२०८२ फाल्गुण २९ गते शुक्रवार
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव परेको छ। यसका कारण देशका विभिन्न भागमा मौसममा फेरबदल आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली हुनेछ।
कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भेगका साथै मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।
त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू(भागमा मौसम सामान्यतया बदली रहनेछ। यी क्षेत्रका एक(दुई स्थानमा राति मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।
वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण, यातायात चालक र पदयात्रीहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij