२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । इरान युद्धका कारण कतारको हवाई क्षेत्र बन्द भएपछि नियमित उडान प्रभावित भएको अवस्थामा कतार एयरवेजले दोहा आवतजावतका लागि 'सीमित उडान' तालिका सार्वजनिक गरेको छ। एयरलाइन्सले मार्च १७ सम्मका लागि दिल्ली, ढाका, न्यूयोर्क, बेइजिङ र मुम्बईसहित विश्वका १४ सहरमा हरेक दिन उडान गर्ने गरी नयाँ तालिका ल्याएको हो।
कतार नागरिक उड्डयन प्राधिकरणाबाट सीमित उडान मार्ग प्रयोग गर्न अस्थायी अनुमति प्राप्त भएपछि कतार एयरवेजले प्रभावित यात्रुहरूलाई गन्तव्यमा पुर्याउन यस्तो कदम चालेको जनाएको छ। यद्यपि, दैनिक तीन उडान हुने नेपालका बारेमा भने एयरलाइन्सले अझै कुनै ठोस निर्णय सार्वजनिक गरेको छैन।
"कतारको हवाई क्षेत्र बन्द भएका कारण सबै नियमित उडानहरू अझै स्थगित छन्', कतार एयरवेजले जारी गरेको आधिकारिक सूचनामा भनिएको छ, यस्तो असहज परिस्थितिमा हामी ग्राहकहरूको यात्रामा सहयोग गर्न र परिवारसँग पुनर्मिलन गराउन आफ्नो तर्फबाट अधिकतम प्रयास गरिरहेका छौं।"
एयरलाइन्सले यो विशेष परिस्थितिमा यात्रुहरूको धैर्यताको कदर गर्दै थप भनेको छ, "सिभिल एभिएसन अथोरिटीले सम्बन्धित निकायहरूबाट कतारको हवाई क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको घोषणा गरेपछि मात्र नियमित उडानहरू पुनः सुरु गर्नेछ।"
एयरलाइन्सले पछिल्लो अवरोधका कारण अलपत्र परेका यात्रुका लागि केही सिधा 'प्वाइन्ट–टु–प्वाइन्ट' उडानको समेत व्यवस्था गरिएको छ। विमानस्थलमा भीडभाड नगर्न चेतावनी समेत दिएको छ। सूचनामा भनिएको छ, "टिकट कन्फर्म नभएसम्म यात्रुहरूलाई प्रस्थान गर्ने विमानस्थलमा नआउन-नजान हामी आग्रह गर्दछौँ।"
नेपाल उडानको अवस्था
नेपालमा धेरै यात्रु बोक्ने र धेरै उडान गर्ने एयरलाइन्समध्ये कतार एयरवेज एउटा हो। यसले सामान्य अवस्थामा दोहा–काठमाडौँ सेक्टरमा दैनिक तीनवटा उडान भर्दै आएको छ। वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली मात्र नभई युरोप र अमेरिका जाने नेपालीहरूका लागि पनि यो एयरलाइन्स प्रमुख रोजाइमा छ। हाल नेपालको उडान तालिका खुला नगरिएकाले सयौँ यात्रु अन्योलमा छन्। केही अलपत्र परेका छन्। दैनिक विश्वभर करिब १ हजार उडान गर्ने कतारले नेपाल उडान कहिलेबाट सुचारु गर्छ भन्नेमा अझै स्पष्ट पारेको छैन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij