महिनामा ९९ लाख ५० हजार पर्यटक हङकङ भित्रिएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो । एचकेटीबीकाअनुसार कुल पर्यटक मध्ये ७९ लाख पर्यटक चिनियाँ भूमिबाट आएका थिए । जुन गत वर्षको तुलनामा २२ प्रतिशतको वृद्धि हो । चिनियाँ मुख्य भूमिमा परेको वसन्त चाडको बिदा र हङकङमा आयोजना भएका विभिन्न ठूला कार्यक्रमहरूले यो वृद्धिमा मुख्य भुमिका खेलेका छन् ।
२४. हर्मोज जलसन्धि नजिकै इरानी मिसाइल साइटहरूमा अमेरिकी सेनाको आक्रमण
मेरिकी केन्द्रिय कमाण्डले मंगलवार अमेरिकी सेनाले हर्मोज जलसन्धि नजिकै इरानको तटीय क्षेत्रमा रहेका इरानी मिसाइल साइटहरूमा आक्रमण गरेको बताएको छ । अमेरिकी सेनाले हर्मोज जलसन्धि नजिकै इरानको तटीय क्षेत्रमा रहेका कडा इरानी मिसाइल साइटहरूमा धेरै ५ हजार पाउण्डका गहिरो प्रवेश गर्ने गोलाबारुदहरू प्रयोग गरेको बताएको हो । यी साइटहरूमा रहेका इरानी एन्टी–शिप क्रूज मिसाइलहरूले जलसन्धिमा अन्तर्राष्ट्रिय ढुवानीका लागि जोखिम खडा गरेका थिए । मंगलवार अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूलाई वाशिंगटन इरानमा आफ्नो आक्रमण अन्त्य गर्न तयार नरहेको बताउनुभएको थियो । ट्रम्पले हर्मोज जलसन्धिमार्फत संयुक्त एस्कॉर्ट मिसनको लागि उहाँको माग धेरै नाटो सदस्यहरू र अमेरिकी सहयोगीहरूले अस्वीकार गर्नुभएको बताउनुभएको छ ।
२५. टुँडिखेललाई हरियाली बनाउँदै काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले टुँडिखेललाई व्यवस्थित बनाउने योजना अघि बढाएको छ । महानगरले टुँडिखेलको सैनिक मञ्च दक्षिणपट्टि रहेको मैदानलाई हरियाली बनाउने योजना अगाडी बढाएको हो । महानगरले ६१ हजार २ सय ६३ वर्गमिटर क्षेत्र रहेको सो मैदानलाई समथर बनाएर बरुनाग्रास दुबो रोप्ने तयारी गरेको छ । महानगरको आर्थिक वर्ष २०८२÷०८३ को योजना उक्त क्षेत्रलाई व्यवस्थित खुला मैदानका रूपमा विकास गर्न लागिएको महानगरका वरिष्ठ इञ्जिनियर अर्जुन अर्यालले जानकारी दिनुभयो । महानगरले दुबो रोप्नको लागि आवश्यक काम थालनी गरिसकेको छ । यस परियोजनाको लागत अनुमान ४ करोड २५ लाख रुपैयाँ रहेको छ । महानगरले २०८३ पुस मसान्तसम्म काम सक्नेगरी २ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको इन्जिनियर अर्यालले जानकारी दिनुभयो ।
२६. रमजान अवसरमा २ सय परिवारलाई खाद्यान्न वितरण
मुस्लिम धर्मालम्वीहरुको पर्व रमजान महिनाको अवसरमा एकल महिला तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । नेपाल भारत मिल्लत परिषद् केन्द्र र युएई एडको सहयोगमा बुधवार काठमाडौको मैतीदेवीमा खाद्यान्न वितरण गरिएको हो । मुस्लिमहरुको एक महिने रमजान महिनाको अवसरमा एक महिनालाई नै पुग्नेगरि खाद्यान्न वितरण गरेको मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रतिपरिवार एक बोरा (२५ केजी) चामल, पाँच केजी आँटा, दाल, चना, चिनी, बेसन, चियापत्ति र नुन लगायतका सामग्री उपलब्ध गराइएको छ । उहाँले यसवर्ष रमजानको अवसर पारेर काठमाडौंको मैतीदेवी क्षेत्रमा २ सय र यसअघि बारा जिल्लामा १ सय ५० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको बताउनु भयो ।
२७. चलचित्र ‘मालती मंगले’को टाइटल गीत सार्वजनिक
नेपाली चलचित्र ‘मालती मंगले’को टाइटल गीत सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा एक समारोहका बीच चलचित्र ‘मालती मंगले’को टाइटल गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको हो । अभिनेतृ वर्षा राउत तथा अभिनेता विजय बराललाई फिचर्ड गरिएको यो गीतमा गायक रामकृष्ण ढकाल र गायिका रचना रिमालको स्वर रहेको छ । आनन्द अधिकारीको शब्दमा उज्वल सागरले संगीत भरेका छन् । टाइटल गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री वर्षा राउतले गीतका शब्द र संगीतको प्रशंसा गर्दै यस्तो चलचित्रसँग जोडिन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
२८. काठमाडौमा घोडेजात्रा पर्व मनाइयो
काठमाडौमा घोडेजात्रा पर्व मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा काठमाडौंको टुँडिखेलमा एक विशेष समारोहका बीच जात्रा सम्पन्न भएको हो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायतका उपस्थिति रहेको थियो । समारोहमा नेपाली सेनाका तर्फबाट अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिएको थियो । काठमाडौं उपत्यकामा चैत्र कृष्ण औँशीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व मनाउने गरिन्छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा वास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे ।
२९. रास्वपा सांसदहरुको प्रतिवद्धताः जनआकांक्षा र सुशासनको क्षेत्रमा केन्द्रित भएर काम गर्छौं
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदहरुले जन अपेक्षा र सुशासनको क्षेत्रमा केन्द्रित भएर आफूहरुले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधवार पार्टीका सांसदहरुको अभिमुखिकरण तथा परिचयात्मक कार्यक्रममा सहभागी भएका उनीहरुले जनताको आकांक्षालाई सम्बोधन गर्ने र भ्रष्टाचारमुक्त मुलुक बनाउने कुरालाई आफूहरुले प्राथमिकताका साथ अघि बढाउने योजना अघि सारेका हुन् । सांसद हरि ढकालले सुशासनका लागि मुहान नै सफा गरेर अघि बढने संकल्प आफूहरुले लिएको बताउनु भयो । उहाँले जनताको अपेक्षा पूरा गर्न पनि आफूहरुले धेरै काम गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । सांसद ढकालले भन्नुभयो,‘सबै भन्दा मुख्य कुरा मुहान हो । मुहान सफा भए पछाडि नै तल सङ्लिने हो । सुशासनको मुख्य एजेण्डामा काम गर्नुछ । त्यसका लागि काम गर्न स्पष्ट जनमत पुगेको छ । जनअपेक्षा र सुशासनका लागि मुख्यतया मुहान देखिकै काम हुन्छ । मुहानदेखि नै काम भएपछि तल सङलो भईहाल्छ ।’
३०. वर्तमान संविधानप्रति प्रद्धिवद्ध छौँः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु वर्तमान संविधानप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ । बुधवार पार्टीका सांसदहरुको अभिमुखिकरण कार्यक्रमलाई समापन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सभापति लामिछानेले शासकीय स्वरुपमा भने केही न केही सुधार हुनुपर्छ भन्नेमा आफूहरु रहेको समेत स्पष्ट पार्नुभयो । सभापति लामिछानेले वर्तमान व्यवस्था, वर्तमान परिवर्तन, वर्तमान संविधानप्रति हाम्रो प्रतिवद्धता नडग्मगाएको उल्लेख गर्र्दै त्यसलाई पार्टीका सांसदहरुले डगमगाउन नहुने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले पुराना नेताहरुले मुलुकमा पु¥याउनु भएको योगदानलाई नजरअन्दाज गर्ने काम पनि गर्न नहुने बताउनु भयो ।
३१. स्वास्थ्य असहजताका कारण वरिष्ठ नेता साह अभिमुखिकरण कार्यक्रममा सहभागी हुनेकुरा निश्चित भएनः गणेश पराजुली
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह पार्टीका सांसदहरुको अभिमुखिकरण तथा परिचयात्मक कार्यक्रममा सहभागी नहुने भएका छन् । पार्टीका नेता एवं नवननिर्वाचित सांसद गणेश पराजुलीले स्वास्थ्य अवस्था असहज भएकाले वरिष्ठ नेता साह कार्यक्रममा उपस्थिति हुने टुंगो नलागेको प्रतिक्रिया दिनुभएको हो । बुधवार सो कार्यक्रममा सहभागी हुनु भएका उहाँले सभापति रवि लामिछाने भने केहीबेरपछि अभिमुखिकरण कार्यक्रममा सहभागी हुने बताउनु भयो । सभापति लामिछानको स्वास्थ्यमा सुधार आएकाले कार्यक्रममा सहभागी हुने सुनिश्चित भएको सांसद पराजुलीको भनाई थियो ।
३२. अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिए पनि मुलुकका सामु ठूला चुनौतीहरु छन्ः अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वर खनालले अहिले अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएपछि मुलुकका सामु ठूला चुनौतीहरु रहेको बताउनुभएको छ । नागरिक लगानी कोषको ३६ औं वार्षिकोत्सव समारोहलाई बुधवार सम्बोधन गर्र्दै उहाँले अर्थमन्त्री खनालले मुलुकका समष्टिगत आर्थिक सूचकहरूमा सकारात्मक संकेत देखिए पनि अर्थतन्त्रका सामु अझै ठूला चुनौतीहरू रहेको बताउनुभएको हो । उहाँकाअनुसार बैंकमा रहेको ठूलो परिमाणको निष्क्रिय पुँजी उत्पादनशील क्षेत्रमा लगानी हुन नसक्नु अर्थतन्त्रको प्रमुख समस्या बनेको छ । मध्यपूर्व र खाडी मुलुकमा देखिएको संकटका कारण नेपालको आपूर्ति श्रृंखला अवरुद्ध हुने र आयातित वस्तुको मूल्य बढ्नसक्ने सम्भावना रहेको पनि उहाँले उल्लेख गर्नुभयो । यसले औद्योगिक उत्पादनको लागत बढाएर समग्र अर्थतन्त्रमा असर पार्नसक्ने भन्दै त्यसप्रति सबै पक्ष सचेत हुन आवश्यक रहेको उहाँको भनाइ छ ।
३३. नागरिक लगानी कोषको आम्दानीमा ठूलो गिरावट आउने खतरा छः कार्की
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतबहादुर कार्कीले संस्थाको ठूलो रकम मुद्दती निक्षेपमा थुप्रिएर बस्न थालेको भन्दै त्यसले संस्थाको आम्दानीमा भारी गिरावट आउने खतरा बढेको बताउनुभएको छ ।
नागरिक लगानी कोषको ३६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै कार्कीले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट निक्षेपको माग घटेको र मुद्दती निक्षेपको ब्याजदर पनि निकै कम भएको कारण कोषको ठूलो फण्ड निष्क्रिय रहने अवस्था सिर्जना भएको बताउनु भयो । उहाँकाअनुसार यस्तो अवस्थामा संस्थाको आम्दानीमा ठूलो गिरावट आउने खतरा रहेको र त्यसलाई गम्भीरतापूर्वक व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको छ । कार्कीले लगानी विविधीकरणमा समेत समस्या देखिएको उल्लेख गर्नुभयो । लगानीको वातावरण पर्याप्त नबढेको वा लगानीकर्ताको आत्मविश्वास कमजोर भएको कारण पछिल्लो समय कर्जाको मागमा कमी आएको बताउनु भयो । कर्जाको माग घट्दा कोषले तय गरेको लगानी विविधिकरण गर्ने उद्देश्यमा चुनौती थपिएको उहाँको भनाइ छ ।
३४. बैंकमा पैसा थ्रुपिएको छ, कर्जा प्रवाह गर्न सकेका छैनौँः कोईराला
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोईरालाले अहिले बैंकिङ प्रणालीमा ठूलो परिमाणमा निक्षेप भए पनि कर्जा विस्तारको गति कमजोर रहेको बताउनुभएको छ । नागरिक लगानी कोषको ३६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले हाल बैंकहरूसँग करिब ७७ खर्ब रुपैयाँ निक्षेप रहेको बताउनुभएको हो । अध्यक्ष कोईरालाले सो मध्येबाट बैंकहरुले ५८ खर्ब रुपैयाँ जति कर्जा प्रवाह गरिएको जानकारी दिँदै पछिल्लो समय कर्जा प्रवाहको वृद्धि दर बढ्न नसकेको बताउनु भयो । कोईरालाले कर्जा सुस्तता आउनुको कारण भने खुलाउनु भएन । उहाँले बैंकिङ क्षेत्रमा विभिन्न प्रकारका चुनौतीहरू तमाम रहेको समेत बताउनु भयो । कोईरालाकाअनुसार कर्जा असुलीका लागि जाने क्रममा बैंकका कर्मचारीहरूले विभिन्न धम्की र दबाब सामना गर्नुपरेको छ । बैंकर्स संघले पनि यस विषयमा अझ सक्रिय भएर अघि बढ्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।
३५. मध्यपूर्वमा रहेका नेपाली नागरिकको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना
एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ कार्यसमितिका पदाधिकारीहरुले कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने प्रतिवद्धता जनाएका छन् । १२ औँ महाधिवेशनबाट गठित कार्यसमितिको बुधवाको बैठकमा संघका सम्पूर्ण पदाधिकारीले यस्तो प्रतिवद्धता जनाएको संघका अध्यक्ष डा. हेमराज शर्माले जानकारी दिनुभएको हो । अध्यक्ष शर्माकाअनुसार पदाधिकारीहरुले सामाजिक सञ्जालमार्फत राजनीतिक टिप्पणी, गालीगलौज वा व्यक्तिगत चरित्रहत्या नगर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गरेका छन् । उहाँले युद्ध प्रभावित मध्यपूर्व क्षेत्रमा रहेका नेपाली नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले तत्काल एक करोड रुपैयाँको राहत कोष स्थापना गर्ने र सो रकम तुरुन्तै रिलिज गर्ने निर्णय गरेको पनि बताउनु भयो । उहाँकाअनुसार संघका पदाधिकारी तथा सदस्यहरूबाट न्युनतम एक करोड रुपैयाँ संकलन गर्ने र सो विशेष टास्क फोर्सको योजनाअनुसार र मध्यपूर्वमा रहेका नेपाली नागरिकको सहयोगका लागि खर्च गर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij