Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

आज दिनभरको २० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 540
    Shares

    • images
    आज दिनभरको २० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. पितृ शोकमा रहेका ओलीलाई भेट्न पुगिन् प्रधानमन्त्री कार्की

    अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पितृ शोकमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुभएको छ । पिताको मृत्यु शोकमा रहनुभएका ओलीलाई भेट्न प्रधानमन्त्री कार्की गुण्डु पुग्नुभएको हो । प्रधानमन्त्री कार्कीले परिावरमा समवेदना प्रकट गर्नुयो । साथै ओलीको स्वास्थ्य र परिवारको अवस्थाबारे जिज्ञासा राख्नुभयो । यसअघि पनि विभिन्न राजनीतिक दलका नेताहरूले ओलीको निवास पुगेर शोक व्यक्त गरेका छन् ।

    २. अमेरिकी–इजरायली आक्रमणका बीच इरानीहरूले कुड्स दिवस मनाए

    प्यालेस्टिनीहरूलाई समर्थन र इजरायली कदमहरूको निन्दा व्यक्त गर्ने वार्षिक कार्यक्रम अन्तर्राष्ट्रिय कुड्स दिवस मनाउन इरानभरका मानिसहरू सडकमा उत्रिएका छन् । सन् १९७९ मा इरानद्वारा स्थापित यो कार्यक्रम रमजानको उपवास महिनाको अन्तिम शुक्रवार मनाइन्छ । यस वर्ष यो मार्च १३ मा र इरानमाथि जारी अमेरिका–इजरायली हवाई आक्रमणका बीच परेको छ । राजधानीमा मानिसहरूले इरानको झण्डा फहराउँदै र इरानका दिवंगत सर्वोच्च नेता अली खामेनी र उनका उत्तराधिकारी मोज्ताबा खामेनीका तस्विरहरू बोकेर १० फरक स्थानबाट मध्य तेहरानको प्रसिद्ध एंगलाब स्क्वायरतर्फ मार्च गरे । प्रदर्शनकारीहरूले संयुक्त राज्य अमेरिका र इजरायलले गरेका अपराधहरूको निन्दा गरे । इरानी सशस्त्र बलप्रति आफ्नो समर्थन व्यक्त गरे र नयाँ सर्वोच्च नेताप्रति निष्ठाको प्रतिवद्धता जनाए । 

    ३. इरानले जतिसुकै समय लागे पनि आक्रमणविरुद्ध लड्छः विदेश मन्त्रालयका प्रवक्ता

    इरानको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिका र इजरायली आक्रमणविरुद्ध जतिसुकै समय लागे पनि आफ्नो रक्षा गर्ने बताउनुभएको छ । फेब्रुअरी २८ मा, इजरायल र संयुक्त राज्य अमेरिकाले तेहरान र अन्य धेरै इरानी शहरहरूमा संयुक्त आक्रमण शुरु गरेका थिए । यसको जवाफमा इरानले मध्यपूर्वमा रहेका इजरायल र अमेरिकी आधार शिविर तथा सम्पत्तिहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमणको लहर शुरु गरेको थियो । इरानको आणविक कार्यक्रमलाई सन्दर्भ गर्दै बघाईले अमेरिका र इजरायली पक्षहरूलाई देशको आणविक गतिविधिहरू पूर्ण रूपमा शान्तिपूर्ण छन् भन्ने राम्ररी थाहा रहेको बताउनु भयो । बघाईले इरानले फारसको खाडी क्षेत्रका कुनै पनि राज्यप्रति कुनै दुश्मनी नराख्ने स्पष्ट पार्नुभयो । 

    ४. तेस्रो मिसाइल घटनाका बाबजुद टर्की क्षेत्रीय युद्धमा नतानिने एर्दोगनको भनाइ

    टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले आफ्नो देश इरानमाथि अमेरिका र इजरायलको आक्रमणबाट शुरु भएको युद्धमा नतानिने बताउनुभएको छ । टर्कीको आकाशमा प्रवेश गरेको तेस्रो ब्यालेस्टिक मिसाइललाई निष्क्रिय पारिएपछि उहाँको यो भनाइ आएको हो । इस्तानबुलमा बोल्दै एर्दोगनले टर्कीलाई युद्धमा तान्ने उद्देश्यले गरिएका षड्यन्त्र, जाल र उक्साहटहरूका विरुद्ध टर्कीले ठूलो सावधानी अपनाइरहेको बताउनु भयो । देशलाई यो युद्धको ज्वालाबाट टाढा राख्नु आफ्नो उच्च प्राथमिकता रहेको बताउनु भयो । टर्कीको आकाशमा प्रवेश गरेको तेस्रो ब्यालेस्टिक मिसाइललाई नेटोले निष्क्रिय पारेपछि उहाँको यस्तो टिप्पणी आएको हो । अर्ध–आधिकारिक अनादोल एजेन्सीकाअनुसार दक्षिणी प्रान्त अडानास्थित टर्कीको इन्सिर्लिक एयर बेसमा साइरन सुनिएको थियो । 

    ५. पाकिस्तानद्वारा अफगानिस्तानमा रहेका आतंकवादी शिविर र पूर्वाधारमा हवाई आक्रमण

    पाकिस्तानले अफगानिस्तानमा आतंकवादीहरू विरुद्ध जारी कारबाहीको एक भागको रूपमा तालिवानका अखडा र आतंकवादी शिविरहरूमा हवाई आक्रमण गरेको छ । हवाई आक्रमणमा काबुल, कान्दाहार र पक्तियामा रहेका चारवटा आतंकवादी आश्रयस्थल र अन्य सुविधाहरूलाई लक्षित गरिएको स्रोतले जनाएको छ । लक्ष्य प्राप्त नभएसम्म कारबाही जारी रहने पनि स्रोतले थपेको छ । यो घटनाक्रम यस्तो बेला आएको छ जब पाकिस्तानले फेब्रुअरीको अन्त्यमा शुरु गरिएको ‘अपरेशन गजब लिल हक’ (इन्साफको क्रोध) लाई निरन्तरता दिइरहेको छ । पाकिस्तानका संघीय सूचना तथा प्रशारण मन्त्री अताउल्लाह तरारले अफगानिस्तानमा जारी कारबाहीका क्रममा हालसम्म ६ सय ४१ आतंकवादी मारिएका छन् भने ८ सय ५५ भन्दा बढी घाइते भएका छन् । 

    ६. शहरी पुनरुत्थानमा चीन–इटालीबीच सहकार्य हुने

    सन् २०२६ को इटालियन डिजाइन दिवस हालै चीनको चोङकिङमा आयोजना गरिएको थियो । यस कार्यक्रममा शहरी विकासका विषयमा गहन विचार–विमर्श गर्न चीन र इटालीका विशेषज्ञ तथा विद्वानहरू भेला भएका थिए । सहभागीहरूले शहरी पुनरुत्थानमा चीन र इटालीबीचको सहयोगको सम्भावनाबारे खोजि गरेका छन् । शहरी पुनःउत्थानमा दुई देशबीच सहकार्य गर्नुपर्नेमा उनीहरुको जोड छ । यो सम्बन्धलाई अझ प्रगाढ बनाउन आवश्यक रहेको विज्ञहरुले बताएका छन् । विशेष गरी विश्वविद्यालय र अनुसन्धानको क्षेत्रमा सहकार्य हुने उनीहरुको भनाइ छ । 

    ७. काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद

    नेपाली काँग्रेसले समानुपातिकतर्फको २० जना सांसदको नाम टुंग्याएको छ । आईतवार काँग्रेस पार्टी कार्यलय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सांसदहरुको नाम टुंग्याएको हो । काँग्रेसले समानुपातिकमा प्राप्त गरेको २० सिटमध्ये १५ जना महिलाको अनिवार्य सहभागिता हुनुपर्नेछ । सोहीअनुसार सांसदहरु छानेको काँग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । उहाँले संघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य सुनिश्चित हुनुपर्ने भएकोले २० सिटमध्ये १५ जना महिला अनिवार्य रहेको बताउनु भयो । उहाँले विभिन्न कलष्टर मिलाएर समानुपातिक सांसद छानेको र आईतवार नै निर्वाचन आयोगमा बुझाइने जानकारी दिनुभयो । उहाँकाअनुसार आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्र बाँकी मिलाएर कुल ५ जना महिला चयन गरिएको छ ।

    ८. केन्द्रिय कार्यसम्पादन समिति बैठक शुरु

    नेपाली काँग्रेको केन्द्रिय कार्यसमितिको बैठक शुरु भएको छ । पार्टीको तर्फबाट समानुपातिक सांसदहरु तय गर्ने पार्टी कार्यलय सानेपमा बैठक शुरु भएको हो । बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये पार्टीले प्राप्त गरेको २० जना सांसद छान्ने निर्णय गर्ने जनाइएको छ । काँग्रेसले प्रतिनिधिसभासदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ १८ सिट र समानुपातिक तर्फबाट २० सिट प्राप्त गरेको छ । समानुपातिकको २० सिटमा सांसद छान्नको लागी बैठक बसेको हो । वैठकमा प्रतिनिधि सभा निर्वाचन र केन्द्रिय समितिको बैठक बोलाउने लगायतका बारेमा छलफल हुनेछ ।

    ९.रास्वपाले टुंग्यायो ५७ जना समानुपातिक सांसद, नाम तत्काल सार्वजानिक नगर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिकतर्फको ५७ जना सांसदको नाम टुंग्याएको छ । आईतवार बसेको पार्टीको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुंग्याएको हो । बैठकले ५७ जना सांसदको नाम टुंग्याएर आईतवार नै निर्वाचन आयोगमा नामावली बुझाउने निर्णय गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँकाअनुसार ४८ जना महिला र ९ जना पुरुषलाई समानुपातिकतर्फबाट सांसद बनाइनेछ । जसअन्र्तगत खसआर्यमा १७ जना, जनजाती १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना, थारु ५ जना गरी ५७ जना रहेका छन् । उहाँले पार्टीले निर्वाचन आयोगमा बुझाएका नामवली भने तत्काल सार्वजानिक नगर्ने जानकारी दिनुभयो । निर्वाचन आयोगमा नामावली बुझाएपछि आयोगले रुजु गर्ने र ठीक भएका नामावलीहरु आयोगले नै सार्वजानिक गर्ने उहाँको भनाई छ । पार्टीले सिफारिस गरेका नामहरु राजनितिक र कानुनी प्रक्रियाअनुसार आयोगले स्वीकृत नगरेसम्म त्यसलाई प्रस्तावित मात्र मान्न सकिने भएकोले तत्काल नामावली सार्वजानिक नगरेको उहाँले बताउनु भयो । 

    १०. संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संसदीय दलको नेता छान्न केही समय लाग्ने बताएको छ । आईतवार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता मनिष झाले संसदीय दलको नेता छान्न केही समय लाग्ने जानकारी दिनुभएको हो । उहाँले पार्टी सभापति रवी लामिछाने अस्वस्थ रहेकोले संसदीय दलको नेता छान्ने प्रक्रियामा केही ढिलाई भएको बताउनु भयो । उहाँले संसदीय दलको नेता बालेन्द्र साह नै हुने जानकारी दिनुभयो । पूर्वसहमति र प्रतिवद्धताबाट दायाँबायाँ नहुने उहाँको भनाई छ । उहाँले संसदीय दलको नेता छान्ने प्रक्रियाको लागी केन्द्रिय समितिको बैठक नै बस्नुपर्ने बताउनु भयो । दलको नेता छान्न आन्तरिक र अनौपचारिक रुपमा भने छलफल भईरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले केन्द्रिय समितिको बैठक कुनुपर्छ, आन्तरिक र अनौपचारिक हामीले त्यसमा छलफल गरेका छौँ । 

    ११. सुर्खेतकी इनिसाको हत्यामा संलग्नलाई कारवाहीको माग राखी आईतवार पनि माईतीघरमा प्रदर्शन

    सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामुहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै निरन्तर काठमाडौंको माईतीघरमा प्रदर्शन भईरहेको छ । नेपाल दलित मुक्ति मोर्चाले आईतवार काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । विकको सामुहिक बलात्कार पछि हत्यामा संलग्नमाथि निष्पक्ष छानविन गरी दोषिलाई कारबाही माग राखी शुक्रवारदेखि माईतीघरमा निरन्तर प्रदर्शन हुँदै आएको छ । आईतवार तेस्रो दिन पनि सरकारलाई दबाब दिँदै प्रदर्शन गरिएको हो । प्रदर्शनमा उत्रिएकाहरुले इनिसालाई न्याय देउ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गर, छुवाछुत विभेदको पूर्ण अन्त्य गर, महिला र बालवालिकामाथी हुने सबै उत्पिडन र हिंसा बन्द गर लगायत लेखिएको प्लेटकार्ड समेत प्रदर्शन गरेका थिए । 

    १२. अब बन्ने सरकारले शपथअघि जेन–जी आन्दोलनजस्तो घटना दोहोरिन नदिने संकल्प गरोस्ः रक्षा बम

    जेन–जी अगुवा रक्षा बमले अब बन्ने सरकारले भदौ २३ र २४ मा भएको जस्तो घटना पुनः दोहोरिन नदिने ग्यारेन्टी दिनुपर्ने बताउनुभएको छ । आईतवार माईतीघर मण्डलामा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार गठनअघि नै यस्तो नियति नेपाली जनताले फेरि भोग्न नपर्ने प्रतिवद्धता गर्नुपर्ने जिकिर गर्नुभयो । अब बन्ने सरकारले शपथ लिनुअघि जेन–जी पुस्तासँग संकल्पन गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले राज्य शक्तिशाली भएपनि नागरिकमाथि दमन गर्न नपाइने स्पष्ट सन्देश दिनुपर्ने बताउनु भयो । बमले सुशासनका विषयमा सरकार सकारात्मक हुने अपेक्षा व्यक्त गर्दै जनताका तर्फबाट खबरदारीपूर्ण समर्थन रहने बताउनु भयो । 

    १३. जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

    गत भदौ अन्तिम साताको जेन–जी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै जेन–जी अगुवा रक्षा बमसहितको समूहले माईतीघरमा प्रदर्शन गरेका हुन् । आयोगले गत २४ फागुनमा सरकारलाई जाँचबुझ प्रतिवेदन बुझाएको थियो ।

    १४. राप्रपा केन्द्रिय कार्यसम्पादन समितिको बैठक जारी

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कन्द्रिय कार्यसम्पादन समितिको बैठक शुरु भएको छ । बैठक पार्टीको धुम्बाराहीस्थित केन्द्रिय कार्यालयमा केहीबेर अघि शुरु भएको हो । बैठकले समानुपातिकतर्फका प्रतिनिधि सभा सदस्यको नाम टुंगो लगाउने बताइएको छ । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेपछि दलहरूले समानुपातिकतर्फका सांसदको नाम निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले राप्रपाले आजै नाम टुंगो लगाउने तयारी हो । प्रतिनिधि सभा निर्वाचनमा राप्रपाले समानुपातिकतर्फ ४ सिट पाएको छ । 

    १५. राप्रपाले पनि समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि समानुपातिकतर्फका पार्टीका सांसदहरुको नामावली टुंगो लगाएको छ । आईतवार काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले पार्टीले पाउने ४ जना समानुपातिकतर्फका सांसदहरु टुंगो लगाएको हो । निर्वाचन आयोगमा नामावली पठाएपछि मात्रै सार्वजनिक गर्नेगरी प्रतिनिधि सभामा समानुपातिकतर्फको सांसदहरु टुंगो लगाइएको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताउनु भयो । त्यसैगरी बैठकले मधेस प्रदेशमा पनि रिक्त रहेको प्रदेश सभा सदस्य नियुक्ति गर्नका लागि एक जनाको नाम सिफारिस गरेको छ । अध्यक्ष लिङदेनले भन्नुभयो, ‘यो विषम परिस्थितिमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मतदान गर्ने र एक मात्र प्रत्यक्षतर्फ ज्ञानबहादुर शाहीलाई विजय गराउने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिने निर्णय गरेको छ । 

    १६. राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक शुरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शुरु भएको छ । पार्टीको तर्फबाट समानुपातिक सांसदहरु तय गर्ने मुख्य एजेण्डासहित काठमाडौंको वनस्थलीस्थित घण्टीघरमा बैठक शुरु भएको हो । बैठकमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह भने भर्चुअल्ली सहभागी हुनुभएको छ । सभापति लामिछाने बिरामी भएकाले भर्चुअल्ली बैठकमा सहभागी हुनु भएको बताइएको छ । बैठकमा पार्टी संसदीय दलको विधान संशोधन, दलको नेता चयन र सरकार गठनका विषयमा पनि सामान्य छलफल हुनेछ । रास्वपाले वरिष्ठ नेता साहलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा घोषणा गरेर नै निर्वाचनमा करिव दुई तिहाई १८३ सिट निर्वाचनमा विजयी हासिल गरेको थियो ।

    १७. चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए

    चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर फागुन महिनामा ४.५६ प्रतिशत रहेकोमा चैतमा घटाए ४.४९ प्रतिशतमा झरेका हुन । यसरी औसत ब्याजदर ०.०७ प्रतिशत बिन्दुले घटेको हो । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाएका छन् भने १४ बैंकले फागुन महिनाकै दरलाई निरन्तरता दिएका छन् । संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि चैतमा ०.०३ प्रतिशत बिन्दुले घटेको छ ।चैत महिनाका लागि सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक नेपाल बैंक लिमिटेड रहेको छ । यस बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.६ प्रतिशत बिन्दुले घटाएको हो । त्यस्तै कृषि विकास बैंक लिमिटेड, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, कुमारी बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड ले पनि चैत महिनाका लागि ब्याजदर घटाएका छन् । 

    १८. निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्छः सिंह

    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्ने बताउनुभएको छ । नेपालको निर्माण क्षेत्रमा श्रमिकको चरम अभाव रहेको र यस क्षेत्रमा आउन चाहनेहरुका लागि अवसरसँगै पारिश्रमीक समेत राम्रो रहेको बताउनु भयो । उहाँकाअनुसार निर्माण मध्येको पुलको मात्रै काम गर्ने श्रमिकको पारिश्रमीक महिनामै ५० हजारसम्म हुने गरेको छ । अहिले पुलका काम गर्ने अधिकांश भारतीयहरु छन् । उनीहरुले अर्बौं रुपैयाँ यसरी नै पारिश्रमीक बुझेर भारतमा लैजाने गरेका छन् । सिंहकाअनुसार निर्माण क्षेत्रमा मात्रै करिव ७ लाख भारतीय नेपालमा छन् । सरकारले निर्माण सम्बन्धि काम गर्न आवश्यक जनशक्ति तयार गर्न नसक्दा निर्माण क्षेत्रमा भारतीय श्रमिकको दबदबा रहेको उहाँले बताउनु भयो । 

    १९. फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व

    सरकारले फागुनसम्म कुल ७ खर्ब ५१ अर्ब राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब आम्दानी गर्ने लक्ष्य राखेको सरकारले ७ खर्ब ५१ अर्ब ८५ करोड ६५ लाख राजश्व संकलन गरेको हो । गत आ.व.को सोही अवधिसम्म ७ खर्ब २९ अर्ब ६५ करोड ८८ लाख संकलन भएको थियो । समीक्षा अवधीमा भ्याट, अन्तःशुल्क भन्सार महशुल लगायत शीर्षकको राजस्व संकलन बढेको छ भने अन्य शिर्षकमा भने सरकारले राजश्व सोचेअनुसार उठाउन सकेको छैन । अर्थ मन्त्रालयकाअनुसार आयकर, ब्याजकरसहितका शीर्षकमा अघिल्लो वर्षको तुलनामा राजश्व उठाउन सकेको छैन । आयकरतर्फ फागुनसम्म १ खर्ब ७० अर्ब ९० करोड रुपैयाँ आयकर संकलन भएको छ । गत आवको फागुनसम्म भने १ खर्ब ७३ अर्ब २६ करोड संकलन भएको थियो । गत आ.व.को फागुनसम्म २२ अर्ब ५९ करोड ४६ लाख ब्याज कर संकलन भएको थियो । जबकि चालु आ.व.मा १९ अर्ब ५१ करोडमात्रै संकलन भएको छ । 

    २०. गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यको रिक्त पदमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यको रिक्त पदमा मनोनयन गर्न सिफारिस गरेको छ । आईतवार प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई राष्ट्रपतिबाट मनोनीत गर्ने एक सदस्यमा मनोनयनका राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका अर्यालले सो जानकारी गराउनु भयो । उहाँकाअनुसार बैठकले जेन–जी आन्दोलनका क्रममा भएको दमन तथा विध्वंश छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन समेत ग्रहण गर्ने निर्णय गरेको छ । उहाँले जलवायु कार्य गर्नको लागि हरित जलवायु कोषबाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममार्फत प्राप्त हुने दुई करोड ४२ लाख ६७ हजार चार सय २७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :चैत्र १ २०८२ आइतवार - २०:०२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij